नेपाल प्रिमियर लिग
टी-२० विश्वकपअघि हुन लागेको नेपाल प्रिमियर लिग नयाँ खेलाडीलाई प्रतिभा देखाउने अवसर
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज सोमबारबाट नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदै छ। आठवटा फ्रेन्चाइज टोलीबीचको प्रतिस्पर्धात्मक क्रिकेट महोत्सवको यो दोस्रो संस्करण हो।
एनपीएलको पहिलो संस्करणमै काठमान्डु गुर्खाज ऐतिहासिक क्षणनजिक पुगेको थियो। तर, चितवन राइनोज र कर्णाली याक्ससँग समान आठ अंक भए पनि काठमान्डुले प्लेअफ खेल्ने अवसर पाउन सकेन।
ठ्याक्कै एक वर्षपछि दोस्रो संस्करण सुरु हुन लाग्दा काठमान्डुका मार्की तथा कप्तान करण केसीलाई त्यो पीडाले झस्काउँछ। “नराम्रो खेलेका त थिएनौँ। तर, घरेलु खेलाडीमा धेरै भर परेका थियौँ। विदेशी खेलाडी पनि राम्रो नभएका कारण रनरेटमा थोरै चुक्यौँ,” उनी भन्छन्।
अब त्यही गल्ती सुधार्दै काठमान्डु प्लेअफ पुग्ने लक्ष्यसहित एनपीएलको दोस्रो संस्करणको सुरुआत गर्दै छ। यस यात्रामा टोलीको भेट सोमबार साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध हुन लागेको हो।
काठमान्डुले यसपल्ट पहिलो संस्करण खेलेका नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई मात्रै मौका दिएको छ। बरु स्टेफन इस्किनाजी, डेन डौथवेट र माइकल लेभिटजस्ता विदेशी खेलाडीलाई फिर्ता पठाउँदै इङ्ल्यान्डबाट खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, इङ्ल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनसँगै अमेरिकी ब्याटर मिलिन्द कुमारलाई अनुबन्धन गर्दै बलियो सुरुआत गर्ने लक्ष्य राखेको छ।
उता, पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर पनि दुरुस्तै अवस्थामा छ। उसले पनि पहिलो संस्करणमा उपाधि दिलाउन सानदार ब्याटिङसँगै विकेट किपिङ गरेका श्रीलंकाली मूलका अमेरिकी खेलाडी लाहिरु मिलान्थालाई निरन्तरता दिँदै आफ्नो स्वरूप नै फेरेको छ। वायन पार्नेल, इमरान ताहिर, जान निकोल-लफ्टी इटन र लाहिरु समराकुनजस्ता विदेशी खेलाडी अनुबन्ध गरेको यो टोली गत संस्करणको साख जोगाउँदै उत्कृष्ट सुरुआत गर्ने लक्ष्यमा हुनेछ।
पहिलो संस्करण भए पनि एनपीएलमा सहभागी आठ फ्रेन्चाइजीमध्ये अधिकांशले ब्रान्डिङमा पैसा खर्चिन कुनै कसर छोडेनन्।
हुन त, गत संस्करण एनपीएल टिम जनकपुर बोल्ट्सका लागि धेरै पाटोमा ऐतिहासिक रह्यो। लिग चरणमा लगातार चार खेल जित्ने जनकपुर एक मात्रै टोली बन्यो। जनकपुरको अपराजित यात्रालाई सुदूरपश्चिम रोयल्सले ७२ रनले हराउँदै ‘ब्रेक’ लगायो। यद्यपि, त्यसपछिका खेलमा जनकपुर बौरियो, उसलाई रोक्न फेरि सुदूरपश्चिम नै चाहियो। लिग चरणको विजेता बन्दै सीधै क्वालिफायर १ को यात्रा तय गरेको जनकपुरलाई सुदूरपश्चिमले आठ विकेटको हार चखाउँदै क्वालिफायर दुई तिरको घुमाउरो बाटोतर्फ धकेलिदियो।
यसका बावजुद पहिलो खेलदेखि नै ‘च्याम्पियन एटिच्युड’ देखाएको जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्सलाई अन्तिमको ६ बल बाँकी छँदै दुई विकेटको जित हात पार्यो र उपाधिका लागि सुदूरपश्चिमसँगै भेट पक्का गर्यो। गत संस्करणमा तीनपल्ट एकै टोलीसँग खेल्नेमा जनकपुर नै अगाडि रह्यो। फाइनलमा लाहिरुको उत्कृष्ट ८७ रनको इनिङ्सको मद्दतमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि हात पार्यो। यसपल्ट सुदूरपश्चिम त्यस हारको बदला लिने लक्ष्यमा छ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको पूर्वसन्ध्यामा त्रिवि क्रिकेट रंगशाला। तस्बिर : नेपाल फोटो लाइब्रेरी
गत संस्करणमा यी दुईबाहेक चितवन राइनोज र कर्णालीले मात्रै अन्तिम चारमा स्थान बनाउन सकेका थिए। सात खेल खेल्दा दुई अंकसहित सबैभन्दा पहिला प्रतियोगिताबाट बाहिरिने टोली लुम्बिनी लायन्स बन्दा च्याम्पियन जनकपुर एउटै इनिङ्समा सबैभन्दा कम रन (सुदूरपश्चिमविरुद्ध ५१ रन) बनाउने टोली बनेको थियो। अर्को कीर्तिमान विराटनगर किङ्सले बनायो। उसले १९३ रन बनाएर लुम्बिनीलाई एनपीएलकै सर्वाधिक विजयी लक्ष्य दियो।
सुदूरपश्चिमलाई अन्तिम खेलमा जितका लागि १९.४ ओभरसम्म लगेको पोखरा एभेन्जर्सले भने दुई जितभन्दा बढी हात पारेन।
ब्रान्डिङतर्फ नै टोली
पहिलो संस्करण भए पनि एनपीएलमा सहभागी आठ फ्रेन्चाइजीमध्ये अधिकांशले ब्रान्डिङमा पैसा खर्चिन कुनै कसर छोडेनन्।
कान्छो कप्तान कुशल मल्लको कप्तानीमा रहेको चितवनले पहिलो संस्करणमा नै पहिलो संस्करणको टी-२० विश्वकप खेलेका सोहेल तन्विरलाई ल्याउँदै आफ्नो ब्रान्डिङ गर्यो। सोहेलले पनि चितवनलाई दु:खी पारेनन्। ३९ वर्षको उमेरमा खेल्दै उनले काठमान्डुविरुद्धको पहिलो खेलमै पाँच विकेट लिए। एनपीएलमा यो इतिहास रच्ने उनी पहिलो खेलाडी बने।
चितवन मात्रै होइन, कर्णालीले पनि भारतीय ब्याटर शिखर धवन ल्याएर चर्चा बटुल्यो। सन् २०१३ मा च्याम्पियन्स ट्रफीसमेत जितिसकेका धवनले चार इनिङ्समा एक अर्धशतकसहित १३६ रन बनाएका थिए। त्यतिखेर उनले दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक लिए। जनकपुरले त न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम भित्र्याएर उपाधि नै हात पार्यो।
यसपल्ट टी-२० विश्वकपअघि टी-२० फर्म्याटकै घरेलु प्रतियोगिता हुँदै छ। त्यसैले नयाँ खेलाडीलाई राम्रो मौका बनेको बताउँछन्, नेपाली राष्ट्रिय टोलीका पूर्व तथा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा।
यसपल्ट पनि टोलीहरू आफ्नो ब्रान्डिङमा चुकेका छैनन्। विराटनगरले दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी भित्र्याएर ‘रिब्रान्डिङ’ गरेको छ। क्लासिक टेक्निक, एथलेटिक फिल्डिङ र नेतृत्व क्षमताका लागि चिनिने उनले एक खेल मात्र खेल्नेछन्।
यता, चितवनले सोहेलकै हात समाउँदा जनकपुर भने दक्षिण अफ्रिकाकै लेग ब्रेक स्पिनर इमरान ताहिरको भर परिरहेको छ। पोखराले भने गोलाप्रथाबाट जिम्मीलाई जनकपुरबाट खोसेर पहिलो संस्करणमा गुमेको प्रतिष्ठा फिर्ता ल्याउने लक्ष्य राखेको छ।
विश्वकपको तयारी
एनपीएल सकिएको ५६ दिनपछि नै नेपाल आईसीसी टी-२० विश्वकप खेल्दै छ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा सन् २०१४ र २०२४ पछिको तेस्रो सहभागिता हो। त्यसैले एनपीएल नेपालका लागि विश्वकपको तयारी पनि रहने भएको छ।
अझ राष्ट्रिय टोलीमा जाने ‘पाथ वे’ पनि घरेलु प्रतियोगितालाई नै मानिन्छ। संयोग के पनि छ भने, यसपल्ट टी-२० विश्वकपअघि टी-२० फर्म्याटकै घरेलु प्रतियोगिता हुँदै छ। त्यसैले नयाँ खेलाडीलाई राम्रो मौका बनेको बताउँछन्, नेपाली राष्ट्रिय टोलीका पूर्व तथा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा। “सबैलाई मौका बराबरी छ। यसपल्ट ठूला ठूला खेलाडी पनि आइरहेका छन्। अन्तर्राष्ट्रियस्तरमा डेब्यु नगरेका खेलाडीले यसपल्ट एकै ड्रेसिङ रुम सेयर गर्न पाउनेछन्। त्यसैले ती खेलाडीबाट केही सिकेर आफ्नो स्थान सुरक्षित गर्ने अवसर छ,” उनी भन्छन्।