परिकार
रेसिपीका किताबमा नअट्ने आममानिसको खाना स्वच्छ र स्वादिष्ट हुन्छ भन्ने ज्ञान गौरमा रिक्सावालाहरूले खाने होटलमा भात खाएपछि पलायो।
सबै खानाले पाककलाका किताबमा ठाउँ पाएका हुँदैनन्, धेरै व्यञ्जन पुस्तान्तरण हुँदै आउँछ, आमाबाट छोरी-बुहारीमा र बुबाबाट छोराहरूमा। त्यस्ता किताबमा ठाउँ नपाउने खाना सामान्यतया साधारण मान्छेका हुन्छन्। त्यसमाथि ती रेसिपी वा कुक बुकमा नपाइने खाना सबैभन्दा स्वादिष्ट हुन्छ।
त्यस्तै भयो रौतहटको गौरमा। अलि अगाडिको कुरा हो। राति वास बस्न पुगिएको थियो पत्रकार साथी सञ्जय राउतसँग गौरमा, बिहान स्थानीय सहजकर्तालाई भेटेर काम थाल्नु थियो। सहजकर्ताले ‘१० बजेतिर भेटम्, त्यो भन्दा अगाडि गएर गाउँका अफिसतिर मान्छे भेट्न गाह्रो हुन्छ’ भने। दुर्गा भगवती गाउँपालिका पुग्न पर्ने थियो। सहजकर्ताले बरहवा पुलतिर कुर्नु न भने। नियमित गौर आइराख्ने जनकपुरका सञ्जयलाई पनि ठाउँको अन्दाज भएन। अलि चाँडै पुगियो। अनि कुर्न थालियो। अल्छी लाग्दै गयो, अनि बिस्तारै दक्षिणतिर नेपाल-भारत सिमानातिर गइयो। मदिरा निषेध प्रदेश भएकाले पारिबाट रक्सी खान आएका ग्राहकहरूको सेवा गर्न राति ढिलोसम्म खुलेका सडकछेउका ससाना रेस्टुरेन्टहरू बिहान १० बज्न लाग्दासम्म बन्द नै थिए।

पारि गए भारत, बिहार प्रदेश, जिल्ला सीतामढीको बैरगनिया पुगिन्छ, सशस्त्र क्रान्ति गरी राणाशासन हटाउने निर्णय गर्ने नेपाली कांग्रेसको सम्मेलन भएको ठाउँ। असोज २००७ को त्यो सम्मेलन बैरगनिया रेलवे स्टेसनभन्दा दक्षिणपट्टि एउटा राइस मिलको गोदाममा भएको थियो रे।
भेट्ने समय हुन थालेपछि बरहवा पुलतिर फर्कियौँ। १० बज्यो, तर सहजकर्ता आएनन्। फोन पनि लागेन। साढे १० बज्यो अझै आएनन्। पक्का नेपाली टाइमवाला रहेछन्। फोन नलागेकाले कुर्नुबाहेक अरू उपाय थिएन। सञ्जय छटपटिएर यताउता गर्दै थिए। एउटा दोकानअगाडि उभिएर अवलोकनका मार्फत प्रतीक्षाको समय कटाउने ठूलै काम गर्न थालियो। अगाडि एउटा सानो छाप्रो वा झुपडी जस्तो होटल थियो। एउटा रिक्सा आयो, रोकियो, रिक्सावाला झरे, होटलमा छिरे, अर्को रिक्सावाला आए उनी पनि छिरे। दुवै पालैपालो निक्लिए। कामदार जस्ता देखिने मानिसहरू आए, त्यहीँ छिरे, अरू निक्लिए। १० देखि १५ मिनेटको समयमा छाप्रो होटलमा लगभग १८/२० जना आउने/जाने भइसकेको थियो। सबै आउने, भात खाने, अनि आआफ्नो काममा निक्लिहाल्ने।
स्वाभाविक नै हो, नेपाली समाज पाखन्डी छ, अनेक थरीका आडम्बर मन पराउने सुकुलगुन्डा खालको।
हामीलाई बिहान नास्ता खाने मौका जुरेको थिएन। बिस्तारै भोक लाग्दै गयो। अनि सञ्जयलाई भनेँ, ‘भोक लागेन साथी? भात खाने होइन?’ उनले भने, ‘बेला त भयो। भोक पनि लाग्यो। तर, कहाँ खाने खै? रेस्टुरेन्ट खुलेका छैनन् त।’
आँखाले इसारा गरेर छाप्रो होटल देखाएँ। उनले आँखैले ‘हैट, हुँदैन’ भनेको जस्तो लाग्यो। ‘कसैले देख्यो भने के भन्ला? गिल्ला गर्लान्। यत्रो पत्रकार भएर रिक्सावालाले भात खाने ठाउँमा भात खायो भन्लान्’ भन्ने आशंकाले हो कि उनी हिचकिचाइरहेका थिए जस्तो पनि लाग्यो। स्वाभाविक नै हो, नेपाली समाज पाखन्डी छ, अनेक थरीका आडम्बर मन पराउने सुकुलगुन्डा खालको। तैपनि, कहिलेकाहीँ कुनै अपेक्षा नै नलिई गएका ठाउँमा अप्रत्याशित रूपमा उत्कृष्ट परिकार खाएको अनुभव भएकाले सञ्जयलाई अलि जबरजस्ती रूपमा छाप्रो होटलमा लगियो।

होटल व्यवस्थित थियो। खानाका भाँडाहरू चिटिक्क मिलाएर राखिएका थिए। हात धुने र चुठ्ने ठाउँ पनि अलि भित्रपट्टि थियो। चुठ्ने बेला नेपालीले आफ्नो पारा देखाउँछ, भित्रदेखि बल निकालेर खकार निकाल्छ, फेरि ठूलो आवाज निकालेर थुक्छ, खाकखुक गरेर खाने ठाउँको माहोल नै घिनलाग्दो बनाउँछ। चुठ्ने ठाउँ अलि परै भएकाले त्यो चिन्ता पनि मेटियो। क्यामेराका झोला र ट्राइपडलगायत उपकरण एउटा कुनामा थन्क्याएर मैथिलीमै दुई वटा खाना लगाउन भनियो। तुलनात्मक रूपमा अलि सुकिला मान्छे देखेर साहुजीले अलि नपत्याएको जस्तो गरेका थिए, तर सञ्जयले पानी चाहिँ बोतलवाला खुवाउनु भनेपछि भात खानै आएका रहेछन् भनेर पत्याए। उनको दोकानमा पानी थिएन। भाइलाई लिन पठाए। होटल शाकाहारी रहेछ, अन्डा पनि नपाइने।
सफा देखिएका दुई वटा खण्डे थाललाई चापाकल खिचेर साहुजीले एक पटक फेरि पखाले र पस्कन थाले भात। टेबलमा राखे। मुसुरोको दाल अलि पातलो जस्तो देखियो। फरफराउँदो भात। माड काढेर पकाइएको। गाउँले शैलीको ‘रस्टिक’ भन्छन् नि। साथमा थियो मुलाको थेबे, गोलभेँडाको चटनी, काँक्रो साँधेको अचार, धनियाँ पिसेको चटनी गरी चार थरी अचार, एउटा निबु (कागती)को टुक्रा, एउटा मुलाको टुक्रा, अनि पालुंगोको साग, त्यससँगै थियो सबैको मन पर्ने आलु भुजुरी अनि आफ्नो मनमोहक तारेको हरियो खुर्सानी त्यो पनि नुन छर्किएको। सबैभन्दा विशेष थियो, पहाडका नेपालीले सामान्यतया नखाने सुकाएको कुभिन्डोको चानाको तरकारी। त्यो तरकारीको अनुहार हेर्दा ‘झिक्नुस्’ भनौँ कि जस्तो लागेको थियो, तर सञ्जयले भनिहाले, ‘खानु न, च्याउभन्दा मजाको हुन्छ, पकाउन जाने त माछाको स्वाद आउँछ।’

उनले थपे, ‘यो हाम्रो मधेसको खाद्य सुरक्षाको प्रतीक हो, तरकारी नपाउने बेलामा खाने तरकारी।’ पहिले पहिले तरकारी नपाउने मौसमका लागि हाम्रा आमा-हजुरआमाहरूले अनेकन् तरिकाले तरकारीको संरक्षण गर्थे। त्यसमध्ये बिरिया एउटा हो। मिथिलाञ्चलमा बथुवालगायत सागका पातहरू सुकाएर बनाइने मस्यौरा जस्तै बिरिया खाने मौका धेरै पाइयो। सागको यो मस्यौरा हाम्रो थारू समुदायमा पनि लोकप्रिय छ र भारतका बिहार र उत्तर प्रदेशमा पनि खाइन्छ। तरकारी नपाउने बेलाका लागि भनेर बनाइने कर्कलाको पातको अरिकोच वा अरिकन्चन पनि खाएकै हो। कतिले त बिरियालाई पनि अरिकन्चन नै भन्छन्। भाषिक जटिलता भए पनि यिनीहरूको स्वादमा कुनै जटिलता छैन। दुवैको स्वाद बेजोड हुन्छ। पहाडी मस्यौराभन्दा एकदम फरक। प्रसिद्ध मिठाई पेठा बनाउने भएकाले पेठा, कुम्हड, कुम्हरा वा सिसकुम्हरा अनेक नामले चिनिने कुभिन्डोलाई मासको दालको पिठोमा मिसाएर बनाइने कुम्हरौरीको स्वाद चाहिँ मस्यौरा जस्तै हुन्छ। कुभिन्डोको चाना बनाएर मात्रै सुकाएर बनाइने कुम्हरा सुकौटी वा सुकुटी चाहिँ खाने मौका कहिल्यै नमिलेको मात्र होइन, सुनेको पनि थिइनँ।
आफ्नो थालमा कुभिन्डोको सुकेको चाना र आलु, प्याज र गोलभेँडासँग मिसिएर गजबको तरकारी बनेर आएको थियो। तारेको हरियो खुर्सानी टोक्दै, थरीथरीका चटनी चाट्दै प्रेमपूर्वक भात खान थलियो। कुम्हरा सुकौटी साँच्चै सञ्जयले भनेझैँ थियो, माछाको स्वाद दिने। मजा आयो। थपी थपी मस्त भात खाइयो। अनि साथी सञ्जयले हिसाब सोधे। साहुजीले पनि के हिसाब गरिराख्नु जसरी हेरे र भने, ‘७५/७५ ले दुई थाल भातको १५० अनि बोतलको पानीको २५ रुपैयाँ।’
यहाँनेर भातको स्वादभन्दा पनि त्यसको भाउ चकित पार्ने खालको भयो। अघिल्लो दिन साँझ भातको ४५० तिरिएको थियो, दिउँसो ३५०, यात्राका क्रममा २५० भन्दा कमको भात कतै खाइएको थिएन। क्या गजब लाग्यो, स्वाद र भाउ दुवै। साहुजीलाई धन्यवाद दिइयो। सहजकर्तासँग पनि सम्पर्क भयो, उनी पुलपारि कुरिरहेका रहेछन्, हामी पुलवारि। फोन नलागेर समय गयो भन्दै थिए उनी। तर, त्यो समय हाम्रो लागि चाहिँ खेर गएको थिएन, फोन लागेको भए त्यो अद्भुत अनुभव छुट्ने रहेछ। त्यो अनुभूतिको कैयौँ महिना बिते तर अझै कुनै कुक बुकमा नअट्ने त्यो खाना, ती तरकारी सम्झिँदा मुख रसाउँछ, मन आनन्दित हुन्छ।