काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

२० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा साबिक विजेता बंगलादेशसँग २-१ ले पराजित भएसँगै नेपालको यात्रा अन्तिम चारमै रोकिएको हो। योसँगै उपाधिमा ह्याट्रिक गर्न भारत पुगेको बंगलादेश फाइनलमा प्रवेश गरेको छ।

खेलको २३औँ मिनेटमा गीता रानाको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। दीपा शाहीको कर्नर किकबाट आएको बललाई गीताले सहजै गोल गरिन्।

तर नेपालको अग्रता धेरैबेर टिकेन। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रितु पोर्णा चक्माले कर्नरमार्फत सिधै प्रहार गरेको बलले जाली चुम्यो।

बराबरीतर्फ उन्मुख खेलमा नेपाल पुन: अभागी साबित भयो। दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मोसम्मत सागोरिकाको गोलसँगै बंगलादेशले जित सुनिश्चित गर्‍यो। उनले शमसुन्नहरले दिएको क्रसलाई हुलमुलमा गोलमा परिणत गरेकी हुन्।