काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

फलोअप

सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई पुरानै कार्यालयमा थमौती गरिएपछि फेरि अस्तव्यस्त बन्यो पालिका

४ पुष २०८२
जुनीचाँदे गाउँपालिकाको बोर्ड। तस्बिर : गाउँपालिकाको वेबसाइट
अ+
अ-

सुर्खेत। जनप्रतिनिधि र कर्मचारीबीचको कलहले अस्तव्यस्त बनेको जाजरकोटको जुनीचाँदे गाउँपालिकाको आर्थिक गतिविधि सञ्चालन पुनः अनिश्चिततातर्फ धकेलिएको छ। हालसालै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएका अधिकृत रेशम महतारालाई पुरानै कार्यालयमा थमौती गरिएपछि आर्थिक गतिविधि सञ्चालनमा अनिश्चितता सिर्जना भएको हो।

डोल्पाको मुड्केचुला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेको महतारालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ कात्तिकमा जुनीचाँदे गाउँपालिकामा सरुवा गरेको थियो। तर विहीबार मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले महतारालाई मुड्केचुलामै थमौती गर्न सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

गाउँपालिकाको नीति कार्यान्वयन, योजना तथा कार्यक्रम सञ्चालन एवं समग्र प्रशासन सञ्चालन तथा सेवाप्रवाहमा बाधा पुग्ने भएकाले रमाना स्थगित गर्ने निर्णय मुड्केचुला गाउँपालिकाले गरेको हो। ‘तत्कालै गाउँपालिकाको हिउँदे अधिवेशन तय भएको अवस्थामा गाउँपालिकाको नियमित कार्यतालिकासमेत प्रभावित हुने भएकाले निजको सरुवा स्थगित गर्न मन्त्रालयलाई पत्राचार तथा महतारालाई रमाना स्थगित गर्न अनुरोध गर्ने निर्णय गरियो,’ गाउँपालिकाको बैठकको निर्णयमा उल्लेख छ।

जुनीचाँदे गाउँपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृत खडक परियार र जनप्रनिधिबीच बारम्बार कलह हुँदा चालु आर्थिक वर्षको अधिकांश सेवाप्रवाह ठप्प छ। करिब आठसय कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता साउनयता रोकिएको छ। स्वास्थ्य संस्थाका लागि औषधि खरिद पनि भएको छैन भने कैयौँ योजनाहरूको सम्झौता र भुक्तानी रोकिएको छ।

सम्बन्धित समाचार :

जनप्रतिनिधि र कर्मचारीको कलहले साउनदेखि रोकियो ८०० जनाको तलब

चालु आर्थिक वर्षमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई गाउँसभाले आर्थिक अख्तियारी नदिँदा पालिका अस्तव्यस्त बनेको हो। परियारको सरुवा जाजरकोटकै नलगाड नगरपालिकामा भएको छ। उनले आफू सरुवा भएको पालिकामा गएर कामकाज सुरु गरिसकेका छन्।

यता हाल जुनीचाँदेको प्रमुख प्रशासकीय अधिकृत तोकिएका महतारा पालिका आउन नचाहेको जनप्रतिनिधिको आरोप छ। पालिका अध्यक्ष वेदबहादुर शाहीले सरुवा भए पनि कर्मचारी आउन नमानेको बताए। अर्का प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य भइरहेको उनले बताए। कहिलेसम्म कर्मचारी आउँछन् भन्ने यकिन नभएको अध्यक्ष शाहीले बताए।

महताराले भने यो आरोप अस्वीकार गरेका छन्। दुईवटा पालिकाको बीचमा आफू अनिर्णयको बन्दी भएको उनले बताए। “जुनीचाँदे गाउँपालिका आफ्नै जिल्ला हो, सरुवा भइसकेको भएर म जान तयार थिएँ,” उनले भने, “यहाँ मुड्केचुलामा दुई वर्ष प्रशासन प्रमुख भएर काम गरिसकेकाले अधिवेशन तय भएको बेला नजानुस् भनेर आग्रह भएको छ, म आफैँ दुई पालिकाबाट पेलानमा परेको महसुस भएको छ।”

महतारा अहिले मुड्केचुलामै बसेर कामकाज गरिरहेका छन्।