संगीत
आफ्नै र्यापका आक्रोशहरूलाई सम्बोधन गर्न सके मात्र सफल मानिनेछ बालेन सरकार
प्रधानमन्त्री शपथको एक दिनअघि बिहीबार बेलुकी बालेन्द्र शाह (बालेन)ले आफ्नो नयाँ गीत सार्वजनिक गरे, जय महाकाली। गीतले भन्छ–
जय महाकाली, आयो गोर्खाली
विश्व जित्छु यसपालि, डराउँदैन यो नेपाली
बालेनले चुनावी अभियानका क्रममा पूर्वदेखि पश्चिम नेपालसम्म गरेको यात्रा, भाषण, सभा र सहभागिताका फुटेज प्रयोग गरिएको यस गीतले विपक्षीसँग नडराउने र यसपटक जसरी पनि क्रान्ति ल्याउने आशय बोकेको छ।
नयाँ गीतको भिडिओ सार्वजनिक गरिएको समयले बालेन संगीत र राजनीतिबीचको सम्बन्धलाई उपयोग गर्न माहिर छन् भन्ने छर्लंग पार्छ।
संगीतमा लागेको एक दशकपछि मात्र राजनीतिक दृश्यमा आएका बालेन अन्डरग्राउन्ड हिपहप शैलीमै ‘राजनीति’ गरिरहेका थिए। झन्डै चार वर्षअघि कान्तिपुर टेलिभिजनको ‘इट्स माइ सो’ मा प्रस्तोता सुरजसिंह ठकुरीसँग उनले आफूले र्यापबाट क्रान्ति गरिरहेको बताएका थिए। आफ्ना गीतले मनोरञ्जनभन्दा सामाजिक कुरीति, राजनीतिक बेथितिविरुद्ध निराशा पोख्ने वा टिप्पणी गर्ने काम गरेको उनको भनाइ थियो। बालेनको संगीत यात्रा र उनले रोजेको विधा हिपहपले पनि यही कुरा पुष्टि गर्छ।
बालेनले करिब दुई दर्जन गीत गाएका छन्। उनको पहिलो गीत ‘सडक बालक’ हो, जुन १३ वर्षपहिले उनकै युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। गीतमा भनिएको थियो–
सरकारी कर्मचारी
विदेशी व्यापारी
भाषण दिएर हैन
हेरिदेऊ माया गरी
सन् २०१३ ताका यम बुद्ध र कोलिनविक्रम राणाको पहलमा सुरु भएको रअ बार्जले युनिक पोयट, लाहुरे, साकारजस्ता नयाँ पुस्ताका थुप्रै प्रतिभाशाली र्यापर जन्मायो। र्यापरका रूपमा बालेनको आगमन र चर्चाको प्रमुख बिन्दु पनि रअ बार्ज नै थियो। लिटल ग्रिजलसँगको र्याप ब्याटलमा बालेन पहिलो पटक र्याप हान्दै उपस्थित मात्रै भएनन्, आफ्नो शब्दजाल र आक्रामक शैलीमार्फत विपक्षीमाथि हाबीसमेत भए।

(बायाँ) र्यापर बालेन, (दायाँ) नेता बालेन।
लिटल ग्रिजलसँगको उक्त प्रतिस्पर्धाका यी अंश बालेनले प्रधानमन्त्रीको उम्मेदवारी दिएपछि भाइरलसमेत भएको थियो,
तेरो अनुहार गोलभेँडाको, हेर्दै थिच्न मन लाग्छ
तँ लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ
दुईचार दिन पर्खी कान्छा
तेरो बाउलाई नि, मसँग फोटो खिच्न मन लाग्छ
रअ बार्जले बालेनलाई नेपहप (नेपाली हिपहप)को केन्द्रमा ल्याइदियो। भारतबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका बालेनलाई त्यसबेला इन्जिनियर युवा र्यापरको चिनारीसमेत मिल्यो।
स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ सालमा काठमाडौँ महानगरको मेयर चुनिएपछि अश्न कवितासंग्रह प्रकाशन गरेका बालेनले आफ्नो कविताप्रतिको लगावलाई १२ वर्ष पुरानो तथ्य शीर्षकको गीतमा यसरी पोखेका थिए,
बालेन मेरो नाम
कापी कलमले लड्छु म
हतियारको काम
साहित्यले नै गर्छु म
बालेनको युट्युब च्यानलमा भएका गीतमध्ये ‘अतीतका गीत’, ‘स्याभेज’, ‘मार्फाको मदिरा’, ‘लोकल ठिटो’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’, ‘बलिदान’ आदि चर्चित छन्।
१३ वर्षअघिकै कुरा हो, काठमाडौँमा अपराध नियन्त्रण गर्ने नाममा प्रहरीले जबरजस्ती समातेर युवाका लामो कपाल काटिदिन्थ्यो। बालेनले त्यहीबेला प्रहरीको ज्यादतीको विरोधमा र्याप बनाएका थिए–
म नेपाल प्रहरी, जनतालाई ढाँट्छु म
गर्न केही आउँदैन, कपाल काट्छु म
नेपाली प्रहरी अब कपालको सेवामा
निडर र नि:संकोच रूपमा विरोधको निजी वा सामूहिक स्वर ओकल्न सक्नु र्यापको विशेषता हो। बालेनले र्यापरका रूपमा सुरुदेखि नै यो विशेषता समातेको देखिन्छ।
६ वर्षअघि सार्वजनिक ‘बलिदान’ गीतसम्म आइपुग्दा बालेनमा आक्रोश अझै बढेको देखिन्छ। ‘मलाई बोल्न दे सरकार, अपराध हैन’ भन्दै उनी भन्छन्,
देशको रक्षा गर्ने जति सबै चुतिया छन्
नेता जति सबै चोर, देश लुटी खा’छन्
र्यापमा लय र अनुप्रासयुक्त कथावाचनसहितको कवितात्मक प्रस्तुति हुन्छ। सन् १९७० को दशकमा विकसित र्यापको पृष्ठभूमिमै विद्रोह थियो। अश्वेत युवाले आफूविरुद्धको रंगभेद र दमनका विरुद्धमा र्याप प्रयोग गरे। प्रतिरोधी संगीतको यो विशेषता संसारभरिको हिपहपमा जस्तै नेपहपमा पनि भेटिन्छ।

तस्बिर : बालेन्द्र शाहको फेसबुक
नेपालमा हिपहप स्थापित गर्ने सुरुआती र्यापर गिरीश खतिवडा बालेनलाई सचेत र्यापर मान्छन्। “समाजमा भइरहेको कुरा सचेत भई अभिव्यक्त गर्ने र्याप नै सचेत र्याप हो,” उनी भन्छन्, “बालेनले युवाको निराशा मात्रै गाएनन्, देशभित्रका विभिन्न समस्या र राजनीतिक भ्रष्टाचारजस्ता विकृतिबारे चेतना फैलाए।” गिरीश आफैँ पनि यही धारका र्यापर हुन्।
र्यापमा आफ्नो पुस्ताका निराशा, रोजगारीका समस्या, भ्रष्टाचारजस्ता मुद्दा आउँदा युवा यसतर्फ आकर्षित हुनु स्वाभाविक हो। यो कुरा बुझेका बालेनले सुरुदेखि संगीतलाई सामाजिक विषयबारे संवाद गर्ने माध्यम बनाए। ‘मेरो म्युजिकको उद्देश्य समाजमा केही गरौँ भन्ने नै थियो। त्यही कुरालाई अहिले विस्तार मात्रै गरेको हो,’ बालेनले अन्तर्वार्ताहरूमा भनेका छन्।
तर, बालेनका गीतहरू उनी राजनीतिमा आउनुअघिसम्म ठूलो समूहमा फैलिएको भने थिएन। “बालेन र्यापमा पाएको सफलताबाट राजनीतिकर्मी बनेका होइनन्। बरु, राजनीतिमा आएपछि उनका गीतहरू हिट भएका हुन्,” खतिवडा भन्छन्, “तर, उनको राजनीतिक सोच र गीत मिलेको देखियो। त्यसले उनको संगीत र राजनीति दुवैलाई फाइदा भयो।”
बालेनका थुप्रै गीत सार्वजनिक भएको निकै पछि नै चलेका हुन्। जस्तो कि, लाज शरणम् सिनेमामा राखिएको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ र झरीपछिको इन्द्रेणीमा राखिएको ‘आमनेपाली बुवा’।

तस्बिर : बालेन्द्र शाहको फेसबुक
दोस्रो संविधानसभाले समेत संविधान घोषणा गर्न नसकिरहेका बेला बालेन ‘संविधानका लागि हामी अभियान’ मा सक्रिय थिए। त्यही बेला उनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गरेका थिए। यो गीत पनि निर्वाचनका बेला निकै चल्यो। ‘आमनेपाली बुवा’ पनि १३ वर्ष पुरानो गीत हो।
अल्गोरिदम राजनीतिको बहस भइरहेका बेला बालेनका गीतहरूको प्रयोग र पुन:प्रयोगबारे थप चर्चा हुनै बाँकी छ। किनकि, बालेनको राजनीति बुझ्न पनि उनको र्याप बुझ्नैपर्छ।
अन्तर्राष्ट्रिय मिडियामा समेत र्यापर नेताका रूपमा चर्चा कमाएका बालेनका सामाजिक सञ्जालका अभिव्यक्ति र र्यापका पन्चलाइनबीच समानता देख्ने पनि धेरै होलान्। उनको उठबस, हाउभाउ, पहिरन र शैलीमा ‘र्यापर स्वाग’ प्रस्टै देखिन्छ।
राजनीतिक विश्लेषक हरि शर्मा भन्छन्, “अहिलेको समय नै लेखक पंकज मिश्रले भनेजस्तै एज अफ एंगर (आक्रोशको युग)को हो। यहाँनेर संगीतको भूमिका देखिन्छ। संसारभरि त्यो नैराश्य, आवेगको आवाज पोख्ने माध्यम संगीत बनेको छ।”
पञ्चायतकालमा राल्फालगायत जनवादी समूहका संगीतले जस्तै पछिल्लो समय र्याप सत्ताइतरको विचार पोख्ने र खबरदारी गर्ने माध्यम बनेको छ। तर, बालेनले संगीतलाई खबरदारीको माध्यम मात्र बनाएनन्। उनको निचोड थियो– पैरवी र अभियानले मात्रै पुग्दैन। आफैँ नेतृत्व लिनुपर्छ। मेयर हुँदै प्रधानमन्त्रीमा बालेनको पदार्पण उनको यही निश्चयको प्रतिफल हो।
र्यापमार्फत समाजको ऐना देखाउने बालेन अब प्रतिपक्षी र्यापर रहेनन्। अब उनी सत्ता बनेका छन्, जहाँ समस्याको र्याप होइन, समाधानको सूत्रको अपेक्षा गरिन्छ।
रअ बार्जमा लिटल ग्रिजलसँगको प्रतिस्पर्धामा उनले भनेका थिए–
नेपहपको हिस्ट्रीमा तैँलेजस्तो
रिबटल कसैले खाको थेन
हिस्ट्री भनेको फेरिने चिज हो भाइ
बालेन अहिलेसम्म आको थेन
बालेन आए, इतिहास फेरियो। के अब देश बन्छ?