कला समीक्षा
एरिनाले आफ्ना विचार र भावलाई अनुहारमार्फत चित्रमा ल्याउनु अर्थात् ‘म, माइसेल्फ’ को अवधारणामा काम गर्नुलाई नौलो मान्नुपर्छ।
गत ८ मार्चदेखि दरबारमार्गस्थित ‘ग्यालरी १०८’ मा कलाकार एरिना ताम्राकारको ‘म, माइसेल्फ’ नामक एकल कला प्रदर्शनी चलिरहेको छ। यही ८ अप्रिलसम्म चल्ने प्रदर्शनीमा राखिएका २० वटा चित्रकलाले नारीका अनेक मुद्दा उठाएको देखिन्छ।
एरिनाको निम्तोमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निर्धारित समयमै (बिहान ११ बजे) म पुग्दा ग्यालरी शून्य जस्तै थियो। कलाकार आशा डंगोल (एरिनाका श्रीमान्)ले एक्लै प्रदर्शित चित्रहरू मिलाउँदै थिए। त्यसको केहीबेरमा दुईचार जना अरू दर्शक थपिए। सुरुमा मलाई लागेको थियो, कतै म झुक्किएर गलत मितिमा त आइपुगिनँ? ग्यालरीमा क्रमशः प्रवेश गरेका दर्शकले मेरो असमञ्जस स्थितिलाई सहज बनाउँदै लगे, दर्शकहरू बढ्दै जाँदा कार्यक्रमले एउटा लय समातिहाल्यो। हामी कफी गफमा रमाउँदै कलाका विषयमा संवाद गर्न थाल्यौँ। कला प्रदर्शनीको अनौपचारिक उद्घाटन यस्तै हुन्छ; जस्तो कि कुनै रमाइलो ठाउँमा घुम्न गए जस्तो।
शान्त वातावरणमा कफी पिउँदै कलाका विषयमा गफगाफ गर्दै जाँदा प्रदर्शनीको अनौपचारिक उद्घाटन भइसक्छ। हिजोआज आयोजना हुने कला प्रदर्शनीहरूको उद्घाटन यस्तै अनौपचारिक हुने गरेका छन्। विशेषतः युवाहरूले प्रदर्शनीको पुरानो प्रचलनलाई तोड्दै गएका छन्, जहाँ भाषणको कार्यक्रम कम हुन्छ वा हुँदै हुँदैन; अर्थहीन र असान्दर्भिक व्यक्तिविशेषको उपस्थिति पनि न्यून हुन्छ। यसो हुँदा पनि कार्यक्रमको रौनक अलग्गै देखिँदो रहेछ।
दर्शकहरू बढ्दै जाँदा कलाको रसास्वादनसँगै आपसमा छलफल हुन थाल्यो। तामझामविनै नितान्त शान्त वातावरणमा कलासँग मौन संवाद हुनु र भइरहनुले कार्यक्रममा अलग्गै मिठास थप्ने रहेछ। भावकहरूले आआफ्ना धारणा पोखिरहेको देखिनुले पनि छुट्टै दृश्याभास गराउँदो रहेछ। कला मन परे पनि वा नपरे पनि भावकहरूले आआफ्ना राय दिइरहेका थिए।
यस्तै माहोलमा कलाकार एरिना देखा पर्छिन् र उनीसँग कलाबारे मेरो कुराकानी अगाडि बढ्छ। उनको आइडिया र सोच आदिबारे मात्र होइन; कलाका टेक्निकल (प्राविधिक) पक्षमा पनि खुलेरै गफगाफ भए। दृश्यात्मक कलाले दर्शकलाई प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले कलाको अवलोकन गर्दै र एरिनासँग संवाद गर्दै प्रविधिका विविध पक्षहरू खोतल्ने प्रयास गरेँ।

‘म’ को अवधारणामा चित्र
प्रदर्शनीको नाम ‘म’ मात्रै भन्दा अलि बुझ्दैनन् कि भन्ने लागेर उनले ‘माइसेल्फ’ पछि थपेकी रहिछन्। यस प्रदर्शनीमा तीन वटा सन्दर्भ मिलाएका छन्— नारी दिवस, नारी कलाकार र नारीका मुद्दा।
कलामार्फत नारीका मुद्दा उठाउँदै आएकी एरिनाका यसपालिका सबै चित्र नारीकै बारेमा छन्। उनले चित्रमा ल्याउने नारीहरू सर्वथा सुन्दर अनि निर्दोष देखिन्छन्। यसपालिका चित्रमा नारीहरूका अनेक भाव उत्रिएको आभास हुन्छ। यस सम्बन्धमा शीर्षकलाई पुष्टि गर्दै उनी भन्छिन्, “म भनेको म नै हुँ। मैले भोगेका कुराहरू नै मेरा कला हुन्। मैले दुःख मात्र होइन; सुख, आनन्द, रमाइलोपनका पलहरू पनि भोगेकी छु। मैले आफूलाई आफैँले हेर्दा भेटेका कुराहरू नै मेरा कलामा आउने हुन्। मभित्रको म नै यी कलाहरूका स्रोत पनि हुन्।”
दर्शकहरूले पनि आफ्ना कलामा ‘म’ (कलाकार एरिना)लाई र आफू (दर्शक स्वयं)लाई खोजून् अनि चित्रमा आएका अनुहारलाई कलाकारकै अनुहार सम्झेर अवलोकन गरिदिऊन् भन्ने एरिनाको अपेक्षा रहेछ। “भावकले कलाकार (एरिना)लाई सम्झेर कला हेरिदिनुपर्यो, अनि आफूलाई पनि चित्रसँग जोड्नुपर्यो,” उनी भन्छिन्।
मलाई बाहिर खुला आकाशमा उड्न मन लागेर होला, अनायासै मेरो चित्रपटमा यसरी चंगा देखिन आए।
एरिनाले आफ्ना विचार र भावलाई अनुहारमार्फत चित्रमा ल्याउनु अर्थात् ‘म, माइसेल्फ’ को अवधारणामा काम गर्नुलाई आफैँमा नौलो मान्नुपर्छ। यी चित्रमा ‘म’ को विश्लेषण होस् भन्ने चाहना पनि उनको रहेछ। सबै (नारी-पुरुष) को ‘म’ अर्थात् आफूलाई यी चित्रमा उजागर गर्ने कोसिस उनले गरेकी छन्।
‘म’ भित्र अन्तर्निहित आत्मविश्वासको बोध भएपछि, ‘म’ भित्रको अन्तर्मन जागृत भएपछि अर्थात् ‘म’ भित्र अथाह शक्ति छ भन्ने महसुस भएपछि केही गर्न कसैको सहयोग चाहिँदैन। यही भावना र विचारलाई उनले आफ्ना चित्रमा ल्याउने कोसिस गरेकी छन्। एक महिलाको मात्र होइन, सम्पूर्ण मानव जातिकै ‘म’ को अर्थ खोज्ने प्रयास उनले आफ्ना चित्रमार्फत गरेकी छन्।
वास्तवमा ‘म’ अर्थात् आफ्नो अस्तित्वको बोधले मानिसको जीवनलाई सार्थक बनाउँछ। हाम्रै परम्परागत आध्यात्मिक चिन्तनमा समेत आफूले आफैँलाई चिन्नु सबैभन्दा कठिन कर्म मानिन्छ। हरेक व्यक्तिले आफ्नो मनलाई नियन्त्रणमा र सन्तुष्ट राख्न सके विश्व नै शान्तिमय हुन्छ भन्ने भाष्य पनि छ। आफूले आफूलाई चिन्ने क्रममा महात्माहरू जन्मेका छन्, अनेक सिद्धान्त बनेका छन्। यही गहन चिन्तनमा एरिना छन्। झट्ट हेर्दा सजिलै बुझ्न सकिने जस्ता देखिने लालित्यमय उनका चित्रहरूले गहिरो दर्शन बोकेका छन्।

कुराकानीका क्रममा उनले ‘थर्ड आई’ (तेस्रो नेत्र)को विषय पनि उठान गरेकी थिइन्। तेस्रो नेत्रलाई शक्तिको प्रतिबिम्बका रूपमा लिइन्छ। उनले आफ्ना चित्रमा प्रतीकात्मक रूपमा थर्ड आईको कुरा गर्न थालेको पनि वर्षौं भइसकेको छ। उनले अलि पहिले कोरेका महिलाका चित्रमा महादेवको जस्तो निधारमा बडेमानको आँखा देखिन्थ्यो। अहिलेका चित्रहरूमा निधारमा आँखा देखिँदैनन्, तर प्रतीकका रूपमा उनले अनुहारमा चक्रलगायत अनेक बिम्ब ल्याएको देख्न सकिन्छ। कतै प्रकाशको ज्वाला जस्तो त कतै रेखाहरू घुम्दै गरेर शंख भए जस्तो, कतै चन्द्रमा; यस्तायस्तै अनेकानेक विम्बहरू निधारमा देख्न सकिन्छ। कतै गोलाकारभित्र ‘म’ अक्षरलाई नै अंकित गरेको देखिन्छ। निधारमा जे-जस्ता आकार, आकृति वा रङ ल्याए पनि तिनीहरू अन्तर्मनको शक्तिको प्रतीकका रूपमा आएका छन्। अन्तर्मनको शक्तिको प्रबोधन (इनलाइटेनमेन्ट)लाई उनले कलामा निकै महत्त्व दिएर जोडेको देखिन्छ अर्थात् यी कलामा उनले ध्यानको सन्दर्भ पनि जोडेको देखिन्छ। ध्यानमय अर्थात् मौन चित्रहरूले धेरै भाव वा विचार अभिव्यक्त गरेको आभास हुन्छ। परोक्ष रूपमा ध्यानको महत्ता अनि शक्तिलाई चित्रमा ल्याएर उनले कतै न कतै आफूभित्रको ‘म’ लाई निकाल्न खोजेको पनि देखिन्छ। प्रदर्शन कक्षमा नितान्त कालो भित्तामा सजिएका महिलाका अनुहारहरू शान्त र गम्भीर मुद्रामा देखिन्छन्।
गहिरो ध्यान गरे जस्तो एउटा चित्र छ, जसको वरिपरि चंगाहरू उडिरहेका देखिन्छन्। चित्रमा चारैतिर दगुरेझैँ देखिने बलिया रेखाहरूले उनको शिल्प दक्षतालाई उजागर गरेको छ। बलिया रेखाहरू कतै चंगाको धागोको प्रतीकका रूपमा आएका त होइनन्? यो आभास एकातिर होस्, अर्कातिर उनी स्वतन्त्र भएर उड्नुको अर्थमा पनि चंगाहरू अनायास देखापरेका छन्। यस सम्बन्धमा उनी भन्छिन्, “मलाई बाहिर खुला आकाशमा उड्न मन लागेर होला, अनायासै मेरो चित्रपटमा यसरी चंगा देखिन आए। चित्र बनाउँदै गर्दा अलि फरकपन ल्याउन पनि मैले यस्तायस्तै बिम्बलाई क्यानभासमा बिसाउने गर्दछु।”
म भनेको म नै हुँ। मैले भोगेका कुराहरू नै मेरा कला हुन्। मैले दुःख मात्र होइन; सुख, आनन्द, रमाइलोपनका पलहरू पनि भोगेकी छु। मैले आफूलाई आफैँले हेर्दा भेटेका कुराहरू नै मेरा कलामा आउने हुन्। मभित्रको म नै यी कलाहरूका स्रोत पनि हुन्।
लामो केश बगेको र हेर्दा रमाइलो लाग्ने अर्को चित्र छ, जसमा शक्तिशाली रेखाहरूले महिलाका दुईवटा मुखाकृति बनेका छन्। यस्तै एउटा चित्रमा अकासे रङ सन्तुलनमा बसेको देखिन्छ भने अर्को चित्रलाई सुनौलो पहेँलो रङले थप मनमोहक बनाएको छ। चित्रमा आएका मौन, शान्त अनि स्थिर अनुहारहरू कोमल र मुलायम देखिन्छन्।
केही चित्रहरूमा खैरो कालो रङको प्रभुत्वको बिचमा सुनौलो रङलाई सतहमा अचानक उठाएको देखिन्छ, जसले चित्रलाई मनमोहक बनाएका छन्। यस्तायस्तै चित्रहरू नै उनको कलागत सिग्नेचर पनि हो। यसर्थ पनि यी चित्रहरू चिन्न उनको नाम हेर्नुपर्दैन।
यो कला ग्यालरी अरूभन्दा अलि पृथक् छ– सानो अलि लाम्चो परेको पहाडभित्रको अँध्यारो गुफाजस्तो। भित्ताहरू निख्खर कालो रङले भरिँदा अझ अनौठो खालको देखिन्छ। तथापि चहकिलो बत्तीले गर्दा कलाभित्रको कालो रङ पनि चम्किएझैँ लाग्छ।
झन्डै १५ वर्षदेखि एरिनाले आफ्ना चित्रपटलाई महिलाका अनुहारले भर्ने गरेकी छन्। चित्रमा कहिले एउटा, कहिले दुइटा त कहिले केही बढी महिलाहरू देखिन्छन् तर प्रत्येक अनुहारको ‘पोस्चर’ फरक हुन्छ। उनी क्यानभासमा पातला रङहरूसँग बढी मात्रामा खेल्छिन्। यसो हुँदा तत्क्षण उम्रेका भावनाका रङहरू पनि क्यानभासमा सलल बग्न भ्याएका देखिन्छन्; जमेर ढिक्का भई खण्ड–खण्डमा विभाजित भएर बसेका पनि देखिन्छन्। त्यसमाथि भरसक अर्को रङ थोपरिएको देखिँदैन। थोरै रङहरू नै उनको चित्रका खास विशेषता हुन्।

टलक्क सुनझैँ टल्कने पहेँलो रङको प्रयोगमा उनको खास मेहनत देखिन्छ। कुराकानीका सन्दर्भमा उनले भनेकी थिइन्, ‘यो सुनौलो रङ मैले थाइल्यान्ड जाँदा ल्याएकी हुँ। यहाँ राम्रा खाले यस्ता सुनौला रङ त्यति पाइँदैन।’
अरू रङहरू जतिसुकै पातलो देखापरे पनि सुनौलो रङले उनका चित्रलाई सर्लक्कै उठाएको देखिन्छ। अनि उनका कलामा तेस्रो आयामिक इफेक्टलाई यथेष्ट रूपमा महसुस गर्न सकिन्छ।
अलिकति ‘टेक्स्चर’ अनि अलिकति ‘फ्रेसनेस’को सुगन्ध देखिनुले पनि उनका कला राम्रा देखिन पुगेका हुन्। ‘फ्रेसनेस’ भन्नाले चित्र उज्याला मात्रै होइनन्, परिपक्व पनि छन् भनी बुझ्नुपर्छ। यसका साथसाथै बढी मात्रामा बुट्टाहरू चित्रपटमा देखिनु उनको अर्को कलागत विशेषता हो। उनका चित्रमा कहिले रङमा फरकपन, कहिले टेक्स्चरमा फरकपन अनि कहिले प्रस्तुतिमा फरकपन देखिन्छ। तथापि क्यानभासमा भने महिलालाई मात्र अवलोकन गर्न सकिन्छ। यसपल्ट अलिकति फरक भनेको उनको एउटा पात्रले आँखा खोलेको छ। नत्र भने सदैव आँखा बन्द गरेर ध्यानमा बसेजस्तो भएर गम्भीर मुद्रामा उनका पात्रहरू देखिन्थे।
आँखा खोलेको उक्त चित्रले कौतूहलताको भाव प्रकट गरेको छ। त्यसमा बग्दै गरेका केशरूपी रेखाहरूले भावकलाई रमाइलो अनुभूत हुन्छ।
चित्रपटभरि एउटा महिलाको अनुहारलाई चित्रण गर्नु एरिनाको विशेष कलागत सिग्नेचर हो। गहिरो सोचमा डुबेको वा ध्यानमा मग्न भएझैँ देखिने अनुहारहरू सधैँझैँ यसपल्ट पनि गम्भीर मुद्रामै देखिन्छन्। “धेरै वर्षदेखि मेरा पात्रहरूले आँखा चिम्लिरहेका छन्, अब चाहिँ खोले भयो भनेर पनि आँखा खोलेकी हुँ,” उनले भनिन्, “गहिरो ध्यानबाट उठेको अर्थमा पनि यसो गरेकी हुँ।”
(मल्ल कलाकार तथा कला समीक्षक हुन्।)