बातचित
प्रखर सांस्कृतिक–राजनीतिक चेतना बोकेका कवि श्रवण मुकारुङ चार दशकदेखि काव्यिक यात्रामा सक्रिय छन्। उनी उत्पीडनमा परेका नागरिकका सरोकारलाई वैचारिक तथा कलात्मक संयोजनसहित बुन्ने शब्द–शिल्पी हुन्। उनका प्रतिरोधी रचनाहरूमा समाज रूपान्तरणको तीव्र आकांक्षा महसुस हुन्छ। कहिले ‘बिसे नगर्ची’ त कहिले ‘रामभरोस’ बनेर उनका कविताहरू आन्दोलनका मोर्चाहरूमा अग्रपंक्तिमा हिँडेका छन्। मुकारुङका ‘बिसे नगर्चीको बयान’, ‘भानुभक्त’, ‘अनुहार खोजिरहेछ रामभरोस’, ‘गाउँ’ र ‘आमा’ जस्ता कविताहरू देश विदेशका विश्वविद्यालयहरूका पाठ्यक्रममा समेत समावेश छन्। कवितामा जस्तै गीत लेखनमा पनि स्थापित मुकारुङले निबन्ध, नाटकसमेत लेखेका छन्। देश खोज्दै जाँदा, जीवनको लय र बिसे नगर्चीको बयान उनका प्रकाशित कवितासंग्रह हुन्। यही वर्षको अन्त्यसम्म प्रकाशन हुने सलहमार्फत उनी पहिलो पटक उपन्यासकारका रूपमा पदार्पण गर्दै छन्। उनै मुकारुङसँग नेपालन्युजका लागि प्रभाकर गौतमले गरेको बातचितको सम्पादित अंश :
तपाईंको जीवनमा कविताको प्रवेश कसरी भयो?
सन् १९७९ मा पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइयो। त्यसको विरोधमा उठेको आन्दोलनले नेपाली राजनीतिमा समेत उथलपुथल ल्यायो। त्यसकै पृष्ठभूमिमा नेपालको राजनीति जनमतसंग्रहसम्म आइपुग्यो।
त्यतिबेला गाउँ गाउँसम्म पञ्चायती व्यवस्थाविरुद्ध विद्रोहको ज्वाला सल्किसकेको थियो। हाम्रो भोजपुरका गाउँबस्तीका मानिसहरू पनि आन्दोलनमा उत्रेको मैले देखेँ।
वामपन्थी अभियान उचाइमा पुग्दै गरेको समय थियो। सामन्त/शासकहरूको विरोधमा गरिब निमुखाहरू जुर्मुराइरहेका थिए। विद्यार्थीहरूलाई समेत पञ्चायतविरोधी जुलुसमा हिँडाइन्थ्यो। कक्षा ६/७ मा पुग्दानपुग्दै राजनीतिक माहोलले मलाई प्रभावित पार्न थालिसकेको थियो। मेरो अबोध बालमस्तिष्कमै त्यसको छाप बस्यो।
हाम्रो दिल्पा गाउँको हाई स्कुल अन्नपूर्ण माध्यमिक विद्यालयमा सिर्जना पुस्तकालय थियो। त्यहाँ मैले पाठ्यक्रमबाहिरका लेखकहरूका किताब पढ्न पाएँ। सुरुआती चरणको लेखन अग्रजका रचनाहरूकै अनुकरणबाट भयो।

तस्बिर : बिक्रम राई
भोजपुर योगमाया, षडानन्द जस्ता थुप्रै व्यक्तित्वका कारण शैक्षिक तथा सामाजिक रूपमा अगाडि थियो। पूर्वी पहाडमा दार्जिलिङतिरबाट गितार बोकेर आएका शिक्षकहरूले गीत-संगीतमार्फत नयाँ तरंग, नवीन चेतना फैलाए। भोजपुरको यस्तो सांस्कृतिक परिवेशले धेरै प्रतिभा फस्टाउन मलजल गर्यो। यही माहोलले ममा पनि आफ्नो परिचय बनाउने भोक जगायो।
यिनै कुराहरूले काठमाडौँ आएर आफ्नो पहिचान बनाउन झकझक्याए।
कवि नै बन्छु भन्ने धुन कहिलेदेखि सवार भयो?
मैले पहिलो पटक कक्षा ७ मा हुँदा ‘हुलाकी बन्ने धोको’ शीर्षकको निबन्ध सुनाएको थिएँ। व्यंग्यात्मक शैलीको लेखन थियो। सायद भैरव अर्यालका निबन्धहरूबाट प्रभावित भएर लेखेको थिएँ। निबन्ध चर्चित भयो। गुरुहरूको प्रशंसा र पुरस्कारसमेत पाइयो।
कक्षा ९ मा लाहुरेको कथा समेटेर ‘अस्तित्व’ शीर्षकमा नाटक लेखेँ। भोजपुरको सदरमुकाममा प्रदर्शित नाटक दुई दिनसम्म हाउसफुल भयो। त्यसबेला काठमाडौँबाट आएका रेडियो नेपालका कलाकारहरूको समेत प्रस्तुति थियो। तर, मेरो नाटक चल्दा उनीहरूको कार्यक्रम नै फिक्का भयो।
हुन त, त्यतिबेला के नै लेखेँ हुँला र? तर, मान्छेले मन पराइदिए। हाई स्कुलमा हुँदा विजय मल्लको बौलाहा काजीको सपना नाटकमा बालकलाकारको भूमिकामा अभिनयसमेत गरेको थिएँ।
नाति पुस्ता जस्तो भए पनि माधव घिमिरेसँग समेत ठूलै दोस्ती भयो। पहिलो भेटमै मैले उहाँका मालती मंगलेका गीतहरू गाएर सुनाएको थिएँ। पछि, मैले लेखेको ‘सुनकोसीको सुनको पानी’ गीत उहाँ मलाई नै गाएर सुनाउनुहुन्थ्यो। उहाँले एकदम माया गर्नेमध्ये पर्छु म।
जिल्लामै मलाई तिम्रो हात देऊ या यस्तै कुनै शीर्षकको कविता सुनाउँदा सीडीओबाटै पुरस्कारसमेत पाएँ। कविता झन् हिट खायो। त्यसअघि गाउँघरमा अनौपचारिक हिसाबले वा स्कुलतिर फाट्टफुट्ट कविता सुनाइन्थ्यो।
त्यो समय सीडीओको हातबाट पुरस्कार पाउनु ठूलो कुरा थियो। त्यस चरणमा कविताप्रति मेरो आफ्नो कुनै धारणा भने बनिसकेको थिएन।
२०४२ सालमा एसएलसी पास गर्दासम्म म अपरिपक्व नै थिएँ। तर, भोजपुरबाट काठमाडौँ आउने बेलासम्म साहित्यको भूत चढिसकेको थियो। कविता लेख्नुबाहेक मेरो अर्को कुनै धुन थिएन।
काठमाडौँ आएपछि स्थापित लेखकहरूसँग भेटघाट र संगतको सिलसिला कसरी जोडियो?
काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस)मा भर्ना भएँ। पहिलो चोटि मैले कविता सुनाएको त्यहीँ हो, ‘आजकल रानीपोखरीमा’ शीर्षकको। कार्यक्रमको प्रमुख अतिथि पारिजात हुनुहुन्थ्यो। सायद त्यति बेला मन्जुल दाइ, विक्रम सुब्बा, पूर्णविराम, आहुति, ललिजन रावलहरू पनि हुनुहुन्थ्यो।

तस्बिर : बिक्रम राई
अन्तिममा आफ्नो मन्तव्यमा पारिजात दिदीले मेरो कवितालाई लिएर ‘नयाँ भए पनि कविता लेख्ने अभ्यास अलि अगाडिदेखि नै गरेको उहाँको कविताबाट थाहा हुन्छ’ भन्नुभयो। र, त्यो कविता आफैँसँग राख्नुभयो।
मेरा लागि त्यो कल्पनाबाहिरको कुरा थियो। रातभरि निद्रा लागेन। कविता ठीकठीकै हो। पछि हेर्दा भूपीको ‘घण्टाघर’ कविताको नक्कल जस्तो रहेछ। त्यो कविता पारिजात दिदीले नै उत्साह पत्रिकामा प्रकाशन गरिदिनुभयो।
त्यसपछि साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने सिलसिला बढ्यो। साहित्य सन्ध्या, प्रतिभा प्रवाह जस्ता प्रगतिशील लेखकका मञ्चहरूमा जान थालेँ। त्यसपछि रेडियोका लागि गीतहरू पनि लेख्न थालियो।
त्यतिबेलाका साहित्यिक मित्रहरू को को थिए?
काठमाडौँमा रमेश क्षितिज, विप्लव ढकाल, रमेश केसी, नवीन सुब्बा, खुमनारायण पौडेल, रमेश पौडेल मेरा नजिकका मित्र भए। कवितावाचन गर्ने स्टेजमा म र आहुति अक्सर दोहोरिन्थ्यौँ, हामीबीच कसले राम्रो कविता सुनाउने भनेर नजानिँदो ढंगले प्रतिस्पर्धा नै चल्थ्यो।
साहित्य सन्ध्या कहिले ल क्याम्पसमा त कहिले आरआर क्याम्पसमा हुन्थ्यो। सुरुआतमा अलिक क्रान्तिकारी कविता लेखियो। पछि संगत, अध्ययन र अनुभवले जीवनजगत्लाई बुझ्ने धारणाहरू फरक हुँदै आए। स्वाभाविक रूपमा त्यसको असर लेखनमा देखिने नै भयो।
हुन त उत्तरआधुनिकतावादीले सत्य टुक्रा टुक्रामा हुन्छ भन्छन्। तर, यति भन्दाभन्दै पनि कविता सत्य नै हो।
भोजपुरबाट आउने बेला गोपालप्रसाद रिमाल बितिसकेका थिए। भूपी र हरिभक्त कटुवालको ठूलो नाम र प्रभाव थियो। कलिलै उमेरमा कृष्णभूषण बल, वासु शशी, विक्रम सुब्बालगायतका रचनाहरू पढिसकेको थिएँ।
मेरो अध्ययन र भेटघाटको दायरा अलि फराकिलो भइसकेपछि यस्ता धेरै ठूला, अग्रज लेखकहरूसँग भेट्ने/संगत गर्ने अवसर पाएँ।
नाति पुस्ता जस्तो भए पनि माधव घिमिरेसँग समेत ठूलै दोस्ती भयो। पहिलो भेटमै मैले उहाँका मालती मंगलेका गीतहरू गाएर सुनाएको थिएँ। पछि, मैले लेखेको ‘सुनकोसीको सुनको पानी’ गीत उहाँ मलाई नै गाएर सुनाउनुहुन्थ्यो। उहाँले एकदम माया गर्नेमध्ये पर्छु म।
तपाईंको लेखनमा ती संगत-सत्संगको प्रभाव कस्तो पर्यो?
एउटा सफल, राम्रो, अग्रज लेखकसँग भेट्न पाउनु, उहाँहरूको कुरा सुन्न पाउनु पुस्तक पढेभन्दा कम होइन। जस्तो, मैले मोहन कोइराला, बैरागी काइँला, ईश्वर बल्लभ, कृष्णचन्द्रसिंह प्रधान, ईश्वर बराल, बल्लभमणि दाहालजस्ता दिग्गजहरूको संगत पाएँ। तारानाथ शर्माले मेरो कवितासंग्रहको भूमिका नै लेखिदिनुभयो।
शरद्चन्द्र शर्मा भट्टराई त मेरा फुपाजू। उहाँको घरमा झनै धेरै विद्वान आउनुहुन्थ्यो। उहाँहरूको छेउमा बसेर कुरा सुन्न पाउनु मेरो अविस्मरणीय सिकाइ भयो।

तस्बिर : बिक्रम राई
मोहन कोइराला दाइले त जागिरै दिनुभयो एकेडेमीमा। मैले वाल्मीकि विद्यापीठमा कविता सुनाउँदा उहाँ प्रमुख अतिथि बनेर आउनुभएको थियो।
सिर्जनशील स्रष्टाले हरेक मान्छे वा घटनाबाट ज्ञान लिन सक्छ। सानो, ठूलो, निरक्षर सबैखाले मान्छेबाट उसले महत्त्वपूर्ण शिक्षा लिन सक्छ। मैले त केही विशेष अवसरहरू नै पाएँ।
तपाईं भनिरहनुहुन्छ– हरेक लेखकको पृथक् पहिचान हुनुपर्छ। यो चेतना तपाईंमा कसरी आयो? तपाईं स्वयंको चाहिँ लेखकीय पहिचान के हो?
गोपालप्रसाद रिमालको आमाको सपना पढिसकेपछि कविता लेख्दा एकदुई वटा रिमालको टाइपको आउने भइहाल्यो। भूपी शेरचन वा अरू कोही पढेपछि त्यही शैली आउँछ। तर, पूर्ण लेखक हुन हरेकको आफ्नै पहिचान हुनुपर्छ। त्यस्तो पहिचान लेखकको सोच-शैलीले निर्माण हुने हो। मैले अलि छिटै आफ्नै शैली र पहिचान बनाएँ कि?
कविताले व्यक्ति मात्र होइन, समूहलाई नै प्रेरित गर्छ। भनिन्छ, बुद्धवाणीहरू कवितामा आए, र नै यति धेरै व्यापक भए।
२०४८ सालमा मेरो पहिलो कवितासंग्रह देश खोज्दै जाँदा निस्कियो। मैले धेरै पढेर वा जानेर होइन, अरूभन्दा फरक शैली, भाषा हुनुपर्छ भन्ने सोच बोकेर लेखेँ। म चाहन्थेँ– नाम छोप्दा पनि मेरो कविता चिनियोस्। तब मात्रै राम्रो लेखक भइन्छ भन्ने मलाई सुरुबाटै महसुस भइसकेको थियो।
मेरा थुप्रै दोस्तमध्ये रमेश क्षितिजसँगको पहिलो भेट यसैसँग सम्बन्धित छ। न्युरोड, पीपलबोटको त्यो पहिलो भेटमै उनले ‘तपाईंको कविता नाम नराखे पनि चिन्छु’ भनेका थिए। उनको यस कुराले पनि हामीबीच मित्रता बढायो।
लेखनमा अध्ययनको ठूलो भूमिका हुन्छ। अध्ययनले तपाईंको लेखनलाई कति प्रभावित गरेको छ?
म खासै पढन्ते होइन। संसारमा कविताका नयाँ ‘ट्रेन्ड’ बुझ्न, कविता केमा बढी केन्द्रित हुँदै छ भन्ने थाहा पाउने कोसिस भने गर्छु।
पहिले भारतीय, युरोपेली र अमेरिकी कविहरू बढी पढिन्थ्यो। अहिले चीन, जापान, कोरियादेखि अफ्रिकासम्म नयाँ भूगोलका कविताहरू पनि पढिरहेको हुन्छु। जहाँ बढी समस्या छन्, ती ठाउँहरूको कविता भेट्यो कि पढिहाल्ने बानी छ। जस्तो, अहिले प्यालेस्टाइन वा खाडी मुलुकहरूमा संकट छ, त्यहाँका कविता स्वतः प्राथमिकतामा पर्छन्।
विदेशी ‘क्लासिकल’ कविहरूमा पीबी शेलीको द ट्रायम्फ अफ लाइफ मैले दोहोर्याई तेहेर्याई पढेको कविता हो। टीएस इलियटको द वेस्ट ल्यान्ड, वाल्ट ह्विटम्यानको लिभ्स अफ ग्रास पनि उत्तिकै पढिरहन्छु। खलिल जिब्रानको द प्रोफेट मेरो प्रिय कृति हो।
न्युजिल्यान्डमा जन्मेर चीनमा लामो समय बिताएका कवि रेबी एल्लीको कवितासंग्रह पढेको थिएँ। त्यसको एउटा कविता धेरै मन परेर अनुवाद नै गरेँ,
मसँग एउटा रुमाल छ
त्यसको चारै वटा कुनामा
मैले फूलको बुट्टा भरेको छु
यदि तिमी असल काम गर्छौ भने
यो रुमालको बीचमा म
तिम्रो सुन्दर तस्बिर उतारिदिनेछु
यो कविता धेरै मन परेर कति ठाउँमा आफ्नै कविता भन्दै सुनाएँ पनि।
भारतीय कविका कविताहरू मज्जैसँग पढियो। केही नाम चलेका कवि-लेखकहरूलाई भेट्ने मौकासमेत पाएको छु। जसमा अशोक वाजपेयी, लीलाधर जगूडी, नरेश सक्सेना, मंगलेश डबराल, डा. नामवर सिंहलगायत छन्।
नेपालीमा रिमालको ‘आमाको सपना’, बैरागी काइँलाका ‘गंगा नीलो बग्छु’, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, मोहन कोइरालाको ‘फर्सीको जरा’, ईश्वर बल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’ मलाई औधी मन पर्ने कविता हुन्।
नेपाली सर्जकका थुप्रै रचना छन्, जुन कहिल्यै मरेर जाँदैनन्। माधव घिमिरेको गौरीभन्दा अर्को क्लाइमेक्स के हुन सक्छ? त्यो हरेक पंक्तिपिच्छे अमरवाणी भएको सूक्तिमय काव्य हो।

तस्बिर : बिक्रम राई
कविताको शक्ति के हो? साहित्यका अन्य विधाभन्दा कविता के कारणले फरक छ?
एरिस्टोटलले विरेचनको कुरा गरेका छन्। उनले कला-साहित्यलाई आत्मशुद्धिको माध्यम भने।
कविताले व्यक्ति मात्र होइन, समूहलाई नै प्रेरित गर्छ। भनिन्छ, बुद्धवाणीहरू कवितामा आए, र नै यति धेरै व्यापक भए।
मेरो विचारमा कवितामा दुइटा शक्ति छ। पहिलो, यो चेतनाको सबैभन्दा उपल्लो अभिव्यक्ति हो। बोलेर वा भाषण गरेर भनिएका कुराभन्दा कविताबाट प्रवाह गरिएका विचार प्रभावकारी भएका उदाहरणहरू छँदै छन्। यस मानेमा कवितामा समयलाई डोर्याउने शक्ति हुन्छ। नेपालका धेरै आन्दोलनहरूमा कविताको यो शक्ति प्रकट भएको छ।
‘बिसे नगर्चीको बयान’ यसको उदाहरण हुन सक्छ। यस कविताले इतिहासदेखिको दमनको कथा भन्यो। कविताका रूपमा आएकैले त्यस कथाले ठूलो समूहसँग संवाद गर्यो। शासकसँग प्रतिवाद गर्यो।
कविताको यस्तो शक्तिलाई शासकहरूले आफ्नो स्वार्थअनुकूल प्रयोग गरेका छन्। शक्ति आर्जन गर्ने वा आफूलाई महान् बनाउने माध्यमका रूपमा पनि कविताको प्रयोग भएको छ। सर्वोपयोगी भएकाले कवितालाई आफ्नो पक्षमा मत सिर्जना गर्ने माध्यमका रूपमा उपयोग गरिन्छ।
दोस्रो, सत्य उद्घाटन गर्ने र सत्यको नजिक पुग्ने माध्यम हो कविता।
मेरो मत सधैँ उही हो– कविता पटकथामा हुन्छ। कवितावाचनमार्फत प्रभाव पारेर पैसा कमाउने दोस्रो काम हो । कविको पहिलो काम त कविता नै लेख्नु हो।
कलाको माध्यममा निखारिएर आएपछि त्यो लगभग सत्य वचनमा रूपान्तरित हुन्छ। त्यही भएर हामी कवितालाई स्विकार्छौं।
हुन त उत्तरआधुनिकतावादीले सत्य टुक्रा टुक्रामा हुन्छ भन्छन्। तर, यति भन्दाभन्दै पनि कविता सत्य नै हो।
मन पर्ने कविता पुनर्पठन गर्नुहुन्छ? किन? कस्तोबेला?
कहिलेकाहीँ आफैँ मुड आउँछ। चुरोट वा कफीको तलतल जस्तो। चेतन-अवचेतनले केही भन्छ अनि सिर्जनात्मक भोक जाग्छ।
त्यस्तो बेला म नयाँभन्दा पुरानै कविका सिर्जनाहरू पढिरहेको हुन्छु। स्मरणमा जे आउँछ त्यही पढ्ने हो। त्यस्तो पठनले एकखालको आत्मविश्वास ल्याउँछ। आफूभित्रको तृष्णा र अतृप्तता मेटिन्छ। पीडाहरू बिलाएझैँ हुन्छ।
म आनन्दका लागि मात्रै कविता पढ्दिनँ। कहिलेकाहीँ थकान वा निराशाले आफैँभित्र संकट महसुस भइरहेको हुन्छ। त्यस्तो बेलामा कुनै उत्कृष्ट कविता झिकेर हेर्छु।
‘क्याथर्सिस’, एउटा विरेचन भए जस्तो ‘आहा’ भन्ने भाव आउँछ मनमा। त्यही नै त होला लेखनको शक्ति। कविताको शक्ति!
आजको कविताको सुर र स्वर कस्तो छ? कविताको धार कता जाँदै छ?
साहित्य दुइटा विषयमा केन्द्रित देख्छु म। एउटा, विश्वकै मानव समुदायले भोग्ने साझा संकट र अर्को, देशभित्रका आन्तरिक समस्या।
पहिलोले संसार सबैको साझा हो भन्ने विश्वजनित समभावको कुरा उठाउँछ। त्यसमा मानवीय कुरा प्रखर रूपमा आउँछ। त्यस्तो लेखनमा युद्धको त्रासदी र अमानवीय क्रूरताको प्रतिविम्ब भेटिन्छ। ती हिंसा, असमानता र विभेदविरुद्धका स्वर हुन् जसले समानुभूति, सहअस्तित्व र सुशासनको पक्षमा बोल्छन्। संसारभरि हाल मानवीय मूल्यका लागि लेखिएका यस्तै रचना बढी सशक्त देखिन्छन्।
यसबाहेक पहिचान, पर्यावरण, जलवायु संकट, लैंगिकतालगायत पनि जल्दाबल्दा विषय हुन्।
अर्कातिर, हरेक समाजभित्र आन्तरिक मुद्दाहरू हुन्छन्। साहित्यमा ती मुद्दाहरू निरन्तर आउँछन् नै। लेखनको मूल विषय भनेकै आफू बाँच्ने समाज र विश्वप्रति लेखकले अभिव्यक्त गर्ने सरोकार हो। उसले द्रष्टा भएर गर्ने टिप्पणी हो।

तस्बिर : प्रभाकर गौतम
यहाँनेर कविता र राजनीतिको अन्तरसम्बन्ध कस्तो हुन्छ?
हुन त कविता ‘स्वान्त: सुखाय’ का लागि लेख्नेहरू पनि छन्। तर, लेखकहरू सधैँ अन्यायविरुद्ध आवाज उठाउँदै न्यायको पक्षमा उभिन्छन्।
नेपालमा पनि २००७ सालको क्रान्तिदेखि २०६२/६३ सम्म भएका हरेक ठूला राजनीतिक उथलपुथलमा लेखकहरू जनभावना र जनआक्रोश सम्प्रेषण गर्ने संवाहक बने।
यही कारण सामाजिक सरोकारबारे लेखिने हरेक रचनामा पाठकले आफ्ना पीडा र सपना भेट्छन्। सीमान्तीकृत र पीडितहरूको पक्षमा लेखिएका रचना सामूहिक चेतना बनेर फैलिन्छन्। यस्ता रचना समाजको सामूहिक आवाज बन्छ। कविता त्यही सामूहिक स्वर हो।
नयाँ पुस्ता आफ्नै भाषा, शैली र पहिचानको खोजीमा छ। उनीहरूमा आफू कसरी चिनिने, कविका रूपमा कसरी अलग भएर उभिने भन्ने हुटहुटी देख्छु म। विश्वभरिका साहित्यमा पहुँच भएको यो पुस्ता नयाँ बिम्ब र फरक अभिव्यक्ति शैलीको खोजमा छ।
चरम संकटको घडीमा कविहरू आन्दोलनको अग्रपंक्तिमा देखिन्छन्। तर, अन्य समयमा पनि उनीहरू निरन्तर सिर्जना गरिरहेकै हुन्छन्।
ठूल्ठूला आन्दोलनहरूमा जसरी अहिले कविताको प्रभाव कम महसुस हुनु स्वाभाविक हो। तर, कविहरू अहिले पनि राजनीतिक कविताहरू लेखिरहेका छन्।
नेपालमा पहिचानको आन्दोलनसँग कविता कसरी जोडिएको छ?
पहिचानको मुद्दा नयाँ होइन, पहिल्यैदेखि लेखिँदै आएको हो। तर, त्यस्ता लेखनलाई दबाइएको थियो।
नेपालको जातीय, भौगोलिक, भाषिक, सांस्कृतिक विविधताको पक्षमा समाज आन्दोलित हुँदै जाँदा त्यस्ता रचनाहरू बाहिर आएका हुन्। तर, दमनका कथाव्यथाबारे, मेटाइएका सभ्यताबारे लेखिएका पहिचानकेन्द्रित लेखनको इतिहास पुरानै छ।
अहिले पनि ती मुद्दाहरूको समाधान भइसकेको छैन। त्यसैले यसबारे लेख्ने क्रम पनि जारी छ। जेन-जी आन्दोलनपछिको परिदृश्यमा पहिचानको मुद्दा सुल्झिन्छ वा बल्झिन्छ?
भविष्यमा राजनीतिले पहिचानका सवाललाई जसरी सम्बोधन गर्छ, त्यसकै प्रभाव कविता वा समग्र साहित्यमा देखिने हो।
तपाईं त एकेडेमीमा प्राज्ञ पनि हुनुभयो। आन्तरिकभित्र विभिन्न मातृभाषाका कविताहरू पनि छन्। तिनको अवस्था के छ?
हाम्रा सबै मातृभाषामा साहित्य छ। स्रष्टाहरू पनि छन्। नेपाल भाषा, तामाङ, लिम्बू, मैथिली भाषा सम्पन्न नै छन्। राईमा पनि ठीकठीकै छ। लिम्बूहरू अलि अगाडि छन्। तिनमा कविताको संख्या पर्याप्त नै छ। कथा र उपन्यास कम छन्।
छोटोमा भन्दा, मातृभाषामा आउने कविताहरू सराहनीय र सान्दर्भिक छन्। सबै मातृभाषाको चेतना उस्तै उस्तै हो।

तस्बिर : बिक्रम राई
२०४६ सालको परिवर्तनपछि नेपालमा मातृभाषा साहित्यसम्बन्धी काम अलि बढी भए। प्राज्ञिक कामहरू पनि हुँदै छन्। विगतमा सरकारहरूले केही नीतिगत सुधार पनि गरे।
तर, यतिले मात्र मातृभाषाहरूको जगेर्ना हुँदैन। अवसर सिर्जना गरिएन भने सबै मातृभाषा मरेर जान्छन्। मातृभाषा समुदायले बचाउने हो भन्छन्, तर होइन। यो राज्यकै दायित्व हो।
उदाहरणका लागि, नेपालमै अहिले कोरियाली वा जापानी भाषा सिक्नेलाई कमाउने अवसर छ। तर, तामाङ वा नेपाल भाषामा त्यो अवसर छैन। अवसर देख्यो भने मात्र मान्छेले मातृभाषा पढ्न थाल्छन्।
कवितामै चार दशक बिताइसक्नुभयो। कविताको कमाइले बाँच्न सकिन्छ?
कविता ऐच्छिक र अलग विधा हो। कविहरू आफूआफैँ भेट्छन्। एकअर्कालाई ‘वाह कविजी’ भन्दिन्छन्। संसारभरि यही हो।
अर्कातिर, कवितालाई व्यावसायिक बनाउने प्रयत्नहरू पनि भइरहेका छन्। मैले पनि पैसा तिराएरै कविता सुनाएको छु, त्यो पनि हाउसफुल। कवितावाचनकै लागि हङकङलगायत ठाउँ डुलेर अलिअलि पैसा पनि ल्याएकै हुँ।
सानो विषय र संक्षिप्त अभिव्यक्तिका लागि गीत उपयुक्त विधा रहेछ। जब भन्नुपर्ने कुरा धेरै ठूलो हुन्छ, कविता, गीत वा निबन्धमा अट्दैन, तब त्यो विषयले आफैँ उपन्यास माग्ने रहेछ।
चीनमा एउटा कविता ‘क्लिक’ भयो भने कवि करोडपति बन्छ। त्यहाँ भाषा पनि एउटै छ। हाम्रोमा भाषाका सीमा छन्। कवि र कविता टिक्न उसको भाषा र रचनालाई उपभोग गर्ने पाठकको दायरा ठूलो हुनुपर्छ।
म नेपाली भाषामा लेख्छु। हाम्रो साक्षरता दर कति छ? साहित्यमा रुचि राख्ने कति छन्? उपभोग गर्न सक्ने क्षमता कस्तो छ? व्यावसायिकतालाई यी सबै पक्षले निर्धारण गर्छन्।
नेपालमा अलि हल्ला गर्न सके उपन्यास बिक्दो हो। तर, सबभन्दा पढिने विधा अझै पनि कविता नै हो। कविताका कृति नबिक्लान्, तर कविता उपभोग गर्ने माध्यम धेरै छन्। स्टेज, पत्रिका, रेडियो, युट्युब, फेसबुक, इन्स्टाग्रामदेखि टिकटकसम्म थपिएका छन्। चिया पसल वा क्याफेमा पनि कविता सुन्ने-सुनाउने चलन छँदै छ। यिनै विभिन्न माध्यमबाट दु:खसुख जीवन चलाउने कविहरू पनि छन्। कविहरू पाठकको माया र सम्मानका खातिर पनि लेखिरहेका हुन्छन्।
तपाईं पोयट आइडल जस्ता रियालिटी सोहरूमा पनि देखिनुहुन्छ। सुन्ने-हेर्ने कविताको यस धारलाई कसरी हेर्नुभएको छ?
पर्फर्मिङ आर्टका रूपमा प्रस्तुत गरिने कविताले नयाँ पुस्तालाई धेरै आकर्षित गरेको देखिन्छ। पहिले, काव्य गोष्ठी, काव्य सभाहरू हुन्थे। दिग्गज कवि र कविताका पारखीहरू भेला हुन्थे। अब माध्यमहरू बदलिए। सम्प्रेषण गर्ने मञ्चहरू पनि फेरिए। यसमै आनन्दित हुने समय आयो। कविहरू अब प्रस्तोता बन्दै छन्।
प्रविधिसँगै आएको यस परिवर्तनले सकारात्मक कामै गर्ला। तर, मेरो मत सधैँ उही हो– कविता पटकथामा हुन्छ। प्रस्तुति पैसा कसरी कमाउने भन्ने कुरासँग जोडियो। कवितावाचनमार्फत प्रभाव पारेर पैसा कमाउने दोस्रो काम हो । कविको पहिलो काम त कविता नै लेख्नु हो।
यो अडिओ-भिडिओ कविताको जमाना हो भन्छन् नि।
कविता भाषासँग खेलिने चिज हो। ह्रस्व, दीर्घ, विराम, प्रतीक, विम्ब जस्ता कुराले भाषालाई चित्र जस्तै आकृति दिन्छ। त्यसकारण कविता सुनेर आजसम्म रमाउन सकेको छैन।
हुन त प्रविधिले नेपालकै युवा पुस्तादेखि एलेन गिन्सबर्गसम्मका कविता हेर्दै सुन्ने सुविधा दिएको छ। हिन्दी र उर्दू सायरीहरू पनि उपलब्ध छन्।
तर, मलाई कविता शब्दमा नपढेसम्म चित्त बुझ्दैन।

तस्बिर : प्रभाकर गौतम
नेपालयमा ई-कविता शृंखला संयोजकका रूपमा नयाँ पुस्ताका कविताहरू धेरै पढिसक्नुभयो। नयाँ पुस्ताले के लेखिरहेको छ? कस्तो लेखिरहेको छ?
नयाँ पुस्ता आफ्नै भाषा, शैली र पहिचानको खोजीमा छ। उनीहरूमा आफू कसरी चिनिने, कविका रूपमा कसरी अलग भएर उभिने भन्ने हुटहुटी देख्छु म। विश्वभरिका साहित्यमा पहुँच भएको यो पुस्ता नयाँ बिम्ब र फरक अभिव्यक्ति शैलीको खोजमा छ।
हरेक युगमा कविले आफ्नो समयको चेतना पक्रेर लेख्छन्। उनीहरू आफ्नो समयका संवाहक बन्छन्। नयाँ पुस्ताले पनि यस्तै यत्न गरिरहेको पाउँछु।
सबैले ‘वाह’ भन्ने खालका कविता नआएको वा कम आएकै हो। अहिले एककिसिमको खालीपन जस्तो भएकै हो।
म कतै जाँदा श्रवण मुकारुङ भन्यो भने मान्छेले चिन्दैनन्। कवि भनेर चिनाउँदा थोरै चिन्नेहरू भेटिन्छन्। तर, ‘माथि माथि सैलुंगे’ मा वा ‘तिमी तारे भिर’ लेख्ने गीतकार भन्यो भने ठूलो समूहले चिन्छ।
तर, यसको अर्थ– स्रष्टाहरू निदाएर बसेका छैनन्, राम्रा सिर्जना आउन समय लाग्छ। कहिलेकाहीँ अलि लामै प्रतीक्षा गर्नुपर्ने हुन्छ।
कविताप्रतिको मोहले कविहरूको ठूलो समूह तयार हुँदै छ। यो एकदम सकारात्मक कुरा हो। तर, हरेक पुस्ताले विशिष्ट कवि बन्न लामो र कठिन यात्रा तय गर्नैपर्छ। किनकि, सूचना र ज्ञानले मात्र कवि भइन्नँ। अनुभव ठूलो कुरा हो। ज्ञानको निचोडबाटै सुन्दर सिर्जना आउने हो।
तपाईंले ‘माथि माथि सैलुंगेमा’ देखि ‘राई माइलाले गाउँ छोड्यो रे’ जस्ता गीत लेख्नुभएको छ। कविता लेख्ने कि गीत केले निर्धारण गर्छ?
कविता स्वतन्त्र हुन्छ। लामो र वैचारिक कुरा अभिव्यक्त गर्न कवितामा सजिलो हुन्छ।
गीत भने संगीतसँग जोडिने भएकाले संरचना र भावकेन्द्रित हुन्छ। तर, यसको पहुँच कविताभन्दा ठूलो हुन्छ। गीत मासमा जाने विधा भएकोले यसले जनस्तरमा पहिचान दिन्छ, जबकि कविताले बौद्धिक समूहमा बढी प्रभाव पार्छ।

तस्बिर : बिक्रम राई
म कतै जाँदा श्रवण मुकारुङ भन्यो भने मान्छेले चिन्दैनन्। कवि भनेर चिनाउँदा थोरै चिन्नेहरू भेटिन्छन्। तर, ‘माथि माथि सैलुंगे’ मा वा ‘तिमी तारे भिर’ लेख्ने गीतकार भन्यो भने ठूलो समूहले चिन्छ।
कविता र गीतपछि तपाईं आख्यानतिर लाग्नुभयो। कवितामै कथा भन्न सक्ने तपाईंलाई उपन्यास नै किन चाहियो?
सानो विषय र संक्षिप्त अभिव्यक्तिका लागि गीत उपयुक्त विधा रहेछ। जब भन्नुपर्ने कुरा धेरै ठूलो हुन्छ, कविता, गीत वा निबन्धमा अट्दैन, तब त्यो विषयले आफैँ उपन्यास माग्ने रहेछ।
कविता एउटा क्षण, अवस्था वा सीमित कथामा केन्द्रित हुन्छ, तर उपन्यास कथाहरूको माला हो; अनेक पात्र, घटना, समाज, राजनीति, प्रेम र इतिहास एकै ठाउँमा गाँसिने माला।
लेख्ने विषय सोच्दै गर्दा दिमागमा ठूलो क्यानभास बन्यो। त्यो क्यानभासमा एउटा युग, समय र प्रवृत्तिका रंगहरू पोत्नुपर्छ भन्ने लागेपछि आख्यानतिर लागेँ।
उपन्यासको विषय पनि एउटा निश्चित कालखण्डसँग जोडिएको छ। गणतन्त्रपछि पनि मानिसहरूको अपेक्षा र यथार्थबीचको अन्तर घटेन। सपनाहरूको स्खलन र विघटन निरन्तर भइरह्यो। उपन्यासमा यही अवधिको सामाजिक र मानवीय तहमा फैलिएको कथा छ।
उपन्यास लेख्नु एउटा जिम्मेवारीपूर्ण योजना जस्तो रहेछ। कवि स्वतन्त्र र छरितो हुन्छ। उपन्यासकारले संरचना, पात्र र कथालाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ। उपन्यास व्यापक र गहन सिर्जनात्मक कर्म हो।
उपन्यास लेख्ने प्रक्रियामा अभिव्यक्तिका विभिन्न पत्रहरू खुल्ने रहेछन्। आफ्नो भाषिक क्षमता गहिरो रूपमा अनुभूत गर्न पाइयो। ठूलो परिमाणमा लेख्दा शब्दहरूको भण्डार खुल्दै आए। चरा आफ्नो गुँडमा फर्केझैँ हराउन लागेका शब्द र स्मृतिहरू फर्किएर आए। बिम्ब, रूपक र भाषासँग खेल्ने क्षमता अझ विस्तारित भयो।
उपन्यास लेखेर म सम्पन्न भएको छु।
