काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

छिमेक

दक्षिण भारतको राजनीतिमा फिल्म स्टारले नेतृत्व गरेका दलको निरन्तरता

२३ बैशाख २०८३
थालापति विजय
अ+
अ-

तमिल सुपरस्टार थालापति विजयले तमिलनाडुमा हालै सम्पन्न विधानसभा निर्वाचनमा ऐतिहासिक जित हात पारेसँगै एउटा कारको नम्बर चर्चामा आयो, सीएम २०२६।

सामाजिक सञ्जालमा भाइरल क्लिपमा विजय ‘TN 07 CM 2026’ लेखिएको नम्बर प्लेटको कार चलाइरहेका देखिन्छन्। सो दृश्य सन् २०२४ मा आएको विजयको ब्लकबस्टर फिल्म द ग्रेटेस्ट अफ अल टाइम गोटको हो। नम्बर प्लेटमा लेखिएको टीएन र सीएमको अर्थ मुख्यमन्त्री हो। भारतीय सञ्चारमाध्यमका अनुसार विजयको चुनावी सफलतापछि फ्यानहरूले गोटका दृश्यहरू पुनः हेर्न थालेका छन्।

विजयले सन् २०२४ मा आफ्नो दल ‘तमिझगा वेत्री कजगम’ (टीभीके) स्थापना गरेदेखि नै सन् २०२६ को विधानसभा चुनाव लड्न सक्ने अड्कलबाजी सुरु भएको थियो। हाल चर्चामा आएको क्लिपबाट विजयले सुरुदेखि नै आफू तमिलनाडुको मुख्यमन्त्री बन्ने सन्देश दिएको बुझ्न सकिन्छ। यसले उनको चुनावमुखी प्रचार र महत्त्वाकांक्षालाई समेत संकेत गर्छ।

हुन त विजय प्रदर्शनमा आउन बाँकी आफ्नो अन्तिम सिनेमा जन नायगन निर्वाचनको सँघारमा रिलिज गर्न चाहन्थे। तर, विपक्षीका कारण चुनावअघि फिल्म प्रदर्शनमा रोक लगाइयो।

कुल २३४ सिट भएको विधानसभामा १०८ सिट जितसँगै तमिलनाडुमा विजयको दल टीभीके सबैभन्दा ठूलो दल बनेको छ। यसले पुराना दुई ठूला दलहरूको पाँच दशक लामो वर्चस्व तोडेर इतिहाससमेत रचेको छ।

सन् १९७७ यता हालसम्म तमिलनाडुमा डीएमके र एआईएडीएमकेबाहेक अन्य कुनै दलले शासन गरेका छैनन्। थालापति विजयको जितसँगै दशकौँदेखि चलिरहेको दुईदलीय व्यवस्था अन्त्य भएको छ। स्थापनाको दुई वर्षमै थालापतिको दलले यो सफलता हात पारेको हो।

सिनेमासँग जोडिएको तमिल राजनीति

दक्षिण भारतमा क्षेत्रीयतावादको राजनीतिले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ। जसमा भाषिक आधारमा राज्यको पुनर्गठन मुद्दा केन्द्रमा छ। फिल्म स्टारहरूले नेतृत्व गरेका दलहरूले सो मुद्दालाई प्रभावकारी रूपमा अभिव्यक्त गर्दै आएका छन्।

सिनेमा र राजनीतिबीचको अन्तरसम्बन्ध बलिउडभन्दा दक्षिण भारतमा सुरुआती चरणदेखि नै गाढा देखिन्छ। दक्षिण भारतीय कलाकारहरूले नाटक र सिनेमाका पर्दाभित्र बनाएको नायक-नायिकाको छविले समेत राजनीतिमा उल्लेख्य रूपमा सघाएको छ।

बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि ‘मद्रास प्रेसिडेन्सी’ मद्रास राज्य बन्यो। उत्तरी भारतभन्दा भाषा-संस्कृतिका हिसाबले दक्षिण भारत अलग थियो। त्यहाँका तमिल, तेलुगु, मलयालम, कन्नडलगायत क्षेत्रमा द्रविड भाषा समूहका जनताले ‘द्रविड नाडु’ नामको बेग्लै देश बनाउनुपर्ने पृथक्तावादी माग राखे।

इभी रामास्वामीले नेतृत्व गरेको द्रविड कजगमले यस मागलाई राजनीतिक अभियान बनायो। अभियानमा उठेका माग र गुनासाहरू नाटक तथा सिनेमाका माध्यमबाट समेत जनतामाझ पुर्‍याउन थालियो। दक्षिण भारतीय सिनेमामा क्षेत्रीय गौरवका कथाहरू पर्दामा चित्रण हुन थाले।

तत्कालीन समयमा दक्षिण भारतमा कंग्रेसकै बोलवाला थियो। मद्रासका सुरुआती चार जना मुख्यमन्त्री पनि कंग्रेसकै थिए।

सन् १९४९ मा द्रविड मुन्नेत्र कजगम (द्रविड प्रगतिशील पार्टी– डीएमके)को स्थापना यहाँको क्षेत्रीय राजनीतिमा महत्त्वपूर्ण घटना बन्यो। सीएन अन्नादुराईले द्रविड कजगममा लागेर विद्रोही नाटक र सिनेमाका पटकथामार्फत पृथक्तावादी आन्दोलनमा ऊर्जा थप्ने काम गरे। तर, सन् १९६२ मा चीनसँगको युद्धमा भारतको हारपछि उनको पृथक्तावादी अभियान हिन्दी विरोधी आन्दोलनमा खुम्चियो।

सन् १९६७ मा मद्रासको विधानसभा चुनावमा अन्नादुराईको डीएमके पहिलो दल बन्यो । यससँगै डीएमके भारतीय राज्यहरूमा बहुमत ल्याउने पहिलो गैरकंग्रेस दल बन्न सफल भयो। सन् १९६९ मा मद्रास राज्यको नाम तमिलनाडु राखियो। नयाँ राज्य तमिलनाडुको पहिलो मुख्यमन्त्री बनेर अन्नादुराईले इतिहास रचे। यद्यपि, मुख्यमन्त्री बनेको २० दिनमै उनको निधन भएको थियो।

अन्नादुराईपछि एम करुणानिधि मुख्यमन्त्री बने, जो सिनेमाकै पृष्ठभूमिबाट आएका थिए। उनी पनि अन्नादुराई जस्तै द्रविड अभियानका लागि सिनेमाका पटकथाहरू लेख्ने गर्दथे। सन् २०१८ मा बितेका करुणानिधि पटक पटक गरेर ६ हजार ८६३ दिनसम्म मुख्यमन्त्री बनेका थिए।

करुणानिधिसँगको मतभेदका कारण तमिल सिनेमाका सुपरस्टार एमजी रामचन्द्रनले (एमजीआर) डीएमके छोडेर अल इन्डिया अन्ना डीएमके (एआईएडीएमके) गठन गरे।

सिनेमामा कहिल्यै नकारात्मक पात्रको भूमिका नगरेका कारण असाध्यै लोकप्रिय एमजीआर देवताझैँ पुजिन्थे। कलाकारिता आरम्भ गरेदेखि राजनीतिमा सक्रिय एमजीआरको दलले सन् १९७७ मा चुनाव जित्यो र उनी मुख्यमन्त्री बने।

सन् १९८७ मा एमजीआरको निधनपछि उनकी पत्नी भीएन जानकी मुख्यमन्त्री बनिन्। उनी पनि अभिनेत्री थिइन्। त्यसपछि एमजीआरसँग थुप्रै सिनेमामा नायिकाको भूमिका खेलेकी जयललिताले आफूलाई एमजीआरको सच्चा उत्तराधिकारी दाबी गरिन्।

सन् १९८९ को चुनावमा जानकी र जयललिता बेग्लाबेग्लै दल बनाएर चुनावमा होमिए। करुणानिधिको डीएमकेले चुनाव जिते पनि एमजीआरको उत्तराधिकारी बन्ने लडाइँ भने जयललिताले जितिन्। जनताले पनि एमजीआरको उत्तराधिकारीमा जयललितालाई अनुमोदन गरे।

त्यसपछि पनि डीएमके र एआईएडीएमके नै सत्ता वरिपरि रहे। करुणानिधि र जयललिता पालैपालो मुख्यमन्त्री बने। ६ पटक तमिलनाडुको मुख्यमन्त्री बनेकी जयललितालाई मानिसहरू ‘अम्मा’ (जनताकी आमा) विशेषणले सम्बोधन गर्थे।

विजय पनि त्यही परम्पराका उत्पादन हुन्। विजय मार्सल, कथी, सरकार, लियो, मास्टर जस्ता थुप्रै सिनेमामा विद्रोही एक्सन हिरोका रूपमा प्रस्तुत भएका छन्। प्रायः भ्रष्टाचारविरोधी र अन्यायमा परेका जनताका लागि लड्ने जननायकका रूपमा उनले असंख्य फ्यान कमाएका छन्। सिनेमाका पर्दामा निर्वाह गरेको नायकको भूमिकाजस्तै राजनीतिमा पनि भ्रष्टाचार र अन्यायविरुद्ध लड्ने सपना देखाएर उनले चुनाव जितेका हुन्। पछिल्ला वर्षमा राज्यस्तरदेखि केन्द्रीय स्तरसम्म सरकारविरोधी छविसमेत बनाए।

राजनीतिप्रति विजयको रुचि पहिलो पटक सन् २०१३ को हिट फिल्म थलाइवाको बेला प्रकट भएको थियो। सो फिल्मको ‘ट्यागलाइन’ थियो– टाइम टु लिड।

जब विजयका पिताले अन्तर्वार्तामा आफ्ना छोरा राजनीतिमा प्रवेश गर्न चाहेको बताए, तत्कालीन मुख्यमन्त्री जयललिता उनीसँग रिसाइन्। सो फिल्मलाई तमिलनाडुमा प्रतिबन्धसमेत लगाइयो। ट्यागलाइन हटाएर मात्र फिल्म सार्वजनिक भयो। यस घटनाले विजयको छवि संस्थापनविरोधी नायकका रूपमा स्थापित भयो।

विजयका फ्यान क्लबका सदस्यहरू सन् २०२१ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा सहभागी भएका थिए। उनी निकट १६० जनामध्ये ११५ जना विजयी भए। यो परिणामले विजयलाई पार्टी गठन गरेर राजनीतिमा आउने बलियो आधार दियो।

सिनेमामार्फत कमाएको प्रशंसकलाई राजनीतिक कार्यकर्तामा उनले जसरी बदले, त्यो रोचक छ। विजयले २०२४ मा टीभीके पार्टी खोल्ने घोषणा गरे। यससँगै उनका फ्यान कार्यकर्तामा बदलिए। तमिलनाडुमा रहेका उनका हजारौँ फ्यान क्लब पार्टीमा आबद्ध भए। यसले उनको दलको संगठन भुइँतहसम्म विस्तार भयो।

पछिल्लो चुनावमा ऐतिहासिक जित हासिल गरेसँगै कलाकारिताबाट आर्जन गरेको लोकप्रियता राजनीतिमा उपयोग गर्ने कलाकारको सूचीमा फेरि अर्को नाम थपिएको छ– विजय थालापति। थालापति अर्थात् कमान्डर! सिनेमामार्फत गरिब र अन्यायमा परेका जनताको पक्षमा लड्ने नायकको छवि बनाएका विजयको राजनीतिक दृश्यको मञ्चन सुरु भएको छ, जहाँ निर्देशक र दर्शक दुवै आमजनता हुनेछन्।