काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

आवरण

२०४८ सालदेखिको कम्युनिस्ट वर्चस्वमा ग्रहण

२६ फाल्गुन २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ८ मा प्रतिनिधिसभा सदस्य चुनिएपछि समर्थकसँग विराजभक्त श्रेष्ठ। तस्बिर : नेपाल फ़ोटो लाइब्रेरी
अ+
अ-

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले अप्रत्याशित परिणाम मात्र ल्याएन, परम्परागत भाष्यहरूलाई समेत खण्डित गरिदियो। यस पटकको जनमतले विगतमा चुनावी जितसँग जोड्ने गरिएको निश्चित राजनीतिक दलको गढ, जातीय आधार, पारिवारिक बिरासत, बलियो पार्टी संगठन आदिको भाष्यलाई भत्कायो।

यस क्रममा काठमाडौँ जिल्लाको तस्बिर झनै रोचक देखियो। कुनै बेला ‘कम्युनिस्ट गढ’ मानिएको काठमाडौँमा यसपालि कम्युनिस्ट पार्टी शून्य बन्यो। २०५१ सालको मध्यावधि चुनावमा नेकपा (एमाले)ले काठमाडौँका सबै क्षेत्रमा जित हात पार्दै कम्युनिस्ट किल्लामा परिणत गरेको थियो। त्यो वामपन्थी बिरासतलाई विभिन्न कम्युनिस्ट पार्टीहरूले जोगाउँदै आएका थिए।

संसदीय निर्वाचनको इतिहासमा यस पटक काठमाडौँ जिल्लामा ३१ वर्षपछि एउटै पार्टीले चुनाव जित्ने इतिहास दोहोर्‍याएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले। रास्वपाको लहरले कम्युनिस्ट पार्टी मात्र होइन, मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस पनि काठमाडौँबाट बढारिएको छ।

नेपालमा पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको हो। पञ्चायतको ३० वर्षे अवधिलाई छोडेर त्यसयता भएका निर्वाचनमा वर्चस्व जमाउँदै आएका परम्परागत राजनीतिक शक्तिहरूलाई पाखा लगाउने क्रममा रास्वपाले काठमाडौँका १० वटै निर्वाचन क्षेत्र जितेको छ। रोचक चाहिँ, १० क्षेत्रमध्ये एउटामा बाहेक वामपन्थी दल निकटतम प्रतिद्वन्द्वीसमेत बन्न सकेन।

कुनै बेला नेपाली कांग्रेसको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना)ले कांग्रेसका प्रबल थापा क्षेत्रीलाई पराजित गरिन्। २०६४ सालको संविधानसभा निर्वाचनयता काठमाडौँ १ मा कांग्रेस नेता प्रकाशमान सिंह विजयी हुँदै आएका थिए। यस क्षेत्रबाट उनी चार पटक सांसद बने। यसपालि भने उनको स्थानमा कांग्रेसले प्रबललाई मैदानमा उतारेको थियो।

यस पटक रास्वपा लहर र वामपन्थी बढारिने क्रम कस्तो देखियो भने, भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को २०४८ सालदेखिको किल्लासमेत भत्कियो।

काठमाडौँ क्षेत्र नम्बर २ मा पनि रास्वपाका सुनिल केसी विजयी भए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट रास्वपाकै सोविता गौतम विजयी भएकी थिइन्। तर, सोविता चितवन ३ मा चुनाव लड्न गएपछि सुनिलले मौका पाएका थिए। उनले कांग्रेसका कबिर शर्मालाई पराजित गरे।

यस्तै, काठमाडौँ ३ मा रास्वपाबाट उम्मेदवार बनेका काठमाडौँ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरे।

नेपाली कांग्रेसका सभापति गगन थापाको चुनावी क्षेत्रका रूपमा चर्चित काठमाडौँ ४ मा पनि यसपालि रास्वपाकै घण्टी बज्यो। यस क्षेत्रमा रास्वपाका पुकार बमले कांग्रेसका सचिन तिमल्सेनालाई पराजित गरे। २०७९ सालको चुनावमा पुकार काठमाडौँ क्षेत्र नम्बर १ मा पराजित भएका थिए। गगन सर्लाही ४ बाट चुनाव लड्न गएका कारण काठमाडौँ ४ मा कांग्रेसले ३३ वर्षीय सचिनलाई प्रतिस्पर्धामा उतारेको थियो।

काठमाडौँको सबैभन्दा ‘हेभिवेट’ भिडन्त मानिएको क्षेत्र नम्बर ५ मा पनि रास्वपाले झन्डा फहरायो। पूर्वउपप्रधानमन्त्री एवम् एमालेका नेता ईश्वर पोखरेल, पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा उम्मेदवार रहेको यस क्षेत्रमा रास्वपाका २९ वर्षीय सस्मित पोखरेल विजयी भए। उनले प्रदीपलाई २१ हजार ५७८ मतान्तरले पराजित गरे। ईश्वर तेस्रा र कमल चौथो बने।

नेपालको संसदीय इतिहासमा यस पटकको जस्तो प्रभावशाली जित कसैको नआएको २०१५ सालको चुनावमा उम्मेदवार बनेका १०२ वर्षीय लीलाप्रसाद लोहनी बताउँछन्।

२०७९ सालको प्रतिनिधिसभा चुनावमा काठमाडौँको जनमतमा सफल भइसकेका शिशिर खनाल यसपालि पनि क्षेत्र नम्बर ६ बाट ठूलो मतान्तरले विजयी भए। उनले कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई पराजित गरे। यस्तै, क्षेत्र नम्बर ७ मा कांग्रेसका प्रमोदहरि गुरागाईंलाई हराएर रास्वपाका गणेश पराजुली निर्वाचित भए।

गत चुनावमा काठमाडौँबाट रास्वपालाई जित दिलाउन सफल विराजभक्त श्रेष्ठले क्षेत्र नम्बर ८ मा आफ्नो जितलाई निरन्तरता दिए। उनले पुरानै प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीलाई २१ हजार ३७५ मतान्तरले पराजित गरे।

काठमाडौँ ९ मा रास्वपाका उपसभापति तथा पूर्वश्रममन्त्री डोलप्रसाद अर्यालले २९ हजार ६३३ मतान्तरले जित हात पारे। उनले कांग्रेसकी नानुमैया बास्तोलालाई पराजित गरे। यस्तै, काठमाडौँ १० मा कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई परास्त गरेर रास्वपाका प्रदीप विष्ट निर्वाचित भए।

काठमाडौँमा देखिएको रास्वपाको लोकप्रियतालाई पार्टीका युवा नेताहरू स्वाभाविक मान्छन्। रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)का निकट मानिने असिम शाह भन्छन्, “रास्वपाको अहिलेको सफलता राजधानीमा मात्र सीमित छैन। पूरै देश घण्टीमय बनेको छ।”

असिम शाह।

हुन पनि, यस पटक रास्वपा लहर र वामपन्थी बढारिने क्रम कस्तो देखियो भने, भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को २०४८ सालदेखिको किल्लासमेत भत्कियो। यस क्षेत्रमा नेमकिपाका प्रेम सुवाललाई पराजित गर्दै रास्वपाका रुकेश रन्जित विजयी भए। भक्तपुर १ नेमकिपाको यस्तो सुरक्षित किल्ला थियो, जसलाई २०६४ सालको संविधानसभा चुनावमा नेकपा (माओवादी)को पक्षमा देखिएकोसहित कुनै पनि लहरले हल्लाउन सकेको थिएन।

काठमाडौँको संसदीय इतिहासमा २०५१ सालमा मात्र यस्तो संयोग जुरेको थियो, जतिबेला काठमाडौँ कम्युनिस्टमय बन्यो। त्यसयता कुनै पनि दलले एकल जित हात पार्न सकेको थिएन। त्यो सफलता यसपालि रास्वपाले हासिल गर्‍यो।

नेपालको संसदीय इतिहासमा यस पटकको जस्तो प्रभावशाली जित कसैको नआएको २०१५ सालको चुनावमा उम्मेदवार बनेका १०२ वर्षीय लीलाप्रसाद लोहनी बताउँछन्। उनी भन्छन्, “मैले काठमाडौँमा मात्र होइन, नेपालभरि नै यस्तो नतिजा देखेको थिइनँ।” २०१५ सालको संसदीय चुनावमा रंगनाथ शर्माले नेतृत्व गरेको नेपाल प्रजातान्त्रिक महासभाबाट पोखरा दक्षिण–पूर्व १०३ नम्बरबाट लोहनीले प्रतिस्पर्धा गरेका थिए। जसमा उनी नेपाली कांग्रेसका श्रीभद्र शर्मासँग पराजित भएका थिए।

काठमाडौँको संसदीय इतिहासमा २०५१ सालमा मात्र यस्तो संयोग जुरेको थियो, जतिबेला काठमाडौँ कम्युनिस्टमय बन्यो। त्यसयता कुनै पनि दलले एकल जित हात पार्न सकेको थिएन। त्यो सफलता यसपालि रास्वपाले हासिल गर्‍यो।

२०५१ सालको मध्यावधि चुनावमा काठमाडौँमा सात वटा निर्वाचन क्षेत्र थिए। सबैमा नेकपा (एमाले) विजयी भएको थियो। क्षेत्र नम्बर १ मा नारायण ढकाल, २ मा विद्यादेवी भण्डारी, ३ मा मनमोहन अधिकारी, ४ मा पद्मरत्न तुलाधर, ५ मा राजेन्द्रप्रसाद श्रेष्ठ, ६ मा सहाना प्रधान र क्षेत्र नम्बर ७ मा कृष्णगोपाल श्रेष्ठले चुनाव जितेका थिए।

नारायण ढकाल।

त्यसबेला क्षेत्र नम्बर १ बाट सांसद बनेका ढकाल भन्छन्, “रास्वपाको अहिलेको जितलाई म स्वाभाविक लिन्छु। कुनै बेला वामपन्थीको कब्जामा रहेको काठमाडौँमा हामीले आफ्नो घोषित नीतिअनुसार काम गर्न सकेनौँ। कांग्रेसले पनि बाटो बिरायो। त्यसैले नयाँको विकल्प थिएन।”

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा काठमाडौँलाई तीन वटा क्षेत्रमा विभाजन गरिएको थियो। जसअन्तर्गत कान्तिपुर क्षेत्रबाट नेपाली कांग्रेसका गणेशमान सिंह विजयी भएका थिए। काठमाडौँ उपत्यका पश्चिमी क्षेत्रबाट नरबहादुर थापा क्षेत्री (नेपाल राष्ट्रियवादी गोर्खा परिषद्) र काठमाडौँ उपत्यका उत्तर-पूर्वी क्षेत्रबाट लोचनशमशेर थापा (संयुक्त प्रजातन्त्र पार्टी) विजयी भएका थिए।

२०१७ सालमा पञ्चायती व्यवस्था लागु भएपछि राजनीतिक दललाई प्रतिबन्ध लगाइयो। २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि २०४८ सालको चुनावको बेला काठमाडौँ जिल्लालाई पाँच वटा निर्वाचन क्षेत्रमा बाँडिएको थियो। जसमध्ये क्षेत्र नम्बर २ मा कांग्रेसका दमननाथ ढुंगानाले जितेका थिए भने अन्य चार वटा क्षेत्रमा एमालेका उम्मेदवार विजयी भए। काठमाडौँ १ मा एमालेका तत्कालीन महासचिव मदन भण्डारी, ३ मा पद्मरत्न तुलाधर, ४ मा सहाना प्रधान र ५ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए। भण्डारीले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।

ढकाल भन्छन्, “हामीले दुई नम्बर क्षेत्रमा जनमोर्चालाई सिट छोडेका थियौँ। त्यहाँ दमनजी विजयी हुनुभयो। एमाले नै उठेको भए २०४८ सालमै अर्को इतिहास बन्न सक्थ्यो होला। तर, दमनजीले जितेर सभामुखका रूपमा जुन काम गर्नुभयो, त्यो प्रशंसनीय छ।”

अघिल्लो चुनावमा काठमाडौँमा बीउसम्म जोगाउन सकेको वामपन्थी शक्ति यस पटक अस्तित्वविहीन बन्यो। यसपालि यस क्षेत्रमा वामपन्थीसँगै नेपाली कांग्रेसको संसदीय यात्रा रास्वपाले ठप्प पारदियो।

२०५० सालमा सवारी दुर्घटनामा मदन भण्डारीको निधन भएपछि काठमाडौँ १ मा भएको उपनिर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन्। उनले पनि कांग्रेस नेता भट्टराईलाई हराएकी थिइन्।

२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँमा सात वटा क्षेत्र थिए। जसमध्ये क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रेमलाल सिंहले जिते भने बाँकी ६ वटा क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर १ मा प्रदीप नेपाल, २ मा विद्यादेवी भण्डारी, ३ मा ईश्वर पोखरेल, ५ मा मंगलसिद्धि मानन्धर, ६ मा अष्टलक्ष्मी शाक्य र ७ मा तीर्थराम डंगोल विजयी भएका थिए।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौँलाई १० वटा निर्वाचन क्षेत्रमा बाँडियो। जसमध्ये ६ वटा सिट कांग्रेसले जित्यो। क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा चक्रबहादुर ठकुरी, ४ मा सुप्रभा घिमिरे, ५ मा नरहरि आचार्य, ८ मा नवीन्द्रराज जोशी र ९ मा ध्यानगोविन्द रञ्जित विजयी भएका थिए। बाँकी चार क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए। जसमा क्षेत्र नम्बर २ मा झक्कुप्रसाद सुवेदी, ६ मा हितमान शाक्य, ७ मा हिसिला यमी र १० मा पुष्पकमल दाहालले जितेका थिए।

२०७० सालको संविधानसभा चुनावमा काठमाडौँका १० क्षेत्रमध्ये कांग्रेसले सात र एमालेले तीन वटा क्षेत्र जितेका थिए। जसमा क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह, ४ मा गगन थापा, ५ मा नरहरि आचार्य, ६ मा भीमसेनदास प्रधान, ८ मा नवीन्द्रराज जोशी, ९ मा ध्यानगोविन्द रञ्जित र १० मा राजन केसी विजयी भएका थिए। क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल, ३ मा रामेश्वर फुयाल र ७ मा रामवीर मानन्धर निर्वाचित भएका थिए। एमालेका नेता नेपालले काठमाडौँ २ र रौतहट १ दुवै क्षेत्र जितेकामा पछि एउटा क्षेत्र मात्र राख्न पाइने नियमानुसार काठमाडौँ २ छोडेका थिए। जहाँ २०७१ सालमा भएको उपनिर्वाचनमा कांग्रेसका दीपकप्रसाद कुइँकेल निर्वाचित भएका थिए।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसले काठमाडौँका चार वटा र एमालेले ६ वटा क्षेत्र जिते। कांग्रेसबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसी विजयी भएका थिए। यस्तै, एमालेबाट क्षेत्र नम्बर २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठले जित हात पारेका थिए।

रास्वपाले २०७९ सालको संसदीय निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पाइला टेकेको हो। पहिलो निर्वाचनमै उसले काठमाडौँ जिल्लाका चार क्षेत्र जित्न सफल भएको थियो। जसमा क्षेत्र नम्बर २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ विजयी भए। त्यतिबेला कम्युनिस्टको गढ मानिएको काठमाडौँमा वामपन्थी दल एक सिटमा खुम्चिन पुग्यो। एमालेका कृष्णगोपाल श्रेष्ठले क्षेत्र नम्बर ९ मा कम्युनिस्टको बीउ जोगाएका थिए। काठमाडौँका बाँकी पाँच क्षेत्र कांग्रेसले जितेको थियो। क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्र केसी निर्वाचित भएका थिए।

अघिल्लो चुनावमा काठमाडौँमा बीउसम्म जोगाउन सकेको वामपन्थी शक्ति यस पटक अस्तित्वविहीन बन्यो। यसपालि यस क्षेत्रमा वामपन्थीसँगै नेपाली कांग्रेसको संसदीय यात्रा रास्वपाले ठप्प पारदियो।