काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

काठमाडौं। विदेशी लगानीमा सञ्चालन भएका कम्पनीहरुले कमाएको रकम फिर्ता लैजाने प्रयोजनको लागि बाणिज्य बैंकहरुबाटै सटही सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८को पाँचौ संशोधन गरेर आर्जित रकम फिर्ता लैजाने प्रयोजनको लागि राष्ट्र बैंकबाट विदेशी मुद्राको सटही स्वीकृति लिनु नपर्ने व्यवस्था गरिदिएको हो।

“वैदेशिक लगानीकर्ताहरूले पेपरवर्क धेरै भयो भनेर गुनासो गरेको सन्दर्भमा नाफा लैजान राष्ट्र बैंकको स्वीकृती लिनु नपर्ने व्यवस्था गरिएको छ,” राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले भने।

विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम र प्रविधि हस्तान्तरण सम्झौता अन्र्तगत प्राप्त लाभ (रोयल्टी) बापतको रकम फिर्ता लैजानको लागि राष्ट्र बैंकबाट सटही सुविधाको अनुमति लिन नपर्ने व्यवस्था गरेको हो।

तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ ले गरेको व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेपछि मात्रै लैजान पाइने भनिएको छ।

लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी/उद्योगले आवश्यक कागजातहरू संलग्न गरी विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनीले आफ्नो खाता रहेको वाणिज्य बैंकमा निवेदन दिएमा सटही सुविधा पाउने व्यवस्था संशोधित नियमावलीमा गरिएको छ।