प्रतिनिधिसभा निर्वाचन
कोसीमा प्रत्यक्षतर्फ रास्वपा १७‚ एमाले-कांग्रेस ४-४, श्रम संस्कृति पार्टीको ३ सिट
विराटनगर। दशकौँदेखि नेपाली राजनीतिको निर्णायक केन्द्र र प्रमुख दलहरूको ‘गढ’ मानिँदै आएको कोसी प्रदेशमा यसपटकको निर्वाचनले अभूतपूर्व राजनीतिक फेरबदल ल्याइदिएको छ।
‘जेन-जी’ आन्दोलनपछिको बदलिएको जनमतले स्थापित दलहरूको विरासत मात्रै ढालेको छैन, नयाँ शक्तिलाई सत्ताको बलियो दाबेदारका रूपमा उभ्याइदिएको छ। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार कोसीका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १७ क्षेत्रमा सानदार जित निकालेको छ।
हिजोका मुख्य प्रतिस्पर्धी नेकपा एमाले र नेपाली कांग्रेस भने यसपटक ४-४ सिटमा खुम्चिन पुगे। धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिटमा जित हात पार्दै कोसीको राजनीतिमा तेस्रो पार्टीका रूपमा उदय भएको छ।
२०७९ सालको निर्वाचनमा एमालेले कोसीमा १३ सिट जितेर आफ्नो वर्चस्व कायम राखेको थियो। कांग्रेस नौ सिटमा विजयी भएको थियो। तर, तीन वर्षको अन्तरालमा भएको यो निर्वाचनमा एमालेले नौ र कांग्रेसले पाँच सिट गुमाए। ०७९ मा तीन सिट जितेर निर्णायक बनेको नेपाली कम्प्युनिस्ट पार्टी (नेकपा) यसपटक एउटा क्षेत्रमा बाहेक कतै पनि निकटतम प्रतिस्पर्धीसमेत देखिन सकेन। यो प्रदेशमा नेकपा नील भएको छ।

कोसी प्रदेशमा सामानुपातिकतर्फ दलले पाएको अन्तिम मत परिमाण।
रास्वपाले तराईका तीन जिल्ला झापा, मोरङ र उदयपुरका १३ वटै निर्वाचन क्षेत्रमा ‘क्लिन स्विप’ गर्दै पुराना दलहरूलाई किनारा लगाएको छ। एमालेले आफ्नो साख जोगाउन ताप्लेजुङ, संखुवासभा, इलाम २ र धनकुटामा मात्रै जित निकाल्न सक्यो। यता कांग्रेसले पाँचथर, इलाम १, तेह्रथुम र सोलुखुम्बुमा चित्त बुझाउनुपरेको छ। श्रम संस्कृति पार्टीले सुनसरी १, खोटाङ र भोजपुर – १ मा जित हासिल गर्दै पहाड र तराई दुवै क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ।
समानुपातिकमा रास्वपा पहिलो, माटो दोस्रो
प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फको मतपरिणामले पनि स्थापित दलहरूको जग हल्लिएको देखाएको छ। कोसी प्रदेशको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा छ भने चार महिनाअगाडि खुलेको नयाँ दल श्रम संस्कृति पार्टी दोस्रो स्थानमा पुगेको छ। साम्पाङको पार्टीले कोसी प्रदेशमा दुई लाख ९२ हजार ४९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको हो।
२०७९ को निर्वाचनमा दुई लाख ३१ हजार ४१ मतका साथ तेस्रो मत प्राप्त गरेको रास्वपाले यस निर्वाचन आठ लाख ५३ हजार १८३ मत प्राप्त गरी पहिलो स्थानमा उक्लिएको छ।
कोसीमा ६ लाख ६५ हजार ४६० मत ल्याएर पहिलो भएको एमाले यसपटक दुई लाख ८८ हजार १८६ मतमा खुम्चिँदै चौथो स्थानमा पुगेको छ। अघिल्लोपटक पाँच लाख ६२ हजार ९५६ मत पाएको नेपाली कांग्रेसले यसपटक दुई लाख ९० हजार ५६२ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेको छ।
नेकपाले यसअघि प्राप्त गरेको एक लाख ८१ हजार २४५ मत जोगाउन नसक्दा ९७ हजार ६८९ मत मात्र प्राप्त गरे पनि पाँचौँबाट चौथो स्थानमा भने उक्लिएको छ।
कोसीमा रास्वपाले ६ लाख २२ हजार १४२ मत थपेको छ भने नेपाली कांग्रेसले दुई लाख ७२ हजार ३९४ मत गुमाएको छ। यस्तै यसअघि कोसी प्रदेशको सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा एमालेले दुई लाख ७७ हजार २७४ मत गुमाएको छ। नेकपाले ८३ हजार ५५६ मत गुमाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक लाख ३५ हजार ६१२ मत गुमाएको छ। राप्रापाले अहिले ६२ हजार ८९९ मत ल्याएर छैटौँ स्थानमा छ।
राजनीतिक विश्लेषक यसलाई ‘परम्परागत राजनीतिप्रतिको वितृष्णा र डेलिभरीको खोजी’ मान्छन्। राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार पुराना दलहरूले जनताको फेरिएको मनोविज्ञान र अपेक्षालाई समयमै ठम्याउन नसक्दा यो अवस्था आएको बताए। “परम्परागत पार्टीहरूले जनभावना बुझ्न सकेनन्, जसले गर्दा नयाँ दलप्रतिको आकर्षण ह्वात्तै बढेको देखिन्छ‚” प्राध्यापक पोखरेल भन्छन्‚ “कोसीको हकमा हर्क साम्पाङ र उनको टोली आफ्नै समुदायको दुःखसुखमा प्रत्यक्ष भिजेकाले जनस्तरबाटै बलियो साथ पाएका हुन्। यो नतिजा भुइँतहका नागरिकले पुरानाको विकल्पमा खोजेको भरपर्दो आधार पनि हो।”