पठन अनुभूति
जबसम्म मानिस आफ्नै आत्मासँग संघर्ष गरिरहन्छ, तबसम्म ‘शिरीषको फूल’ पनि जीवित रहनेछ।
नेपाली साहित्यमा धेरै लोकप्रिय उपन्यास लेखिएका छन्। तर, दीर्घ प्रभाव छोड्ने उपन्यासको सूची छोटो छ। पारिजातको शिरीषको फूल तिनै दुर्लभमध्येको एक कृति हो।
मेरो स्मृतिमा यस कृतिको पहिलो प्रवेश निकै भावनात्मक छ। मेरी आमा, शिक्षक लता काफ्लेबाट पहिलो पटक यस कृतिको नाम सुनेकी हुँ। पढ्नुअघिसम्म मलाई लाग्थ्यो, शिरीषको फूल गहिरो प्रेमकथा होला; फूलको कमलोपन जस्तै फक्रिएको प्रेमको मादकता र युवा मनको रंगीन उतारचढावको कथा होला। त्यससमय फूल शब्दले मेरो मस्तिष्कमा कोमलता, सौन्दर्य र रोमान्सको मात्रै चित्र बनाउँथ्यो। फूलको बिम्बभित्र नेपाली समाजको सबैभन्दा बेचैन आत्मा भेट्नेछु भन्ने मलाई कहाँ थाहा थियो र!
समय बदलियो, पुस्ता बदलियो, तर मानिसभित्रको एकान्तपन, प्रेमको असफलता, सम्बन्धको रिक्तता र अस्तित्वको बेचैनी बाँकी नै छ। यही कारणले शिरीषको फूल आज पनि जीवित छ। सायद, जबसम्म मानिस आफ्नै आत्मासँग संघर्ष गरिरहन्छ, तबसम्म यो उपन्यास पनि जीवित रहनेछ।
उपन्यासको आयतन
शिरीषको फूलबारे धेरै विमर्श, बहस र व्याख्या भइसकेका छन्, त्यसैले पुराना सन्दर्भ दोहोर्याएर तिनको घनत्वलाई सतही बनाउन चाहन्नँ। तथापि, यसको चर्चा गर्दा मदन पुरस्कार र शंकर लामिछानेको प्रसंग स्वाभाविक र अनिवार्य हिस्सा बनेर आउँछन्। पारिजातलाई मदन पुरस्कार पाउने पहिलो लेखक महिलाको ताज शिरीषको फूलले नै पहिर्याएको थियो। अनि शंकर लामिछानेको भूमिकाले उपन्यासको बौद्धिक आयतन विस्तार गरेको थियो।
पारिजात स्वयंले मुक्तकण्ठ स्वीकार गरेको गहिरो सत्य हो– शिरीषको फूलको बौद्धिक आयतन निर्माणमा शंकर लामिछाने अमिट छाप छ। भन्नेहरूले भन्छन्– शिरीषको फूल वास्तवमा एउटा मात्र कहाँ हो र? यो त दुई वटा बेग्लाबेग्लै पुस्तकको एउटै रूप हो। एउटा पुस्तक, जुन पारिजातले आफ्नो जीवनको दर्शन, पीडा र भोगाइसमेत पोखेर लेखिन्; अनि अर्काे चाहिँ शंकर लामिछानेले आफ्नो ‘एब्स्ट्र्याक्ट’ दर्शन र शब्दको जादुसहित कोरेको भूमिका। कफी पारखीको भाषामा भन्दा यसमा ‘डबल सट अमेरिकानो’ को जस्तै गाढा स्वाद प्राप्त हुन्छ।
शिरीषको फूल पढ्दा पाठकले कथा मात्र पढ्दैन, आफ्नै जीवनका अन्त्यहीन कमजोरी, विसंगति र भ्रमहरूसँग आमनेसामने हुन बाध्य हुन्छ।
लामिछानेको प्रसिद्ध निबन्धसंग्रह एब्सट्र्याक्ट चिन्तन : प्याजको दार्शनिक आयतनभित्र डुब्दा मलाई छुट्टै ब्रह्माण्डमा छिरेको अनुभव हुन्छ। उनको लेखनमा शब्दहरूको त्यति सुसंस्कृत संयोजन कसरी सम्भव भयो होला भन्ने कुराले मलाई सधैँ चकित पार्छ। त्यो समय र परिवेश; जीवन र जगत्लाई एउटा मान्छेले त्यति गहिरो, सूक्ष्म अनि दार्शनिक ‘कमेन्ट्री’ गर्ने सामर्थ्य कसरी राख्न सक्यो भन्ने कुराले चकित पर्छु। शिरीषको फूलको भूमिकाले पनि मलाई त्यही भावमा चकित पारिरहन्छ।
मैले धेरै ठाउँमा भनेकी छु– शिरीषको फूल पढिसकेपछि कुनै पनि संवेदनशील मानिस पहिलेकै अवस्थामा फर्किन सक्दैन। यसले पाठकको सोचाइको जग हल्लाइदिन्छ र नयाँ चेतनाको मोडमा ल्याएर छोडिदिन्छ। त्यसैले मेरो नजरमा शिरीषको फूल नेपाली आधुनिकताको अनौपचारिक घोषणापत्र हो। त्यही अर्थमा मलाई पारिजात एउटा ‘चेन ब्रेकर’ लाग्छ।
पारिजात ‘पोट्रेट’
विविध कारण मलाई पारिजात मन पर्छ; निकै मन पर्छ। त्यसको पहिलो कारण हो– उनको निडर र विद्रोही स्वभाव। उनको लेखनको असली तागत पनि त्यही हो।
पारिजातलाई मैले साक्षात् भेट्ने मौका पाइनँ, उनको निधन हुँदा म सुदूरपश्चिम, महेन्द्रनगरमा आफ्नो बाल्यकाल बिताइरहेकी थिएँ। तर, उनको विद्रोही व्यक्तित्वको कल्पना गर्दा उनलाई आजकी अरुन्धती रोय जस्तो पाउँछु। नयाँ पुस्तक मदर मेरी कम्स टु मीको कभरमा बिन्दास पाराले चुरोट सल्काइरहेकी अरुन्धतीमा समाज, डर र चिन्ताबाट पर आफ्नै सर्तमा बाँच्ने र अस्वीकृत हुन नडराउने जुन तागत देखिन्छ; त्यही म पारिजातमा भेटछु। यी दुवैको शैलीमा एउटा यस्तो स्वतन्त्रता छ, जसले पुरानो सोचका साङ्लाहरूलाई एकै झट्कामा चुँडाल्ने हिम्मत राख्छ।
पारिजातको विद्रोह राजनीतिक वा सामाजिक मात्र होइन, यो त चेतनाको महाविद्रोह हो। स्थापित नैतिकता, कृत्रिम सभ्यता, बनावटी प्रेम र पितृसत्तात्मक जडताविरुद्धको एउटा निर्मम अस्वीकार।
पारिजातको विद्रोह राजनीतिक वा सामाजिक मात्र होइन, यो त चेतनाको महाविद्रोह हो। स्थापित नैतिकता, कृत्रिम सभ्यता, बनावटी प्रेम र पितृसत्तात्मक जडताविरुद्धको एउटा निर्मम अस्वीकार। त्यसैले शिरीषको फूल पढ्दा पाठकले कथा मात्र पढ्दैन, आफ्नै जीवनका अन्त्यहीन कमजोरी, विसंगति र भ्रमहरूसँग आमनेसामने हुन बाध्य हुन्छ।
पारिजातको व्यक्तित्वलाई बुझ्ने क्रममा खगेन्द्र संग्रौलाले लेखेको ‘पोट्रेयल’ निकै शक्तिशाली लाग्छ– ‘म्हेपीको प्लास्टर नगरिएको सानो कोठा, एउटा भित्तामा चे ग्वेभाराको तस्बिर र अर्को भित्तामा पारिजातको ओछ्यान।’ यही नै हो सायद, पारिजातको वास्तविक प्रतीक।

पारिजातलाई बुझ्न विसं २०२० देखि २०३० को समयलाई बुझ्नैपर्छ। पुस्तकका नाम, लेखकका सूची वा साहित्यिक आन्दोलनको सामान्य परिचय मात्र पर्याप्त हुँदैन। त्यस युगको बेचैनी, बौद्धिक असन्तोष, वैचारिक विद्रोह र सिर्जनात्मक आत्मसंघर्षलाई भित्रैबाट महसुस गर्नुपर्छ। किनकि, यही समय नेपाली साहित्य पहिलो पटक आफ्नो पुरानो ‘कभर’ फालेर विश्व साहित्यसँग प्रत्यक्ष संवादमा प्रवेश गरेको थियो।
त्यसअघि नेपाली साहित्यमा भावुक प्रेम, नैतिक उपदेश, आदर्शवादी पात्र र सामाजिक शिष्टताको कृत्रिम आवरण हावी थियो। तर, त्यस दशकमा साहित्यले मानिसको भित्री अँध्यारो हेर्न थाल्यो। मानिसको एक्लोपन, अस्तित्वगत भय, यौनिक दमन, मानसिक विखण्डन, राजनीतिक उकुसमुकुस र समाजभित्रको खोक्रोपन पहिलो पटक व्यापक रूपमा साहित्यमा अभिव्यक्त भयो।
समय बदलियो, पुस्ता बदलियो, तर मानिसभित्रको एकान्तपन, प्रेमको असफलता, सम्बन्धको रिक्तता र अस्तित्वको बेचैनी बाँकी नै छ। यही कारणले शिरीषको फूल आज पनि जीवित छ।
त्यही समयमा दार्जिलिङबाट उठेको ‘तेस्रो आयाम’ आन्दोलनले नेपाली साहित्यमा गहिरो बौद्धिक कम्पन ल्यायो। इन्द्रबहादुर राई, बैरागी काँइला र ईश्वर बल्लभले साहित्यलाई कथावाचन मात्र होइन, चेतनाको बहुआयामिक संरचनाका रूपमा हेरे। इन्द्रबहादुर राईले आख्यानलाई दार्शनिक गहिराइ दिए। बैरागी काइँलाले कवितामा मिथक, प्रतीक र अमूर्त चेतनाको नयाँ संसार निर्माण गरे। ईश्वर बल्लभले आधुनिक मानिसको भित्री खालीपन र अस्तित्वगत पीडालाई भाषामा रूपान्तरण गरे। त्यसैगरी, ‘राल्फा’ आन्दोलन सांस्कृतिक असहमतिको उद्घोषका रूपमा अगाडि आयो। त्यस पुस्ताका स्रष्टाहरू स्थापित सत्ता, बनावटी नैतिकता र सामाजिक पाखण्डसँग गहिरो असहमति राख्थे। भूपी शेरचन यही समयमा सबैभन्दा प्रभावशाली स्वर बने। उनले जटिल दर्शनलाई सामान्य मानिसको भाषामा उतारे, त्यसैले घुम्ने मेचमाथि अन्धो मान्छे जस्तो कृति मलाई अझै मन पर्छ।
ध्रुवचन्द्र गौतमले नेपाली उपन्यासको परम्परागत संरचनालाई भत्काइदिए। मदनमणि दीक्षितले इतिहास, मिथक र दर्शनलाई आधुनिक दृष्टिबाट पुनर्व्याख्या गरे। तारानाथ शर्माले झर्रोवादमार्फत नेपाली भाषालाई संस्कृतनिष्ठ कृत्रिम बोझबाट मुक्त गराउने अभियान चलाए। बीपी कोइराला जेलभित्र बसेर मानिसको मनोविज्ञान, यौनिकता, अपराधबोध र राजनीतिक चेतनालाई साहित्यमा गहिरोसँग उतारिरहेका थिए। सो दशकको यस्तो सम्पूर्ण पुरुषप्रधान साहित्यिक संसारका बीचमा एउटा अद्भुत उपस्थिति थिइन्, पारिजात।

साहित्यकार पारिजात।
विश्वव्यापी आयाम
शिरीषको फूल पढेपछि मैले पारिजातलाई विश्व साहित्यको ठूलो नक्सामा राखेर हेर्ने गरेकी छु। उनको यस कृतिलाई म एमिली ब्रोन्टे, भर्जिनिया उल्फ, जेन अस्टिन र अमृता प्रीतम जस्तै भावनात्मक र बौद्धिक तहमा राखेर पढछु। किनभने, उनका कृतिहरूमा देखिने पीडा कुनै सीमित समाजको होइन, सम्पूर्ण स्त्रीको सार्वभौमिक अनुभव हो।
एमिली ब्रोन्टेको वुदरिङ हाइट्स उपन्यासमा देखिने क्याथरिन जस्तै शिरीषको फूलकी सकमबरी सजिएको समाजको पात्र होइनन्। उनी न परम्परागत आदर्श नारी हुन्, न त समाजले बनाएको अपेक्षाको उत्पादन। उनी भित्रैबाट टुटेको तर पूर्ण रूपमा सचेत अस्तित्व हुन्। जो ठूलो स्वरमा विद्रोह गर्दिनन्, तर आफ्नो अस्तित्वमै प्रतिरोध गर्छिन्। मौनता नै उनको शक्ति हो र त्यो मौनताभित्र गहिरो आँधी छ।
शिरीषको फूल नेपाली साहित्यको महान् कृति हो। यो कुनै प्रतिध्वनि होइन, आफैँ जन्मिएको मौलिक, गहिरो र असहज आवाज हो। यस्तो लेखन जसले पाठकलाई सजिलो बनाउँदैन; बरु आफ्नै अस्तित्वसँग सामना गराउँछ।
जेन अस्टिनको प्राइड एन्ड प्रेजुडिस उपन्यासमा जसरी समाज, विवाह र स्त्री स्वतन्त्रताको सूक्ष्म संघर्ष छ, शिरीषको फूलमा त्यो कठोर र नांगो रूपमा आउँछ। अस्टिन व्यंग्य र शालीनतामार्फत समाजलाई हेर्छिन्, तर पारिजात त्यही समाजको खोक्रोपन, असमानता र दबाबलाई आवरणविना देखाउँछिन्। उनका लागि सम्बन्धहरू सामाजिक खेल होइनन्, अस्तित्वका भारी प्रश्न हुन्।
भर्जिनिया वुल्फसँग पारिजात झन् गहिरो गरी जोडिन्छिन्। वुल्फले मिसेस ड्यालोवे वा टु द लाइटहाउसमा समय, स्मृति र मनको विखण्डनलाई साहित्य बनाइन्। पारिजातले शिरीषको फूलमा त्यही चेतनाको संरचना नेपाली साहित्यमा उतारिन्, तर अझ बढी कठोर र असहज रूपमा। यसको मुख्य पात्रमध्ये एक सुयोगवीरको चेतना स्थिर छैन; भाँचिएको र थाकेको छ अनि बारम्बार आफैँभित्र फर्किन्छ।

लेखक निमा काफ्ले।
अमृता प्रीतमसँग पारिजातको सम्बन्ध अझ प्रत्यक्ष र तीक्ष्ण लाग्छ। पिंजरमा जस्तो पितृसत्ताको निर्मम चिरफार, शरीर र इतिहासमाथिको हिंसा छ; त्यही स्तरको सूक्ष्म पुरुष मनोविज्ञान शिरीषको फूलमा पनि भेटिन्छ। सुयोगवीरमार्फत पुरुष अहंकार, असुरक्षा, डर र खालीपनको मिश्रणले भत्किएको मन देखाइएको छ। उपन्यासको सबैभन्दा महत्त्वपूर्ण कुरा पनि यही हो।
‘म्याग्नम ओपस’
पारिजातलाई अनेकन् आयामबाट हेर्न सकिन्छ, तर उनी कसैको छाया होइनन्, कसैको नक्कल होइनन्, न त उनको लेखनी कसैको प्रभावमा सीमित छ। उनी त रूपान्तरण हुन्; जसले विश्व साहित्यका गहिरा विचारहरूलाई नेपाली जीवनको शून्यता, थकान र अस्तित्वगत पीडासँग मिसाएर पूर्ण रूपमा नयाँ स्वर निर्माण गरिन्।
शिरीषको फूल नेपाली साहित्यको महान् कृति (म्याग्नम ओपस) हो। यो कुनै प्रतिध्वनि होइन, आफैँ जन्मिएको मौलिक, गहिरो र असहज आवाज हो। यस्तो लेखन जसले पाठकलाई सजिलो बनाउँदैन; बरु आफ्नै अस्तित्वसँग सामना गराउँछ। यही नै यसको शक्ति हो, अनि पारिजातको अमरताको आधार।