काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

विराटनगर। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्।

विराटनगरमा मंगलबार उनले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ सरकारले काम गरिरहेको दाबी गरे। गृहमन्त्री अर्याल भोलि (बुधबार) हुने कोसी प्रदेशस्तरीय एकदिने सुरक्षा गोष्ठीका लागि मंगलबार विराटनगर पुगेका हुन्। मोरङस्थित बुधनगरमा सन् २०२० बाट सञ्चालनमा आएको नेपाल-भारत एकीकृत भन्सार जाँचचौकीको स्थलगत निरीक्षणपछि अर्यालले यस्तो बताएका हुन्। सरकारको अर्को प्रमुख कार्यभार भनेको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूतिसँगै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको पनि उनले बताए।

शान्ति सुरक्षाको प्रत्याभूतिबिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै उनले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिले सर्त हुने भएकाले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए। १२९ बिघामा फैलिएको एकीकृत जाँचचौकीमा छुट्टै सुरक्षा फौजका लागि भएको मागका सम्बन्धमा त्यसमा सरकारको ध्यानाकार्षण भएको अर्यालको भनाइ छ। त्यसका लागि गृह मन्त्रालयले अन्तर मन्त्रालय तथा कार्यालयसँग कुरा गरेर सुरक्षा फौजका लागि प्रयास गरिनेसमेत बताए।

अर्यालको सचिवालयका अनुसार आजै उनले मोरङको जिल्ला प्रशासन कार्यालयको जेन-जी आन्दोलनपछि खरानी भएर पुन: मर्मत गरी सेवा नियमित भएको भवनको निरीक्षण गरे। त्यस क्रममा प्रजिअ युवराज कट्टेलले आन्दोलनमा जलेका भौतिक संरचनाको जानकारीका साथै मन्त्रालयले प्राथमिकतामा राखेर सेवा दिएका विषयबारे ब्रिफिङ गरेका थिए।