मौसम
यो वर्ष मनसुनमा कम पानी पर्ने प्रक्षेपण गरिएकाले कृषि उत्पादनमा असर पर्ने त छँदै छ, अप्रत्याशित वर्षा र ‘एल निनो’ चरणले निम्त्याउने विपद्को सामना गर्न पनि पूर्वतयारी अपनाउनु बुद्धिमानी हुनेछ।
हामी जुन महिनाको पहिलो सातामा रहँदा प्रि-मनसुनको सक्रियता कायमै छ। यो पश्चिमी वायुको खेलका साथै हाम्रो स्थानीय वायुको पनि प्रभाव हो। मनसुन प्रवेश गर्नुअघिको समय खासगरी मार्चदेखि मेसम्मलाई प्रि-मनसुन भनिन्छ। अफगानिस्तान, पाकिस्तान हुँदै पश्चिम नेपालबाट पूर्वतिर बहने पश्चिमी वायु मे अन्तिमदेखि नै कमजोर हुँदै जानुपर्नेमा अहिले जुनसम्म लम्बिएको छ। अघिल्ला वर्षहरूभन्दा यस वर्षको प्रि-मनसुनमा धेरै वर्षा भएको छ।
तर, यसपालि मनसुनमा पानी कम पर्ने मौसमी प्रक्षेपण छ। अहिलेसम्म विकास भएका मौसमी प्रणालीले यस वर्ष मनसुन सरदरभन्दा ढिलो सुरु हुने र कमजोर पनि रहने देखाएका छन्। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट हुने मनसुन नेपालमा सामान्यतया ३० जेठमा भित्रिन्छ। यो सुरुमा भारतको दक्षिणी केरल राज्यमा प्रवेश गर्छ। त्यहाँ प्रवेश गरेको १० देखि १३ दिनभित्रमा ३० जेठमा पूर्वी नेपाल हुँदै भित्रिने हो। देशैभरि मनसुन फैलिन भने एक साता जति लाग्छ।
यो वर्ष सरदरभन्दा तीन दिन ढिला गरेर ४ जुन (२१ जेठ)मा बल्ल केरलमा मनसुन आइपुगेको छ। यो त्यति उत्साहजनक छैन। अहिले देखिएको पश्चिमी वायुको प्रभाव आउँदो ७ जुनसम्म नै रहने सम्भावना छ। यो हटिसकेपछि मात्रै मनसुनले अलि गति लिने हो। केरल छिरेको मनसुन बाङ्लादेश र सिलगढी हुँदै पूर्वी नेपाल पस्छ। मनसुनी प्रक्रिया सुरु भइहाले पनि यसपालि पश्चिमी हावाको सक्रियताकै कारण सुस्त र ढिलो गतिमा फैलिने देखिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
त्यसमाथि यस वर्ष जलवायु चक्र ‘एल निनो’ को प्रभावसमेत भएकाले मनसुनमा कम पानी पर्ने प्रक्षेपण भइसकेको छ। वर्षा कम भए तापक्रम बढ्ने, खडेरी पर्ने, नदीनालाको बहाव घट्ने हुन्छ। नेपालमा सञ्चालित जलविद्युत् परियोजनाहरू नदी प्रवाहमा आधारित भएकाले खोलाहरूमा पानी घटेपछि यसपालि विद्युत् उत्पादन क्षमतामा गिरावट आउन सक्छ। प्रशान्त महासागरको सतहमा विकसित भएको ‘एल निनो’ चरणले हामीकहाँ मनसुन अवधि रहने सेप्टेम्बर/अक्टोबरसम्म नै प्रभाव पार्नेछ।
जल तथा मौसम विज्ञान विभागको आधिकारिक घोषणाअनुसार गत वर्ष यसबेला नेपालमा मनसुन आइसकेको थियो, भलै त्यो बीचमा रोकियो। गत वर्ष सरदरभन्दा १० दिनअगावै पूर्वी नेपालमा मनसुन प्रवेश गरिसकेको थियो। सुरु भइसकेपछि खडेरीको स्थिति पनि देखिएको थियो।
तापमान वृद्धि, हावाको बहावमा आउने फेरबदललगायत विषम मौसमी प्रणालीका कारण नेपालमा असर थपिइरहेको छ। हामी उसै पनि चरम खालका मौसमी प्रणालीको उच्च जोखिममा छौँ। उत्तरमा हिमशृंखला छन्, तापक्रम बढ्नेबित्तिकै हिमालमा सिधै असर देखिइहाल्छ। तापक्रम वृद्धिले हिउँ पग्लिने दर बढेको छ। गएको साता मात्रै विद्यार्थीहरूको परियोजना कार्यका लागि हामी दुई हजार ४२१ मिटर उचाइमा रहेको कास्कीको मादी गाउँपालिका-१ स्थित कपुचे ताल पुगेका थियौँ। स्थानीयवासीले हिउँ पग्लिने क्रम एकदमै बढेको सुनाए।
यसपालि मनसुन कमजोर हुने हुँदा आकासे पानीमा निर्भर हाम्रो कृषि प्रणालीलाई पिर्ने देखिन्छ। यसबाट खाद्यान्न उत्पादनमा असर पर्नेछ। गर्मी अचाक्ली बढ्ने प्रक्षेपण पनि भएकाले जनजीवनलाई कष्ट पुग्ने त भइहाल्यो।

लामो समयदेखि पानी नपर्दा महोत्तरीको मटिहानी गाउँमा धानको अवस्था। तस्बिर : नेपाल फोटो लाइब्रेरी
पानी कम पर्ने मौसमी अवस्थाप्रति सजग भएर किसानले सुक्खा सहन सक्ने जातका बालीनाली लगाउनु बेस हुन्छ। मनसुन ढिला भित्रिने र ढिलै विस्तार हुने भनेर बेवास्ता गर्न पनि मिल्दैन। चरम मौसमी प्रणालीले जस्तोसुकै विपद् ल्याउन सक्छ। गर्मी अत्यधिक बढी हिउँ पग्लिएर, हिमताल विस्फोट भएर बाढी-पहिरो ल्याउन सक्छ। अचानक घनघोर वर्षा भएर बाढी, पहिरो र डुबानको विपद् आउन सक्छ।
मनसुन भनेको जमिनमा पानी सिञ्चित हुने गरी एकनासले लगातार पानी पर्ने मौसमी प्रणाली हो। तर, पछिल्ला दशकमा जलवायु परिवर्तन र ‘एल निनो’ जलवायु चक्रको विकासका कारण वर्षाको चरित्र बदलिएको छ। पहिले तीन दिन लगाएर जुन मात्राको पानी पर्थ्यो, पछिल्ला वर्षमा एक घण्टामै त्यो मात्राको आरीघोप्टे पानी पर्न थालेको छ, जुन जनधनको क्षतिका हिसाबले विनाशकारी हुने गरेको छ।
यसपालि मनसुन ढिलो सुरु हुने र कमजोर प्रकृतिको हुने भए पनि मनसुन र ‘एल निनो’ ले निम्त्याउने विपद्को सामना गर्न पूर्वतयारी अपनाउनु बुद्धिमानी हुनेछ।
(त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक रहेका मौसमविद् सिग्देलसँग विद्या राईले गरेको कुराकानीमा आधारित।)