काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

समाज

सर्वोच्च शिखरबाट विश्वको ध्यानाकर्षण गराउने अमृत परियारको प्रयास

१९ जेष्ठ २०८३
अमृत परियार। तस्बिर : रिना थापा
अ+
अ-

२१ मे २०२६। राति १२ बजेर १६ मिनेट गएको थियो। चिसो सिरेटो, चकमन्न अँध्यारो। फेरिरहेको सासको पनि एक एक हिसाब गर्न सकिने। आँखाले भ्याएसम्म केवल सेताम्मे हिमाल। जति सुन्दर दृश्य, त्यति नै डरलाग्दो। रोमाञ्च र डर दुवैले धड्कन बढाउने नै भए।

आरोहणको यस्तै रोमाञ्चक अनुभव गर्दै अमृत परियारले सगरमाथा शिखरमा पाइला टेके। शिखरमा पुग्नु मात्रै थिएन, उनको मुख्य उद्देश्य थियो– हिंसा र बलात्कारविरुद्ध विश्वलाई सन्देश दिनु।

८,८४८.८६ मिटरको उचाइमा उभिएर उनले भिडिओ सन्देश रेकर्ड गरे– एन्ड द वर्ल्ड, आई वान्ट टु से- स्टप रेप, स्टप भ्वाइलेन्स। किप सेफ डटर्स (म संसारलाई भन्न चाहन्छु, बलात्कार बन्द गर, हिंसा बन्द गर। छोरीहरूलाई सुरक्षित राख)। सगरमाथा आरोहणको सिलसिलामा उनले दिएका चार सन्देशमध्ये यो अन्तिम थियो।

अमेरिका बस्दै आएका पोखरा-१९ तल्लाकोटका अमृतले अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो सन्देश दिँदै आरोहण यात्रा थालेका थिए।

सामाजिक सञ्जालमा समेत पोस्ट गरिएको पहिलो सन्देशमा उनले नेपाल सरकारलाई सम्बोधन गर्दै लेखेका छन्– ‘यौनहिंसाका मामिलामा मौनता, ढिलासुस्ती र लापरवाही अब स्वीकार्य छैन। न्याय ढिलो हुनु भनेको न्याय नपाउनुसरह हो। र, यो सारा विश्वले हेरिरहेको छ।’

५,३६४ मिटरको सगरमाथा आधार शिविरमा पुगेर उनले दोस्रो सन्देश दिए– ‘यौनहिंसाका घटनालाई बेवास्ता गर्दा वा लुकाउँदा न्यायमा ढिलाइ हुन्छ वा न्याय नै मर्न सक्छ। मौनताले सुरक्षाको ग्यारेन्टी गर्दैन। यसले हिंसालाई झन् बढावा दिन्छ।’

यौनहिंसाको अपराधविरुद्ध कदम चाल्न नसक्ने व्यवस्था अक्षम हुन्छ भन्ने तेस्रो सन्देश अमृतले ६,११९ मिटरमा रहेको लोबुचे पिकबाट दिए।

उचाइमा पुग्ने उत्प्रेरणा

बलात्कारका घटनाबारे समाचारले विचलित बनाइरहन्थ्यो अमृतलाई। त्यसैबीच उनका जुम्याहा छोरी जन्मिए। त्यसले उनलाई झन् जिम्मवार र संवेदनशील बनायो। त्यसैले यौनहिंसाविरुद्ध आवाज उठाउने प्रभावकारी उपायबारे अझ सोच्न थाले। हिमाल चढ्ने आफ्नो चाहनालाई उनले त्यही प्रभावकारी उपायमा रूपान्तरण गरे।

“बलात्कारको घटनाबारे सुन्दा छटपटी हुन्थ्यो। नानीहरू जन्मेपछि त त्यस्ता समाचारले अझ बढी छटपटी हुन थाल्यो,” अमृत भन्छन्, “यसबारे कसरी र कहाँबाट आवाज उठाउन सकिन्छ होला भन्ने सोच्थेँ। आफूलाई हिमालको चढ्ने चाहना पहिल्यैदेखि भएकाले सबैभन्दा उपयुक्त विकल्प एभेरस्टको उचाइ नै देखेँ।’

तस्बिर : रिना थापा

केही चुनौतीसहित आफैँलाई प्रमाणित गरेर दिइने सन्देश थप प्रभावकारी हुन सक्छ भन्ने आकलनले उनलाई आरोहणको प्रेरणा दिएको थियो। दुई असफल अभ्यासपछि उनले आफैँलाई दिएको चुनौती पार गरेरै छोडे।

तेस्रो पटकमा बल्ल सफल

सगरमाथा आरोहणअघि उनले अन्य दुई हिमाल आरोहणको अभ्यास गरे। तयारीका लागि पनि आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण राम्रो मानिन्छ। त्यसैले सन् २०२२ मा उनले ८,१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणको प्रयत्न गरे। तर, खराब मौसमका कारण क्याम्प चारबाटै फर्किन बाध्य भए।

सन् २०२४ मा भने ६,८१२ मिटर मात्रै उचाइ रहेको तर तुलनात्मक रूपमा गाह्रो मानिने आमादब्लम चढ्ने निर्णय गरे। त्यसबेला उनलाई स्वास्थ्यले साथ दिएन।

अमृत भन्छन्, “आमादब्लम टेक्निकल माउन्टेन हो। त्यो चढ्यो भने अलि धेरै आरोहण सीप विकास हुन्छ भनेर चढ्ने योजना बनाएँ। तर, नाम्चेमा नै बिरामी परेपछि माथि जाने हिम्मत नै भएन।”

दुई साना हिमाल आरोहणको प्रयास असफल भए पनि उनले सगरमाथाको सपना देख्न छोडेनन्। अमेरिकामै पनि शारीरिक अभ्यास गरिरहे। अन्ततः आफ्नै लगानीमा उनले अप्रिल २०२६ मा सगरमाथा यात्रा तय गरे।

यात्रालाई सार्थक बनाउन यौनहिंसाविरुद्ध सन्देशको योजना बनाए। निकटस्थहरूसँग सल्लाह गरेर सन्देशहरू तय गरे। अनि अमेरिकामा परिवारसँग बिदा मागेर नेपाल आए।

अमृतका लागि तेस्रो पटकको आरोहण प्रयास पनि सहज भएन। क्याम्प चारमा पुगेपछि उनलाई गाह्रो हुन थाल्यो। त्यसैले क्याम्प दुईमै झरे र तीन दिन आराम गरे। त्यतिबेलासम्म सँगै गएका सबै साथीले आरोहण पूरा गरिसकेका थिए। त्यसैले उनलाई मानसिक दबाब परिरहेको थियो। अर्कातिर शिखरबाट सन्देश दिने सपना पूरा हुँदैन कि भन्ने पीरसमेत थियो। त्यसबेला परिवारका सदस्यले निकै प्रोत्साहन दिएको अमृत बताउँछन्।

भन्छन्, “तल झरेँ भन्दा आमाले पनि नराम्रो मान्नुभयो। छोरो सफल भएको हेर्ने उहाँको धोको थियो। श्रीमतीले पनि प्रोत्साहित गरिरहेकी थिइन्।”

दोस्रो पटक उकालो लाग्दा भने उनलाई केही सहज भयो। आफ्नो आँट र परिवारको प्रोत्साहनको बलमा उनी शिखर उक्लिछाडे। त्यसमा जसरी पनि सन्देश शिखर पुर्‍याउने चाहनाको शक्ति पनि मिसिएको अमृतको विश्वास छ।

“विश्वले नै सुन्नुपर्छ भन्ने चाहनाले सर्वोच्च शिखरबाटै सन्देश दिन मन लाग्यो। किनकि, यो नेपालको मात्र समस्या होइन,” शिखरमा पुगेको पल सम्झँदै अमृत भन्छन्, “त्यतिबेला बोल्न गाह्रो भएको थियो, तर बोलेँ। शिखरबाट सन्देश दिँदै छु भन्ने अनुभूतिले गर्व महसुस भएको थियो।”