काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
तस्बिर:राष्ट्रसङ्घीय जनसङ्ख्या कोष
अ+
अ-

काठमाडौँ। आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो।

यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ।

राष्ट्रसंघका अनुसार हाल विश्वभर जीवित २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ।

प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन् भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गरेका छन्।

उनले भनेका छन्, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो । सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ।”

यसैगरी, राष्ट्रसंघीय जनसंख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ।