काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

पठन संस्कृति

लेखक–पाठकबीच जीवन्त सम्बन्ध स्थापित गर्ने अभियानको कथा

२ जेष्ठ २०८३
एआईसिर्जित
अ+
अ-

कुरा हो सन् २००८ को। नेपाल पर्यटन बोर्डमा अधिकृत नियुक्त भएर आए दुई युवा– सुमन घिमिरे र कुन्दन मिश्र। दुवै जना पढाइलेखाइमा रुचि राख्थे, समाजका लागि केही गर्ने अभिलाषा दुवैको थियो। नयाँ पुस्तक खोज्ने, टिप्पणी गर्ने र बहसमा होमिने यी दुई युवाको अगुवाइमा सुरु भएको थियो- रिडर्स क्लब।

कुरैकुरामा सल्लाहकारको भूमिकाका लागि मलाई अनुरोध गरे। युवामाझ पठन संस्कृति पुर्‍याउने त्यस अभियानमा म सहर्ष सामेल भएँ। यसरी सुरु भयो– एउटा अविस्मरणीय सहयात्रा।

चाबहिलस्थित चारुमती स्तूपको पछाडि भाडामा लिइएको सानो-न्यानो कोठा थियो। प्रत्येक शनिबार बिहानको ८ बजे त्यहीँ हुन्थ्यो– पुस्तक बहस। कोठाको भित्तामा सेतोपाटी झुन्ड्याइएको थियो र भुइँमा दुई दर्जन जति न्याना चकटी बिछ्याइएका थिए। ठाउँ साँघुरो थियो, तर विचारका लागि त्यो फराकिलो संसार। हरेक हप्ता १६-२० जनाको जमघट हुन्थ्यो। नेपाली र विदेशी दर्शन तथा लेखनको कुरा हुन्थ्यो। छलफलमा चिया र बिस्कुट खाने गर्थ्यौं, त्यसका लागि आमन्त्रित पाहुनाबाहेक अरूबाट पैसा उठाउँथ्यौँ।

बायाँबाट शरद प्रधान, देवेन्द्र भट्टराई र खगेन्द्र संग्रौला। तस्बिर सौजन्य : शरद प्रधान

सुमन घिमिरेको अध्यक्षतामा निकै काम भयो। मबाहेक सबै युवा थिए– जोस, उत्साह र जिज्ञासाले भरिएका। कोही कविता सुनाउँथे, कोही उपन्यासको महत्त्वपूर्ण दृश्य सुनाउँथे त कोही मनोविज्ञान र दर्शनका पुस्तक पर्गेल्थे।

नेपालमा सामाजिक सञ्जाल सुलभ भइसकेको थिएन। त्यसैले सूचना प्रवाह गर्न अहिलेभन्दा अलिक कठिन नै थियो। मोबाइलमा एसएमएसबाट सूचना आदानप्रदान गर्थ्यौं। युवा जोस र जाँगर थियो, प्रायः सबै जना समयमा नै आउँथे। त्यो स्थल हामीलाई आफ्नै लाग्थ्यो जहाँ खुलेर बहस गर्न पाइन्थ्यो, गल्ती गर्ने छुट थियो र सही दिशा भेट्टाउने खुला विकल्पहरू पनि थिए। ‘रिडर्स क्लब’ पुस्तक समीक्षास्थल मात्र होइन, आत्मविश्वासको पाठशाला पनि बन्यो।

सहभागिताको शृंखला

‘रिडर्स क्लब’ मा हामीले बिस्तारै साहित्यकारहरूलाई निम्त्याउन थाल्यौँ। उनीहरूका रचनाबारे बहस हुन्थ्यो, पाठकले सीधा प्रश्न गर्न पाउँथे। यस्तो अवसर त्यसबेला निकै महत्त्वपूर्ण थियो। साहित्यकार जगदीश घिमिरे, कृष्ण धरावासी, रमण घिमिरे, युवराज घिमिरे, सीमा आभाष, बुद्धिसागर, सञ्जीव उप्रेती, अर्चना थापा, सुजीव शाक्य, महेशशमशेर राणा, ओम प्रकाश निरौलालगायतलाई हामीले छलफलमा निम्त्यायौँ। खगेन्द्र संग्रौलादेखि कुमार नगरकोटी, शेखर खरेललगायत लेखक निमन्त्रणा स्वीकार गरेर अनुभव सुनाउन आए। कार्यक्रममा स्थान अभाव महसुस गरेपछि केही सत्रहरू गुरुकुल नाटकघर र नेपाल पर्यटन बोर्डमा पनि सञ्चालन गरियो। खगेन्द्र संग्रौला आँउदा गुरुकुल नाटकघर अनि युवराज घिमिरे र कृष्ण धरावासी आउँदा नेपाल पर्यटन बोर्डमा कार्यक्रम भएको थियो।

पठन संस्कृति हराएको होइननयाँ माध्यम, शैली र ऊर्जामा सरेको हो। अनलाइन बहसमा होस् वा प्रत्यक्ष प्रांगणमा, पुस्तक आज पनि जीवित छ। 

सन् २००९ को एक शनिबार ‘पुस्तक समीक्षा कसरी गरिन्छ?’ भन्ने विषयमा छलफल आयोजना गरियो, जसको वक्ता म नै थिएँ। त्यस दिन कोठा सजिएको थियो, युवाहरू भेला भएका थिए । त्यसै कार्यक्रममा मेरो पहिलो भेट भयो सगुना शाहसँग, जो यतिबेला ‘बुकाहोलिक्स’अन्तर्गत ‘चकटी बहस’ सञ्चालन गर्छिन्। पठन संस्कृतिप्रतिको उनको लगाव मैले त्यतिबेलै परख गरेको थिएँ।

चुनौतीको चाप

क्लबको उद्देश्य थियो– लेखक र पाठकबीच जीवन्त सम्बन्ध स्थापित गर्नु। बहसमा सबैले बोल्नैपर्छ भन्ने नियम थियो। त्यसले युवाहरूलाई सार्वजनिक रूपमा बोल्ने, विचार राख्ने र तर्क गर्ने दक्षता दियो। क्लबले लेखन गोष्ठी पनि आयोजना गरेको थियो जहाँ प्रत्येक सहभागीले रचना प्रस्तुत गर्नुपर्थ्यो। नेपाली र अंग्रेजी दुवै भाषामा पत्रिका प्रकाशन सुरु भएको थियो। समय समयमा पिकनिक र पारिवारिक भेटघाट गर्दा सम्बन्ध अझ सुदृढ बनिरहेको थियो। क्लब एउटा समूह मात्र थिएन, खुला परिवार बनिसकेको थियो। उद्देश्यपूर्तिका लागि पैसा जम्मा गर्न देउसी-भैलो पनि खेलियो। देउसी खेल्न समूह नै मेरो घरमा आउँदा निकै रमाइलो भएको थियो।

क्लबलाई दिशानिर्देश गर्न सल्लाहकार समिति बनेका थियो। जसमा थियौँ जगदीश घिमिरे, अनिल ढुंगेल, मित्रसेन दाहाल, कृष्ण धराबासी, सञ्जीव उप्रेती, महेशशमशेर राणा, गीता केशरी, शेखर खरेल, अर्चना थापा र म। क्लबबाट पुरस्कार स्थापनाको प्रस्ताव आयो, सल्लाहकार समितिमा पनि सहमति जुट्यो। व्यापारिक घराना ‘खेतान समूह’ सहयोगी बन्यो। ७५ हजार राशिको सिर्जनशील स्रष्टा र २५ हजारको नवोदित कृति पुरस्कार स्थापना भयो। पहिलो पटक आख्यानकार नारायण ढकाललाई स्रष्टा र कवि हेमन यात्रीलाई नवोदित कृति पुरस्कार प्रदान गरियो। पुरस्कारले क्लबको गरिमा बढायो। तर, पुरस्कारको शृंखला अघि बढ्न सकेन।

सगुना शाहका साथमा अन्य सहभागी। तस्बिर सौजन्य : शरद प्रधान

सुरुसुरुमा युवाहरूमा जुन ऊर्जा देखिन्थ्यो, त्यसको गति बिस्तारै मन्द हुन थाल्यो। धेरै सक्रिय सदस्यहरू उच्च शिक्षा र जागिरका लागि बिदेसिए। कोही पारिवारिक दायित्वमा अल्झिए। शनिबार बिहानीको उपस्थिति न्यून हुन थाल्यो। कुन्दन मिश्रले क्लबलाई पुनर्जीवित गर्ने प्रयास गरे, तर त्यो सम्भव भएन। जुन कोठा कुनै समय पुस्तकप्रेमीको उपस्थितिले खचाखच हुन्थ्यो, बिस्तारै खाली हुन थाल्यो।

नयाँ वक्ता, नयाँ विधा र आकर्षक विषयवस्तुमार्फत सहभागी आकर्षित केही प्रयास नगरिएको होइन, तर त्यसले काम गरेन। सन् २०१२ सम्म पुग्दा क्लबको गतिविधि निकै पातलियो र अनिश्चितकालका लागि बन्द नै भयो।

अर्को सुरुवात ‘बुकाहोलिक्स’

प्रकृतिको नियम हो– ढलेको रूखमुनि नयाँ बिरुवा उम्रन्छ। क्लबले पनि नेपाली पठन संस्कृतिका लागि एउटा उर्वर भूमि सिर्जना गरेर छोडेको थियो। त्यही भूमिमा उम्रिएको रूख हो– बुकाहोलिक्स। क्लबकै सक्रिय सदस्य सगुना शाहको अथक प्रयासबाट सामाजिक सञ्जालमा उदायो– बुकाहोलिक्स।

सामाजिक सञ्जालबाट सुरु भएको ‘बुकाहोलिक्स’ को यात्रा सार्वजनिक स्थलको प्रत्यक्ष अन्तरक्रियासम्म विस्तार भयो। मार्टिन चौतारीमा सुरु गरिएको मासिक पुस्तक बहस शृंखलालाई नाम दिइयो- चकटी बहस। चकटी बहसले हालसम्म १०८औँ छलफल आयोजना गरिसकेको छ। यहाँ हुने छलफल अहिले डिजिटल माध्यममा समेत प्रसारण गर्न थालिएको छ। १५ वर्षअघिदेखि निरन्तर पुस्तकनिकट सन्दर्भमा छलफल चलाइरहेको समूहले नयाँ र पुरानो पुस्तालाई एकै मञ्चमा उभ्याउने प्रयत्न गरिरहेको छ। अनौपचारिक रूपमा सुरु भएको समूह पछिल्लो समय विधिवत् दर्ता भएर संस्था बनिसकेको छ।

रिडर्स क्लब बन्द भयो, त्यसले छोडेको बिरासत सकिएको छैन। आज जति पनि युवा पुस्तक मेलामा पुग्छन्; ‘भर्चुअल’ बहसमा सहभागी हुन्छन् र पुस्तक पढ्ने चुनौती लिन्छन्; ती सबैमा कतै न कतै ‘रिडर्स क्लब’ को पनि योगदान छ। अहिले जब युवामा पठनप्रति वितृष्णा फैलिएको बहस उठ्छ, चकटी बहस र बुकाहोलिक्सको सन्दर्भ आइहाल्छ।

पछिल्ला दशकमा पठन संस्कृतिमा केही सुधार देखिए पनि अझै सन्तोषजनक अवस्थामा पुगेको छैन। विशेषगरी, विद्यालय र कलेजका विद्यार्थीमा पाठ्यपुस्तकबाहेक अन्य पुस्तक पढ्ने बानी बस्न सकेको छैन। उनीहरू सामाजिक सञ्जालका छोटा भिडिओ र मनोरञ्जन सामग्रीतिर बढी आकर्षित छन्।

यस्तो सन्दर्भमा रिडर्स क्लब वा बुकाहोलिक्सले आयोजना गर्ने प्रकृतिका गतिविधिको सान्दर्भिकता अझै बढेको छ। यस्ता गतिविधि समाजको बौद्धिक विकास र चेतनाका आधार हुन्। पठन संस्कृतिले मानिसको सोच, दृष्टिकोण र ज्ञानको सीमा विस्तार गर्छ। नेपाल जस्तो बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक धरातलमा पठन संस्कृति वैकल्पिक होइन, अत्यावश्यक छ।

‘बुकाहोलिक्स’ को संस्थागत विकास र ‘चकटी बहस’ को निरन्तरताले स्पष्ट संकेत गर्छ– पठन संस्कृति हराएको होइन, नयाँ माध्यम, शैली र ऊर्जामा सरेको हो। अनलाइन बहसमा होस् वा प्रत्यक्ष प्रांगणमा, पुस्तक आज पनि जीवित छ।