सात सवाल
सडक नाटकबाट रंगमञ्चसँग जोडिएकी सृजना अधिकारी करिब डेढ दशकदेखि अभिनयमा सक्रिय छिन्। मलामी, ओ स्टार दुनियाँ, सुनकेशरी, डिग्री माइला जस्ता थुप्रै नाटकमा अभिनय गरेकी अधिकारी मिल्क टी र सलेदो नाटककी निर्देशक हुन्। उनले रेड मनसुन, लाज शरणम्, कोशेढुंगालगायत चलचित्रमा अभिनय गरेकी छन्। उनी अभिनीत चलचित्र परालको आगो हाल प्रदर्शनरत छ। उनै अधिकारीसँग नेपालन्युजका लागि गरिएको सात सवाल :
नाटकमा अभिनय र निर्देशनसमेत गर्नुभयो। थिएटर पनि चलाउनुभयो। सिनेमामा पनि सक्रिय हुनुहुन्छ। तपाईंलाई सबैभन्दा सन्तुष्टि दिने माध्यम कुन हो?
मलाई कलाका सबै विधा मन पर्छ। सुरुमा नाटक गरेँ। त्यसपछि विज्ञापनमा अलि व्यस्त भएँ। थिएटर पनि चलाएँ। सिनेमामा अभिनय पनि गरिरहेकी छु। सबै विधा समेटेर लैजान पाउनु मेरो लागि सौभाग्य पनि हो। म सबै विधाबाट खुसी छु।
थिएटर र फिल्ममा अभिनय गर्दा तपाईंको तयारी र ‘अप्रोच’ मा के कति फरक हुन्छ?
नाटकमा स्वतन्त्र रूपमा काम गर्न पाइन्छ। ‘रिहर्सल’ मा अलि धेरै तयारी गर्न पाइन्छ। सिनेमामा ‘रिटेक’ लिनुपर्दा अलिकति टेक्निकल हुनु जरुरी रहेछ। त्यसको पनि आफ्नै रमाइलो छ।
तपाईंको व्यक्तिगत सोच वा जीवनदृष्टिमा परिवर्तन ल्याउने कुनै पात्र जसलाई तपाईंले निर्वाह गर्नुभयो या निर्देशन गर्नुभयो?
म आफैँले निर्देशन र अभिनयसमेत गरेको मिल्क टी नाटककी राधा पात्रको चरित्र सबैभन्दा बढी मन परेको हो। त्यस चरित्रले वास्तविक जीवनमा पनि धेरै फरक पारेको छ।
हाल प्रदर्शनमा रहेको परालको आगोमा सौगात मल्लसँगको जोडी रुचाइएको छ। सौगातसँग काम गर्दाका अनुभव बताइदिनुहोस् न।
सौगात दाइसँग मैले श्री ५ अम्बरे फिल्ममा काम गर्दा रमाइलो भएको थियो। अहिले परालको आगोमा पनि हाम्रो जोडी धेरैले रुचाउनुभएको छ। उहाँसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाउँछु।

तपाईंले सञ्चालन गरेको पुरानो घर थिएटर सुस्ताएको मात्र हो कि बन्द नै भएको?
नाटक घर सञ्चालन गर्न धेरै गाह्रो छ। आफ्नै पकेटबाट खर्च गरेर चलाउन सकिएन। त्यसैले केही समयलाई बिट मारेको हो, तर बन्द नै भएको होइन। अहिले आफूलाई फरक हिसाबले समय दिएको हो। भविष्यमा फेरि रंगमञ्चमा काम गर्ने रहर छँदै छ।
कलाकारका रूपमा तपाईंको सपना वा उद्देश्य के हो? दुई दशक लामो यात्रामा आफ्नो सपना कति पूरा भयो?
कलाकारको हिसाबले अझ धेरै राम्रा काम गर्न मन छ। जे-जति काम गर्न पाएँ, तिनलाई अविस्मरणीय सिकाइका रूपमा लिन्छु।
एउटा कलाकारले सधैँ अब्बल निर्देशक वा राम्रो प्रोडक्सन हाउससँग जोडिएर आफैँलाई चुनौती दिने खालका काम गर्न चाहन्छ। ममा पनि त्यस्तै चुनौतीपूर्ण अवसर आओस् र आफूलाई प्रमाणित गर्न सकूँ भन्ने चाहना छ।
सिनेमा र रंगमञ्चमा तपाईंका भावी योजना के छन्?
रंगमञ्च अहिले अलि सुस्त छ। तर, रंगमञ्च सधैँ प्यारो छ र यसलाई अभिभावकका रूपमा लिन्छु। नाटक निर्देशकका रूपमा अझै केही काम गर्न मन छ।
सिनेमामा अझै फरक र उत्कृष्ट चरित्र निर्वाह गर्नु नै मुख्य उद्देश्य हो। मसँग दुईतीन वर्षदेखि केही सर्ट फिल्मका कथाहरू छन्। तर, तिनमा काम गर्न पाएको छैन।