क्रिकेट
घरेलु शृंखलाको अन्तिम खेलमा जित हासिल गरेसँगै नेपालको एकदिवसीय विश्वकप छनोट चरणमा पुग्ने सम्भावना बलियो
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झाले ठिकै अनुमान गरेका थिए। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अंकतालिकाको शीर्ष दुईमा रहेका अमेरिका र स्कटल्यान्डविरुद्धको सिरिजअघि उनले भनेका थिए, ‘सके चार, नभए तीन खेल त अवश्य नै जित्छौँ।’
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले पाहुना टोली अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेसँगै गुलसनले गरेको अनुमान लगभग पूरा भयो।
नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो। कीर्तिपुरको मैदानमा नेपालले बनाएको यो नै कीर्तिमानी रन हो। यसअघि नेपालले २१ अप्रिल २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गतको खेलमा ओमानलाई ३११ रनको लक्ष्य दिएको थियो। नेपाल उक्त खेल ८४ रनले जित्न सफल भएको थियो।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेख।
नेपालले यसपल्ट अमेरिकाविरुद्ध खेलेका दुवै खेलमा जित हात पार्यो भने स्कटल्यान्डसँग एक खेल जित्दा अर्को खेलमा पराजित हुन पुग्यो। योसँगै नेपालले पछिल्ला आठमध्ये ६ खेलमा जित हासिल गर्दै लिग-२ का घरेलु मैदानमा हुने शृंखला सकेको छ। अघिल्लो शृंखलामा युनाइटेड अरब इमिरेट् (यूएई)विरुद्ध दुई र ओमान एक जित हासिल गरेको नेपालको २८ खेलबाट २४ अंक पुगेको छ।
उपाधि दौडमा अमेरिका यथावत्
हालको अंकतालिकाअनुसार कीर्तिपुरमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि अमेरिका २८ खेलबाट ३८ अंकसहित शीर्षस्थानमै कायम छ। नेपाल भ्रमणअघि नै अमेरिका तालिकाको शीर्षस्थानमा थियो। यही शृंखलालाई ‘क्लिन स्विप’ गर्दै लिग-२ को उपाधि उचाल्ने लक्ष्यसहित काठमाडौँ आएको अमेरिकालाई भने स्कटल्यान्ड र नेपालले ठूलो धक्का दिएका छन्।
स्कटल्यान्डले वर्षाले प्रभावित पहिलो खेलमा डीएलएस मेथडमार्फत अमेरिकालाई दुई रनले पराजित गरेको थियो भने नेपालले दोस्रो खेलमा नौ रनको प्रभावशाली जित निकाल्यो। त्यसपछि अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हराउँदै अंकतालिकामा आफ्नो स्थिति थप मजबुत बनाउन खोजेको थियो। तर, अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध १२२ रनको सानदार जित निकाल्दै उसको अभियानलाई फेरि झट्का दिएको छ।
हुन त अमेरिका जतिसुकै शक्तिशाली टोली भए पनि कीर्तिपुरको मैदानमा भने नेपालविरुद्ध सधैँ दबाबमा देखिँदै आएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ को २०१९-२०२३ चक्रमा पनि नेपालले अमेरिकाविरुद्ध खेलेका दुवै खेलमा सहज जित हात पारेको थियो।

इशान पाण्डे।
८ फेब्रुअरी २०२२ मा भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। त्यसको चार दिनपछि भएको अर्को खेलमा त नेपालले अमेरिकालाई मात्र ३५ रनमा समेट्दै आठ विकेटको प्रभावशाली जित निकाल्यो।
अमेरिकी टोलीका कप्तान साइतेजा मुकामल्ला भने नेपाल लिग-२ चक्रको अन्त्यतिर पुग्दा सधैँ खतरनाक टोलीका रूपमा प्रस्तुत हुने बताउँछन्। “नेपालले चक्रको अन्त्यतिर सधैँ उत्कृष्ट क्रिकेट खेल्ने गरेको छ। नेपाल राम्रो टोली हो र आज पनि निकै राम्रो खेल्यो,” उनले भने, “हामी पनि राम्रो टोली हौँ र पुनरागमन गर्नेमा मलाई विश्वास छ।”
अब लिग-२ मा अमेरिका, ओमान र नेपालले समान आठ खेल खेल्न बाँकी छ। तर, अमेरिकालाई समान ३८ अंकसहित पछ्याइरहेको स्कटल्यान्डले चार खेल मात्रै खेल्न बाँकी छ।
ओमान ३१ अंकसहित तेस्रो र चार खेल कम खेलेको नेदरल्यान्ड्स २८ अंकसहित चौथो स्थानमा छन्। २२ अंक रहेको नामिबिया छैटौँ, क्यानडा सातौँ र यूएई आठौँ स्थानमा छन्। क्यानडाको २१ अंक रहँदा पुछारको यूएईको भने १४ अंक मात्र छ।
छनोटको आशा कायमै
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमअनुसार आठ एसोसिएट राष्ट्रबीच भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग-२ को २०२४-२०२७ चक्रबाट शीर्ष चार स्थानमा रहने टोलीले एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन्।
यो अवस्थामार्फत अमेरिका र स्कटल्यान्डले लगभग आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। बाँकी दुई स्थानका लागि भने यूएईबाहेक अन्य टोलीहरू प्रतिस्पर्धामा छन्।
अमेरिकी कप्तान साइतेजा मुकामल्लाले भनेझैँ नेपाली टोलीका लागि अझै पनि आशाजनक अवस्था कायम छ। नेपालले अघिल्लो चक्रको अन्तिमतिर उत्कृष्ट प्रदर्शन गर्दै लय समातेको इतिहास यसपटक पनि दोहोर्याउने संकेत देखिएको छ। अघिल्लो चक्रका पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपालले २०२७ सम्मका लागि एकदिवसीय मान्यता पनि पुनः प्राप्त गरेको थियो।
जिम्बाबेको हरारेमा भएको विश्वकप छनोटमा ओमान र स्कटल्यान्डले पनि आफ्नो स्थान सुरक्षित गरेका थिए। यसपटक भने अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा हुने विश्वकपतर्फको बाटो तय गर्ने छनोट कहाँ हुनेछ भन्ने अझै टुंगो लागिसकेको छैन। तर, नेपालले अझै आठ खेल खेल्न बाँकी रहेकाले अघिल्लो उपलब्धि दोहोर्याउने झिनो आशा भने कायम नै छ।
नेपालले यसका लागि अब जुलाईमा नेदरल्यान्ड्सको भ्रमण गर्नेछ। उक्त भ्रमणमा घरेलु टोलीसँगै नामिबियाविरुद्ध खेल्नेछ। त्यसपछि नेपाल क्यानडा र ओमानसँगको शृंखलाका लागि त्यसतर्फ प्रस्थान गर्नेछ। यी आठ खेलमध्ये विश्वकप छनोटमा स्थान सुरक्षित गर्न नेपाललाई कम्तीमा पाँच खेल जित्नुपर्ने चुनौती छ। तर, यी खेल घरेलु मैदानमा जत्तिकै सहज नहुने निश्चित छ।
नेपालले यी चारमध्ये तीन टोलीसँग हालसम्म अपेक्षित नतिजा निकाल्न सकेको छैन। यही चक्रमा नेदरल्यान्ड्ससँग भएका चार भेटमध्ये नेपालले तीन खेल जितेको छ भने क्यानडासँग खेलेका दुवै खेलमा पराजित भएको छ। ओमानसँग दुई खेलमा हार बेहोर्दा एक खेल जितेको छ भने अर्को खेलमा पनि पराजित भएको छ। यस्तै, नामिबियासँगको नतिजा पनि नेपालको पक्षमा छैन। नेपालले दुवै खेलमा हार बेहोरेको छ।

कप्तान रोहित पौडेल र गुलसनकुमार झा।
यद्यपि, पछिल्ला खेलहरूको नतिजाले नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आशावादी देखिन्छन्।
“आठमध्ये ६ खेल जित्नु अविश्वसनीय उपलब्धि हो। ओमान र यूएईसँगको शृंखलाका महत्त्वपूर्ण खेल जितेपछि हामीले आवश्यक लय समातेका छौँ, जुन अत्यन्तै आवश्यक थियो,” उनी भन्छन्, “यसले टिममा जुनसुकै परिस्थितिबाट खेल जित्न सक्छौँ भन्ने विश्वास बढाएको छ।” नेपालले घरेलु मैदानमा फर्किएर खेल्न थाल्दा २० खेलबाट मात्र १२ अंक जोडेको थियो। यद्यपि, पछिल्ला ६ जितले भने क्यानडा र नामिबियालाई उछिन्दै नेपालले दुई स्थान फड्को मारेको छ। अब रोहितले भने जस्तै लय कायम राखे नेपालले फेरि विश्वकप छनोटमा स्थान बनाउनेछ।