काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

राजनीति

पार्टी निर्णयमा आफूलाई संलग्न नगरेको भन्दै सार्वजनिक असन्तुष्टि जनाएका खनालसँग दाहालको सं‌वाद

१३ माघ २०८२
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टी सञ्चालनमा बाइपास गरेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट बनेका छन्। पूर्वप्रधानमन्त्री खनालले आफ्नो असन्तुष्टि १२ माघमा फेसबुकमार्फत सार्वजनिक गरे।

खनालले पार्टीभित्र ठूला निर्णय गर्दा दाहालले अरू नेतासँग छलफल नगरेको भन्दै आपत्ति जनाएका छन्। खनालले सामूहिक छलफल गरेर निष्कर्ष निकाल्नुको साटो एकाध नेताहरूको इच्छाअनुसार ठूला निर्णय हुने गरेको जिकिर गरेका छन्। ‘हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिई पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटि सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना भएका छन्,’ खनालले फेसबुकमा छन्। उनल‍े गजुरेललगायत पार्टी नेतालाई सहभागी गराएर आकस्मिक बैठक राख्न माग गरेका थिए।

दाहालले चुनावको मुखमा पार्टी निर्देशन अवज्ञा गरेको भन्दै गजुरेलसहित सात जनालाई १० माघमा नेकपाबाट निष्कासन गरेका थिए। दाहालको कारबाहीमा पर्नेहरू गजुरेलसहित महेश्वर दाहाल, कुलप्रसाद केसी, धर्मनाथ प्रसाद साह, जीवछ साह, राजकुमारी साह र मेजर राई हुन्। नेकपाले टिकट नदिएपछि धर्मनाथ प्रसाद साह नेकपा छाडेर एमालेबाट सिरहा ४ मा उम्मेदवार बनेका छन्। नेकपाले टिकट नदिएपछि मेजर राई चाहिँ उदयपुर १ बाट स्वतन्त्र उठेका छन्। त्यस्तै, दाहालले सिन्धुली २ र केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेपछि उनीहरूलाई दाहालले नेकपाबाटै निष्कासन गरेका थिए। यसप्रति पूर्वप्रधानमन्त्री खनालले प्रश्न उठाएका हुन्।

नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा नेताहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी

नेकपाका तल्ला कमिटीहरूबाट सिफारिस भएका व्यक्तिको साटो दाहालले अरूलाई टिकट दिएपछि नेकपाका उम्मेदवारलाई बागी उम्मेदवारले चुनौती दिएका छन्। सिन्धुली १ मा सिफारिस भएका राजन दाहाललाई क्षेत्र नम्बर २ को उम्मेदवार बनाएपछि त्यस क्षेत्रबाट सिफारिस भएका महेश्वर दाहाल बागी बनेका छन्। उनलाई गजुरेलसहितका नेताले साथ दिएका छन्।

आसन्न चुनावमा नेकपाले गरेको टिकट वितरणमा पार्टी संयोजक दाहाल र सहसंयोजक नेपाल हाबी भएपछि पूर्वप्रधानमन्त्री खनालले फेसबुकमै असन्तुष्टि जनाएका हुन्। खनालको असन्तुष्टि सार्वजनिक भएपछि संयोजक दाहालले मंगलबार उनीसँग संवाद गरेका छन्। “आज (१३ माघ) मा संयोजकसँग कुराकानी भएको छ। मैले संस्थागत रूपमा पार्टी सञ्चालन गर्नुपर्छ भनेको छु,” खनाल भन्छन्, “संयोजकले संस्थागत निर्णय गर्ने परिपाटीलाई व्यवस्थित गर्न छलफल हुन्छ भन्नुभएको छ।”

दाहालसँगको सं‌वादमा खनालले नेकपालाई पार्टी जस्तो बनाउने भए गजुरेललगायतविरुद्धको कारबाही रोकेर छलफल सुरु गर्न संयोजक दाहालसँग माग गरेका छन्। सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस्ता कारबाही अविलम्ब स्थगित गर्न र गजुरेललगायत नेतालाई बोलाएर आकस्मिक बैठक डाक्न आग्रह गरिएको खनाल बताउँछन्। उनी भन्छन् “किन कारबाही गरियो भन्नेबारे पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न म जोडदार माग गर्दछु।”

खनाल सुरुदेखि नै नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एकीकृत समाजवादी)को एकीकरणको विपक्षमा थिए। पार्टी एकतामा उनको फरक मत थियो। तर, अन्तिममा खनाल १९ कातिकमा भृकुटीमण्डपमा भएको एकता घोषणासभामा देखा परेका थिए। त्यसअघि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी कसरी सञ्चालन गर्ने भन्नेमा पार्टी अध्यक्ष माधवकुमार नेपालसँग खनालको मतान्तर थियो।