काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

विचार 

वर्षौंदेखि उस्तै बेथिति, उही नेता र उस्तै आश्वासनबाट आजित बिदेसिएका नेपालीले यसपटक आफू बाहिरै बसेर अभियान नै गरेर नयाँलाई जिताए।

१५ चैत्र २०८२
अ+
अ-

विदेशमा बस्ने नेपाली र त्यसमा पनि नयाँ पुस्ताले यसपटकको निर्वाचनमा नयाँ राजनीतिक दललाई मतदान गर्न अभिभावकहरूलाई आग्रह गरेको पाइयो। उनीहरूले ‘आफूहरूले भनेको ठाउँमा भोट नहाले खर्चपानी नपठाउने, घर नफर्कने’ सम्म पनि भनेको चर्चा भयो। उनीहरूको यस्तो आग्रह र दबाबको कति प्रभाव पर्‍यो, निर्वाचनको परिणामले प्रस्ट पारिसकेको छ। अहिले जसले दुई तिहाइनजिकको बहुमत पाएको छ, सो पार्टीले पनि यो तहको परिणाम आउला भन्ने सायदै सोचेको थियो।

नयाँ पुस्ताले यसरी दबाब दिनु अभिभावकको मत हाल्ने स्वतन्त्रताप्रति एक प्रकारको हस्तक्षेप नै हो। तर, उनीहरू किन हस्तक्षेपकारी बने? यसबारे गम्भीरतापूर्वक विचार गर्न जरुरी छ।

हुन त यस निर्वाचनमा लोकप्रियतावादले पनि धेरै काम गरेको छ। सामाजिक सञ्जालमा छाएको एल्गोरिदमले पनि निर्वाचन परिणामलाई प्रशस्त प्रभाव पारेकामा दुई मत छैन। तर, लोकप्रियतावाद होस् वा एल्गोरिदम, निर्वाचन परिणाम आइसक्यो। पाँच वर्षका लागि रास्वपाले प्रचण्ड बहुमत पाइसक्यो। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भइसक्यो।

विदेशमा बस्ने नेपालीलाई किन पुराना वा परम्परागत राजनीतिक दलप्रति वितृष्णा चुलियो? यो लेख त्यसैमा केन्द्रित छ।

विदेश उड्दै गर्दा

जहाँबाट नेपाली विदेशका लागि उड्छन्, त्यहीँ ठाउँ बेथितिको अर्को नाम हुन पुगेको छ। त्यो ठाउँ हो– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। यो विमानस्थल यस्तो ढोका हो, जहाँबाट हात्ती पनि सजिलै छिराउन सक्छु भन्नेसम्मको गफ दिन भ्याएका थिए, अन्तर्राष्ट्रिस्तरका कुख्यात अपराधी चार्ल्स शोभराजले। ‘सेटिङ’ बाट ठूला ठूला तस्करी हुने तर सामान्य नागरिकको जिउ र झोला खोतलखातल गरेर इमानदारी देखाउने कतिपय कर्मचारीले गरेको व्यवहारको तीतो अनुभव बटुल्दै विदेश उड्नेले के आफ्नो देशमा यस्तै बेथिति कायम रहोस् भन्ने कामना गर्लान्?

वर्षाैंदेखि विकास र समृद्धिको अनेकौँ नारा दिने राजनीतिक दलहरूले विमानस्थललाई समेत सुधार गर्न नसकेपछि बिदेसिएकाहरूले नयाँ राजनीतिक शक्तिबाट केही आशा र अपेक्षा गर्ने नै भए। त्यसैले उनीहरूले यसपटक पुरानोलाई होइन, नयाँलाई रोजौँ भनी अभिभावकहरूलाई कर गरे।

जब तिनै नेपाली विदेश उडेर ट्रान्जिट वा गन्तव्यमा पुग्छन्, त्यहाँको शिष्टता र भव्यता देखेपछि आफ्नो देशको विमानस्थलको नाजुक हालत सम्झेर खिस्रिक्क हुन्छन्।

वर्षाैंदेखि विकास र समृद्धिको अनेकौँ नारा दिने राजनीतिक दलहरूले विमानस्थललाई समेत सुधार गर्न नसकेपछि बिदेसिएकाहरूले नयाँ राजनीतिक शक्तिबाट केही आशा र अपेक्षा गर्ने नै भए। त्यसैले उनीहरूले यसपटक पुरानोलाई होइन, नयाँलाई रोजौँ भनी अभिभावकहरूलाई कर गरे।

विदेशमा पुगेपछि

विदेश पुगेपछि नियमले चल्ने प्रणाली र अनुशासन देखेर नेपालीहरू चकित हुन्छन्। त्यहाँ नियमले पुग्ने काममा कसैले पनि धोका खानु पर्दैन। आफू अनुशासित भएपछि कुनै असुरक्षा महसुस गर्नु पर्दैन। राति १ बजेतिर पनि महिलाहरू कुकुर डोर्‍याएर घुमिरहेको देख्न पाइन्छ। सपिङ सेन्टरहरूमा मोलतोल चल्दैन, नक्कली मालमा फसिएला भनेर डर मान्नु पर्दैन। वृद्धवृद्धा, गर्भवती, अपांगमैत्री व्यवहार हुन्छ। यात्रा गर्दा पनि बसमा कोचिनु पर्दैन। बसपार्कमा सिन्डिकेटवालाहरूको दादागिरीको कल्पनासम्म गर्न सकिन्न। ट्याक्सीहरू ढुक्कले मिटरमा चल्छन्।

स्वास्थ्य, शिक्षा र रोजगारी सबै व्यवस्थित देख्छन्। त्यसपछि बिदेसिएकाहरू सोच्न थाल्छन्, ‘नेपालमा राजनीतिक परिवर्तन भएको यतिका समय बितिसक्यो, तर किन विकास भएन? हामी किन बिदेसिनुपर्‍यो?’

मनसुनले पानी पर्ने र भनसुनले मात्र काम हुने हाम्रो देशको यस्तो बेहाल सम्झेर पनि विदेशमा बस्ने नेपालीमा पुराना राजनीतिक दलहरूप्रति वैराग्य र घृणा पैदा हुन पुग्यो। त्यसैले सामाजिक सञ्जालको सुविधा उपभोग गर्दै विदेशमा बस्ने अधिकतर नेपालीले नयाँलाई रोज्न अभियान नै चलाए।

विदेशमा बग्ने स्वच्छ नदीहरू देखेपछि नेपालीहरू बागमती र विष्णुमतीसँगै देशको फोहोरी राजनीति सम्झन्छन्। सफा र हराभरा वातावरण देखेपछि उनीहरूले आफ्नो देशमा पनि त्यस्तै होस भन्ठान्नु स्वाभाविकै हो।

हाम्रो देशमा प्रणालीभन्दा नातावाद र कृपावाद बढी चल्छ। घुसखोरीको महामारी छ। मनसुनले पानी पर्ने र भनसुनले मात्र काम हुने हाम्रो देशको यस्तो बेहाल सम्झेर पनि विदेशमा बस्ने नेपालीमा पुराना राजनीतिक दलहरूप्रति वैराग्य र घृणा पैदा हुन पुग्यो। त्यसैले सामाजिक सञ्जालको सुविधा उपभोग गर्दै विदेशमा बस्ने अधिकतर नेपालीले नयाँलाई रोज्न अभियान नै चलाए।

काठमाडौँको एक केन्द्रमा मतदान गर्दै सर्वसाधारण। तस्बिर : नेपाल फोटो लाइब्रेरी

स्वदेश फिर्तीपछि

विदेशमा बस्ने नेपाली जब स्वदेश फर्कन्छन्, केही दिनबाटै उकुसमुकुस सुरु हुन्छ। विमानस्थलमा फेरि जाने बेलाकै जस्तो कर्कश व्यवहार, लुटिने डर। जब बाहिर आउँछन्, ट्याक्सीले ठग्न सुरु गर्छ। ट्याक्सीवाल हत्तपत्त मिटर चलाउन मान्दैन, एपहरूमा चल्ने ट्याक्सी पनि सकेसम्म पैसा बढाउनै खोज्छ।

अनि उनीहरू घर वा होटलमा पुग्छन्, नुहाउनलाई पर्याप्त पानी हुँदैन। बिजुलीको भर पर्न सकिन्न। त्यसैबेला उनीहरू सञ्चारमाध्यममा नेताहरूका यस्ता भाषण सुन्छन्, जुन आश्वासन र झुटले भरिएका हुन्छन्। यस्ता भाषण सुनेको पनि धेरै भइसक्यो।

युगले कोल्टे फेरिसक्यो। हिजोका बालकहरू युवा भइसके, जवानहरू प्रौढ भइसके। तर, देशको मुहार फेरिएको नदेख्दाकै परिणाम पनि हो– निर्वाचनको नतिजा।

असुरक्षित लगानी

विदेशमा पुगेका अधिकतम नेपाली श्रम गर्छन्, कतिपय अध्ययन गर्छन्। तर, विदेशमै बसेर राम्रो व्यापार-व्यवसाय गरी धनाढ्य भएका नेपालीहरू पनि छन्।

सरकारले विदेशमा बस्ने नेपालीलाई स्वदेशमै लगानी गर्न आह्वान गरिरहन्छ। तर, कहिले कानुन बाधक बन्छ त कहिले विध्वंस। लगानी सुरक्षाको कुनै ग्यारेन्टी छैन।

अरू त अरू, देशमा परिवर्तन गर्ने भनिएको जेन-जी आन्दोलनका नाममा व्यावसायिक घरानाहरू जुन हिसाबले निसाना बने, फेरि पनि त्यस्तै अवस्था नहोला भनेर ठोकुवा गर्ने अवस्था छैन। पुराना राजनीतिक शक्तिहरूले लगानी सुरक्षाको प्रत्याभूतिको वचन दिए पनि विदेशमा बस्ने नेपाली विश्वस्त हुन सकेनन्। नयाँ शक्तिले सुरक्षित लगानीका लागि केही गर्ला कि भन्ने झिनो आशाले पनि उनीहरूले यसपटक नयाँ शक्तिप्रति रुझान देखाएका हुन्।

अर्कातिर गैरआवासीय नेपालीहरूले दोहोरो नागरिकताको माग गरेको पनि वर्षौं भइसक्यो। त्यसमा पनि पुराना शक्ति सकारात्मक देखिएनन्। नयाँ शक्तिले त विदेशमा बस्ने नेपालीलाई मताधिकारसमेतको ग्यारेन्टी गरिदिने वाचा गर्‍यो। मनमा पलाएका यिनै आशाहरूका कारण पनि प्रवासी र आप्रवासी नेपालीले नयाँलाई जिताए, पुरानालाई नसिहत दिए।

(लेखक दिक्पाल हाल पोर्चुगलमा बसोबास गर्छन्।)