काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षझैँ यस वर्ष पनि कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ गर्ने भएको छ। एक्स्पो २ देखि ४ माघसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा हुनेछ।

प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषिसम्बन्धी कम्पनीका १०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा कृषिका विभिन्न विधा जस्तै कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई-भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बिउबिजन, कृषि तालिम र वित्तीय सुविधाबारे जानकारी प्राप्त गर्न सकिनेछ।

प्रदर्शनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ-संस्थाका प्रतिनिधिलगायत आमकृषकले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि सीमित स्टल बाँकी रहेको आयोजकको भनाइ छ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना औजारदेखि डेरी मेसिन तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला-ठूला उपकरणको डेमो पनि देखाइनेछ। नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्‍याउन प्रदर्शनी कोसेढुंगा साबित हुने आयोजक कम्पनीको विश्वास छ।

प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवर्द्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ-नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ-नेपाल र चितवन उद्योग संघ छन्।