काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

राजनीति

नेकपा (मानन्धर समूह)बाट राजनीति सुरु गरेका देव आठ पटक दल बदलेर मधेसकेन्द्रित दल हुँदै फेरि कांग्रेस प्रवेश

७ फाल्गुन २०८२
५ माघ २०८२ मा नेपाली कांग्रेस र १७ असार २०८१ मा नेकपा एमाले प्रवेश गर्ने क्रममा जितेन्द्रनारायण देव।
अ+
अ-

नेकपा (एमाले) परित्याग गरेको एक महिना नपुग्दै पूर्वमन्त्री जितेन्द्र नारायण देव कांग्रेस प्रवेश गरेका छन्। गएको १९ माघमा उनले एमाले परित्यागको घोषणा गरेका थिए। उनी ५ फागुनमा कांग्रेस प्रवेश गरेका छन्।

कहिले कांग्रेस, कहिले मधेसकेन्द्रित दल त कहिले एमालेमा ‘हेराफेरी’ गर्नु देवका लागि सामान्य भएको छ। उनले अहिलेसम्म आठ पटक दल बदलेका छन्। उनी १७ असार २०८० मा कांग्रेस छाडेर एमालेमै फर्किएका थिए। त्यसबेला उनले भनेका थिए, ‘लामो समय वामपन्थी राजनीति गरेका कारण जीवनको उत्तरार्द्धमा पनि यसैमा आउन मन लाग्यो।’

तर, एमालेमा उनको मन लामो समय अडिएन। पछिल्लो पटक १९ माघमा एमाले छाड्दा देवले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भूमिकाबारे गम्भीर प्रश्न उठाएका थिए। ‘पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत’ भएको उनको तर्क थियो। जबकि, त्यसअघि एमाले प्रवेश गर्दा पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएको भन्दै उनले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए। ‘१७ वर्षसम्म एमालेभन्दा बाहिर रहेँ, दुःख लागेको छ, तर बाहिर रहेर धेरै कुरा सिकेँ, अब एमालेलाई एकीकृत बनाएर अगाडि बढ्ने प्रण गर्छु,’ देवले भनेका थिए, ‘मलाई नेता होइन, कार्यकर्ता बनाइदिनुस्।’

जितेन्द्र नारायणको राजनीति १ वैशाख २०३० मा विष्णुबहादुर मानन्धर (समूह) बाट सुरु भएको थियो। उनी २०३८ सालमा सो समूहको विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनको कार्यवाहक अध्यक्ष बने। २०३९ सालमा पुनः अध्यक्षमा निर्वाचित भए। २०४२ सालमा विद्यार्थी फेडेरेसनबाट बिदा भएपछि उनी नेपाल राष्ट्रिय युवा फेडेरेसनको अध्यक्ष भए। पञ्चायतकालको नेकपा (मानन्धर समूह) बहुदलीय व्यवस्थामा चाहिँ नेकपा (प्रजातान्त्रिक) बन्यो। अहिले त्यो दल नेकपा (संयुक्त) भएको छ।

जितेन्द्रसहितको टोली नेकपा (प्रजातान्त्रिक)बाट २० मंसिर २०४९ मा एमाले प्रवेश गरेको थियो। मदन थापाको नेतृत्वमा देवलगायत नेता-कार्यकर्ता एमाले प्रवेश गरे पनि त्यही दिन सीतानन्दन राय र जितेन्द्र नारायण मात्र एमाले केन्द्रीय सदस्य बनाइए। २१ फागुन २०५४ मा एमाले विभाजित भएपछि देव नेकपा (माले)तिर लागे। फेरि ३ फागुन २०५८ मा माले महासचिव वामदेव गौतमसहित जितेन्द्र पनि एमालेमै फर्किए। 

पहिलो संविधानसभा निर्वाचनपछि उनी एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए।

उनले आफ्नो योगदानको मूल्यांकन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबाट मात्रै भएको बताए। उनी मधेसी जनअधिकार फोरमबाट विभाजित भएर बनेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महामन्त्रीसमेत भएका थिए। २०७० सालको दोस्रो संविधानसभामा उनी लोकतान्त्रिकबाट समानुपातिक सांसद थिए। त्यसैगरी, कांग्रेसले २०७४ सालमा उनलाई राष्ट्रिय सभा सांसद बनाएको थियो। त्यसबीचमा उनी दुई पटक मन्त्रीसमेत भएका थिए।

पहिलो संविधानसभा निर्वाचनपछि उनी एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए। पहिलो संविधानसभामा प्रत्यक्षतर्फ ३३ स्थानमा खुम्चिएको एमालेले समानुपातिकतर्फ ७० स्थान ल्याएको थियो। समानुपातिकमा एमालेले मधेसी समुदायका १३ जना सांसद बनाउँदा देव त्यसमा परेनन्।

२०७४ सालमा फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमै आए। कांग्रेसले उनलाई २०७४ सालमा राष्ट्रिय सभा सांसद बनाएको थियो।

एमालेले सभासद् नबनाएपछि उनी पहिलो संविधानसभा चुनाव सकिएको एक महिनापछि नै फोरम प्रवेश गरेका थिए। तर, २०६६ सालमा फोरम विभाजन भएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बनेपछि उनी त्यतै लागे। २०७४ सालमा फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमै आए। कांग्रेसले उनलाई २०७४ सालमा राष्ट्रिय सभा सांसद बनाएको थियो।

राष्ट्रिय सभा सदस्यका रूपमा देवको कार्यकाल २० फागुन २०८० मा सकिएलगत्तै उनी फेरि एमालेमा फर्किए। विशेष महाधिवेशनबाट कांग्रेसको सभापति गगनकुमार थापा बनेपछि उनी फेरि कांग्रेसतिर आकर्षित छन्। भन्छन्, “नवीकृत कांग्रेसले देशलाई पनि रूपान्तरित गर्छ। यसले देशको अर्थ-राजनीतिमा प्रगतिशील, लोकतान्त्रिक रूपान्तरण गर्छ भन्ने लागेर सधैँका लागि कम्युनिस्ट राजनीति त्यागेर कांग्रेस प्रवेश गरेको हुँ। विगतमा पनि ६ वर्ष कांग्रेसमै बसेर काम गरिसकेको छु।”