क्रिकेट
तीन वर्षको गुमनामीपछि नेपाल ‘ए’ मार्फत ओडीआई डेब्युसम्म पुगेका इशानको आशालाग्दो पुनरागमन
क्रिकेटमा ‘वान डाउन’ ब्याटरलाई स्वाभाविक रूपमा ठूलो जिम्मेवारी हुन्छ। विशेषतः ओपनर चाँडै आउट हुँदा तेस्रो नम्बरमा आउने खेलाडीले इनिङ्स सम्हाल्नुका साथै रनको गति पनि कायम राख्नुपर्छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान, यूएई र नेपाल सम्मिलित शृंखलामा डेब्यु गरेका अर्जुन कुमालले पनि यही दबाबको सामना गरेका थिए।
१ मेमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध ओपनिङ गर्न आएका उनले ११ रन बनाए। त्यसको चार दिनपछि भएको ओमानविरुद्धको खेलमा उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले ‘वान डाउन’ को जिम्मेवारी दिँदा ४८ रनको इनिङ्स खेलेका थिए।
तर, १२ मेमा स्कटल्यान्डविरुद्ध ब्याटिङमा उत्रिएका २० वर्षीय अर्जुनले दबाब सम्हाल्न सकेनन्। दुई बल खेलेका उनी मार्क वाटको बलमा विकेटकिपर म्याथ्यु क्रुसबाट ‘कट बिहाइन्ड’ हुँदा उनले खातासमेत खोल्न सकेनन्। महत्त्वपूर्ण अवसरमा विफल भएपछि उनको प्रदर्शन स्वाभाविक रूपमा प्रशिक्षक स्टुअर्टको समीक्षामा परेको थियो।
त्यसैको प्रभावस्वरूप शनिबार नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा स्टुअर्टले अर्जुनलाई बेन्चमा राख्ने निर्णय गरे। उनको स्थानमा इशान पाण्डेलाई एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने अवसर दिइयो।

करण केसीबाट डेब्यु क्याप लिँदै इशान।
तर, खेलमा परिस्थिति केही फरक रह्यो। १९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले सुरुदेखि नै आक्रामक र आत्मविश्वासी ब्याटिङ गरे। दुवैले पहिलो विकेटका लागि १४७ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जितको सँघारमा पुर्याएका थिए।
यही कारण सोही खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका इशानलाई सामान्य अवस्थामा जस्तो दबाब रहेन। यद्यपि, डेब्यु खेल भएकाले उनीप्रति स्वाभाविक अपेक्षा थियो। आसिफ ८४ रन बनाएर पेभिलियन फर्किएपछि क्रिजमा आएका इशानले संयमित ब्याटिङ गरे। उनले ३० बलमा १ चौकासहित २० रन बनाउँदै नेपाललाई ९ विकेटको सहज जित दिलाए।
इशानसँग क्रिजमा रहेका कुशल भुर्तेलका अनुसार डेब्यु खेल भए पनि उनी मानसिक रूपमा शान्त देखिन्थे। “पाण्डे नर्भस थिएनन्। स्कटल्यान्डविरुद्ध वैकल्पिक खेलाडीका रूपमा फिल्डिङ गर्न जाँदा अलिकति नर्भस देखिएका थिए। तर, अमेरिकाविरुद्ध ब्याटिङ गर्न आउँदा मैले उनलाई समय लिएर खेल भनेको थिएँ। उनले निकै संयमित भएर खेले,” कुशलले सुनाए।
साढे ६ वर्षपछि ओडीआईमा डेब्यु
नेपालले सन् २०१६ मा बाङ्लादेशमा सम्पन्न यू-१९ विश्वकपमा सहभागिता जनाएको थियो। राजु रिजालको कप्तानीमा रहेको उक्त टोलीमा हाल सिनियर राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य बनिसकेका कुशल भुर्तेल, सन्दीप लामिछाने, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीसँगै इशान पनि समावेश थिए।
त्यो विश्वकप नेपालका लागि सम्झनलायक रह्यो। नेपालले न्युजिल्यान्ड र आयरल्यान्ड जस्ता बलिया टोलीलाई पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो। तर, टोलीले खेलेका ६ मध्ये इशानले कुनै खेल खेल्ने अवसर पाएनन्। टोलीमा परे पनि मैदानमा उत्रिन नपाउनु उनका लागि निराशाजनक अनुभव थियो।
त्यसपछि पनि उनको क्रिकेट यात्रा सहज रहेन। एभरेस्ट प्रिमियर लिग जस्तो चर्चित फ्रेन्चाइज प्रतियोगितामा समेत कुनै टोलीमा सहभागी हुन नपाएपछि उनी क्रिकेटको मुख्य धाराबाट केही समय हराए जस्तै भए। लगातार अवसर नपाउँदा उनी करिब तीन वर्ष ओझेल परेका थिए।
तर, सन् २०१९ को प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताले उनको करिअरलाई नयाँ मोड दियो। त्यतिबेला प्रदेश नम्बर ३ (हाल : बागमती प्रदेश) बाट खेल्दै उनले आफूलाई पुनःस्थापित गरे। सिनियर टोलीका उपकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीबाट इशानले ५ खेलमा २ अर्धशतकसहित १८० रन बनाए।

घरेलु प्रतियोगिताको त्यही प्रदर्शनले उनका लागि फेरि राष्ट्रिय टोलीको ढोका खुल्यो। उनी सम्झिन्छन्, “सिनियर टोलीमा छानिन्छु भन्ने मलाई विश्वास नै थिएन। हुन त टी-२० आई र ओडीआई खेलाडी भन्ने ट्याग लाग्थ्यो। म लामो फर्म्याटको प्रधानमन्त्री कपबाट आएको थिएँ।”
प्रधानमन्त्री कपमा सर्वाधिक रनकर्ताको सूचीको चौथो स्थानमा परेपछि उनलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। बन्द प्रशिक्षण चल्दाचल्दै बीचैमा टोलीले सिंगापुर भ्रमण गर्ने सूचना आयो। तर, इशान ५० ओभरको लामो फर्म्याटबाट आएको हुँदा उनलाई क्रिकेटकै सबैभन्दा छोटो फर्म्याटमा आफू उपयुक्त हुन्छु भन्ने आत्मविश्वास थिएन। त्यसैले टोलीमा अटाउँदिनँ होला भन्ने सोचमा उनी थिए। रमाइलोका लागि दबाबरहित खेल खेल्दा नै उनी अन्तिम टोलीमा अटाउन सफल भए।
“मनमा नै टोलीमा पर्दिनँ भन्ने लागेर होला, ममा कुनै दबाब भएन। त्यसैले नेट अभ्यासमा प्रदर्शन राम्रो भयो। त्यतिखेर सौरभ खनाल दाइले तिमी टिममा पर्यौ भन्दा चकित परेँ,” उनी भन्छन्। उनले २७ सेप्टेम्बर २०१९ मा सिंगापुरमा भएको त्रिकोणीय शृंखलामा जिम्बाबेविरुद्ध डेब्यु गरेका थिए। त्यतिखेर उनलाई ओपनिङको जिम्मेवारी दिइएको थियो। ननस्ट्राइकमा थिए, उनैलाई डेब्यु क्याप थमाउने कप्तान पारस खड्का। तर, उनको डेब्यु सोचे जस्तो रहेन।
उनी आठ बलमा १ चौकासहित ४ रन बनाएर क्याच भए। त्यसपछि सिंगापुरसँगै भएको अर्को खेलमा पनि ५ रनमै आउट भए। लगत्तै ओमानमा भएको पाँचदेशीय शृंखलामा पनि चल्न नसकेपछि उनको राष्ट्रिय टोलीको यात्रा एक महिना नहुँदै टुंगियो।
नेपाल ‘ए’ टोलीले दिएको मौका
काठमाडौँ युनिभर्सिटी अफ मेडिकल साइन्स, धुलिखेलबाट डाक्टर बनेका इशानले पछिल्ला वर्षमा घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले गत १८ अप्रिलमा सम्पन्न प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट खेल्दै ९ इनिङ्समा दुई अर्धशतकसहित २१६ रन बनाएका थिए। सोही प्रदर्शनका आधारमा उनी गत महिना ‘ए’ टोलीमा परेका थिए।
हुन त उनले गत वर्ष नै नेपाल ‘ए’ टुर अफ इन्डियामा स्थान बनाइसकेका थिए। रणजी ट्रफी खेल्ने आसाम टिमसँग भएको पाँच खेलको शृंखलामा उनले तीन खेल खेले। तर, ती तीन खेलमा ६० रन मात्र बनाउन सकेका थिए। दोस्रोपल्ट पाएको मौकामा भने उनी फरक मनस्थितिमा मैदान उत्रिए।

२४ दिनअघि इशानको लक्ष्य स्पष्ट थियो– ओमानलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ मा सिनियर टोलीसँग खेल्न पठाउने। लिग तालिकाको सातौँ स्थानमा रहेको नेपालका लागि तेस्रो स्थानको ओमानविरुद्धको चुनौती सहज मानिएको थिएन। तर, नेपाल ‘ए’ टोलीबाट अभ्यास शृंखला खेलिरहँदा इशानले पहिलो खेलबाटै परिस्थितिलाई अवसरमा बदले।
ओमानविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले संयमित र जिम्मेवार इनिङ्स खेले। ७८ बलमा ६ चौकासहित ६९ रन बनाउँदै उनले देव खनालसँग ९० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। त्यस खेलमा चम्किने उनी एक मात्र खेलाडी थिएनन्। देवले ६४ रन जोडे भने सिनियर टोलीबाट बाहिरिएका कुशल मल्ल र सन्दीप जोराले क्रमशः ५७ र ४२ रन बनाए।
नेपालको ब्याटिङ प्रदर्शनकै बलमा टोलीले ओमानलाई २८५ रनको विशाल लक्ष्य दिएको थियो। त्यसपछि कसिलो बलिङ गर्दै ओमानलाई १६९ रनमै समेट्दै नेपाल ‘ए’ ले ११५ रनको प्रभावशाली जित हात पार्यो।
त्यो खेल हेर्न सिनियर टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल पनि माथिल्लो मूलपानी क्रिकेट मैदान पुगेका थिए। सिनियर टोलीका खेलाडीबाट अपेक्षित प्रदर्शन नभइरहेको समयमा ‘ए’ टोलीका खेलाडीले देखाएको प्रदर्शनले उनको ध्यान खिच्यो। खेलपछि उनले खेलाडीलाई हौसला दिँदै भनेका थिए, “हामी टिमका लागि एउटा संस्कार बनाउँदै छौँ। व्यक्तिगत प्रदर्शनभन्दा माथि उठेर टोलीलाई जिताउने सोच आवश्यक छ। क्रिजमा टिकेपछि खेल कसरी जिताउने भन्ने सोच्नुपर्छ। विश्व क्रिकेटमा सफल हुन उत्कृष्ट फिल्डिङ अनिवार्य छ र हाम्रो लक्ष्य विश्वकै उत्कृष्ट फिल्डिङ टोली बन्ने हो।”

डेब्यु क्याप लिएपछि मुख्य प्रशिक्षक स्टुअर्ट लसँग हात मिलाउँदै इशान।
नेपाल ‘ए’ को जर्सी लगाउँदा सिनियर टोलीलाई जस्तो ठूलो दबाब हुँदैन। यस खेलले आईसीसीबाट फस्ट क्लास क्रिकेटको मान्यतासम्म पाएको थिएन। तर, इशानलाई सिनियर टोलीमा आफ्नो स्थान बनाउने यही अवसर थियो।
प्रधानमन्त्री कपबाट राम्रो प्रदर्शन गर्दै अर्जुन कुमाल र विनोद भण्डारीले सिनियर टोलीमा स्थान बनाएको उनले नजिकबाट देखेका थिए। तर, टी-२० आईमा डेब्यु गरेको सात वर्ष बितिसक्दा पनि एकदिवसीय टोलीमा मौका नपाउनुले उनको मनमा गहिरो चोट लागिसकेको थियो। त्यसैले ५० ओभरको फर्म्याटमा डेब्यु गर्न उनले रनमार्फत आफ्नो दाबेदारी बलियो बनाउनैपर्ने अवस्था थियो। यस्तो अवस्थामा उनले आफ्नो लय समात्न थाले।
त्यसपछि ओमानसँग भएको अर्को खेलमा ६९ रन हानेका उनले अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखलामा भने सोचे जस्तो अवसर पाएनन्। सुरुका दुई खेलमा बेन्चमा बसेका उनलाई स्कटल्यान्डविरुद्धको तेस्रो खेलमा मैदान उतारिएको थियो। उक्त खेलमा भने तेस्रो नम्बरमा आएर उनलाई पुनः अर्धशतकीय इनिङ्स खेल्दिए। तर, अमेरिकासँगको अर्को खेलमा पुनः बेन्चमा बसेका उनलाई यी तीन खेल नै राष्ट्रिय टोलीमा उकाल्ने भर्याङ बन्यो। “टिममा आउनु या नआउनु मेरो हात कुरै थिएन। साढे ६ वर्षसम्म टिममा परिनँ। यता प्रधानमन्त्री कपमा पनि रन बनेको थिएन,” उनी भन्छन्।
अब नेपालले घरेलु शृंखलामा सोमबार स्कटल्यान्डसँग पुनः खेल्दै छ। यो टोलीसँग नेपाल पहिलो खेलमा डीएलएस मेथडमार्फत २ रनले पराजित भएको थियो। त्यसपछि २२ मेमा अमेरिकासँग अर्को खेल खेलेर नेपालले लिग २ को घरेलु शृंखला समाप्त गर्नेछ। जित्नैपर्ने दबाबमा रहेको टोलीलाई अबका दुई खेलमा इशानले कतिको योगदान दिन्छन् ? त्यो बाँकी खेल नै देखाउनेछ।