काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

फोटो फिचर

१८ मंसिर २०८२
योमरी पुन्ही र ज्यापु दिवसका अवसरमा निकालिएको र्‍याली। सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ।

मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ।

नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले यो:मरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन्।

पर्वकै अवसरमा र्‍यालीसमेत निकालिएको छ। हाँडीगाउँबाट निकालिएको र्‍याली टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायणहिटी, केशरमहल, ठँबही त्रिदेवी चोक, ज्याठा,त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमानढोका हुँदै वसन्तपुरमा पुगी सकिने आयोजकले जानकारी दिएको छ।

यस्तै आजै किरात समुदायको महान चाड साकेला उधौली पनि आजदेखि सुरु भएको छ। किरात समुदायले मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गर्छन्।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ।

साकेला नाच। तस्बिर : रासस

काठमाडौँमा किरात समुदायको बसोबास भएका क्षेत्रमा युवा पुस्ताकै बाक्लो उपस्थितिमा पर्वका अवसरमा साकेला नाच्ने गरिन्छ। काठमाडौँका टुँडिखेल, हात्तीवनलगायतका स्थानमा साकेला नाच्ने गरिन्छ।