काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

सचेतना

दुई महिनायता फेसबुक पेज, रिल्स, टिकटक जस्ता सामाजिक सञ्जालमार्फत नागरिकमा सचेतना फैलाइरहेको नेपाल प्रहरी

११ जेष्ठ २०८३
एआईसिर्जित तस्बिर
अ+
अ-

काठमाडौँको व्यस्त सडकमा एक युवाले लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल ‘स्टन्ट’ गरेको भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’ भयो।

‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ गीतसहित सार्वजनिक भिडिओमा बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकल प्रस्ट देखिन्थ्यो। प्रहरी वृत्त कालिमाटीले खोजी गरेर चालकलाई पक्राउ गर्‍यो।

पहिले यस्तो लापरवाही गर्नेलाई प्रहरीले सचेत गराउने र जरिवाना गराउने जस्ता कारबाही गर्थ्यो। यसपटक भने प्रहरीले ती चालकलाई सचेत मात्र गराएन, अरूलाई त्यस्ता गतिविधि नगर्न सचेत गराउन उनैलाई प्रयोग गरेर भिडिओ सार्वजनिक गर्‍यो।

आफूले गल्ती गर्दा पक्राउ परेको भन्दै अरूलाई त्यसरी मोटरसाइकल नचलाउन सन्देश दिएको उनको भिडिओ शनिबार नेपाल प्रहरीको फेसबुक पेजमा सार्वजनिक भयो।

‘सडकमा ब्रेभरी होइन, ब्रेन युज गर्नुहोस्’ शीर्षक दिएर सार्वजनिक गरिएको भिडिओमा ती युवाले भनेका छन्, ‘जुन कार्य मैले गरेँ, त्यो ट्राफिक नियमविपरीत छ, उल्लंघन छ। त्यसबाट ज्यानलाई पनि खतरा छ। जनधनको क्षति हुन्छ। त्यसैले आइन्दा म पनि नगर्ने र अरूलाई पनि यस्तो नगर्नुहुन सुझाव दिन्छु।’

पछिल्लो समय नेपाल प्रहरीले यस्तै सिर्जनशील ‘कन्टेन्ट’ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको छ। सडकमा हुने लापरवाही, दुर्घटनादेखि विभिन्न अपराध र प्रहरीका सकारात्मक कामका विषयमा फेसबुक पेज, रिल्स, टिकटकलगायत सामाजिक सञ्जालमा नियमित पोस्ट गर्ने गरिएको छ।

नेपालमा बढिरहेको डिजिटल अपराधलाई न्यूनीकरण गर्न पनि प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर सचेतनामूलक भिडिओहरू बनाउने गरेको छ। जसको एउटा उदाहरण गत ८ वैशाखमा नेपाल प्रहरीको पेजमा सार्वजनिक भिडिओ हो। त्यसमा सन्देश दिइएको छः

म ओटिपी हुँ, मलाई कसैलाई नदेऊ
बैंकले कहिले फोन गरेर माग्दैन
मलाई दिएपछि तिम्रो पैसा तुरुन्तै हराउँछ।

सर्वसाधारण नागरिकलाई बैंक वा इ-सेवाबाट बोलेको भन्दै झुक्याएर ठगी गर्ने प्रवृत्ति बढिरहेको छ। खाता अपडेटका लागि भन्दै बैंक खाता नम्बर माग्ने र ओटीपी पठाउन लगाएर पैसा चोर्ने क्रम बढिरहेका बेला प्रहरीले नागरिकलाई सचेत गराउन यस्तो भिडिओ बनाउन थालेको छ।

प्रहरीले अपराध नियन्त्रण र सचेतनामा मात्र होइन, घटनाको सूचना दिने तरिका पनि परिवर्तन गरेको छ। पहिला कुनै आपराधिक घटनाको सूचना दिँदा कानुनी भाषा प्रयोग गरेर लामो विवरण र त्यस्तै प्रकृतिको विज्ञप्ति सार्वजनिक गर्थ्यो। तर, अहिले त्यस्ता घटनाको छोटो विवरण र स्थानसहितको पोस्टर बनाएर फेसबुक पेजमा सार्वजनिक गर्छ, जुन बुझ्न पनि सजिलो छ।

जस्तो– प्रहरीले सोमबार ‘नेपाल पुलिस’ पेजमार्फत ‘अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ’ शीर्षक दिएर पोस्टर सार्वजनिक गर्‍यो। जसमा पक्राउ परेको जिल्ला, पक्राउ पर्नेको नाम र अन्य छोटो विवरण उल्लेख छ।

त्यसैगरी, प्रहरीले वर्षा, बाढीपहिरो जस्ता प्राकृतिक विपद्का कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् भन्ने विवरण पनि यसरी नै सबैले बुझ्ने गरी सार्वजनिक गर्ने गरेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएका दुर्घटनाका विवरण पनि उसैगरी आकर्षक पोस्टर बनाएर सार्वजनिक गर्ने गरेको छ।

यसरी सार्वजनिक गरिएका भिडिओ, पोस्टर वा अन्य कन्टेन्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले लाइक, कमेन्ट र सेयरमार्फत अन्तरक्रिया गर्ने गरेका छन्। कतिपयले धन्यवाद दिन्छन् भने कतिले आलोचना पनि गर्ने गरेका छन्। कतिपयले सल्लाह-सुझाव दिन्छन्।

हावाहुरीका कारण रुख ढलेर अवरुद्ध सुनसरीको इटहरी-२०, तरहराको सडक खुलाउन पोसाकमै खटिएका प्रहरीहरू बन्चरो र खुकुरीले रुख हटाउँदै गरेको ‘रिल्स’ नेपाल प्रहरीले ९ जेठमा आफ्नो फेसबुक पेजमा अपलोड गर्‍यो। जसको पृष्ठभूमिमा गीत राखिएको छ–

हिउँद वर्षा, घाम वा पानी खटिन्छ चारै प्रहर
नागरिकका लागि समर्पित भई के गाउँ के सहर।

गीतले भिडिओलाई अझ आकर्षक बनाएको छ। जसमा एक दिनमै चार लाख २२ हजारले हेरेको भिडिओमा सोमबार साँझसम्म ६३३ जनाले प्रतिक्रिया जनाएका छन्। तीमध्ये धेरैले बाटोमा ढलेको रुख पन्छाउन प्रहरीलाई आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिएका छन्। भिडिओमा प्रतिक्रिया जनाउँदै भूपेन्द्र बोहोराले लेखेका छन्, ‘नेपाल प्रहरीले यस्तो कामका लागि एउटा कटिङ मेसिन राख्नुपर्छ।’

प्रहरीको पेजमा तीन साताअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले लामो पैदल दूरीको ग्रामीण गस्ती गरिरहेको भिडिओ पोस्ट गर्दै प्रहरीकै बारेमा गाइएको गीत राखिएको छ–

हर गाउँ हर नगरी
फूलको बास्ना सरी
नागरिकलाई मानी सर्वोपरि
हर पल हर घडी जनजनका लागि
खट्छ नेपाल प्रहरी।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीका प्रमुख, प्रहरी निरीक्षक दिवस कुँवर प्रहरीका यस्ता गतिविधि टिकटक, रिल्स र फेसबुक पेजमार्फत सार्वजनिक हुँदा आमनागरिकसँग अन्तरक्रिया भइरहेको बताउँछन्। भन्छन्, “पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले नागरिकमा छिटो सूचना पुगेको छ। नागरिकबाट पनि विभिन्न सूचना आउने गरेको छ। यसले प्रहरी र नागरिकलाई जोड्न सकारात्मक भूमिका खेलेको छ।”

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत यसरी सूचना प्रदान गर्न थालेको धेरै समय भएको छैन। २१ फागुनको प्रतिनिधिसभा चुनावअघिबाट मात्र प्रहरीले व्यवस्थित रूपमा यस्तो सूचना प्रवाह गर्न थालेको हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सोचअनुसार चुनावअघिबाट ‘कन्टेन्ट क्रिएसन’ सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्ले बताउँछन्।

उनका अनुसार प्रहरीले युवाको रुचि र आकर्षण कस्ता कन्टेन्टमा छ भन्ने अध्ययन गरेको थियो। त्यसका आधारमा अपराध, लागुऔषध, सुशासन, डिजिटल हिंसालगायत विषयमा कन्टेन्ट निर्माण गर्न थालिएको हो। उनी भन्छन्, “युवा पुस्ताको रुचिअनुसार समयसापेक्ष कन्टेन्ट क्रिएसन गरिएको हो। यसले अपराध नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा छ।”

बढ्दै गएको साइबर अपराध, गलत तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराधलगायतले चुनौती थपिएको भन्दै नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एड्भान्स एनालाइसिस सेल सुरु गरेको थियो। ११ चैत २०८२ मा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा सेल उद्घाटन गरेका थिए।

यस सेलले देशैभरका प्रहरी कार्यालयसँग क्लोज ग्रुप बनाएर काम गरिरहेको छ। जसले कुनै घटनाबारे तुरुन्तै सूचना लिएर कन्टेन्ट बनाउँछ र आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्छ।

त्यस्तै, प्रहरीले सोसल मिडिया ओर्डिनेसन डेस्क (एसएमसीडी) पनि बनाएको छ। त्यसले पनि सामाजिक सञ्जालको अध्ययन र घटनाको विश्लेषण गरेर कन्टेन्ट तयार पार्छ।

प्रहरीभित्रकै जनशक्ति प्रयोग गरेर सामाजिक सञ्जालका लागि कन्टेन्ट बनाउन मात्र १० जनाभन्दा बढीको समूह छ। एसपी धर्मराज भण्डारी नेतृत्वको टिमले सामाजिक सञ्जाल अध्ययन गरेर घटनाबारे जानकारी संकलन गर्छ र कन्टेन्ट बनाएर सञ्जालमा पोस्ट गर्छ।

पहिला प्रहरीले अपराध न्यूनीकरणका लागि सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत समुदायसँग मिलेर सचेतनामूलक कार्यक्रम गर्दै आएको थियो। “तर, बदलिँदो समय र प्रविधिको विकासले परम्परागत शैलीबाट मात्र अपराध न्यूनीकरण गर्न सम्भव भएन,” प्रहरी प्रवक्ता काफ्ले भन्छन्, “समाज जता गयो, प्रहरीका गतिविधि पनि त्यतै केन्द्रित गर्नुपर्ने भयो। हरेक गतिविधि डिजिटल भएसँगै अपराध पनि डिजिटल हुन थाल्यो। अपराध नियन्त्रणका लागि डिजिटल रूपमै काम गर्नुपर्ने अवस्था आयो।”

त्यसैले पनि प्रहरी प्रविधिको प्रयोग गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता काफ्ले बताउँछन्। भन्छन्, “यस अभियानले आमनागरिकमा सचेतना जगाउन र अपराध न्यूनीकरणमा धेरै सहज भएको छ। यसलाई अझै विस्तार गर्दै लैजाने योजनामा छौँ।”