नेपालगञ्ज। प्रतिनिधिभा सदस्य निर्वाचन २०८२ का लागि आज यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले आजै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाललगायत सहभागी थिए।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन्।