तन्त्र संवाद
नेपाली समाजमा तन्त्रमन्त्रको अभ्यास अझै पनि उत्तिकै छ। ग्रामीण समाजको ठूलो हिस्सा मात्र होइन, सहरतिर पनि तन्त्रमन्त्रमा विश्वास राख्नेहरूको कमी छैन। धेरैलाई थाहा नहुन सक्छ, उच्च शिक्षामा समेत तन्त्रमन्त्रको पठनपाठन हुने गरेको छ। वाल्मीकि विद्यापीठ काठमाडौँमा त पूर्वमीमांसा तथा तन्त्र विभागका सहप्राध्यापक तथा तन्त्रसम्बन्धी विविध पुस्तकका लेखक माधवप्रसाद लामिछाने (विद्यावारिधि)सँग नेपालन्यजुका लागि ध्रुवसत्य परियारले गरेको तन्त्र संवादको सम्पादित अंश :
तन्त्रमन्त्रका विषयमा मलाई खासै जानकारी छैन, म मात्र होइन, धेरैलाई तन्त्रमन्त्रबारे गहिरो जानकारी छैन, त्यसैले तपाईंको बुझाइमा तन्त्र, मन्त्र र यन्त्र भनेको के हो?
तन्त्र, मन्त्र र यन्त्रबारे बुझाउन विभिन्न उदाहरण दिन सकिन्छ। जस्तो– हाम्रो सिंगो शरीरलाई यन्त्र (मेसिन) मान्न सकिन्छ। यो शरीर सजीव छ। यसभित्र विभिन्न तन्त्र छन्– श्वासप्रश्वासतन्त्र, पाचनतन्त्र, रक्तसञ्चारतन्त्र, प्रजननतन्त्र आदि। यी तन्त्र हाम्रो इच्छाअनुरूप चलेका छैनन्। हामीले चाहेर श्वास फेरेका होइनौँ, यो स्वाभाविक रूपमा भइरहेको छ। हामी खाना त चाहेर खान्छौँ, तर पचाउने काममा हाम्रो चाहनाले काम गर्दैन, पाचनतन्त्रले आफैँ गर्छ। यसको पछाडि चेतना वा चेतन तत्त्वले काम गरिरहेको छ भन्ने तन्त्रशास्त्रले मान्छ।
पूर्वीय अध्यात्मविज्ञानमा चेतन तत्त्व नै पहिलो हो। त्यही चेतन तत्त्वलाई चेतना वा मन्त्रका रूपमा पनि वर्णन गरिएको छ। सर्वसाधारणले बुझ्ने भाषा तन्त्र भनेको विधि हो, त्यो विधि प्रयोगका लागि गरिने एउटा भाषिक संरचना मन्त्र हो र तन्त्रमा उपासना गरिने देवी-देवतासँग सम्बन्धित ज्यामितीय आकार नै यन्त्र हो। जस्तो– श्रीयन्त्र। तन्त्रमा विभिन्न देवीदेवताका विभिन्न आकार बनाइएका छन्, जसलाई यन्त्र मानिन्छ। यन्त्रलाई देवीदेवताको शरीर भनेर पनि बुझ्न सकियो। मूर्ति निर्माणभन्दा पहिले यस किसिमका यन्त्रहरू बनाइन्थ्यो। पछि यसलाई मूर्तिका रूपमा पनि विकसित गरिएको हो।
तन्त्रलाई विशेषतः वाङ्मय र विधिका रूपमा हेर्नुपर्ने हुन्छ। जसरी वेद एक वाङ्मय हो, त्यसैगरी तन्त्र पनि एक प्रकारले वाङ्मय नै हो। वेदलाई निगम र तन्त्रलाई आगम भनिन्छ। अझ यसरी बुझौँ– हाम्रो जुन सनातन संस्कृति छ, त्यो संस्कृतिका दुई वटा मूल धारा छन्। एउटा वैदिक धारा, अर्को तान्त्रिक धारा।
वैदिक धाराभित्र पनि तन्त्र गाँसिएको हुन्छ। तन्त्र भनेको उपासना पनि हो। वैदिक धारामा पनि हामी उपासना गर्छौं। तन्त्रलाई विशुद्ध आध्यात्मिक अभ्यासको विज्ञानका रूपमा पनि बुझ्न सकिन्छ। अर्थात् एउटा विधिपूर्वक गरिने साधना विज्ञान हो तन्त्र। यसर्थ वैदिक मार्ग अथवा वैदिक परम्पराभित्र पनि तन्त्र हुन्छन्। किनभने, त्यहाँ विधि छन्।
टुना-मुना र धामी झाँक्रीको अभ्यास नेपाली समाजमा अझै पनि छ, यसमा कतिको सत्यता छ?
पाञ्चायन देवता (गणेश, सूर्य, देवी, शिव र विष्णु)सँग सम्बन्धित तन्त्रशास्त्रहरू छन्। जस्तो- शिवसँग सम्बन्धित शैव आगम, विष्णुसँग सम्बन्धित वैष्णव आगम, देवी परम्परासँग सम्बन्धित आगम, गणेशसँग सम्बन्धित गाणपत्य तन्त्र र सूर्यसँग सम्बन्धित सौर तन्त्र। यसका अतिरिक्त बौद्धतन्त्र, जैनतन्त्र आदि पनि छन्। भारतीय उपमहाद्वीपमा विकसित भएका जति पनि साधना परम्परा छन्, तिनीहरूका मूल स्रोत निगम र आगम हुन्। तन्त्रसँग मात्र सम्बन्धित वाङ्मय पनि विकसित भएका छन्।
तन्त्रलाई हामी धामीझाँक्रीवाद (सामानिज्म) भन्न सक्छौँ, जुन धेरै पुरानो हो। सामानिज्म मंगोलिया, नर्वे, साइबेरियामा ज्यादै प्रचलित थियो। दक्षिण अमेरिका, चिली जस्ता देशमा पनि प्रचलनमा थियो।
तन्त्र ठ्याक्कै कुन कालखण्ड उद्भव भयो भन्न सकिने स्थिति छैन। यद्यपि, पश्चिमाहरूले यसलाई विकासवादी र समाजशास्त्रीय दृष्टिकोणले हेरेका छन्। भारतवर्षमा आर्यहरू आउनुअघि नै तन्त्र अभ्यासमा रहेको उनीहरूको भनाइ छ। सिन्धुघाँटी सभ्यता (मोहनजोदाडो र हडप्पा)को उत्खनन गर्दा प्राप्त मूर्तिहरूलगायत अवशेषका आधारमा उनीहरूले त्यस्तो अनुमान गरेका हुन्। यद्यपि, त्यस्ता अवशेषहरू युरोपका २०-३० हजार वर्ष पुराना गुफाहरूमा पनि पाइएका छन्। कृषि युग सुरु भएपछि तन्त्र विकसित भएको धेरै समाजशास्त्रीको मान्यता छ। कृषि कर्ममा महिलाहरूको बढी भूमिका थियो, तन्त्रको विकासमा पनि महिलाहरूको भूमिका रहेको उनीहरूको बुझाइ छ।
तन्त्रमा शान्तिकर्म र षट्कर्म (मारण, मोहन, वशीकरण, उच्चाटन, स्तम्भन र विद्वेष)को चर्चा हुन्छ, त्यो भनेको के हो?
शान्तिकर्म रोग तथा ग्रहको निवारणका लागि गरिन्छ। तन्त्रमा षट्कर्मलाई अभिचार पनि भनिन्छ। अहिले पनि यी कर्म प्रचलनमा छन्। मारण (मार्ने), मोहन (सम्मोहित पार्ने), वशीकरण (कुनै व्यक्ति वा शत्रुलाई नियन्त्रणमा राख्ने), उच्चाटन (देश छाडेर जाने वा झर्को लाग्ने बनाउने), स्तम्भन (कसैको गति वा चेष्टालाई रोक्ने), विद्वेष (दुई मित्रबिच वैरभाव ल्याउने)— यस्तो कर्म वा तन्त्रलाई परापूर्वकालमा एउटा राज्यले अर्को राज्यलाई हराउन हतियारका रूपमा प्रयोग गर्थ्यो। तन्त्रशास्त्रले पनि यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्न निषेध गरेको छ। तन्त्र भनेको एक किसिमको हतियार हो। पछि पछि यसको दुरुपयोग हुन थाल्यो। मान्छेले आफ्नो ढंगले पनि यसलाई प्रयोग वा दुरुपयोग गर्न थाले।
आचारका आधारमा दक्षिणाचार, वामाचार र कौलाचार गरी तन्त्रलाई तीन मार्गमा विभाजन गरेको पाइन्छ, वास्तवमा तन्त्र मार्ग कति प्रकारका हुन्छन्?
दक्षिणाचार, वामाचार र कौलाचार नै तन्त्रका मूल मार्ग हुन्। जुन मार्ग वेदअनुकूल छ त्यो दक्षिणाचार भयो। यसमा देवताका लागि के शुद्ध र के अशुद्ध भन्ने आधार वेदले दिएको छ।
वामाचार दक्षिणाचारभन्दा विपरीत छ। यसमा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) को प्रयोग हुन्छ। यसमा देवीदेवतालाई मद्य (रक्सी) वा मांससमेत चढाइन्छ। सामान्यतः शिव, विष्णु र गणेशको उपासनामा पञ्चमकारको प्रयोग गरिँदैन। शिवको उग्र स्वरूप भैरवको उपासनामा भने पञ्चमकारको प्रयोग हुन्छ।
यी दुवै आचारको मिश्रित रूप हो, कौलाचार मार्ग। पञ्चमकारलाई शाब्दिक अर्थमा मात्रै बुझ्नु हुँदैन। मूलाधारमा रहेको शक्तिलाई जागृत गरेर आफूलाई सम्पूर्ण रूपमा (वाणी, चित्त र शरीरलाई) शुद्ध पारी साधक आनन्द स्वरूपमा पुग्न सक्छ, निमग्न हुन सक्छ। यसरी आनन्दरूपी अमृतको सेवन गर्नुलाई मद्यको प्रयोगका रूपमा बुझ्नुपर्छ।
यस्तै, मांसको प्रसंग आफ्नो अज्ञानलाई त्याग्ने सन्दर्भमा आउँछ। अज्ञानले पशुलाई पनि जनाउँछ। वामाचारमा देवीदेवताको उपासना गर्दा जुन मासुको प्रयोग हुन्छ, त्यसले अज्ञानताको त्यागलाई संकेत गर्छ।

चञ्चलतारूपी मत्स्यलाई तिलाञ्जली दिएर आफू शान्त र स्थिर रहने भन्ने अर्थमा मत्स्यको प्रयोग भएको हुन्छ। मुद्राको प्रयोगको सन्दर्भमा भनिएको छ, ‘मोदनात् सर्वदेवानां द्रावणात् पापसन्ततेः।’ मोदनले आनन्द र द्रावणले गलाउने वा आफ्नो पशुत्वलाई निवृत्त गर्ने भन्ने अर्थ दिन्छ। यसका लागि जुन कार्य हुन्छ, त्यो मुद्रा हो।
शिवतत्त्व अथवा परमतत्त्वसँग एकाकार हुनुलाई मैथुन वा मिथुन भनेर बुझ्नुपर्छ। मिथुनको अर्थ एकाकारता वा एकत्व पनि हुन्छ। मैथुनको अर्थमा स्त्री र पुरुषको एकत्वलाई बुझिन्छ। आफूलाई शिवतत्त्व वा परमतत्त्वसँग एकाकार गराउनु वा त्यस किसिमको अनुभूति गर्नु नै मैथुन हो।
मुद्रा अर्थ र अवधारणा के हो?
मुद्रा भनेको वास्तवमा देवीदेवताको आह्वान, सन्निधान, स्थापन आदि कार्यका लागि प्रयोग गरिने सांकेतिक भाषा हो। साधनाका क्रममा दुई हातको संयोगबाट विभिन्न प्रकारका मुद्राको निर्माण गरी देवीदेवतालाई देखाइन्छ। मुद्रा विभिन्न छन्– योनि मुद्रा, लिंग मुद्रा, शंख मुद्रा आदि।
शक्तिका लागि योनि मुद्राको प्रयोग गरिन्छ। योनिलाई स्त्रीको गुप्तांगका रूपमा मात्रै बुझ्नु हुँदैन, समग्र सृष्टिको कारण पनि योनि नै हो। योनिलाई कारण तत्त्वका रूपमा बुझ्न सक्छौँ। योनि मुद्रामार्फत कारण तत्त्व प्रदर्शन गरिन्छ। उपासना गर्ने देवीलाई हजुर नै शक्ति हो, जगत्को कारण हो भनेर मुद्रामार्फत संकेत गरिन्छ।
शिवको उपासनामा लिंग मुद्रा प्रदर्शन गरिन्छ। लिंगबाटै सृष्टि हुन्छ। जहाँबाट सृष्टि हुन्छ वा सृष्टि भएको कुरा जहाँ गएर लीन हुन्छ, त्यसैलाई लिंग भनिएको छ। शिवबाटै यो जगत्को सृष्टि भएको हो, सारा जगत् शिवमै गएर लीन हुन्छ भन्ने संकेतका लागि लिंग मुद्राको प्रदर्शन गरिन्छ।
भगवान् शिवले ६४ प्रकारका तन्त्रको चर्चा गरेको सुनिन्छ, यस्तै, ऋषिहरूले प्रतिपादन गरेका उपतन्त्रहरू पनि छन्, तन्त्र वा उपतन्त्रबीच के सम्बन्ध छ?
तन्त्र वास्तवमा देवीदेवताको उपासनासँग सम्बन्धित विषय हो। पाञ्चायन देवताहरूको उपासनासँग सम्बद्ध तन्त्र छन्। पाञ्चायनमध्ये शैव तन्त्रका तीन भेद छन्— द्वैत, द्वैताद्वैत र अद्वैत। द्वैत शैवागम १० वटा छन् भने द्वैताद्वैत रुद्रागम १८ छन्। यस्तै, अद्वैत आगमहरू ६४ प्रकारका छन्। यी सबै मिलाउँदा ९२ प्रकारका शैव आगमहरू हुन्छन्।
वैष्णवमा पनि पाञ्चरात्र, सात्वत, वैखानस भेदहरू छन्। पाञ्चरात्र तन्त्रलाई कतै १०८ र कतै १२५ संख्या गणना गरेको पाइन्छ।

शाक्त तन्त्रहरूमा पनि ६४ तन्त्रहरूको उल्लेख छ। यसमा स्थानभेदका कारण फरक फरक तन्त्रको अभ्यास भएको पाइन्छ। स्थानभेदको कुरा गर्दा समग्र भारतवर्षलाई तीन क्षेत्रमा विभाजन गरिएको छ— अश्वक्रान्ता, रथक्रान्ता र विष्णुक्रान्ता। यिनै तन्त्रहरूबाट पछि कालान्तरमा विकसित भएका नै उपतन्त्र हुन्। तन्त्र-उपतन्त्रबीचको भेदले नै तान्त्रिक वाङ्मय विशाल बनेके हो।
मैले केही पुस्तकमा तन्त्र विधाका अवयव भनेर वनस्पतितन्त्र, पक्षीतन्त्र, रत्नतन्त्र, नक्षत्रतन्त्र आदि भेटेको थिएँ, तन्त्र विधाका अवयव बुझाइदिनुहोस् न।
यी सबै ऊर्जासँग सम्बन्धित कुरा हुन्। आयुर्वेदमा वनस्पतिको प्रयोग हुन्छ। वनस्पति जीवित हुन्छन्, जसमा शक्ति वा ऊर्जा हुन्छ। तन्त्रमा त्यसैलाई एउटा देवताको कोटिमा राखिएको छ। यस्तै, पक्षीहरूलाई पनि शक्तिको रूप मानेर साधना गरिन्छ। साधकले पक्षीहरूबाट संकेत पाउँछन्।
विभिन्न रत्न तथा नक्षत्रलाई पनि शक्ति मानेर उपासना गरिन्छ। उपासनाका विभिन्न विधि छन्।
तन्त्रमन्त्रको साधना वा उपासनामा विशेषतः भैरव-भैरवी र दशमहाविद्याका प्रसंग आउँछन्, भैरव-भैरवी र दशमहाविद्याको अवधारणा चाहिँ के हो?
सबैभन्दा पहिले हामीले ऊर्जा वा शक्तिलाई बुझ्नुपर्यो। ऊर्जा मूल रूपमा एउटै छ, त्यो एउटै तत्त्व हो, तर अनेक रूपमा हुन्छ।

एउटै शक्तिलाई साधकले आआफ्नो भावना अनुसार फरक फरक रूपमा उपासना गर्छन्। तत्त्व एउटै हो, काली, तारा, त्रिपुरसुन्दरी, भैरवी, छिन्नमस्ता, षोडशी, भैरवी, बगला, कमला, मातंगी, धूमावती सबै एउटै हो। तन्त्र भनेकै आफूभित्र रहेको ऊर्जालाई जागृत गर्नु हो। मान्छेभित्र अनन्त शक्ति छ, तर मान्छेलाई आफूभित्रकै शक्तिको बोध छैन। आफूभित्रको शक्तिलाई जागृत गर्ने माध्यम हुन्, दशमहाविद्या। दशमहाविद्या मात्रै होइन, ब्रह्माण्डमा निहित ऊर्जालाई अनन्त मानेर अनेकौँ देवीदेवताको साधना गर्न सकिन्छ।
मन्त्र चाहिँ के हो त, मन्त्रको कुरा गर्दा वैदिक मन्त्र, तान्त्रिक मन्त्र र शावर मन्त्रको चर्चा हुन्छ, यिनको अर्थ के हो?
बीजयुक्त मन्त्रलाई तान्त्रिक मन्त्र भनिन्छ। विभिन्न अक्षरहरूको संयोजनबाट बन्ने एउटा संयुक्त अक्षरलाई बीज भन्छौँ। ह्रीं, क्रीं, क्लिम् आदि बीज मन्त्र हुन्। लोकमा प्रचलित विशेषगरी उपचारका रूपमा प्रयोगमा आएका मन्त्रलाई शावर मन्त्र भनिन्छ।
फट्, स्वाहा र नमःका आधारमा तीन प्रकारका मन्त्र छन्, यी सबैले फल वा प्रभाव दिन्छन्। कतिपय मन्त्रमा नमः अन्तिममा नआएर सुरुमा पनि आएका छन्। जस्तो– ॐ नमः शिवाय। ॐ नमो भगवते वासुदेवाय।
मन्त्रले व्यक्तिमा भाव सिर्जना गर्छन्, त्यसैका आधारमा मन्त्रलाई तीन प्रकारले वर्गीकरण गरिएको हो। नमः भनेको नमस्कार भयो। फट् आयो भने त्यसलाई अस्त्र-मन्त्र भनिन्छ। कुनै अशुद्ध चिजलाई शुद्ध बनाउने, शत्रुलाई निषेध गर्नका लागि अस्त्रका रूपमा यस मन्त्रको प्रयोग गरिन्छ। स्वाहा भनेको चाहिँ अग्निकी पत्नी हुन्। स्वाहा लागेको मन्त्र स्त्रीभावको हुन्छ। स्त्री भन्नेबित्तिकै कोमलतालाई बुझाउँछ।
यस्तो भनाइ पनि सुनिन्छ– सामान्य मानिस मन्दिर जानू, त्योभन्दा केही चेतना उठेको मानिसले मन्त्र जप्नू, आत्मिक चेतना उठेको व्यक्तिले प्राणायाम, योग र ध्यान गर्नू; यसो भन्नुको अर्थ के हो?
तन्त्रको अभ्यासका विभिन्न श्रेणी छन्। जसमा आणव उपाय, शाक्त उपाय र शाम्भव उपाय पर्छन्। आणव भनेको स्थूल उपाय हो। जसमा तपाईंले कुनै देवताको मूर्तिको कल्पना गरेर त्यस मूर्तिमा पूजा गर्न सक्नुहुन्छ। यसरी पूजामा फूल, अक्षता, धूप, दीप इत्यादि चढाउनु स्थूल प्रयोग भयो।
कतिपय मानिसको चिन्तन मन्दिर जानुमा सीमित हुँदैन। उसले भगवान् वा ऊर्जा मन्दिरमा मात्र होइन, सर्वत्र छन् भन्ने बोध गरेको हुन्छ। देवताको उपासनाका लागि कुनै तीर्थस्थल गइरहनु पर्दैन, जहाँ बसेर दवताको उपासना गरे पनि हुन्छ भन्ने चिन्तनमा ऊ पुगेको हुन्छ। यो शाक्त उपायमा पर्छ। यसभन्दा अझ चेतना उठेको मानिसले मन्दिर र मन्त्र जपका माध्यमबाट मात्रै ईश्वर वा ऊर्जा खोज्दैन। उसले योग र ध्यानका माध्यमबाट आफैँभित्र ऊर्जा वा ईश्वर खोज्छ। उसले चिन्तनप्रधान योगका माध्यमबाट शरीरभित्रको ऊर्जालाई जगाउँछ। यसरी ऊ चित्त शुद्ध गर्ने प्रक्रियामा जान्छ र आफैँ परम तत्त्व हुँ भन्ने बोध गर्छ। यस अवस्थामा मन्दिर, मन्त्र, प्राणायाम वा ध्यानको कुनै प्रयोजन रहँदैन। ऊ आफैँमा निमग्न अवस्थामा पुग्छ। उसको ऊर्जा जागृत हुन्छ। उसले एकचित्तले काम गर्न सक्छ। उसले केही सिद्धि पनि प्राप्त गर्छ। यो शाम्भव उपायमा पर्छ।

समाजमा धामीझाँक्री, माताहरू र पितृमाथिको विश्वास देखिन्छ, यी सबै तन्त्रकै अभ्यास हुन्?
यिनलाई तन्त्रको अभ्यासभित्र राख्न सक्छौँ। मेरो इच्छा पूरा होस्, इच्छा पूरा भयो भने म यो चढाउँछु भन्नु नै भाकल हो। झट्ट हेर्दा सौदाबाजी जस्तो देखिए पनि यसभित्र विश्वास र देवीदेवताको उपासनाको अंश लुकेको हुन्छ। धामीझाँक्री पनि तन्त्रकै एउटा पाटो हो। जस्तो– मष्ट देवता चढेपछि धामीमा अनौठो खालको शक्ति जाग्छ। हाम्रो पश्चिमतिर धामीको दाँतले नै बोकाको घाँटी छिनालेको समेत देखिन्छ। यसबाहेक अपत्यारिला शक्ति धामी-झाँक्रीमा आएको देखिएका छन्।
तन्त्रमा साधकले के-कस्ता सिद्धि हासिल गर्न सक्छ?
मूलतः साधकहरूले वाक्सिद्धि वा बोलेको पुग्ने सिद्धि हासिल गरेको देखिन्छ। कतिले भविष्यवाणीसमेत गर्छन्। शास्त्रमा अणिमा, लघिमा आदि अष्टसिद्धिहरूको उल्लेख पाइन्छ। त्यस किसिमका सिद्धि प्राप्त गरेका साधकहरू अहिले प्रत्यक्ष देखिएका छैनन्। भित्रभित्र होलान्, तर उनीहरू सार्वजनिक रूपमा प्रकट भएको देखिँदैन। कतिले हिमालय वा कतै बसेर तपस्या गरिरहेका हुन सक्छन्।
आखिर मानिसले आफ्नो कमजोर मनलाई अड्याउने आधार खोजिरहेको छ। मन्दिरमा जाऊँ, मन्त्रमा जाऊँ, तन्त्रमा जाऊँ, यन्त्रमै जाऊँ, अथवा आआफ्नो आस्थाको केन्द्रमा जाऊँ; जहाँ गए पनि आखिर मनलाई अड्याउने कुरा नै मुख्य रहेछ, होइन?
हो, ठिक भन्नुभयो। तन्त्रमा जति पनि विधिहरू छन्, यी सबै कहीँ न कहीँ मनको एकाग्रतासँग सम्बन्धित छन्; चाहे मन्दिर जानुस्, चाहे ध्यान गर्नुस्। ध्यान भनेको उही छरिएको वा चञ्चल मनलाई स्थिर गर्ने कुरा न हो। मन स्थिर हुन मनको विकार हट्नुपर्छ। त्यसपछि नै निर्विकार वा निराकारमा पुगिने हो। मन्त्र जप्नु भनेको पनि कुनै एउटा मन्त्रमा मनलाई एकाग्र गरेर विचारशून्य बन्ने हो। आखिर जे भने पनि तन्त्र वा अध्यात्मको अन्तिम लक्ष्य भनेको अनगिन्ती विषयमा दौडिरहेको मनलाई स्थिर बनाउनु हो। मन जथाभावी बरालिँदा व्यक्ति कमजोर भइरहेको हुन्छ। एकाग्र मनको शक्तिले धेरै काम गर्न सकिन्छ। सकारात्मक र नकारात्मक दुवै ऊर्जाको अस्तित्व यस संसारमा छ। हामीभित्रै पनि दैवी (सकारात्मक) र आसुरी (नकारात्मक) प्रकृति छ। साधना गर्दै जाँदा यी दुईबीच द्वन्द्व हुन्छ, अनि त्यसको प्रभाव स्थूल वा बाहिरी संसारमा पनि साधकले महसुस गर्छ।

तन्त्रशास्त्रले ब्रह्माण्ड र हाम्रो शरीरबीच भिन्नता देख्दैन। ब्रह्माण्डमा जे छ, त्यो हाम्रो शरीरमा पनि छ। त्यसैले साधनाका क्रममा ब्रह्माण्डमा रहेका विभिन्न ऊर्जालाई साधकले महसुस गर्न सक्छ। यस सम्बन्धमा हामीले पुराणमा अनेक कथा पाउँछौँ।
हाम्रो मनले अनुभूति गरेको वा आफ्नै आँखाले देखेको दृश्यलाई पनि वैज्ञानिक उपकरणले खिच्न नसकिएला, तर साधकले अनुभूति गरेको हुन्छ। मनको सत्तालाई आधुनिक विज्ञानले पनि मानेको छ।
कहिलेकाहीँ हामीले कुनै सकारात्मक वा नकारात्मक विषयमा धेरै सोच्यौँ भने त्यस्तै हुन गएको पनि पाउँछौँ। कसैले ममाथि तन्त्रमन्त्र गरेको छ कि भनेर सोचिरह्यो भने अवश्य नै मन दुःखी हुन्छ। आफू सकारात्मक र दृढ भएर अगाडि बढ्ने हो भने यस्ता कुराले छुँदैनन्। वास्तवमा नकारात्मक कुरालाई बेवास्ता गर्ने र सकारात्मक कुरालाई आत्मसात गरेर अघि बढ्ने विधि नै तन्त्र हो।
तन्त्रमा तीन वटा भावका कुरा छन्– पशु भाव, वीर भाव र दिव्य भाव। भावका कुरा ज्योतिषशास्त्रमा पनि आउँछन्। वास्तवमा तपाईं र म दुई स्थूल शरीर मात्रै भेटिएका छैनौँ; आफूले लिएको वा अभ्यास गरेको चिन्तनमनन, सोचविचारको भावसहित हामी यहाँ उपस्थित छौँ। तन्त्रशास्त्रमा आउने तीन भावको अवधारणा के हो?

पशु भावले मनमा रहेको पशुत्व वा पासोलाई जनाउँछ। आठ प्रकारका बन्धन वा पाशको चर्चा पाइन्छ– घृणा, शंका, भय, लज्जा, जुगुप्सा, कुल, शील र जाति। घृणाको भाव, लज्जाको भाव, निन्दाको भाव, कुल वा जातिको अहंकारको भाव व्यक्तिमा रहेको हुन्छ। यी भावबाट मुक्त भयो भने व्यक्ति वीर भावमा पुग्छ। यसबाट पनि दिव्य भावमा पुगेपछि साधकले कुनै कुरामा भेद देख्दैन, सबैलाई समान व्यवहार गर्छ। दिव्य भाव भनेको चित्तशुद्धिको अवस्था हो। चित्तशुद्धि गर्न कायको शुद्धि पनि आवश्यक हुन्छ। चित्त र कायकै शुद्धिका लागि योग-प्राणायामका कुरा आएका हुन्।
समाजमा कुनै विभेद भएन, सामाजिक न्याय भयो, समाजवाद वा साम्यवाद आयो भने मानिसले सद्भाव र सहअस्तित्वको बोध गर्छ; मानिस दिव्य भावतिर अग्रसर हुने आधार बन्छ भन्न सकिँदैन? के दिव्य भावमा पुग्न कुनै देवीदेवता वा धर्म मान्नैपर्ने हुन्छ?
दिव्य भाव भनेको मनको अवस्थाको कुरा हो। मनलाई दिव्य भावमा ल्याउन साधना आवश्यक पर्छ नै। दिव्य भाव कुनै धर्मभन्दा माथिको विषय हो। धर्म भनेको त आचरण हो। तन्त्रका तीन वटा तह छन्— कर्म, भक्ति र ज्ञान। दिव्य भाव भनेको ज्ञानको तह हो। त्यहाँसम्म पुग्नलाई कर्म आवश्यक हुन्छ, विनाकर्म सम्भव हुँदैन। तन्त्रशास्त्रले पुनर्जन्मको अवधारणालाई मान्छ। कर्मको कुरा गर्दा पूर्वजन्ममा कुनै सत्कर्म गरेको छ भने यस जन्ममा दिव्य भावमा पुग्न सहज हुन्छ।