काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

रंगमञ्च

हेर्दा विशुद्ध मनोरञ्जनको विषय जस्तो लागे पनि नाटकले नेपालको राजनीतिक गति र प्रवृत्ति देखाएको छ।

१२ बैशाख २०८३
तस्बिर : मण्डला थिएटरको फेसबुक
अ+
अ-

कुनै ठाउँमा एउटा भव्य सांगीतिक कार्यक्रम हुँदै छ, ‘ओसन दासको कन्सर्ट’। दर्शक आफ्ना स्टार ओसन दासको व्यग्र पर्खाइमा छन्। भिडमा ओसन दास त्यति सजिलै स्टेजमा आउँदैनन् भन्ने गाइँगुइँ चल्छ।

कन्सर्ट सुरु हुनुअघिको खाली समयमा भिडबीचमा कोही बिमा कम्पनीका लागि ग्राहक खोजिरहेका छन्, कोही विवाह गर्ने मान्छे। उनीहरू कन्सर्टलाई आआफ्नो फाइदामा प्रयोग गर्न चाहन्छन्।

ओसन दासका ‘फ्यान’ हरू पनि विभिन्न खालका छन्, विश्वविद्यालयको दीक्षान्त समारोहबाट सिधै खाडी मुलुक हिँडेको विद्यार्थीदेखि वैज्ञानिकसम्म। विद्यार्थी ओसन दासलाई देशभक्ति गीतका गायक ठान्छ। एउटा देशभक्ति गीत सुनेर विदेश उड्न हतार छ उसलाई। सम्बन्ध बिग्रन लागेको एउटा जोडी ओसनलाई मार्मिक गीतका गायक ठान्छ र कन्सर्टमा रमाएर सम्बन्ध सुधार्न चाहन्छ। कसैलाई लाग्छ, ऊ रकस्टार हो, कसैलाई चाहिँ शास्त्रीय संगीतका साधक। उनीहरूले पनि राम्रोसँग बुझेकै छैनन्, खासमा ओसन दास को हो, के हो?

तस्बिर : मण्डला थिएटरको फेसबुक

काठमाडौँको मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक अतिरञ्जनको मनोरञ्जन यही प्रश्नको वरिपरि घुमेको छ। १८ चैतदेखि मञ्चन भइरहेको नाटक हेर्दा गैरराजनीतिक र मनोरञ्जनको विषय जस्तो लागे पनि खासमा यसले देशको राजनीतिक प्रवृत्ति देखाएको छ। पछिल्लो समय नेपाली राजनीतिलाई लोकप्रियतावाद (पपुलिज्म)ले गाँजेको छ। कसैलाई रातारात हिरो वा कसैलाई भिलेन बनाउन लागिपरेको वर्तमान समाज र राजनीतिको प्रतिनिधि पात्र हो, ओसन दास।

ओसन दासलाई फ्यानहरूले ओ’दास, ओएसडी जस्ता विविध नामले चिन्छन्। उसको आगमनसँगै दर्शकदीर्घामा खुसीको सीमा बढ्छ। तर, ऊ कन्सर्टमा गाउँदागाउँदै स्टेजमै ढल्छ। एकछिन कोलाहल हुन्छ।

तस्बिर : गोपाल दाहाल

एकैछिनमा सबै शान्त। सबै खुसी। कन्टेन्ट क्रिएटर ओसन मञ्चकै ढलेको भिडिओ भाइरल बनाएर आफ्नो च्यानलको भ्युज बढाउन अनि डलर कमाउन पाएर खुसी, वैज्ञानिक आफूले बनाएको मेसिनमा ओसनका सबै गीत रेकर्ड गरेर भविष्यका लागि सुरक्षित राख्न सफल भएकोमा र त्यसैबाट पैसा कमाउने आशामा खुसी। कन्सर्टमा उसको सुरक्षा दिइरहेका साथीहरू उसका गहना र सामान हात पारेर खुसी। कन्सर्टको प्रायोजक उसको शवमा आफ्नो सिमेन्ट कम्पनीको ब्यानर राखेर मार्केटिङ गर्न पाएर खुसी। उनीहरू ओसन दासको मृत्यु-उत्सव मनाउन तम्तयार छन्।

अचम्म, भोलिपल्ट बिहान ओसन दास ब्युँझिन्छ, अर्थात ऊ जिउँदै हुन्छ। उसले आफ्ना प्रशंसक, साथी र सहयोगी सबैलाई नजिकबाट चिन्ने अवसर पाउँछ। उसलाई रातारात स्टार बनाउनेहरू नै उसबाट फाइदा लिन कतिसम्म मरिहत्ते गर्दा रहेछन्, राम्रोसँग बुझ्न पाउँछ। नेपालको पछिल्लो राजनीतिमा पनि स्टार बनाएर उसैका नाममा फाइदा लिन मरिहत्ते गर्नेहरूको कमी छैन। नाटकले लोकप्रियतावादी राजनीतिकर्मीलाई मुटुमै बिझ्ने गरेर व्यंग्य कसेको छ, राजनीति र नेता शब्दको प्रयोग नै नगरीकनै।

आफू दर्शक/श्रोताका लागि भगवान् समान भएको ओसन दासको घमन्ड पनि धेरै समय टिक्दैन। आफ्नो मौलिकता केही नभए पनि अरूकै शब्द, संगीत, वाद्यवादनको मद्दतले स्टार बनेको उसले आफूले जे गरे पनि चल्ने ठान्छ। आफ्नै ब्यान्डका प्रतिभाशाली सहकर्मीलाई स्टेज चढ्न नदिएर आफूले राज गरिरहेको ओसन दासलाई त्यतिबेला धक्का लाग्छ, जब सहकर्मीहरूले उसको वास्तविकता खोलिदिन्छन्। सहकर्मीको विद्रोहपछि ऊ आफ्नो धरातलमा आउन बाध्य हुन्छ। आफ्नो शरीरका सारा पोसाक एक एक गरी खोल्दै नांगिएको उसले आफू जस्तो मान्छेलाई हिरो बनाउने समाजको चेतप्रति पनि व्यंग्य गर्छ र ‘ब्ल्याक होल’ को शून्यतामा बिलाउँछ। कन्सर्टको मञ्च एकाएक ब्ल्याक होलको भुमरीमा परिणत हुन्छ।

तस्बिर : मण्डला थिएटरको फेसबुक

रंगकर्मी सोमनाथ खनालले ओसन दासको भूमिका राम्रोसँग निर्वाह गरेका छन्। बीचमा सडक नाटक र केही नाटकमा काम गरे पनि चर्चित नाटक महाभोजको ६ वर्षपछि सोमनाथको उत्कृष्ट अभिनय अतिरञ्जनको मनोरञ्जनमा हेर्न पाइन्छ। यस नाटकमा सोमनाथसँगै सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यसोदा गुरुङ, सनम श्रेष्ठ, चक्र विष्ट, रिजन थिङ लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मर्मु, भास्कर बुढा, सुस्मिता कार्की, सयुज्या भण्डारी, तरुन देउवा, मृदुल कृष्ण, सौरभ चालिसे र निमिषले अभिनय गरेका छन्। नाटकमा अधिकांश नयाँ पुस्ताका कलाकार भए पनि अभिनय राम्रो छ।

संयोग गुरागाईंको लेखन रहेको नाटकलाई निर्देशक सागर खाती कामीले प्रयोगवादी शैलीमा प्रस्तुत गरेका छन्। नाटक हेर्न हलभित्र प्रवेश गरेका दर्शक आफैँ ओसिन दासको कन्सर्ट हेर्न आएका श्रोतामा परिणत भइसकेका हुन्छन्। यसअघि खोपडीभित्रका मान्छेहरूटिकट टु हलिउड जस्ता नाटक निर्देशन गरिसकेका सागरले अतिरञ्जनको मनोरञ्जनमार्फत दर्शकलाई देशको राजनीति कता गइरहेको छ भन्ने सम्झाएका छन्। सांगीतिक कार्यक्रम, गीत र मनोरञ्जनको माध्यमबाट पनि राजनीतिक परिदृश्य बुझाउन निर्देशक सागर सफल बनेका छन्।

नाटक १३ वैशाखसम्म हरेक साँझ ५:३० देखि मञ्चन हुन्छ भने शनिबार दिउँसो ३ बजे र साँझ ७ बजे मञ्चन हुने आयोजकले जनाएको छ।