काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

पर्यटन

नेपालमा क्यानोनिङ पर्यटनको प्रचुर सम्भावना रहे पनि छैन सरकारको प्राथमिकतामा

२४ जेष्ठ २०८३
तस्बिरहरू : मोहनीको फेसबुक
अ+
अ-

पोखरा। ‘जाऔँ झरनामा झुन्डिन!’

एक दशकअघिको कुनै दिन मोहनी खनाललाई काठमाडौँमा साथीहरूले प्रस्ताव गरे।

सुरुमा त उनलाई अचम्म लाग्यो। झरना हेर्न वा छाँगोमा नुहाउन जाने ठाउँ पो हो, झुन्डिने भनेको के हो भनेर उनी तिर्मिराए।

तैपनि साथीहरूको लहैलहैमा पछि लागेर पुगे, सुन्दरीजल। त्यहाँको झरनामा मानिसहरू डोरी समातेर पानीको बहाव ओइरिरहेको भित्तामा टेक्दै खुब जोडबल लगाएर चढिरहेको देखे। यस्तो खेलमा मान्छे रमाइरहेको देखेर उनी चकित परे। यो खेल क्यानोनिङ थियो, जसले मोहनीलाई अन्तत: मोहनी नै लगायो। तालिम लिएर यो खेलको विद्या सिकेपछि उनी रमाउन थाले झरनामा। छाँगोको पानीसँग पौँठेजोरी खेल्दै झरनाको भित्तामा उक्लिन थाले। साहसिक खेल उनका लागि रोमाञ्चक संसार बन्यो।

यही सोखलाई मोहनीले व्यवसाय बनाएका छन्। यसमार्फत पर्यटन प्रवर्द्धनमा एक दशकयता जुटिरहेका छन्।

‘मसाने गैरो’ ले खोलेको ढोका

क्यानोनिङको रहरले मोहनीलाई सन् २०१६ मा फ्रान्स पुर्‍यायो। उनी त्यहाँ क्यानोनिङका लागि प्राविधिक तालिम लिन गएका थिए। त्यहाँ एक वर्ष तालिम लिएर नेपाल फर्किए।

स्याङ्जाको वालिङ नगरपालिका निवासी उनले आफ्नो गाउँठाउँमा रहेको झरनामा क्यानोनिङमार्फत पर्यटनको सम्भावना देखे। वालिङ नगरपालिका-४ मा खाल्टे झरना छ। उनले २०७६ सालमा त्यहीँ क्यानोनिङको सुरुआत गरे।

खाल्टे झरनामा साहसिक खेल खेल्ने उनको योजना सुनेर सुरुमा स्थानीयहरूले खिल्ली उडाएका थिए। मानिसहरूले उनको खेलबारे नभई खेलका लागि रोजेको ठाउँका कारण खिसी गरेका थिए। झरना रहेको खोल्सा ‘मसाने गैरो’ भनेर चिनिन्थ्यो। मसान लाग्ने भन्दै त्यसको छेउछाउ जानसमेत मानिसहरू डराउँथे। त्यता गए अदृश्य तत्त्वले तान्छ भन्ने डरका कारण मानिसहरू गाईबस्तु चराउन र घाँसपातका लागि जानै डराउँथे।

त्यस्तो त्रासको माहोलमा मोहनीले स्थानीय युवालाई त्यहीँ जम्मा पारेर क्यानोनिङको तालिम दिने योजना बुनेका थिए। डरमर्दो ठाउँ रोज्नुका साथै युवाहरूलाई जोखिमयुक्त खेल खेलाउन लागेकामा स्थानीयले विरोध गरे। “छहरामा झुन्डिँदा डोरी चुँडिएर हातखुट्टा भाँचिन्छ, यस्तो पनि खेल हुन्छ भन्दै गाउँलेहरूले गाली गरेका थिए,” उनी सम्झन्छन्।

सम्झाइबुझाइपछि भने युवाहरूलाई तालिम दिन सफल भए। योसँगै क्यानोनिङ गर्न आएका देशी-विदेशी पाहुनाको अनुभव सुनेर पनि स्थानीयले यसबारे बुझ्दै गए।

उनले स्याङ्जामा क्यानोनिङ गर्दा नेपाल पर्यटन बोर्डले सहयोग गर्‍यो। नेपाल क्यानोनिङ एसोसिएसनको प्राविधिक टोलीले पनि सघायो।

त्यसयता उनी क्यानोनिङको प्रवर्द्धनमा निरन्तर लागिरहेका छन्। उनले स्याङ्जामा रहेको सुन्तलाबारी होमस्टेमा अन्य क्रियाकलापका रूपमा क्यानोनिङलाई जोडेका छन्। जसले पर्यटकको बसाइ एकदिन भए पनि लम्ब्याएको छ। स्याङ्जामा वालिङ-४ र बयरघारीमा गरी दुई ठाउँमा क्यानोनिङ सञ्चालनमा छन्।

उनी सिंगो गण्डकी प्रदेशमा साहसिक पर्यटनको प्रवर्द्धन गर्न क्यानोनिङलाई पनि प्राथमिकता दिनुपर्छ भनेर लागिपरेका छन्। यसका लागि उनीसहितको टोलीले विभिन्न झरना पुगेर अध्ययन गरिरहेको हुन्छ। स्याङ्जाको आँधीखोला गाउँपालिकामा सम्भाव्यता अध्ययन भएर क्यानोनिङ सञ्चालन हुन लागेको उनी बताउँछन्। कास्कीमा पनि नयाँ ठाउँमा क्यानोनिङ सञ्चालनमा आउन लागेको छ।

गण्डकी प्रदेशको कुरा गर्दा सुरुमा व्यावसायिक रूपमा दर्ता भएर सञ्चालन भएको ‘पोखरा क्यानोनिङ’ हो। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको यो क्यानोनिङमा पर्यटक खुब झुम्मिन्छन्। यसका साथै लमजुङ र पर्वतमा पनि क्यानोनिङ सञ्चालनमा छन्। तर, क्यानोनिङको हुनुपर्नेजति प्रचारप्रसार नभएको मोहनीको गुनासो छ।

खेलका चुनौती

क्यानोनिङ एसोसिएसनले तालिम दिएर क्यानोनिङ गाइडका उत्पादन गर्दै आएको छ। तर, दक्ष जनशक्तिको अभाव नै यो व्यवसायको मुख्य चुनौती रहेको मोहनी बताउँछन्। पर्यटक हरेक मौसममा नआउने भएकाले नियमित रोजगारी नपाएर तालिमप्राप्त जनशक्ति नटिकेका हुन्। उनी भन्छन्, “पाहुना आइराखेर नियमित रोजगारी सिर्जना भयो भने पो उनीहरू यहाँ रोकिन्थे। काम कहिले हुने र कहिले नहुने पार्टटाइम जस्तो हुँदा उनीहरू विदेश पलायन भए।”

यस खेलमा कामचलाउ जनशक्तिको प्रयोग गरेर जोखिम लिन नमिल्ने उनी बताउँछन्।

उनका अनुसार यो खेल प्रत्येक सिजनमा खेलाउन मिल्छ। पर्यटकको रोजाइअनुसार पानीको बहाव मिलाएर पनि खेलाउन मिल्छ। “विदेशमा सुक्खा क्यानोनिङ खेलाउने अभ्यास पनि छ। त्यसैले यसका लागि पानीको बहाव बढी नै हुनुपर्छ भन्ने छैन,” उनी भन्छन्।

नेपालमा क्यानोनिङ पर्यटनको प्रचुर सम्भावना रहे पनि सरकारले बुझ्न नसकेको उनको भनाइ छ। उनका अनुसार यससम्बन्धी स्पष्ट नीति नै छैन। “हामीकहाँ नीति र ऐन स्पष्ट छैन, सबै क्षेत्रलाई छोएकै छैन। माउन्टेनियरिङ, रक क्लाइम्बिङ र र्‍याफ्टिङको छुट्टै बनाएको छ, तर क्यानोनिङलाई उल्लेख नै गरिएको छैन,” उनी भन्छन्, “खेलहरूलाई एउटै बास्केटमा नहाली विशिष्टीकृत सम्बोधन गरेर जाऔँ न भन्ने कुरा हो, हाम्रो लडाइँ नै त्यहाँ छ।”

क्यानोनिङमा पूर्वाधारको पनि समस्या छ। झरनाहरूसँग पुग्ने सहज बाटो सबै स्थानमा छैन।

यी समस्या चुनौतीका बीच साहसिक खेलमा रुचि भएका समूहले नै क्यानोनिङलाई प्रवर्द्धन गरिरहेका छन्। सरकारले दक्ष जनशक्ति उत्पादनमा मात्र साथ दिए धेरै राहत हुने मोहनी बताउँछन्। “कति ठाउँमा पूर्वाधार बनाउनुपर्ने हुन्छ, तर त्यो हामी आफैँ गर्छौँ। सरकारले क्यानोनिङ गाइड उत्पादनका लागि तालिम दिएर सघाए पुग्छ,” उनी भन्छन्।