काठमाडौँ
००:००:००
२२ जेष्ठ २०८३, शुक्रबार

रंगमञ्च

रंगकर्मको माध्यमबाट नारीका मुद्दा उजागर गरेर समाजमा तारिफ र आलोचना दुवै खेपिरहेको कथा घेरा समूह

८ बैशाख २०८३
कथा घेरा समूहले प्रदर्शन गरेको सडक नाटक ‘बाटैबाटो’। तस्बिरहरू : कथाघेरा
अ+
अ-

छोरी, बूढी, बुहारी, आमा देवीभन्दा पहिला
मान्छे हुन् पहिला, मान्छे हुन् महिला।

आफू जस्तै मान्छे ठानी बुझिदिए पुग्छ
ढोगिदिनु पर्दैन, पुजी दिनु पर्दैन।

‘कथा घेरा’ समूहको सडक नाटक बाटैबाटोमा समावेश एउटा गीतको यो अंश तीन सातायता टिकटक, रिल्स, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भाइरल छ।

१८ चैत २०८२ मा ‘कथा घेरा’ ले टिकटकमा पोस्ट गरेको यो गीतको भिडिओ २० दिनमा ३३ लाख पटक हेरिएको छ। पछिल्लो समय धेरैले यही गीतमा टिकटक र रिल्स बनाएका छन्। प्रत्यक्ष नाटक हेर्नेले मात्र होइन, सञ्जालमा गीत सुन्नेले पनि उत्तिकै मन पराएका छन्।

नाटक निर्माणका क्रममा कलाकार रजत थापा र भेनिसा आचार्यले लेखेको यो गीतले नेपाली समाजका महिलाको कथा भन्छ।

कुल जनसंख्याको ५१ प्रतिशतभन्दा बढी रहेका महिलाको सामाजिक अवस्था अहिले पनि पुरुष समान छैन। महिलालाई देवीका रूपमा व्याख्या गर्ने समाजले व्यवहारमा भने दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गरेको छ। समाजको यही व्यवहारलाई चुनौती दिँदै महिलालाई देवीभन्दा पहिला मान्छे जस्तै व्यवहार गर्न गीतमार्फत अनुरोध गरेको कथा घेराकी निर्देशक आकांक्षा कार्की बताउँछिन्। भन्छिन्, “भन्ने बेला देवी भने पनि महिलालाई केही गर्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति छ। महिलालाई आफू जस्तै मान्छे ठानेर व्यवहार गरिदिए पुग्छ। देवी मानेर ढोक्नु, पुज्नु पर्दैन भन्दा कतिपयले गलत बुझेर गाली पनि गरे।”

आकांक्षा कार्की।

योनिका कथाहरू, प्राइभेट इज पोलिटिकल, वेइडिङ एल्बम, प्ले द सिस्टमलगायत नाटकमा सशक्त रूपमा लैंगिक विषय उठान गरेकी आकांक्षालाई कैयौँले नारीवादी रंगकर्मीका रूपमा पनि चिन्छन्, तर उनी आफूले समाजमा देखेका र कतिपय आफैँले भोगेका समाजका विषय नाटकमार्फत उठाएको बताउँछिन्। भन्छिन्, “समाजकै विषयमा नाटक गरेकी हुँ। यो हाम्रो कथा हो भनेर नाटक बनाएकी हुँ। महिलावादी बन्छु भनेर होइन। आफूले गरेका काम अरूले भनिदिएपछि पो महिलावादी भन्ने थाहा भयो।”

अहिले चर्चामा रहेको बाटैबाटो पनि महिलाकै कथा हो। पछिल्लो समय समाजमा महिलाहरू सचेत बन्दै छन्। गाउँघरमा महिलाले अचार व्यवसाय गरिरहेका छन् त कैयौँले दूध-दही बेच्ने, दुना-टपरी बनाउने र पोते उन्नेलगायत साना व्यवसाय गरिरहेका छन्। तर, यसरी आफैँ केही गर्न खोज्ने महिलालाई समाजले अझै हौसला दिन सकेको छैन। बरु ‘महिलाहरू केही जान्दैनन्’ भनेर खिसीटिउरी गर्ने प्रवृति छ।

कथा घेराले सुदूरपश्चिम र कर्णाली प्रदेशमा साना उद्यम व्यवसाय गरिरहेका महिलालाई प्रोत्साहन गर्ने र समाजमा सचेतना जगाउने उद्देश्यले ११ देखि ३० चैतसम्म सडक नाटक प्रदर्शन गर्‍यो। नाटकमा गीत र अभिनयमार्फत उद्यमी महिलालाई प्रोत्साहन गरिएको छ। गीतमार्फत कथा भनिएको बाटैबाटोलाई गीति नाटक पनि भन्न सकिन्छ।

साना किसान, महिला र युवालाई सशक्त बनाउन, दिगो र जलवायुअनुकूल आर्थिक विकास प्रवर्द्धनका लागि काम गरिरहेको ग्रिन रिसाइलेन्ट एग्रिकल्चरल प्रोडक्टिभ इकोसिस्टम (ग्रेप-२) परियोजनाको सहयोगमा ११ ठाउँमा नाटक प्रदर्शन गरिएको थियो। जीआईजेट र नेपाल सरकारअन्तर्गतको यो परियोजना भए पनि स्वतन्त्र रूपमा नाटक गरिएको निर्देशक सुदाम सिके बताउँछन्।

कथा घेराले स्थलगत अध्ययन गरेर सुरुमा सुदूरपश्चिमका लागि महिलाले पशुपालनबाट दूध-दही व्यापार गरेको कथा तयार गरेको थियो। त्यस्तै, कर्णालीका लागि दुना-टपरी र अचारको व्यापार गरिरहेका महिलाको कथा तयार थियो। सबै कथामा महिलालाई समाजले गर्ने व्यवहार, अविश्वासको कथा उस्तै थियो। त्यसपछि दुवै कथालाई मिसाएर एउटै नाटक बनाइयो।

कलाकार भेनिसा आचार्य, सुस्मिता कुँवर, नेविका सिलाधर, सेविका अधिकारी, विजय नेपाल, जीवन ढकाल, प्रसून खत्री र रोवित तुलाधरले अभिनय गरेको बाटैबाटोमा दूधदही व्यापार गर्ने पार्वती र दुना-टपरी तथा अचारको व्यापार गर्ने सरिताको कथा छ।

महिलाले गाउँघरमै उद्यम गरेर परिवारलाई आर्थिक भरथेग गरिरहेको सफलताको कथामा गीत र रमाइला प्रसंग छन्। नाटक प्रदर्शन गरेर २१ दिनपछि काठमाडौँ फर्किएकी आकांक्षा सुनाउँछिन्, “नाटक हेरेर धेरै महिलाले आफ्नै कथा जस्तो लागेको प्रतिक्रिया दिँदा निकै खुसी लाग्यो। तर, समाजले अहिले पनि महिलाले व्यापार-व्यवसाय गर्छन् भन्ने विश्वास गरिसकेको अवस्था छैन। महिलाले हिसाब गर्नै जान्दैनन् भनेर कम आँक्ने चलन अझै छ।”

उनका अनुसार धनगढी, डोटी, डडेल्धुरा, अछामदेखि कर्णालीका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा ५०० हाराहारी दर्शक उपस्थित थिए। उनीहरूले नाटक रमाइलो मानेर हेरे, हेरुन्जेल राम्रै प्रतिक्रिया दिए। सामाजिक सञ्जालमा भने फरक फरक किसिमका प्रतिक्रिया पाइन्।

कतिपयले त महिलालाई भड्काएको र धर्म परिवर्तन गराउन खोजेको आरोप लगाएर गाली गरे। आकांक्षा भन्छिन्, “त्यसरी गाली गर्नेहरू सबै पुरुष र निश्चित समुदायका मान्छे हुन्। समाजमा बुझ्ने जस्ता देखिने मान्छेबाटै यस्ता प्रतिक्रिया पाउँदा समाज अहिले पनि महिलाप्रति सकारात्मक छैन भन्ने बुझ्न कठिन छैन।”

नाटकका निर्देशक सुदाम सिकेलाई पनि लाग्छ, महिलाका मुद्दामा नाटक गर्न सजिलो छैन। बुझ्ने मान्छे अझै कम छन्। महिलालाई समान अवसर दिए पुरुष जस्तै उद्यम गर्न सक्छन् भनेर समाजलाई बुझाउन खोज्दा महिला भड्काउन खोजेको आरोप लगाउनेसँग उनलाई चित्त बुझेको छैन। महिलालाई अविश्वास गर्नेमा पुराना पुस्ताका मात्र होइन, २०–२५ वर्षका युवाहरू देख्दा चाहिँ उनलाई अचम्म लाग्छ। भन्छन्, “नयाँ पुस्तामा त सोच परिवर्तन हुनुपर्ने हो, तर महिलालाई भड्काएको भन्दै गाली गर्ने युवा देखेर अचम्म लाग्यो।”

हुन त आकांक्षा र सुदामले यस्ता गाली र आरोप यसअघिका नाटकहरूमा पनि खाएकै हुन्। योनिका कथाहरू हुन् या प्राइभेट इज पोलिटिकल नाटक गर्दा पनि उनलाई महिला भड्काएको आरोप लाग्यो। भारतबाट थिएटर अध्ययन गरेर फर्किएपछि समाजका यस्तै विसंगतिलाई रंगमञ्चमार्फत देखाउन खोजेकी आकांक्षालाई काम गर्न सहज भएन। तर, जीवनसाथी सुदाम सिकेले साथ दिए।

त्यसपछि आकांक्षाले आफ्ना बुवाको घरमा सुरु गरिन्, कौसी थिएटर र नाट्य समूह कथा घेरा। सामाजिक विषयवस्तुमा आधारित नाटक प्रदर्शन गर्दै आएका कौसी थिएटर र कथा घेरालाई निरन्तर अघि बढाउन सजिलो छैन। त्यसैले आकांक्षा र सुदाम नाट्य प्रशिक्षण र अभिनय कक्षा सञ्चालन गर्छन्। नाटक प्रदर्शन गर्छन् अनि विभिन्न विज्ञापनमा भोइस ओभर गरेर आम्दानी गर्छन्।

कहिलेकाहीँ सरकारी निकाय र विभिन्न परियोजनाले पनि सहयोग गर्छन्, तर आफूले स्वतन्त्र रूपमा काम गर्न पाउने सर्तमा मात्र सहयोग लिने गरेको आकांक्षा बताउँछिन्।

उनीहरूले चार वर्षदेखि रंगकर्मलाई निरन्तरता दिन ‘क्राउड फन्डिङ’ को अभ्यास पनि गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत सञ्चालन गरेको क्राउड फन्डिङबाट गत वर्ष उनीहरूले साढे सात लाख रुपैयाँमा जेनेरेटर खरिद गरे। रंगमञ्चमा व्यावसायिक बन्न नसकेर धेरै कलाकार पलायन भइसकेका छन्। अझ यो क्षेत्रमा टिकिरहन महिलाका लागि अनेक चुनौती छन्।

आकांक्षा र सुदाम भने अन्य महिला कलाकारलाई पनि प्रोत्साहन गर्दै समाजमा पछाडि परेका महिला र सीमान्तीकृतका कथा पस्किएर राज्यलाई झकझक्याउन चाहन्छन्।

कला क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारको स्पष्ट नीति छैन। कलाकारितालाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको राज्यले रंगमञ्च र कला क्षेत्रलाई धेरै सहयोग गर्ला भन्ने आशा कम छ। तर, यसपटक कथा घेराको चर्चा चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की श्रीमती सबिना काफ्लेको म्यासेज आयो।

सञ्जालमा नकारात्मक प्रतिक्रिया आइरहेका बेला सबिनाको म्यासेजले आकांक्षामा आशाको सञ्चार भयो। भन्छिन्, “हामीले गरिरहेको कामप्रति सरकारको पनि ध्यान गइरहेको छ भन्ने थाहा पाउँदा आशालाग्दो रहेछ। सरकारले कलाकर्मलाई पनि राज्यको सफ्ट पावर हो भनेर बुझिदिए, त्यहीअनुसार नीति बनाइदिए पुग्छ।”