काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

परिकार

खानाको गुणस्तर र निरन्तरताका कारण घण्टाघरअगाडी ठिंग उभिएको छ खड्का होटल, वीरेन्द्रनगरको अर्को एक प्रतीकका रूपमा।

२८ चैत्र २०८२
सबै तस्बिर : राजेश घिमिरे
अ+
अ-

‘यो दुनियाँको सबैभन्दा मीठो मटन मम खुवाउँछु,’ भन्दै पाँचसात वर्ष अगाडि वीरेन्द्रनगर, सुर्खेत पुगेपछि जनस्वास्थ्य विशेषज्ञ साथी प्रवीण पौडेलले लगेका थिए, पहिलो पटक खड्का होटलमा। घण्टाघरको ठिक विपरीत दिशामा रहेको यो होटलको मटन मम साँच्चै मीठो थियो। धेरै पछि भेटेका साथीभाइ, मटन मम, सेकुवा र वरपर प्रोजेक्टवाला, एनजीओवाला र अरू कर्मचारीहरूको होहल्लाबीचमा रमाइलो बितेको थियो त्यो साँझ। त्यसपछि कामको सिलसिलामा धेरै पटक वीरेन्द्रनगर पुगियो, भिन्न भिन्न साथीका साथ। कैयौँ पटक त औपचारिक सहकर्मी र सहयात्री खड्का होटलको रमझमपछि अभिन्न मित्र पनि बनेका छन्।

यसपालिको परिस्थिति चाहिँ अलि फरक भयो। खराब मौसमका नाममा बिहान ७ बजेतिरको जहाज २ बजे मात्र उड्ने भयो। १२ बजेका लागि वीरेन्द्रनगरबाट करिब ३० किलोमिटर टाढा बराहताल गाउँपालिकाको कार्यालयमा एउटा भेला तय थियो। मान्छे कुराउन पर्ने भएकाले साह्रै अप्ठ्यारो लागेको थियो। अन्ततः पत्रकार साथी मानबहादुर वलीलाई गुहारेँ। उनले चिन्ता नगर्नु भने। जहाज ल्यान्ड भएर बाहिर निक्लँदा साथी मानबहादुर उपस्थित थिए। झोला लिए, नयाँ एभेन्जर मोटरसाइकलको चाबी र हेलमेट दिएर भने, ‘जानुस्। काम फत्ते गरेर आउनुस्। साँझ भेटम्ला।’

नयाँ मान्छेका लागि साह्रै अप्ठ्यारो बाटोमा साथी मानबहादुरको नयाँ बाइक बत्ताइयो। काम सकेर आउँदा साँझ परिसकेको थियो। काठमाडौँ एयरपोर्टको महँगो न महँगो स्यान्डविच र केही कप चियाले धानेको ज्यान अब चाहिँ कमजोर हुन थाल्यो। वीरेन्द्रनगरमा मानबहादुरलाई भेट्दा उनलाई अर्को आपत् परिसकेको रहेछ। आफन्त बिरामी भएर नेपालगन्ज लानुपर्ने भएछ। उनैले होटलमा छोडे। अब के? मस्त खान मन थियो। तीन छाक एकै चोटि। होटलको औपचारिक खानाले पेट भरिएला, मन भरिन्न भन्ने पक्का भयो। त्यत्तिकैमा खड्का होटलको मम र तातो झोलको याद आयो। अनि लागियो त्यतैतिर, एक्लै।

आफ्नो खाना ‘अर्डर’ गरेपछि छेउको टेबलमा बसेका एक जनाले सुरुप सुरुप खाँदै गरेको खुट्टी सुरुवा (सुप) देखेपछि मन थाम्न सकिएन। भाइलाई त्यो पनि ल्याऊ भनियो। उनले पनि ‘पहिला खुट्टी सुप नै खानुस्, अरू बिस्तारै ल्याउँला, एकैचोटि ल्याए सेलाउँछ’ भने।

हाम्रोमा बिरामीबाट कमजोर भएका बेलामा तागतका लागि खुट्टी सुरुवा खाने चलन पुरानै हो। काठमाडौँमा त खसीको खुट्टी किन्नका लागि पहिल्यै पैसा तिरेर ‘बुक’ गर्नुपर्ने अवस्था आइसकेको छ। यस्तै कुरा मनमा खेलाउँदै गर्दा खुट्टी सुपमा टेबलमा आइपुग्यो। तर, त्यो सादा खुट्टी सुरुवा थिएन। त्यो त भारत, पाकिस्तान र बाङ्लादेशमा प्रसिद्ध ‘दाल पाया’ पो थियो। उनीहरूले मुङ वा चनाको दाल वा रहरको दाल मिसेर बनाउँछन्। तर, खड्का होटलमा जुम्लाको सिमी हालेर बनाइँदो रहेछ।

पायाको इतिहास निकै पुरानो मानिन्छ, ईसापूर्व आठौँदेखि चौथो शताब्दीको बीचतिर जनावरको खुट्टा र हड्डीलाई पानीमा उमालेर धेरै कम मसला हालेर सुरुवा बनाएर खाने चलन थियो। मध्ययुगीन समय, पाँचौँदेखि पन्ध्रौँ शताब्दीको समयमा यो सुरुवा (सुप) मध्यपूर्वमा निकै लोकप्रिय भयो। लडाइँले थाकेका सिपाहीहरूलाई तागत दिन र राजपरिवारलाई खुसी पार्न यसको खुब प्रयोग भयो। अटोमन साम्राज्यका सेनालाई शक्ति दिन यो सुप खुवाइन्थ्यो। सेनाका भान्सेहरूले यसलाई साधारण तरिकाले बनाउँथे भने राजपरिवारका लागि यसमा केसरसहित अनगिन्ती जडीबुटी मिसाएर विशेष बनाइन्थ्यो।

भारतीय उपमहाद्वीपमा चाहिँ मुगल शासक बाबरकी बहिनी गुलबदनले रोग निको पार्न र शक्ति बढाउन यो सुप प्रयोग गरिने कुरा उल्लेख गरेकी छिन्। कतिपयले चाहिँ पायाको मुख्य रूप ‘पास्चा’ हो भन्छन्। साउदी अरबका राजा अब्दुल अजीजको उपचारका लागि नुन, बेसार र तेजपात हालेर बनाइएको र कागतीसँग खाने औषधिमय सुरुवा हो पास्चा। भारत छिरेपछि परम्परागत पास्चामा अलैँची, गरम मसला र प्याज मिसाउन थाले। सबैले आआफ्नो स्वादमा ढाल्दै गए, कतिले मसला हाले कतिले दही। दक्षिण भारतमा यसमा नरिवल पनि मिसाउन थालियो, पाया बाक्लो र निकै स्वादिलो हुँदै गयो। दाल पायामा चाहिँ खुट्टी गले पनि दाल पूरै गल्न हुँदैन। सुरुवामा दाल पनि छ भनेर थाहा हुने खालको हुनुपर्छ।

भारतको राजधानी दिल्लीतिर पढ्दा खुब खाइन्थ्यो पाया र रोटी। काठमाडौँ पुतलीसडकका सेकुवा पसलमा लोकप्रिय हड्डी सुप चाहिँ भारतको तुलनामा साह्रै खल्लो र पातलो झोल हुन्थ्यो। तर, खड्का होटलको खुट्टी सुपले खाँटी नेपाली रूप पाएको छ र बनेको छ- दशमा दश नम्बर पाउने खालको नेपाली पाया। यिनै कुरा मनन गर्दै, सुरुप्प सुरुवा पिउँदै खसीको मजाले पाकेको खुरमाथिको भाग चपाउँदै गइयो। कति खेर सकियो थाहै भएन। बिहानदेखिको भोको आँतलाई आडभरोस भयो। त्यसपछि आयो मटन ममको पालो। अनि आयो मटन सेकुवाको सेट। क्या गजब। एक से एक स्वादिष्ट व्यञ्जन।

खड्का होटलको विशेषता हो– भरिएका सबै टेबललाई राम्रो व्यवस्थापन गर्दै हरेक अतिथिलाई आफ्नो सत्कारले विशेष बनाइदिने। २०३८ सालतिर कर्मचारीलाई खाना र खाजा खाने ठाउँको अभाव देखेपछि शिक्षा कार्यालयमा काम गर्ने बुवा शिवराज खड्काले भात र खाजा होटलका रूपमा सुरु गरेका थिए- खड्का होटल। त्यतिबेला नै डेढ-दुई सय जनाले नियमित खाना खाने ठाउँ थियो त्यो। त्यसपछि खड्का होटल शंकर चोकमा सर्‍यो। त्यहाँ पाँच वर्ष चल्यो। मेनुमा मम, चाउमिन, जेरी-पुरी थपिँदै गयो। भाडाका घरका आफ्नै दुःख। धेरै ठाउँमा सर्नुपर्‍यो। २०६५ सालदेखि चाहिँ अहिले बसेको घरमा सरेको हो। बिस्तारै होटल चलाउने जिम्मा बुवा शिवराजका तीन भाइ छोराको काँधमा आयो। छोरा कृष्णको काँधमा समग्र व्यवस्थापनको जिम्मा छ भने अर्का छोरा खेमराजको काँधमा भान्छा र पकवानको जिम्मा छ। अर्का एक भाइ चाहिँ प्रहरीमा जागिरे छन्। अवकाशपछिको जीवनमा उनी पनि होटलमा नै जम्ने हुन्।

पछि कुराकानीका क्रममा कृष्ण खड्काले भने, ‘२०५६ सालपछि चाहिँ हामी छोराहरूले हेर्न थाल्यौ। अनि अलि एकै खालका खाना-खाजामा केन्द्रित हुन पर्‍यो भनेर हामी मम, सेकुवातिर लागेका हौँ।’ वीरेन्द्रनगरलाई एउटा विशिष्ट उपहारका रूपमा खड्का होटल स्थापना गर्ने शिवराजको पछि दैलेख सरुवा भयो। २०६६ सालतिर अवकाश पाए र पछि २०८१ सालमा बिते। तर, उनले दिएको खाना र खाजाको सुगन्ध अझै पनि सुर्खेतका स्थानीय र बाहिरबाट आएका पाहुनाका बीच फैलिइरहेको छ।

प्रतिस्पर्धा तथा बजारमा देखिएको मन्दीका कारण आजभोलि दिनको एक सय किलो जति मात्र खसीको मासु खपत हुन्छ। खसी ल्याउने जिम्मा दुईतीन जना ठेकेदारहरूको हो। कृष्ण खड्काले भने, ‘हाम्रो सामान्य होटल हो। खासै धेरै कुरा थाहा छैन। पाहुनाको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरो रहेछ।’

खुट्टी सुपका कुरा गर्दा कृष्ण खड्का भन्छन्, ‘नाफा खासै छैन, तैपनि एउटा सिग्नेचर डिस भएकाले हामीले निरन्तरता दिएका छौँ। हाल्न त हामी जुम्लाकै सिमी हाल्छौँ। पाहुनाहरूले खुब मन पराउनुहुन्छ। जाडोमा त पुर्‍याउनै गाह्रो हुन्छ।’

कृष्णले आफ्नो होटल सुर्खेतको एउटा प्रतीक बनिसकेको याद गरेका छैनन् वा त्यो भन्न चाहँदैनन्। कुनै कुनै खाजाघर वा कुनै खाना नजानिँदो किसिमले सहरको ब्रान्ड नै बनिसकेको हुन्छ, त्यस्तै भएको हो- खड्का होटल। सुर्खेतमा मीठो खाने अरू धेरै ठाउँ छ, तर खड्का होटल चाहिँ गुणस्तर र निरन्तरताका कारण घण्टाघरअगाडि ठिंग उभिएको छ अर्को एक प्रतीकका रूपमा।