काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। डिजेल र मट्टितेलमा भने प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमले जनाएको छ।
नयाँ मूल्यसूची भोलि (मंगलबार) बिहान १२:०१ बजेदेखि लागू हुनेछ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो। आईओसीबाट निगमलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर आएको थियो भने पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएको थियो।
इन्धनको मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकासहित पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ। यसअघि यो मूल्य १६१ रुपैयाँ थियो। डिजेल र मट्टितेलको प्रतिलिटर ४ रुपैयाँले घट्दा १४२ रुपैयाँ कायम भएको छ।
