काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

टिप्पणी

यो किताब चाँडै पढिसक्नुपर्ने दुई कारण छन्, पहिलो, यति राम्रो विषयका र यति सुन्दर तरिकाले लेखिएका किताब धेरै छैनन्। दोस्रो, यो किताब एक पटक पढेर पुग्दैन, बारम्बार पढ्नुपर्छ। 

४ जेष्ठ २०८३
अ+
अ-

डा. तीर्थबहादुर श्रेष्ठको लेखाइको एउटा अलग विशेषता छ। उहाँका अधिकांश लेख/निबन्ध गीत वा कविताबाट सुरु हुन्छन्। त्यसैले म पनि सुरुमा हिन्दुस्तानका बादशाह बहादुर शाह जफ्फरको कलाममा गजलका बादशाह मेहदी हसनको स्वरमा हामीले सुन्ने गरेको एउटा गजलका दुई पंक्ति प्रस्तुत गर्छु:

 बात करनी मुझे मुश्किल कभी ऐसी तो न थी
जैसी अब है तेरी महफ़िल कभी ऐसी तो न थी।

मलाई बोल्न अहिले जति मुस्किल भएको छ, त्यति पहिले कहिल्यै भएको थिएन, किनभने अरू किताब विमोचनका सभा यो सभा जस्ता विशिष्ट हुँदैनथे। यो डा. श्रेष्ठको किताब विमोचन समारोह हो। त्यसैले यहाँ बोल्न मलाई मुस्किल मात्र होइन, मुस्किलात छ, अर्थात् एउटा मात्र मुस्किल होइन धेरैवटा मुस्किल आइलागेका छन्।

यस किताबले आकार लिँदै गर्दा मैले यहाँ समेटिएका र नसमेटिएका सामग्री धेरै पटक पढेँ। जति पटक पढ्यो त्यति सुन्दर लागे। कारण खोज्दै जाँदा पत्रकारिताको किताबमा लेखेको एउटा कुरा सम्झिएँ। धेरै मान्छेसम्म एकै पटक आफ्ना कुरा पुर्‍याउन सजिलो छ रे। यसका लागि दुई वटा कुरा मात्र गरे पुग्छ रे। पहिलो, जे विषयमा लेख्ने वा बोल्ने हो त्यस विषयमा पोख्त हुने। दोस्रो, प्रस्तुत गर्ने कलामा पोख्त हुने। श्रेष्ठ यी दुवै कुरामा पोख्त हुनुहुन्छ भन्ने कुरा यसअघि नै थाहा भइसकेको छ।

एउटा अर्को किताबको प्रसंग निकालौँ।

अम्बर गुरुङको संस्मरण कहाँ गए ती दिनहरू प्रकाशन भएपछि उहाँसँग भेट हुनेहरू प्रायःले ‘किताब त एकै सिटिङमा सिध्याइयो’ भन्दा रहेछन्। उहाँलाई भेट्न आएका दुई जनाले पनि त्यसै भनेछन्। अम्बरले उत्सुकतावश सोध्नुभएछ, ‘पढिसक्न कति घण्टा लाग्यो?’ उनीहरू दुवैले चार घण्टा जति भनेछन्। त्यसपछि उहाँले ती दुई जनालाई भन्नुभएछ, ‘तिमी फटाहाहरू! मैले ४० वर्षको समयभित्र लेखेको लेख/किताब तिमीहरूले चार घण्टामा सिध्याइदिने?’

क्यानडामा बसेकी एउटी पाठकले फोन गरेर राम्रो किताब लेख्नुभएछ भनिछन्। अम्बरले पढिसक्नुभयो भनेर सोध्नुभएछ। उनले भनिछन्, ‘सर, यो किताब मैले एकदमै फारु गरेर पढ्दै छु। एउटै लेखलाई तीन/चार पटक दोहोर्‍याएर पढ्दै छु।’

आफ्ना कथा र अरूका कथा लेख्ने क्रममा श्रेष्ठले अहिले अनौठो लाग्ने त्यसबेलाको नेपाली समाजबारे लेख्नुभएको छ, जुन आज हामी बाँचिरहेको समाजको जग हो।

यी कथिएका कहानी होइनन्। अम्बरले त्यस किताबको दोस्रो संस्करणको भूमिकामा यो कुरा लेख्नुभएको छ ।

डा. श्रेष्ठको यो किताब त्यसरी फारु गरेर पढ्नु पर्दैन। यसका दुई वटा कारण छन्। पहिलो, उहाँका अरू तीन वटा किताब प्रकाशन हुनलाई लाम लागेर बसेका छन्। ती किताबलाई पाठकहरूले यो किताब कहिले पढिसक्नुहुन्छ र बाहिर आऊँ भनेर आतुर भएको छ।

यस लाममा सबैभन्दा अगाडि उभिएको किताबमा श्रेष्ठले मान्छेका बारेमा लेख्नुभएको छ। व्यक्तिका बारेमा, आफ्ना बारेमा, आफूलाई हुर्काउने मान्छेका बारेमा, आफूलाई सिकाउने मान्छेका बारेमा, आफ्नो पेसामा सहयोग गर्ने र असहयोग गर्ने मान्छे बारेमा, आफूले सँगै काम गरेका र समाजलाई अझ अगाडि बढाउन विभिन्न क्षेत्रबाट योगदान दिने मान्छे अर्थात् मूलतः आदर्श मान्छेका बारेमा।

आफ्ना कथा र अरूका कथा लेख्ने क्रममा उहाँले अहिले अनौठो लाग्ने त्यसबेलाको नेपाली समाजबारे लेख्नुभएको छ, जुन आज हामी बाँचिरहेको समाजको जग हो।

दोस्रो किताब नेपालको जैविक सम्पदाबारे छ। ती सम्पदालाई चिन्ने र उपयोग गर्ने विषयमा छ।

उहाँले लेख्दै गरेको नियात्रा वा यात्रा संस्मरण नेपालीमा लेखिएको नियात्रा वा यात्रासंस्मरणको अद्वितीय किताब हुनेछ। किनभने, उहाँले नेपाल जति घुम्नुभएको छ त्यति अरूले घुमेका छैनन्। उहाँको कलमले लेखेका शब्द, वाक्य र प्याराग्राफको सुन्दरता बयान गरिसाध्य छैन।

दुई खालका उदाहरण हेरौँ। पहिलो यात्रा गरेको जुग र हिँडेको दिन।

यो २०२२ साल अर्थात् आजभन्दा ६० वर्षअघिको यात्रा हो। उहाँले लेख्नुभएको छ– त्यो यात्रा धनगढीबाट सुरु भएर सिलगढी डोटी अनि सिलगढी डोटीबाट बझाङ, बाजुरा र झुलाघाटसम्मको थियो। त्यो करिब ८० दिन लामो यात्रा थियो।

नियात्राकार हुन घुम्ने र घुमेका ठाउँले बनाएका नियात्राकार अलग अलग कोटिका हुन्छन्। किनभने, नियात्राकार हुन घुम्ने मान्छेले हातले लेख्छ, घुम्दा नियात्राकार भएको मान्छेले हृदयले लेख्छ।

यस किताबमा यति नै जति लामा यात्राका रोचक प्रसंग भएका धेरै वटा अध्याय हुनेछन्। आजका नियात्राकारको नियात्राको एउटा अध्यायमा ८० दिनको यात्रा समेटिएको भेटिएला त?

अब लेखाइका दुई वटा उदाहरण हेरौँ।

उहाँ नेपाललाई काखमा लिएको भनिएको हिमालपारिको नेपाल पुग्नुभएको थियो। त्यही यात्राको वर्णनको एउटा अंश :

‘डोल्पाको त्यो माथिको मालभूमि भनौँ त्यो तिब्बती पठारको एउटा भाग हो। त्यहाँ राति पालभित्र सुत्दा २/३ पटक उठ्नु पर्थ्यो। निन्द्रा ज्यादै पातलो। हावा पनि त्यस्तै पातलो। छिनछिनमा सास फेर्नै बिर्सने किसिमको। राति शुचि गर्न स्लिपिङ ब्यागबाट बाहिर निस्कँदा आकाश हेर्थेँ। आकाशभर झलमल्ल तारा। रातको त्यो सन्नाटामा देखिएजस्ता चम्किला ताराहरू मैले कहिल्यै देखेको थिइनँ। ती ताराहरू यति नजिक थिए साह्रै रमाइलो भयो। पालभित्र जानै मन नलाग्ने। तर जाडो भएपछि त पाल भित्र जानैपर्‍यो। … डोल्पाको त्यो गहिरो सन्नाटामा ती झिलिमिलि ताराहरूका आसपासमा खेल्न पाउँदा ज्यादै रमाइलो लाग्थ्यो। त्यो कुरै बेग्लै हुन्थ्यो, स्वर्गको अनुभव भनौँ या ब्रह्माण्डको शान्ति त्यहीँ भेटिन्छ जस्तो मलाई लाग्छ। मेरो स्मृतिमा रहेको डोल्पा मेरो हिसाबले तारा टिप्ने देशजस्तै लाग्छ।’ 

अर्को उदाहरण; डाक्टर साबले गोरखा जिल्लाको ल्हो गाउँमा र गाउँबाट जे देख्नुभयो, त्यसबारे लेख्नुभएको छ :

‘गुजमुज्ज घरहरू। प्रायः दुईतल्ले। काठका फल्याक खप्टाएर छाइएका छाना। ढुंगा र माटाको गारो। अन्न बाली (गहुँ) काटिसकिएका बाँझा फराकिला पाटाहरू। गाउँको सिरानतिर हामी पाल टाँगेर बसेका थियौँ। मे महिनाको ५ तारेख। बिहानीको ४ बजे। पालबाट बाहिर निस्केर हेरेँ। गहिरो आकाशमा उत्तर पश्चिमतिर चुलिएर उठेको मनास्लुको आकृति देखियो। छायाँ हो कि साँच्चिकै पहाड हो ठम्याउन गाह्रो। एकैछिनमा शिखर भाग हल्का नीलो रङमा प्रष्टिन थाल्यो र आँखा झिम्काउने कुरै आएन। एकै छिनपछि पूरै पहाड एउटा सिंगो युँको आवरणमा देखिन थाल्यो। जापानबाट सिंगो फुजियामा पर्वतलाई नीलोले पोतेर आँखा सामुने राखिदिएजस्तो। फुजियामाको चित्र मात्र देखेको हुँ। यहाँ त सबै आफ्नै आँखा अगाडि प्रत्यक्ष छ। पालभित्रबाट क्यामेरा ल्याएँ। चित्र खिचेँ, तर पूरै असफल। त्यही बेला चुलीको माथिल्लो भागमा हल्का पहेँलो पोतियो। बिस्तारै एउटा विशाल सुनको ढिक्को आकाशभरि फैलिएको देखियो। क्यामेरा मिलाउँदा मिलाउँदै शिखर भागलाई सुन्तले रङले छोपिसकेछ। बिस्तारै सबै पहाड सुन्तले रङमा झलमलिन थाल्यो। अब त क्यामेराले पनि तस्बिर खिच्ने भयो। यत्तिकैमा एक डल्लो बादल शिखरको ठिक माथि आएर टक्क अड्क्यो। ज्वालामुखीकै धुवाँ मुस्लोजस्तो पनि लाग्न थाल्यो। पहेँलो पग्लिएको सुनको बादल।’

यस्तो कुरा कसरी लेख्न सकिन्छ भन्ने प्रश्नको आधा जवाफ लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्धसंग्रहमा रहेको ‘नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष’ शीर्षकको निबन्धमा भेटिन्छ। त्यहाँ उनले कविताबारे उल्लेख नगरीकनै बालाजुसम्बन्धी भानुभक्तको कविता लेखनको प्रसंग लेखेका छन्। त्यो कविता यस्तो छ :

यति दिनपछि मैले आज बालाजी देख्याँ
पृथिवी तलभरीमा स्वर्ग हो जानी लेख्याँ ।

देवकोटाले लेखेका छन्, ‘उनी [भानुभक्त] आधुनिक कविझैँ कवि हुन बालाजू गएका थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए। त्यस ठाउँले उनलाई छोएको थियो।’

देवकोटोको यो भनाइलाई यसरी ‘रिमिक्स’ गरौँ।

डा. श्रेष्ठ आधुनिक नियात्राकारझैँ नियात्राकार हुन डोल्पा वा मनासलुको काखमा जानुभएको थिएन। बरु ती ठाउँमा पुग्दा नियात्राकार हुनुभएको थियो। ती ठाउँले उहाँलाई नियात्राकार बनाएका थिए।

नियात्राकार हुन घुम्ने र घुमेका ठाउँले बनाएका नियात्राकार अलग अलग कोटिका हुन्छन्। किनभने, नियात्राकार हुन घुम्ने मान्छेले हातले लेख्छ, घुम्दा नियात्राकार भएको मान्छेले हृदयले लेख्छ।

तर, सबै घुम्ने मान्छेलाई जतिसुकै सुन्दर ठाउँले पनि राम्रो लेख्ने बनाउन सक्दो रहेनछ। त्यसको उदाहरण मै हुँ। डा. साबले देख्नुभएको हिमाल उहाँले देखेको केही वर्षपछि उहाँले देखेकै ठाउँबाट मैले पनि देखेको थिएँ। त्यो पनि डा. साबले देखेको जस्तो तुँवालो लागेर आकाश अलि कम सफा हुने वेला होइन, शरद् ऋतुको सुरुमा लामो झरीले आकाशको धुलो पखालेर खुलेको सुन्दर बिहानीमा देखेको थिएँ। तर, मैले जति कोसिस गरे पनि त्यसरी लेख्न सकिनँ। मलाई लाग्छ, यस्तो सुन्दर लेख्न अति धेरै साधना गर्नुपर्छ। त्यसो गर्ने धैर्य भएका नियात्राकार भेट्न मुस्किल छ।

केही वर्षअघि डा. श्रेष्ठको किताब नेपाल अध्ययन भाग १ को विमोचनका लागि बोल्ने तयारी गर्दा मलाई त्यस किताबमा उहाँले हिँडेको पैदल बाटो, त्यो बाटो हिँडेको साल, त्यो बाटो हिँड्न लागेको समय आदि जानकारी भएका नक्सा होऊन् भन्ने लागेको थियो। किनभने, त्यो नक्सा हेरेर उहाँले हिँडेको बाटो हिँड्न नसके पनि उहाँको किताब पढ्दै गर्दा आफू पनि त्यही बाटो हिँडेको सुखद कल्पना त गर्न सकिन्थ्यो।

अहिले मलाई लागेको छ– यो नक्सा राख्ने उपयुक्त किताब हो अर्थात् उहाँको नियात्रा किताब हो। आशा छ, यी कुरा पनि यस किताबमा आउनेछन्।

यो किताब चाँडै पढिसक्नुपर्ने पहिलो कारण यो हो। अर्थात् यो किताब नपढ्नु भनेको यति राम्रा विषयका, यति सुन्दर तरिकाले लेखिएका, यति धेरै किताब बाहिर आउन नदिनु हो।

यो किताब छिटै पढिसक्नुपर्ने दोस्रो कारण हो– यो किताब एक पटक पढेर पुग्दैन। बारम्बार पढ्नुपर्छ।

यस किताबमा मूलतः नेपालीले आफूले बसेको ठाउँको भौगोलिक बनोट र त्यहाँको पञ्चतत्त्वसँग मिलेर अनि कहिलेकाहीँ जुधेर जीवनयापन गर्न चाहिने मूर्त र अमूर्त आवश्यकता पूरा गर्ने क्रममा सिर्जना गरेका संस्कृतिबारे उल्लेख छ। त्यसैले एक पटक सुरुदेखि अन्त्यसम्म पढ्नु परिहाल्यो। त्यसपछि हरेक वर्ष जुन महिना वा ऋतु लाग्छ, त्यो महिना वा ऋतुबारे पढ्नुपर्‍यो। जस्तै, वसन्त ऋतु लागेपछि यस किताबका सुरुका केही सामग्री दोहोर्‍याएर पढ्न सुरु गर्नुपर्‍यो। ‘बुद्ध जन्मस्थल लुम्बिनी’ र ‘हिमाल चढ्नकै लागि मात्र होइन’ जस्ता शीर्षकका सामग्री पढ्नुपर्‍यो। असार लागेपछि ‘असारको रात झमझम बर्सात’, ‘त्यो असार यो असार’, ‘उपहारमा बरपिपल’, अनि भानु जयन्तीको अवसर पारेर ‘जैविक विविधतामा भानु चेतना’ जस्ता शीर्षकका सामग्री पढ्नुपर्‍यो। त्यसपछि इन्द्रजात्राका वेला ‘फूल चोर इन्द्रको जात्रा’ पढ्नुपऱ्यो।

यो किताब दोहोर्‍याएर पढ्दा आफूले बिताउने हरेक महिना र यामका विशेषता पुनःस्मरण हुन्छ, हरेक महिना र यामका सुवास चाख्न सकिन्छ, हरेक महिना र यामका मुलायमपना छाम्न सकिन्छ, तिनका सुन्दरता देख्न सकिन्छ, तिनका मधुर धुन सुनेर रमाउन सकिन्छ।

यो पाठ पढेर आजभोलि मर्निङ वाकमा जाँदा भुइँभर पारिजातका फूल झरेको देखेपछि त्यो फूल लिन इन्द्र काठमाडौँ आएको, चोर भनेर उनलाई पक्डेको अनि सजाय दिन इन्द्रजात्रा मनाएको कुरा सम्झनुपऱ्यो। स्वर्गका राजा इन्द्रलाई सजाय दिने शक्तिशाली काठमाडौँ राज्यले इन्द्रजात्राकै दिन आफ्नो स्वतन्त्रता गुमाउनुपरेको कुरा सम्झे पनि भयो।

गणेश चतुर्थीको वेला पारेर सुँड प्रत्यारोपण गरिएका गणेशबारेको ‘अंग प्रत्यारोपणको पराकाष्ठा’ शीर्षकको सामग्री र ‘पर्यापर्यटनका आचारसंहिता’ दोहोर्‍याएर पढ्नुपरिहाल्यो। त्यसपछि शरद् लागिहाल्छ। शरद्का वेलाका चाडपर्व दसैँ, तिहार, म्ह पूजासम्बन्धी सामग्री दोहोर्‍याउनैपर्‍यो। हरेक वर्ष त्यहीबेला मालश्री धुन बजाएझैँ। देउसी खेलेझैँ। दीपावली गरेझैँ। त्यसपछि मीनपचास लाग्छ। माघे संक्रान्ति आउँछ। फागु पर्व आउँछ। ती विषयसम्बन्धी सामग्री दोहोर्‍याउने बेला हो यो। त्यसपछि फेरि वैशाख आउँदा बुद्धबारे फेरि पढ्नुपरिहाल्यो।

यसरी यो किताब दोहोर्‍याएर पढ्दा आफूले बिताउने हरेक महिना र यामका विशेषता पुनःस्मरण हुन्छ, हरेक महिना र यामका सुवास चाख्न सकिन्छ, हरेक महिना र यामका मुलायमपना छाम्न सकिन्छ, तिनका सुन्दरता देख्न सकिन्छ, तिनका मधुर धुन सुनेर रमाउन सकिन्छ। तिनले हामीलाई दिने सेवा उपभोग गरेर र तिनमा भोग्नुपर्ने कष्ट कम गर्ने उपाय अपनाएर आफ्नो जीवनलाई सरल, समृद्ध र सुखी बनाउन सकिन्छ।

अन्त्यमा, मेहदी हसनले नै गाएको अर्को एउटा गजलको सुरुका दुई लाइन यहाँ पेस गर्ने र त्यसलाई ‘रिमिक्स’ गर्ने इजाजत चाहन्छु।

दुनिया किसी के प्यार में जन्नत से कम नहीं
इक दिल रुबा है दिल में जो हूरों से कम नहीं।

यस किताबका साथमा जीवन बिताउनेका लागि पनि यो दुनियाँ ‘जन्नत’ अर्थात् स्वर्ग समान हुन्छ। आफ्नो दिलमा अर्को दिल अर्थात् यो किताब बस्छ, जुन परी अर्थात् प्रिया वा प्याराभन्दा कम छैन। 

(३१ साउन २०८२ मा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको पुस्तक नेपाल गाथाको विमोचन समारोहमा व्यक्त विचार। यस पुस्तकलाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ अर्पण गरिने भएको छ।