सात सवाल

३० फाल्गुन २०८२
अ+
अ-

विज्ञान उद्यमी तथा अनुसन्धाता प्रतिभा पाण्डे हर्बेदा बोटानिकल्स एन्ड क्याटलिस्ट टेक्नोलोजीकी संस्थापक/सीईओ हुन्। अमेरिकाबाट अर्गानिक केमिस्ट्रीमा विद्यावारिधि पाण्डेले औषधी तथा सुगन्धित वनस्पतिमा मूल्य अभिवृद्धिसम्बन्धी अनुसन्धान गरेकी छन्। विभिन्न म्याराथनमा समेत सहभागी उनी प्रशिक्षकका रूपमा पनि सक्रिय छिन्।

प्रस्तुत छ पाण्डेसँग गरिएको म्याराथनसंवाद :

म्याराथनमा अहिले कत्तिको सक्रिय हुनुहुन्छ?

म अहिले म्याराथन प्रशिक्षण गरिरहेकी छु। नेपालमा विशेषगरी ट्रेल रनिङमा पनि सक्रिय छु।

दौडनेबाहेक अन्य आउटडोर वा इनडोर खेल पनि खेल्नुहुन्छ होला?

दौडनुबाहेक म योग र ध्यान गर्छु।

खेलकुद, कसरत वा शारीरिक व्यायामका लागि कति समय छुट्याउनुभएको छ? समय व्यवस्थापन कसरी गर्नुहुन्छ?

सामान्यतया म दिनको एक घण्टा व्यायामका लागि छुट्याउँछु। स्वास्थ्य राम्रो भए काममा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ र थकान कम महसुस हुन्छ।

दौडँदाको आनन्द र प्राप्ति के हो?

मेरा लागि दौड ध्यानजस्तै हो। यसले मन शान्त बनाउँछ, आत्मविश्वास बढाउँछ र आफूलाई थप सशक्त महसुस गराउँछ।

जीवन नै एक दौड हो भन्छन्। मान्छे दौडेर पुग्नुपर्ने कहाँ हो?

जीवन म्याराथनजस्तै हो, जसलाई सही गतिमा अघि बढाउनुपर्छ। निरन्तर अभ्यास र स्पष्ट रणनीति भए लक्ष्यमा पुग्न सकिन्छ। अन्ततः पुग्नुपर्ने ठाउँ भनेको आत्मसन्तुष्टि, शान्ति र उद्देश्यपूर्ण जीवन हो।

जीवन एक दौड हो भने विश्राम के हो?

विश्राम भनेको आत्मचिन्तन र पुनः ऊर्जा सञ्चय गर्ने समय हो, ताकि अर्को महत्त्वपूर्ण र चुनौतीपूर्ण चरणका लागि आफूलाई तयार बनाउन सकियोस्।

खेल होस् वा जीवन, जुनसुकै दौड जित्न चाहिने अनिवार्य तीन कुरा के हुन्?

धैर्य, कडा मिहिनेत र दृढ इच्छाशक्ति।