काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको वार्ता निष्कर्षविहीन बनेको छ। देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच बुधबार बिहान महाराजगन्जमा भएको वार्ता निष्कर्षविहीन बनेको हो।
थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवालाई प्रतिनिधिसभामा उम्मेदवार नबन्न दुबै महामन्त्रीले आग्रह गरेका थिए। तर, देउवाले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
“तपाईंलाई चुनावमा लिएर जाँदा तपाईंलाई नै फेरि प्रधानमन्त्री बनाउने हो भन्ने अर्थ लाग्छ, चुनाव छोड्नुहोस् भन्दा उहाँले सिधै अस्वीकार गर्नुभयो,” शिवाकोटीले भने।
वार्ता निष्कर्षविहीन भएसँगै दुबै महामन्त्री देउवा निवासबाट बाहिरिएका छन्। उनीहरू विशेष महाधिवेशन भृकुटीमण्डपमा आउँदैछन्।
विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता गरिरहेको छ। उम्मेदवारी दर्ताको अन्तिम विवरण तयार भइरहेको शिवाकोटीले बताए।
“हामी सर्वसम्मत नेतृत्व छानेर निर्वाचन आयोगमा जान्छौँ,” शिवाकोटीले भने। निर्वाचन आयोगमा निवेदन दिएपछि आधिकारिकता टुंगिन्छ। २७ पुसदेखि महामन्त्रीद्वयको आह्वानमा विशेष महाधिवेशन भइरहेको छ।
वार्तामा देउवा पक्षबाट प्रकाशशरण महत र वरिष्ठ नेता शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजाल बसेका थिए। मंगलबार बिहानदेखि विशेष महाधिवेशन वार्ता टोली, संस्थापन र कोइराला पक्षबीच त्रिपक्षीय वार्ता भइरहेको थियो।