आवरण
मनसुन कमजोर पार्ने र तापक्रम बढाउने जलवायु चक्रको प्रभाव पछिल्ला वर्षहरूमा बढ्दा नेपाली जनजीवनमा चौतर्फी असर
नेपालमा मनसुन सरदर ३० जेठमा भित्रिन्छ र १६ असोज (जून-सेप्टेम्बर)सम्म सक्रिय रहन्छ। वर्षभरि पर्ने पानीमध्ये करिब ८० प्रतिशत यही अवधिमा पर्छ। यो समय मुख्य बाली धान रोपाइँ गर्नेदेखि पानी भण्डारण, भूमिगत पानीको पुनर्भरणसम्मको अवसर पनि हो। तर, यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। मनसुनी वर्षा कमजोर भएर खडेरी पर्ने र गर्मी चम्किने भएपछि यसपालि कृषि उत्पादनदेखि समग्र जनजीवनमा असर पर्ने देखिन्छ।
यसपालि नेपालमा मनसुन कमजोर र तापक्रम वृद्धि गराउने कारक हो, प्रशान्त महासागरको सतहको तापक्रममा असामान्य परिवर्तनका कारण उत्पन्न हुने जलवायु चक्र ‘एल निनो’। यो जलवायु प्रभावका कारण नेपालसहित दक्षिण एसियाली क्षेत्रमा यस वर्ष मनसुन कमजोर हुने दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ)को प्रक्षेपण छ।
गत २५ वैशाखमा जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको ‘मनसुन जलवायु प्रक्षेपण’ ले पनि कोसीका दक्षिणी, मधेसका पूर्वी, लुम्बिनीका अधिकांश र कर्णालीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म देखाएको छ। विभागकी वरिष्ठ मौसमविद् एवम् प्रवक्ता विभूति पोखरेल भन्छिन्, “यो मनसुनमा एल निनोको प्रभावले कम वर्षा हुने, खडेरी पर्ने र तापक्रम बढ्ने हुँदा वर्षासँग सम्बन्धित सबै क्षेत्रलाई असर पार्छ।”
पानी कम पर्ने भएपछि खडेरीका कारण कृषि उत्पादन घटेर खाद्य संकट हुने चिन्ता बढाएको छ। देशको अधिकांश भूभागमा पर्याप्त र भरपर्दो सिँचाइ सुविधा नभएकाले आकासे पानीमा निर्भर खेती प्रणालीलाई यसपालिको सुक्खा मनसुनले थप असर पार्ने नेपाल कृषि अनुसन्धान परिषद् वरिष्ठ कृषि वैज्ञानिक सुधा सापकोटा बताउँछिन्। “अन्नभण्डार मानिने तराई-मधेससहितका क्षेत्रमै पानी कम पर्ने भएपछि यस वर्ष प्रमुख खाद्यान्न बाली धानको उत्पादन र उत्पादकत्व घट्ने सम्भावना छ,” उनी भन्छिन्, “यसले आन्तरिक उत्पादन अपुग भएर खाद्यान्न आयात बढाउनुपर्ने हुन सक्छ।”
मानव गतिविधिबाट बढ्दो कार्बन उत्सर्जनले विश्वव्यापी तापक्रम वृद्धि भइरहेको बेला ‘एल निनो’ ले थप विचलन ल्याउने जलस्रोतविज्ञ अजय दीक्षित बताउँछन्। “हामी झन् अस्थिर खालको मौसमी फेरबदलमा प्रवेश गरिरहेका छौँ,” उनी भन्छन्, “यस वर्षको अन्त्य अर्थात् डिसेम्बर २०२६ सम्ममा ‘सुपर एल निनो’ (दुई डिग्री सेल्सियस भन्दा बढिको तापमान वृद्धिलाई ‘सुपर एल निनो’ भनिन्छ।) को चरण आउँछ, यसले अर्को वर्ष झन् ठूलो विपद् ल्याउँछ भन्ने प्रक्षेपणहरू भइरहेका छन्।”
के हो ‘एल निनो’?
अध्ययनहरूले ‘एल निनो’ लाई प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रमसँग सम्बन्धित प्राकृतिक जलवायु चक्र भनेका छन्। यो ‘एन्सो’ (एल निनो साउदर्न असिलेसन) नामक जलवायु चक्रको एक महत्त्वपूर्ण चरण भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसन्धाता मदन श्रेष्ठ बताउँछन्। भन्छन्, “यसले पृथ्वीको वायुमण्डलीय प्रणालीलाई परिवर्तन गर्छ, विश्वव्यापी तापक्रम, वर्षा र हावापानीको ढाँचामा फेरबदल ल्याउँछ, र मनसुनमा ‘एल निनो’ को प्रभावले नेपालसहित दक्षिण एसियामा कम पानी पार्छ।” श्रेष्ठले सन् २००० मा गरेको अध्ययनले पनि ‘एल निनो’ चरणमा नेपालमा कम वर्षा हुने देखाएको थियो।
जलवायु वैज्ञानिक शोभा पौडेल नेपाल प्रशान्त महासागरभन्दा धेरै टाढा रहे पनि त्यहाँ विकास हुने ‘एल निनो’ ले निम्त्याउने अत्यधिक गर्मी, खडेरी, डढेलो जस्ता जोखिमपूर्ण घटनाले सताउने बताउँछिन्। “यो वर्ष त्यही देखिँदै छ,” उनी भन्छिन्।
‘एल निनो’ अचानक देखिने जलवायु चक्र होइन, बिस्तारै विकसित हुँदै जान्छ। “अमेरिकाको जलवायु पूर्वानुमान केन्द्रले एल निनो चाँडै देखा पर्ने सम्भावना रहेको र डिसेम्बर २०२६ मा उच्च बिन्दुमा पुग्न सक्ने भनेको छ,” १८ जेठको टेलिफोन कुराकानीमा श्रेष्ठले भने, “डिसेम्बरसम्ममा सुपर एल निनो चरणमा पुग्छ भन्ने प्रक्षेपण भइरहेका छन्।”

तस्बिर : नेपाल फोटो लाइब्रेरी
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले प्रशान्त महासागरको समुद्री सतह असामान्य रूपमा तातिन थालेकाले ‘एल निनो’ चरणको पूर्वतयारी अपनाउन मंगलबार (२ जुन) सूचना जारी गरेको छ। ‘यसले विश्वव्यापी तापक्रम तथा वर्षाको चक्रमा प्रभाव पार्नेछ, चरम मौसमी घटनाको जोखिम बढ्नेछ,’ डब्लूएमओले उल्लेख गरेको छ। पछिल्ला पूर्वानुमानहरूले यो जुनदेखि अगस्टसम्म ‘एल निनो’ प्रभाव देखिने सम्भावना ८० प्रतिशत रहेको देखाएका छन्। यस्तै, नोभेम्बरसम्ममा यो सम्भावना बढेर ९० प्रतिशत वा सोभन्दा बढी पुग्नेछ। ‘एल निनो’ को प्रभाव र अवधिबारे यकिन हुन बाँकी रहे पनि अधिकांश पूर्वानुमान मोडलले यो कम्तीमा मध्यम स्तरको र शक्तिशाली पनि हुन सक्ने संकेत गरेका छन्। एल निनोलाई प्रशान्त महासागरको सतहको तापक्रम वृद्धिका आधारमा कमजोर, मध्यम, शक्तिशाली र अति शक्तिशाली गरी चार वर्गमा बाँडिएको छ।

डब्लूएमओले यसअघि २८ मेमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ को अन्त्यसम्ममा ‘एल निनो’ पूर्ण रूपमा विकसित भइसक्ने हुँदा अर्को वर्ष थप विषम मौसमी घटना सिर्जना गर्ने चेतावनी दिएको थियो।
‘एल निनो’ औसतमा हरेक दुई वर्षदेखि सात वर्षमा देखा पर्छ। सामान्यतया नौ महिनादेखि १२ महिनासम्म रहन्छ। प्रशान्त महासागरमा असामान्य तापक्रम वृद्धिले बन्ने ‘एल निनो’ चरणले विश्वभरको मौसमी अवस्थालाई प्रभावित बनाउँछ। केही क्षेत्रमा चरम मौसमी अवस्था र जलवायुजन्य घटना बढाउँछ। ‘एल निनो’ ले अफ्रिकाको होर्न क्षेत्र र दक्षिण अमेरिकी क्षेत्रमा बाढी निम्त्याउँछ। दक्षिण-पूर्वी एसिया, अस्ट्रेलिया र दक्षिणी अफ्रिकामा असामान्य प्रकृतिको खडेरी र गर्मी ल्याउँछ।
प्रशान्त महासागरमा ‘एल निनो’ का साथै अर्को जलवायु चक्र ‘ला निना’ चल्छ। सन् २०२२ मा ग्लोबल सोसल साइन्स रिभ्यू जर्नलमा प्रकाशित ‘विश्वव्यापी मौसममा एल निनो र ला निनाको प्रभाव’ शीर्षकको अनुसन्धान लेखअनुसार प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा तातो हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ। यसको ठीक विपरीत सोही क्षेत्रको तापक्रम असामान्य रूपमा चिसो हुने अवस्थालाई ‘ला निना’ भनिन्छ।
खडेरीको दुश्चक्र
नेपालमा देखिने खडेरीका प्रमुख घटना प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’ सँग प्रत्यक्ष रूपमा जोडिएका छन्। प्रत्येक पटकको ‘एल निनो’ ले मनसुनी वर्षा कमजोर बनाई खडेरी निम्त्याउने गरेको त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम केन्द्रीय विभागका उपप्राध्यापक दामोदर बगालेको अध्ययनले देखाएको छ।
बगालेले स्नातकोत्तर तहको शोधका क्रममा सन् १९७७ देखि २०१८ सम्म ४२ वर्षको मौसमी तथ्यांक विश्लेषण गरेको अध्ययन सन् २०२२ मा प्रकाशन भएको थियो। उनको अध्ययनअनुसार सन् १९९२ मा ‘एल निनो’ कै कारण नेपालमा औसतभन्दा १९.२९ प्रतिशत कम वर्षा भएको थियो। जसलाई नेपालको इतिहासमै सबैभन्दा खराब खडेरी वर्षका रूपमा चिनिन्छ। यसपछि सन् २०१५ मा सरदरभन्दा १७.५९ प्रतिशत कम वर्षा भएको थियो।
सन् १९८२ र २००९ मा पनि कम वर्षा भएर खडेरी चलेको थियो। सन् १९८२, १९९२, २००९ र २०१५ का खडेरी ‘एल निनो’ वर्षका थिए। ‘एल निनो’ वर्षमा मनसुनी वर्षा सरदरभन्दा लगभग नौ प्रतिशतले कम हुने गरेको छ। तर, सन् १९८७ र १९९८ मा ‘एल निनो’ वर्ष भए पनि सरदरभन्दा बढी वर्षा भएको थियो। मौसमी तथ्यांक अध्ययन गरिएका ४२ वर्ष (१९७७-२०१८) मध्ये उपप्राध्यापक बगालेले १९८२, १९८३, १९८७, १९९१, १९९२, १९९७, १९९८, २००२, २००४, २००९, २०१५, र २०१६ लाई ‘एल निनो’ वर्षमा वर्गीकृत गरेका छन्।
मनसुनमा देखिने खडेरीका सबै घटना ‘एल निनो’ सँग मात्रै जोडिँदैनन्। स्थानीय तथा क्षेत्रीय वायु, जलवायु परिवर्तनको प्रभाव र हिन्द तथा प्रशान्त महासागरमा देखिने अन्य मौसमी प्रणालीले पनि मनसुन याममा खडेरी ल्याउँछ। सन् १९७७, १९७९, २००५ र २००६ मा मनसुनका खडेरी ‘एल निनो’ नभएका (सामान्य) वर्षमा रेकर्ड भएका थिए। बगाले भन्छन्, “एल निनोले भने अन्य खडेरीभन्दा पनि कडा खालको खडेरी ल्याउँछ।” कुनै क्षेत्रमा धेरै महिनासम्म वार्षिक औसतभन्दा कम वर्षा भयो भने सुक्खापन हुन्छ। त्यसलाई मौसमजन्य खडेरी पनि भनिन्छ। खडेरीले पानीका मूल, इनार, तालतलैया र सिमसार क्षेत्रमा पुनर्भरण नभएर पानीको सतह घट्छ। खोला, नदीनालामा पानीको प्रवाह र मात्रा घट्छ। यसले गर्दा कृषि कर्मका लागि पानीको अभाव भएर बाली उब्जनी र पशुजन्य उत्पादन घट्छ।

२०८२ को मनसुन अवधिमा मधेसमा प्रदेशमा परेको खडेरी। तस्बिरः युनिसेफ
२०८२ साल र त्यसअघि २०८० सालको मनसुनमा नेपालमा खडेरी देखिएको थियो। २०८२ सालको मनसुनमा मधेसका अधिकांश भूभाग, कोसी, बागमती र गण्डकीका केही भेगमा खडेरी परेको थियो। धान रोपाइँ गर्ने मुख्य सिजनमै अधिकांश भूभागमा पानी नपरेपछि सरकारले साउन २०८२ मा मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
२०८० सालमा भने मधेस प्रदेशको मध्य र पश्चिमी, बागमतीको दक्षिणी र कर्णाली प्रदेशका केही भूभागमा मध्यम खडेरी परेको थियो। जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा २५ देखि ५० कम वर्षा हुने अवस्थालाई मध्यम खडेरीमा वर्गीकृत गरेको छ।
२०८० सालको मनसुनको खडेरी ‘एल निनो’ प्रभावसँग जोडिने त्रिविका उपप्राध्यापक बगाले बताउँछन्।

डब्लूएमओका अनुसार पछिल्लो पटक जुलाई २०२३ देखि अप्रिल २०२४ सम्म ‘एल निनो’ देखा परेको थियो। २०२३/२४ को ‘एल निनो’ हालसम्म रेकर्ड गरिएका पाँच सबैभन्दा शक्तिशालीमध्ये एक थियो। यस अवधिमा एसिया, अस्ट्रेलिया, अफ्रिकालगायत क्षेत्रमा एक खर्ब तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्षति भएको थियो। २०२३/२४ को ‘एल निनो’ ले सन् २०२४ लाई हालसम्मकै सबैभन्दा तातो वर्ष र सन् २०२३ लाई हालसम्मकै सबैभन्दा दोस्रो तातो वर्षको रेकर्ड बनाउन योगदान गरेको डब्लूएमओले जनाएको छ।
नेपालमा मनसुनमा सरदर १५७०.४ मिलिमिटर वर्षा हुन्छ। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार २०८० सालको मनसुनमा सरदरभन्दा कम ९१.२ प्रतिशत मात्रै वर्षा भएको थियो। उक्त वर्ष औसत अधिकतम तापक्रम २७.९ सेन्टिग्रेड थियो, जुन सरदर वार्षिक अधिकतम तापक्रमभन्दा ०.६ सेन्टिग्रेड बढी थियो। विभागकी वरिष्ठ मौसमविद् पोखरेल २०८० सालको मनसुनमा २०२३/२४ को ‘एल निनो’ तटस्थ अवस्थामा पुगिसकेकाले नेपालमा प्रभाव नपरेको दाबी गर्छिन्। तर, जुनदेखि सेप्टेम्बरसम्म नेपालमा मनसुन हुने र त्यहीबीचमा ‘एल निनो’ देखिएकाले यसको प्रभाव नपरेको भन्ने दाबी बलियो छैन।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३/२४ को ‘एल निनो’ ले दक्षिण अफ्रिकामा पछिल्लो सय वर्षकै सबैभन्दा खराब खडेरी निम्त्याएको थियो। खडेरीले आधाभन्दा बढी खेती बाली नष्ट भयो। खाद्यान्नको भण्डार मात्र रित्तिएन, बजारमा खाद्य वस्तुको भाउ महँगियो। यस क्षेत्रका दुई करोड मानिसले गम्भीर खालको भोकमरी सामना गर्नुपरेको थियो। ३९ लाखभन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भए, जसमध्ये ११ लाख बालबालिका गम्भीर कुपोषणको सिकार भए।
बहुआयामिक असर
नेपालमा वर्षा र हिउँद याममा हुने खडेरीले कृषिमा आधारित जीविकोपार्जनलाई पहिलो निसानामा पारेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, २०२२’ मा पनि ६५.४ प्रतिशत किसान परिवारले खडेरीको मार खेपिरहेको बताएका थिए। प्रत्यक्ष अन्तर्वार्तामार्फत गरिएको सर्वेक्षणमा देशभरिका ६ हजार ५०८ घरपरिवार सहभागी थिए। एकै थलोमा २५ वर्षदेखि बस्दै आएका ४५ वा सोभन्दा बढी उमेरका बासिन्दालाई सर्वेक्षणमा सहभागी गराइएको थियो।
जलवायु परिवर्तनको कारण ‘एल निनो’ चरण छिटो छिटो बनिरहेको छ। यसले विषम मौसमी प्रणाली ल्याउने हुँदा मौसम पूर्वानुमानलाई चुनौती थपिरहेको विभागकी वरिष्ठ मौसमविद् पोखरेल बताउँछिन्। भन्छिन्, “एक त हामीसँग ट्रेन्ड देखाउने लामो अवधिको तथ्यांक छैन, त्यहीमाथि विषम खालका मौसमी प्रणाली छिटो छिटो देखिने भएपछि पूर्वानुमानमा अनिश्चितता थपेको छ।”
‘एल निनो’ ले विश्वका धेरै भागमा अत्यधिक गर्मी, तातो हावाको लहर (लु) र खडेरी निम्त्याउँछ, डढेलोको जोखिम बढाउँछ। वातावरण विज्ञानका अनुसन्धाता उत्तमबाबु श्रेष्ठ भन्छन्, “विगतमा पनि ‘एल निनो’ हुन्थ्यो, अहिले जलवायु परिवर्तनले गर्दा यसको आवृत्ति र रफ्तार बढेको छ।” जलवायु परिवर्तनको असरले पहिलेको भन्दा अहिलेको पुस्ता (जेन-जी, अल्फा, बेटा) बढी प्रभावित हुने अनुमान गरिएको छ।
नेपालसहित दक्षिण एसियाली देशमा ‘एल निनो’ को प्रभाव विनाशकारी र बहुआयामिक छ। विश्वव्यापी तापक्रम बढाउने भएकाले यस क्षेत्रमा ताप लहर, खडेरीको चुनौती थपिन्छ। साथै, मौसममा असामान्य परिवर्तन ल्याउँछ। खडेरीले कृषि उत्पादनमा ह्रास आउँछ र बालीनाली नष्ट हुन्छ। खाद्यान्नको अभाव हुने र बजारमा उपभोग्य वस्तु महँगिन्छन्। खानेपानीका मुहान सुक्ने र उब्जनी कम भएर खाद्यान्न अभाव हुने जस्ता समस्याले बसाइँसराइ गराउँछन्। अत्यधिक गर्मी र बाढीका कारण हैजा जस्ता महामारी, श्वासप्रश्वाससम्बन्धी रोग, कुपोषण र तातोको तनाव जस्ता स्वास्थ्य समस्या बढ्छन्।

जलवायु परिवर्तनबारे सचेतना जगाउँदै। तस्बिर : युनिसेफ
वन तथा भूसंरक्षण विभागको ‘सुक्खा भूमि व्यवस्थापन स्रोत पुस्तिका’ मा उल्लेख भएअनुसार नेपालमा पछिल्ला केही दशकमा जलवायु परिवर्तनको असर स्पष्ट रूपमा देखिएको छ। २०२७ देखि २०७० सालसम्मको मौसमी तथ्यांकको विश्लेषणले यहाँको औसत वार्षिक वर्षा करिब १.३ मिलिमिटर बर्सेनि घट्दो क्रममा छ। केही स्थानमा भने असामान्य रूपमा उच्च वर्षा हुने र लगातार वर्षा कम हुने अवस्था पनि देखिएको छ। लामो समयसम्म वर्षा नहुने, अचानक भारी वर्षा हुने र तापमान वृद्धिले गर्दा सुक्खा खडेरी बढेको छ। २०२७ देखि २०७० सालसम्म अवधिको नेपालको तापक्रमको अध्ययनले वार्षिक औसत तापक्रम वृद्धिदर प्रतिवर्ष करिब ०.०५६० डिग्री सेल्सियस रहेको देखाएको छ।
त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागमा सहप्राध्यापक रहेका अर्का जलवायुविज्ञ सुदीप ठकुरी ‘एल निनो’ चरणमा तापक्रम बढेर हिमाल पग्लिने दर बढ्ने बताउँछन्। “यसपालिको एल निनो कडा खालको हुन्छ भन्ने कुरा आएको छ। हिमालमा गर्मी बढ्यो भने हिउँ पग्लिने दर बढ्ला, हिमपहिरोको जोखिम पनि बढ्न सक्छ,” उनी भन्छन्। यस वर्ष देशैभर सरदर तापक्रम वृद्धिको सम्भावना रहेकाले उच्च हिमाली भेगमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम रहेको विभागको पूर्वानुमान छ। तराई मधेसका भूभागमा अत्यधिक गर्मी वा ‘लु’ को जोखिम छ। विभागका अनुसार देशैभरको अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
मौन विपद्लाई बेवास्ता
जलवायुविज्ञ ङमिन्द्र दाहालका अनुसार खडेरीको असर पानीका स्रोत र पहुँचमा मात्रै सीमित छैन। वन डढेलो, बाली नोक्सानी, वायु प्रदूषण, उत्पादकत्वमा ह्रास, सरसफाइमा कमीलगायत समस्या लामो खडेरीसँग जोडिएको उनी बताउँछन्। भन्छन्, “खडेरी मौन रूपमा प्रकट भएको ठूलो विपद् हो। यसबारे सार्वजनिक रूपमा बहस गरिँदैन, मिडियाले समेत कमै बोल्छन्, लेख्छन्।”
जलस्रोतविज्ञ दीक्षित जलवायु परिवर्तन र ‘एल निनो’ को तीव्र प्रभावले खडेरीको बोझ बर्सेनि थपिँदै गए पनि क्षति न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यान नपुगेको बताउँछन्। “बाढीको प्रतिकार्यबारे सरकार जति तयार हुने गर्छ, खडेरीबारे तयारी छैन,” उनी भन्छन्, “जलवायु परिवर्तनको असरबारे बहसहरू भए पनि जलवायु वित्त (क्लाइमेट फाइनान्सिङ), अनुदान, विद्युतीय सवारी, पूर्वाधार संरचना बनाउनेमा मात्रै केन्द्रित छन्, हामीले जलवायु अनुकूलन गर्ने हो, यसतर्फ ध्यान पुगेको छैन।” बरु, पूर्वाधार संरचना निर्माणको नाममा खोलानाला, वन जंगलको प्राकृतिक स्वरूपलाई बिगार्दा जलवायुजन्य विपद्लाई बढावा दिएको उनी बताउँछन्।
जलवायु वैज्ञानिक पौडेल सरकारले जलवायु अनुकूलन, विपद् न्यूनीकरणसम्बन्धी नीति बनाए पनि त्यसमा ‘एल निनो’ को प्रभावलाई प्रत्यक्ष सम्बोधन नगरेको बताउँछिन्। “मनसुन कार्ययोजना छ, तर मनसुनमा एल निनोका कारण हुने खडेरी सामना गर्ने तयारी पुगेको छैन,” उनी भन्छिन्, “जल तथा मौसम विज्ञान विभागले समेत ट्याक्क मिल्ने गरी मौसम पूर्वानुमान दिन सकेको छैन।”
विषम मौसमी घटनाले किसान र आममानिसलाई पार्ने असर न्यूनीकरण गर्न सरकारले मौसम पूर्वानुमानलाई विश्वसनीय बनाउनुपर्ने तथा जलवायु अनुकूलन र विपद् न्यूनीकरणका मौजुदा नीतिहरूलाई ‘एल निनो’ चरणसँग जुध्न सक्ने गरी संशोधन गरिनुपर्ने उनको सुझाव छ।

लामो समयदेखि पानी नपर्दा महोत्तरीको मटिहानी गाउँमा चिन्तित किसान। तस्बिर : नेपाल फोटो लाइब्रेरी
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवम् प्रवक्ता शान्ति महत खडेरी सामना गर्न देशव्यापी कार्ययोजना बनाएर समाधान थालिएको बताउँछिन्। “हामीले कार्ययोजनामा संघदेखि पालिका तह र सरोकारवाला निकाय सबैको जिम्मेवारी तोकेका छौँ, सोहीअनुसार नै खडेरी रेस्पोन्स गर्दै अघि बढ्छौँ,” उनी भन्छिन्। सरकारले यही वर्ष (२०८३) बाट मात्रै खडेरीका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य थालेको हो। खडेरीसम्बन्धी राष्ट्रिय कार्ययोजनामा हरेक पालिका खडेरी जोखिम नक्सांकन गरी खडेरीको हटस्पट वडा पहिचान गर्ने र खडेरी आकस्मिक योजना तयार पार्ने, वर्षाको पानी संकलन, मुहान संरक्षण र साना-मझौला जलाशय निर्माणसम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने जस्ता १० बुँदा समेटिएको छ। यस्तै, खडेरी सहनशील बाली लगाउने, वैकल्पिक बाली क्यालेन्डर निर्माण गर्ने, खडेरी प्रभावितलाई तत्काल राहत दिन सकिने गरी आकस्मिक बजेट व्यवस्था गर्ने योजना समेटिएका छन्।
यस्तै, राष्ट्रिय कृषि नीति, २०७६ मा सिँचाइ अभाव भएका क्षेत्रमा सुक्खा सहन सक्ने कृषि बाली, जैविक मल र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन दिइने प्रावधान छ। तर, किसानले यसबाट पर्याप्त लाभ उठाउन सकेका छैनन्। नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ कृषि वैज्ञानिक सापकोटा भन्छिन्, “नौ/दश वर्षयता सुक्खा सहने धान लगाउन किसानलाई प्रोत्साहित गरिरहेका छौँ, प्रचारप्रसार अलि पुर्याउनुपर्नेछ।” कृषि, वन तथा पर्यावरण मन्त्रालयले पनि खडेरी सहने क्षमता भएका सुक्खा-१, सुक्खा-२, सुक्खा-३, सुक्खा-४, सुक्खा-५ र सुक्खा-६ जस्ता जातका धान लगाउन सिफारिस गरेको छ।