काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले वार्ता समितिले भागबन्डा र लेनदेनभन्दा टाढा रहेको दाबी गरेको छ।
विशेष महाधिवेशन पक्षधरले मंगलबार दिउँसो पत्रकार सम्मेलन तीन एजेन्डामा मात्रै वार्ता समितिले संस्थापन पक्षसँग छलफल गरिरहेको जनाएको छ।
प्रचार-प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार सभापति शेरबहादुर देउवाले पार्टीको जिम्मेवारी छोड्नुपर्ने पहिलो एजेन्डामा संस्थापन पक्षसँग वार्ता भइरहेको छ।
पोखरेलका अनुसार सभापति देउवाले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने वार्ता समितिको दोस्रो एजेन्डा रहेको छ। तेस्रो, संस्थापन पक्षले विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्नुपर्ने एजेन्डामा वार्ता भइरहेको छ।
“यी तीन एजेन्डाभन्दा बाहिर गएर वार्ता समितिले कुनै छलफल गरिरहेको छैन,” पोखरेलले भने, “बाहिर भागबन्डा र लेनदेन भनेर प्रचार गरिएको छ। जुन सत्य होइन।”
पोखरेलले वार्ता समितिका सदस्यले संस्थापन पक्षसँग भएको कुराबारे बन्द सत्रको हलमा सुनाउनुपर्ने र हलले अनुमोदन गर्नुपर्ने स्पष्ट कुरा रहेको बताए।
विशेष महाधिवेशन पक्षले सोमबार राति चार सदस्यीय वार्ता समिति गठन गरेको थियो। वार्ता टोलीमा प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे छन्।
उनीहरूले संस्थापन पक्षसँग मंगलबार पहिलो चरणमा वार्ता गरिसकेका छन्। दोस्रो चरणको वार्ता दिउँसो २:३० बजे हुने बताइएको छ।