काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

आवरण/महिला फुटबल

तर, न पुग्दो लगानी, न तयारी नै

११ जेष्ठ २०८३
साफअघि गोवामा अभ्यास गर्दे स्ट्राइकर रेखा पौडेल (बायाँ), सँगै प्रशिक्षक नवीन न्यौपाने। तस्बिरहरू : एन्फा
अ+
अ-

नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उपाधिको सबैभन्दा नजिक पुगेको संस्करण कुन थियो? नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत भन्छिन्, “ सन् २०२२। तर, दुर्भाग्यवश हामी चुक्यौँ।”

त्यो संस्करण नेपालका लागि ऐतिहासिक रह्यो। समूह चरणमा नेपालले भुटान र श्रीलंकालाई सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपाली महिला फुटबलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भरिभराउ दर्शकलाई साक्षी राख्दै इतिहासकै अविस्मरणीय क्षण आत्मसात् गर्‍यो। त्यो थियो, भारतविरुद्धको पहिलो जित।

१६ सेप्टेम्बर २०२२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनलमा रश्मिकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतले नेपालले भारतलाई १-० ले पराजित गर्‍यो।

तर, फाइनलमा नेपाल फेरि उपाधिबाट विमुख बन्यो। त्यसअघि नेपालले हराउँदै आएको बाङ्लादेश नयाँ चुनौतीका रूपमा उदायो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपाललाई बाङ्लादेशले ३-१ ले पराजित गर्दै पहिलो पटक उपाधि जित्यो। नेपालका लागि उक्त खेलमा एक मात्र गोल अनिताले नै गरेकी थिइन्।

मिडफिल्डर अनिता बस्नेत।

त्यसपछिका संस्करणमा पनि नेपालले फाइनलसम्मको यात्रा तय गरिसकेको छ। तर, भारतको चुनौती पन्छाउँदै आएको नेपाललाई बाङ्लादेशले भने उसैगरी रोक्दै आएको छ। यसपटक भने त्यो चुनौती पार गर्दै उपाधि जित्नुपर्ने अनिता बताउँछिन्।

“हाम्रो महत्त्वाकांक्षा भनेकै च्याम्पियन बन्ने हो। अहिले टोलीमा नयाँ खेलाडी पनि आएका छन्। त्यसैले यसपटक हाम्रो लक्ष्य पूरा हुन्छ भन्ने विश्वास छ,” उनी भन्छिन्। सोमबारदेखि भारतको गोवामा हुने प्रतियोगितामा नेपालसँगै भुटान र श्रीलंका समूह ‘ए’ मा छन्। अर्को समूहमा साबिक विजेता बाङ्लादेशसँगै भारत र माल्दिभ्स छन्।

भारतभन्दा बाङ्लादेशको भय

साफ महिला च्याम्पियनसिपको सुरुआत सन् २०१० मा भएको थियो। बाङ्लादेशमा आयोजित पहिलो संस्करणमा नेपालले माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। त्यसपछि सेमिफाइनलमा घरेलु टोली बाङ्लादेशलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको थियो। प्रतियोगिताभर ३४ गोल गरेको नेपाल फाइनलमा भने गोलविहीन बन्यो। सस्मिता मलिकको निर्णायक गोलमा १-० को जित निकाल्दै भारतले उपाधि आफ्नो नाममा गर्‍यो।

त्यसपछिका दुई संस्करणमा पनि नेपाल र भारतबीच नै फाइनल भिडन्त भयो। त्यो समय दक्षिण एसियाली महिला फुटबलमा यी दुई टोलीको दबदबा स्पष्ट देखिन्थ्यो। उनीहरूलाई हराउने त परको कुरा, अन्य टोलीले चुनौतीसमेत दिन सकेका थिएनन्। सन् २०१४ पछि अफगानिस्तान साफबाट बाहिरिए पनि नेपाल र भारतको वर्चस्व भने कायमै रह्यो।

प्रायः यी दुई टोली फरक समूहमा पर्ने र समूह विजेताका रूपमा सेमिफाइनल पार गर्दै फाइनलमा पुग्ने गर्थे। त्यसैले यी दुईको भेट उपाधि भिडन्तमै हुन्थ्यो। तर, सन् २०१६ को संस्करण भने फरक रह्यो। नेपाल र भारत फरक समूहमा रहे पनि उनीहरूको भेट सेमिफाइनलमै तय भयो।

यसको मुख्य कारण समूह ‘बी’ मा रहेको भारतले अन्तिम खेलमा बाङ्लादेशसँग गोलरहित बराबरी खेल्नु थियो। त्यस खेलमा भारतले अघिल्ला संस्करणझैँ दबदबा कायम राख्दै नेपाललाई ३-१ ले पराजित गर्‍यो।

यद्यपि, त्यही प्रतियोगिताबाट सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो प्रभावशाली उपस्थितिको संकेत दिन थालेकी थिइन्। अघिल्लो संस्करणमै भुटानविरुद्ध डेब्यु गरेकी उनले सन् २०१६ को प्रतियोगितामा सर्वाधिक १२ गोल गर्दै सबैको ध्यान खिचिन्। त्यसपछिका तीन संस्करणमा पनि उनी नेपालकी प्रमुख गोलकर्ता बनिरहिन्।

सन् २०२२ मा भने दक्षिण एसियाली महिला फुटबलको शक्ति सन्तुलन बदलिन थाल्यो। लामो समय भारतको चुनौतीसँग जुधिरहेको नेपालका लागि नयाँ अवरोधका रूपमा बाङ्लादेश उभियो। युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र सशक्त टोली समन्वयसहित काठमाडौँ आएको बाङ्लादेशले समूह चरणमै भारतलाई पहिलो पटक ३-० ले पराजित गर्‍यो। त्यसपछि सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले हराएको बाङ्लादेश फाइनलमा नेपाललाई पनि पहिलो पटक पराजित गर्दै उपाधि जित्न सफल भयो।

त्यसयता उमेर समूहदेखि सिनियर स्तरसम्म महिला फुटबलमा बाङ्लादेश नै नेपालको सबैभन्दा ठूलो चुनौती बन्दै आएको छ। साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा पनि बाङ्लादेशले नेपाललाई २-१ ले पराजित गर्दै आफ्नो वर्चस्व कायम राखेको थियो। यद्यपि, नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने आफ्नो टोलीमा भारत र बाङ्लादेशसँग भएकाभन्दा राम्रो खेलाडी रहेको दाबी गर्छन्।

प्रशिक्षक नवीन न्यौपाने।

“हाम्रा टार्गेट भनेकै भारत र बाङ्लादेश हुन्। तर, साम्बा र सविता (रानामगर) घाइते छन्। नयाँ खेलाडी राखेको छु। यद्यपि, नतिजा ल्याउँछु भन्नेमा पूर्ण विश्वस्त छु,” उनी सुनाउँछन्।

साम्बाको अभाव

दक्षिण एसियाली महिला फुटबलको ‘मिनी विश्वकप’ मानिने साफ च्याम्पियनसिपमा नेपाली समर्थकको ध्यान प्रायः गोल, गति र जिततर्फ केन्द्रित हुन्छ। ती सबै गुण एउटै खेलाडीमा देखिन्छ। ती हुन् साम्बा। दक्षिण एसियाली महिला फुटबलमा बेग्लै परिचय बनिसकेकी साम्बा यसपटक भने प्रतियोगिताबाट बाहिर रहनेछिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि ‘रिह्याब’ मा छिन्।

न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्समा आबद्ध भएपछि साम्बाले पहिलो चोट ८ नोभेम्बर २०२५ मा क्यानबेरा युनाइटेडविरुद्धको खेलमा बोकेकी थिइन्। त्यसपछि ९ डिसेम्बरमा मेलबर्न सिटी महिला टोलीको खेलमा पुन: घाइते हुँदा दुई साता मैदानबाहिर रहिन् र इन्डोनेसियाको योग्याकार्तामा २६ नोभेम्बरदेखि २ डिसेम्बरसम्म आयोजित त्रिदेशीय महिला फुटबल प्रतियोगिता खेल्नबाट समेत वञ्चित भइन्।

३ जनवरीमा मैदान फर्किएकी साम्बा फेरि ब्रिसबेन रोअरकी गोलरक्षक क्लोई लिंकनसँग ठोक्किँदा घुँडाको पुरानै समस्या गम्भीर बनेको थियो। भारत, इजरायल, फ्रान्स र अस्ट्रेलियाली लिगसम्मको अनुभव बटुलेकी साम्बा अहिले पनि नेपाली टोलीकी सबैभन्दा अहम् खेलाडी हुन्।

१२ नोभेम्बर २०१४ मा भुटानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेकी उनले साफ च्याम्पियनसिपका पछिल्ला पाँच संस्करणमा दुई ह्याट्रिकसहित २१ गोल गरिसकेकी छन्। योसँगै उनी नेपाली टोलीकी सर्वाधिक गोलकर्ता पनि हुन्। उनले ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्।

कठिन परिस्थितिमा गोल निकाल्ने क्षमता, विपक्षी डिफेन्स चिर्ने गति र टोलीलाई ऊर्जा दिने आत्मविश्वास उनका प्रमुख विशेषता हुन्। साम्बा मैदानमा हुँदा नेपालले आक्रामक शैली अपनाउने गर्छ। विपक्षी टोलीले समेत उनलाई रोक्न विशेष रणनीति बनाउने भएकाले उनी एक्लै खेलको स्वरूप बदल्ने क्षमता राख्छिन्।

भुटानसँगको खेलअघि पत्रकारसँग बोल्दै प्रशिक्षक नवीन न्यौपाने र कप्तान अञ्जिला।

साम्बाको अभावमा नेपाली टोलीले नयाँ संयोजन खोज्नुपर्ने अवस्था आएको छ। “मेसीविनाको अर्जेन्टिना र रोनाल्डोविनाको पोर्चुगल जस्तै साम्बाविनाको नेपालले अधुरो महसुस गर्छ। तर, खेलाडीको करिअरमा चोट लाग्नु स्वाभाविक हो। साम्बा जस्तो खेलाडी नभए पनि उनको झल्को दिने केही जुनियर खेलाडी टोलीमा छन्,” प्रशिक्षक न्यौपाने भन्छन्।

साम्बासँगै फरवार्ड सविता रानामगर पनि घाइते रहेकाले प्रशिक्षकले पूर्णिमा राई र मिना देउवालाई टोलीमा मौका दिएका छन्। यी दुवैले ११-२१ जुलाई २०२५ सम्म बाङ्लादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचेका थिए। प्रतियोगितामा पूर्णिमाले सर्वाधिक १० गोल गर्दा मिनाले सात गोल गरेकी थिइन्। उनीहरूको दमदार प्रदर्शनसँगै नेपाल उपविजेता बनेको थियो।

नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्दै आएकी मिनालाई प्रशिक्षक न्यौपानेले २७ अक्टोबर २०२५ मा भारतको सिलोङमा आयोजित त्रिदेशीय प्रतियोगितामार्फत राष्ट्रिय टोलीमा डेब्यु गराएका थिए। भारतविरुद्धको खेलमा उनले स्ट्राइकर रेखा पौडेललाई प्रतिस्थापन गरेकी थिइन्।

पूर्णिमाले भने उक्त भ्रमणमा टोलीमा स्थान बनाए पनि मैदान उत्रने अवसर पाइनन्। उनले पहिलो पटक २ डिसेम्बर २०२५ मा चाइनिज ताइपेई महिला राष्ट्रिय फुटबल टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जर्सी लगाइन्। तर, त्यो डेब्यु सुखद बन्न सकेन। साम्बा अनुपस्थित उक्त प्रतियोगितामा नेपाल इन्डोनेसियासँग २-१ तथा चाइनिज ताइपेईसँग १-० ले पराजित भयो। त्यसयता नेपाली टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किन लागेको हो।

पूर्णिमा र मिनाका लागि यसपटकको साफ ठूलो अवसर भए पनि अनुभवको कमी चुनौती बन्न सक्छ। निर्णायक क्षणमा खेल पल्टाउने खेलाडीको अभाव टोलीले महसुस गर्न सक्ने प्रशिक्षक न्यौपाने स्वीकार गर्छन्। भन्छन्, “विशेषगरी भारत र बाङ्लादेश जस्ता बलिया टोलीविरुद्ध साम्बाको उपस्थितिले नेपाललाई अतिरिक्त आत्मविश्वास दिने गरेको थियो। गत संस्करणको सेमिफाइनलमा पनि १-० ले पछि परेको अवस्थामा उनले नै गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् र टोलीलाई टाइब्रेकरसम्म पुर्‍याएकी थिइन्। तर, अब हामीले नयाँ परिस्थिति स्विकार्दै टोली निर्माण गर्नैपर्छ।”

लगानी न्यून, आशा उपाधि

यसपटक साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीका धेरै खेलाडी आफ्नो करिअरको अन्तिम चरणतिर पुगेका छन्। मिडफिल्डर रेनुका नगरकोटे, अनिता बस्नेत र सरु लिम्बू, गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा तथा डिफेन्डर हीराकुमारी भुजेल र गीता राना लामो समयदेखि राष्ट्रिय टोलीको आधारस्तम्भ रहँदै आएका नाम हुन्।

गोवा जानुअघि नेपालमा प्रशिक्षण गरिरहेकी डिफेन्डर हीराकुमारी भुजेल।

विशेषगरी सन् २०१० देखि राष्ट्रिय टोलीमा खेलिरहेकी रेनुकाले अझैसम्म ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेकी छैनन्। त्यसैले उनीसहित अनुभवी खेलाडीहरूको एउटै सपना छ— साफको उपाधि जित्दै राष्ट्रिय टोलीबाट बिदा हुने।

तर, खेलाडीहरूको सपना जति ठूलो भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपाधि जित्ने स्तरको तयारी र लगानी गर्न सकेको देखिँदैन। सन् २०३१ सम्म महिला विश्वकप पुग्ने लक्ष्य सार्वजनिक गरेको नेपालले यस वर्ष न कुनै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्यो, न त साफलाई लक्षित गरेर प्रभावकारी तयारी नै गर्न सक्यो। उल्टै, पाएको अवसरसमेत प्रशासनिक कारणले गुमायो।

नेपालका मुख्य प्रतिस्पर्धी भारत र बाङ्लादेश भने यसबीच निरन्तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्रिय रहे। भारतले ४-१० मार्चसम्म अस्ट्रेलियामा भएको एएफसी महिला एसियन कप खेलेको थियो। त्यसपछि ११ र १५ अप्रिलमा केन्यामा आयोजित फिफा सिरिजमा पनि सहभागी भयो।

यी प्रतियोगितामार्फत भारतले विश्वविजेता जापानसहित भियतनाम, चाइनिज ताइपेई, केन्या र मलावी जस्ता टोलीविरुद्ध खेल्ने अवसर पायो। यता, बाङ्लादेशले सिड्नी वान्डर्ससँग अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नुका साथै चीन, उत्तर कोरिया र उज्वेकिस्तानविरुद्ध एसियन कप खेलेको थियो। साफमा लगातार तेस्रो उपाधि जित्ने लक्ष्य राखेको बाङ्लादेशी टोली दुई साताको प्रशिक्षणका लागि थाइल्यान्ड पुगेको थियो। त्यहाँ स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेपछि टोली गोवा पुगेको हो।

भुटानले समेत मकाउसँग मैत्रीपूर्ण खेल खेल्दै तयारी गरिरहँदा नेपाली खेलाडी भने मोफसलका गोल्डकपकै भरमा साफ खेल्न गोवा पुगेका छन्। नेपालले यसपटक आफ्नै प्रशासनिक कमजोरीका कारण गत १२ अप्रिलदेखि थाइल्यान्डमा सुरु भएको फिफा सिरिज पनि गुमाएको थियो। तर, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर यस्ता अवसर गुमाउनुमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) दोषी रहेको आरोप लगाउँछन्।

“हामीले आफ्नो काम गरिरहेका थियौँ। तर, राखेपको हस्तक्षेपका कारण घरेलु फुटबल मात्रै होइन, फिफा सिरिज खेल्ने अवसर पनि गुम्यो। हामीलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको भए यी अवसर गुम्ने थिएनन्,” तुलाधरले बताएका थिए। राखेपले भने खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार कारबाही गर्दै गत २५ मार्चमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।

पटक पटक दिएको निर्देशन एन्फाले पालना नगरेको, स्वीकृतिविना निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको तथा परिषद्ले माग गरेका स्पष्टीकरणहरू सन्तोषजनक नभएको आरोप राखेपले लगाएको थियो। विशेषगरी, कार्यसमितिको निर्णयविपरीत प्रक्रिया अगाडि बढाइएको भन्दै परिषद्ले कडा कदम चालेको थियो।

एन्फाले साधारणसभा (अडिटरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी प्रक्रिया परिषद्को स्वीकृतिविना अगाडि बढाउन खोजेको थियो। यसलाई प्रचलित कानुनविपरीत ठहर गर्दै राखेपले तीन महिनासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

निलम्बन अवधिमा एन्फाले कुनै पनि प्रशासनिक वा निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको थियो। त्यसको प्रत्यक्ष असर महिला लिगमा पनि पर्‍यो र प्रतियोगिता रोकियो। तर, गत १५ मेमा राखेपले विनासर्त निलम्बन फुकुवा गर्‍यो। योसँगै नेपाली टोलीको साफ च्याम्पियनसिप यात्रामा देखिएको अन्योल हटेको थियो। यद्यपि, यी घटनाले कुनै असर नपार्ने डिफेन्डर गीता राना बताउँछिन्।

“यसपल्ट हामीले निरन्तर खेल्न पायौँ। गोल्डकपसमेत निरन्तर खेलेका कारण साफ जित्ने अपेक्षा राख्न सकिन्छ,” उनी भन्छिन्।