अर्थतन्त्र
देशको वैदेशिक व्यापार सुधार भए पनि निर्यातको आम्दानीले इन्धन किन्न पनि पुगेन
चालु आर्थिक वर्षको ६ महिनामा निर्यातबाट भएको कमाइले देशलाई आवश्यक पर्ने इन्धन खरिद गर्नसमेत पुगेन। भन्सार विभागले ७ माघमा प्रकाशन गरेको ६ महिनाको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत साउनदेखि पुस महिनामा नेपालले वस्तु निर्यात गरेर एक खर्ब ४२ अर्ब एक करोड रुपैयाँ कमाएको छ। तर, सोही अवधिमा डिजेल, पट्रोल र खाना पकाउने ग्यास (एलपीजी) खरिद गर्दा एक खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ बिदेसिएको छ।
निर्यातबाट कमाएको पैसाले मात्रै इन्धन खरिद गर्ने हो भने ७४ करोड रुपैयाँ नपुग देखिन्छ। ६ महिनाको अवधिमा नेपालले सबैभन्दा बढी आयात गरेको वस्तु डिजेल हो। यस अवधिमा नेपालले ५८ अर्ब २७ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ। त्यसैगरी, ३३ अर्ब रुपैयाँ बराबरको पेट्रोल र २७ अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास भित्रिएको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकले देशले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६ रुपैयाँ बराबरको आयात भएको देखाउँछ।
पछिल्ला महिनामा देशको निर्यात व्यापारमा केही सुधार भएकाले मात्रै नेपालको निर्यात र इन्धनको आयातको मूल्य नजिक पुगेको हो। अघिल्ला वर्षको तथ्यांक हेर्दा नेपालको सम्पूर्ण निर्यात आम्दानीले इन्धनको आयात धानेको थिएन। अघिल्लो वर्ष ६ महिनामा ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
देशले धेरै आयात गर्नेमध्ये दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ। यस अवधिमा ५७ अर्ब ४३ करोड रुपैयाँ बराबरको सोयाबिन तेल आयात भएको छ। सोयाबिन तेल नेपालले आयात गरेर प्रशोधनपछि भारतमा निर्यात गर्छ। निर्यातकै लागि ल्याइने भएकाले सोयाबिनको आयात धेरै हुने गरेको हो।
सुधारियो वैदेशिक व्यापार
चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउन-पुस)मा ११ खर्ब ८१ अर्ब चार करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। यस अवधिमा आयात १४.१८ र निर्यात ४३.७६ प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापार भने १७.३६ प्रतिशतले बढेको तथ्यांक छ।
अघिल्लो वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार नौ खर्ब २१ अर्ब रुपैयाँमा सीमित थियो। चालु आवमा बढेको वैदेशिक व्यापारले अर्थतन्त्र गतिशील बन्दै गएको छ। कतिसम्म भने, चालु वर्षको ६ महिनामा १४.१८ प्रतिशतले आयात विस्तार भएको छ भने निर्यात चाहिँ ४३.७६ प्रतिशतले बढेको छ।
गत पुससम्म नौ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा आठ खर्ब २२ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको थियो। निर्यात भने एक खर्ब ४२ अर्ब रुपैयाँको भएको थियो। भन्सार विभागको पछिल्लो तथ्यांकले देशले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६ रुपैयाँ बराबरको आयात भएको देखाउँछ।
नेपालबाट विभिन्न मुलुकमा हुने निर्यात बढेपछि कुल वैदेशिक व्यापारमा समेत निर्यातको हिस्सा २२.५० प्रतिशतले बढेको छ। नेपालबाट हुने निर्यात बढेपछि त्यसले देशको वैदेशिक व्यापारमा हुने घाटा कम गर्न सहयोग पुगेको छ। त्यसैले पुससम्मको कुल व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ देखिएको छ। अघिल्लो आवको ६ महिनामा व्यापार घाटा सात खर्ब २३ अर्ब रुपैयाँ थियो।
पछिल्लो ६ महिनामा मुस्ताङको कोरला नाकाबाट ११ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा रसुवा भन्सारबाट भने दुई अर्ब तीन करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
नेपालले वनस्पति तथा पशुजन्य तेल-घिउ आयात गर्छ। यस्ता वस्तु ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ। फलाम र स्टिल आयात चाहिँ ६६ अर्ब १३ करोड रुपैयाँ हाराहारी छ।
इन्धन, फलाम, स्टिलजस्ता वस्तु नेपालको पुँजी निर्माणमा समेत प्रयोग हुन्छन्। यसले अर्थतन्त्र चलायमान हुँदै गरेको संकेत गरेको छ। विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयातमा ६४ अर्ब ९२ करोड रुपैयाँ बिदेसिएको देखिन्छ। मेसिनरी र मेकानिकल उपकरण आयातमा ६३ अर्ब ८९ करोड रुपैयाँ बिदेसिएको छ। सवारीसाधन आयातमा ५५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ भने मल आयात १६ अर्ब २५ करोड रुपैयाँ बराबर भएको छ। अन्नबाली आयात गर्दा २८ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ।
२३ अर्बको मोबाइल
नेपालले चालु आवको ६ महिनामा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको मोबाइल फोन आयात गरेको छ। यस अवधिमा १२ लाख ५२ हजार थान मोबाइल आयात भएको भन्सार विभागको तथ्यांक छ। चालु आवको ६ महिनामा नेपालमा १८ अर्ब ८३ करोड २६ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ। सुनको मूल्य तीव्र बढिरहेको बेला पनि सुनको आयात घटेको छैन।

चालु आवको ६ महिनामा भएको आयातबाट सरकारले दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको देखिन्छ। यस अवधिमा वीरगन्ज भन्सारबाट सबैभन्दा बढी ४६.६६ प्रतिशत राजस्व संकलन भएको छ भने त्यसपछि भैरहवा र विराटनगरबाट आयात हुने गरेको छ।
पछिल्लो ६ महिनामा चीनबाट हुने आयातमा चाहिँ रसुवाभन्दा बढी मुस्ताङको कोरला नाकाको हिस्सा बढी छ। गत असारमा आएको बाढीले पुर्याएको क्षतिबाट रसुवा भन्सार ६ महिना बन्द रह्यो। तातोपानीबाट हुने आयात पनि बाटोलगायत कारणले अवरुद्ध हुँदा कोरला नाकाबाट हुने आयात बढेको हो। पछिल्लो ६ महिनामा मुस्ताङको कोरला नाकाबाट ११ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा रसुवा भन्सारबाट भने दुई अर्ब तीन करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ।