राजनीति
एकातिर ओली-देउवाबीच वार्ता र अर्कातिर रवि-बालेन भेटले राजनीतिक ध्रुवीकरणको संकेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद असीम शाहले सोमबार मध्यराति फेसबुकमा लेखे, ‘अन्ततः कथाको सुखद सुरुआत भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’
पूर्वसांसद शाहकै घरमा सोमबार राति करिब ६ घण्टा रवि र बालेनबीच छलफल भएको थियो। राति साढे १ बजे छलफल सकेर रवि र बालेन एउटै गाडीमा बाहिरिएको तस्बिर सार्वजनिक भएपछि यो चर्चाको विषय बन्यो।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएर विघटित प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा छलफल गरेको चार घण्टा नबित्दै भएको रवि र बालेनको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। एकैदिन भएका दुई भेटघाटले आगामी निर्वाचनलाई लक्षित गरेर राजनीतिक ध्रुवीकरण हुन सक्ने सम्भावना पनि देखाएको छ। तर, रास्वपाले बालेनसँगको भेटमा प्रारम्भिक चरणको छलफल मात्र भएको जनाएको छ।
जेन-जी आन्दोलनपछि नयाँ पुस्ताले बालेनलाई व्यापक रूपमा खोजी गरेको थियो। नयाँ सरकारको नेतृत्व बालेनले गर्नुपर्ने जेन-जीको माग भए पनि उनी अगाडि देखा परेनन्। पर्दा पछाडि बसेर नयाँ सरकार बनाउन भूमिका खेलेका बालेन र कारागारबाट हालै छुटेका रविबीचको लामो छलफलले राजनीतिक तरंग ल्याएको छ।
रवि-बालेनको छलफलमा सहभागी रास्वपा उपसभापति डोलप्रसाद अर्याल र पूर्वसांसद शाहले सार्वजनिक गरेका अभिव्यक्तिअनुसार आगामी निर्वाचनमा एक भएर अघि बढ्ने विषयमा छलफल भएको छ। रवि धरौटीमा रिहा भए पनि उनको मुद्दा छिनोफानो नभएसम्म चुनाव त लड्न पाउँछन्, तर सांसद बन्न पाउँदैनन्। त्यसकारण पनि रास्वपाले बालेन वा कुलमान घिसिङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन खोजेको चर्चा छ।
रविविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र चितवन जिल्लामा दर्ता भएका मुद्दा विचाराधीन छन्। कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक थुनामा रहेको अवधिभर र मुद्दा दायर भएकामा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने उल्लेख छ।
त्यस्तै, प्रतिनिधिसभा नियमावलीको २०७९ को दफा २४८ (३) मा ‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ’ भनी लेखिएको छ।
तर, मुद्दा विचाराधीन रहेको अवस्थामा सांसद बन्न सक्ने कि नसक्ने भन्ने विषयमा कानुनविद्हरूको समेत मतभिन्नता पाइन्छ। कतिपयले यही कानुनका आधारमा रविले चुनाव जिते पनि सांसद बन्न नसक्ने तर्क गरेका छन् भने कतिपयले नयाँ सांसद निर्वाचित भएपछि नयाँ नियमावली बनाउने चलन रहेकाले राजनीतिक विषयमा नियमावली संशोधन हुन सक्ने तर्क पनि गरेका छन्।
यता, रास्वपा नेता तथा पूर्वमन्त्री शिशिर खनालले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा रास्वपाले आगामी निर्वाचनपछि रवि, कुलमान र बालेनमध्ये एक जनालाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको खुलाएका छन्। तर, बजारमा चर्चा भएजस्तो सोमबारको छलफलमा आगामी चुनावका लागि पद बाँडफाँटको कुरा नभएको रास्वपाकी केन्द्रीय सदस्य तथा पूर्वसांसद सोविता गौतम बताउँछिन्।
उनका अनुसार भेटघाटमा एकअर्काको राजनीतिक सोच र समझ पहिचान गर्ने प्रयास भएको छ। गौतम भन्छिन्, “आफूहरू राजनीतिक रूपमा समान धरातलमा छौँ कि छैनौँ भन्ने विषयमा एकआपसमा बुझ्ने सन्दर्भमा आइस-ब्रेक भएको हो। यसले थप वार्ताका लागि ढोका खोलेको छ। अहिले नै पद बाँडफाँटको कुरा भने नभएको सभापतिले जानकारी गराउनुभएको छ।”
रास्वपाले पहिला नै वैकल्पिक शक्तिहरूसँग संवाद अगाडि बढाउने निर्णय गरेको थियो। रास्वपाको सोही नीतिअनुसार रविले थुनामा रहेकै बेला कुलमान घिसिङदेखि विभिन्न व्यक्तिहरूसँग भेटेर रास्वपामा आउन आग्रह गरेका थिए। तर, कुरा नमिलेपछि कुलमानको टिमले उज्यालो नेपाल पार्टी दर्ता गरेको थियो। रविसँगको भेटपछि पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गरेका थिए।
सम्बन्धित समाचार :
रविले कारागारमै राजनीतिक भेटघाट गरिरहँदा रास्वपाका अन्य नेताहरूले पनि विभिन्न क्षेत्रका चर्चित व्यक्तिसँग वैकल्पिक शक्ति निर्माणका लागि छलफल गरेका थिए। दुई महिनायता रास्वपाले विभिन्न पेसा तथा व्यवसायमा सफल भएका र विभिन्न क्षेत्रमा चर्चा कमाएका व्यक्तिलाई रास्वपामा जोड्न निरन्तर छलफल चलाएको थियो। सोही क्रममा विवेकशील साझा पार्टीसँग एकता पनि गरेको थियो। रवि छुटेपछि पनि त्यसैलाई निरन्तरता दिने क्रममा बालेन र रविबीच भेटघाट भएको केन्द्रीय सदस्य गौतमको भनाइ छ।
रास्वपाका सभापति रवि लामिछानेले पनि रास्वपा पहिलादेखि नै परिवर्तनमा लागेका वैकल्पिक पार्टीहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासमा रहेको र हाल त्यसैलाई टुंगोमा पुर्याउने गरी संवाद सुरु गरेको बताएका छन्। बालेनलाई प्रधानमन्त्री बनाउने चर्चाबारे मंगलबार नै चितवन पुगेर उनले भनेका छन्, ‘अहिले नै त्यो चरणमा प्रवेश गरेका छैनौँ। पहिला सबै कुरा थाहा पाउनुपर्यो।’
२१ फागुनको निर्वाचनका लागि व्यापक तयारीमा जुटेको रास्वपा समानुपातिक उम्मेदवारीका लागि आवेदन दिनेहरूसँग छलफल गरेर अन्य प्रक्रियामा लागिसकेको छ। एकातिर रास्वपा चुनावको तयारीमा छ भने अर्कातिर दललाई वैकल्पिक शक्तिका रूपमा विकास गर्न विभिन्न व्यक्ति र समूहसँग छलफलमा व्यस्त रहेको सहप्रवक्ता प्रतिभा रावल बताउँछिन्। “रास्वपाले संवाद समिति नै बनाएर छलफल अगाडि बढाइरहेको छ। परिवर्तित राजनीतिक परिवेशमा आम चाहनाबमोजिम विचार मिल्नेसँग सहकार्य गर्ने, एकता गर्ने प्रक्रिया चलिरहेकै छ। बालेनसँगको भेट पनि त्यसक्रममा भएको हो,” नेपालन्युजसँग कुरा गर्दै उनले भनिन्।