काठमाडौँ। अदालतको लेटरप्याड तथा आधिकारिक कागजातसमेत किर्ते गरी आर्थिक ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गोरखा आरुघाट गाउँपालिका ७ का विवश अधिकारीलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार विवशले काठमाडौँ जिल्ला अदालतको नाममा नक्कली पत्र तथा निर्णय तयार गरी विभिन्न व्यक्तिसँग रकम असुल्ने कार्य गर्दै आएका थिए। उनले अदालतको नाम र छाप प्रयोग गरी झुटा कागजात बनाउने, ती कागजात देखाएर पीडितसँग सेवा शुल्कका नाममा रकम माग्ने र नदिए कारबाही गर्ने धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार ती व्यक्तिले अदालतसँग सम्बन्धित विभिन्न मुद्दामा प्रभाव पारिदिने भन्दै सेवाशुल्कका नाममा लाखौँ रुपैयाँ असुल्ने प्रयास गरेका थिए। यस क्रममा उनले नक्कली प्रमाणपत्र र कागजात तयार गरी पीडितहरूलाई झुक्याउने गरेको सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।
प्रहरीले काठमाडौँ महानगरपालिका ३२ मा बसोबास गर्दै आएका २६ वर्षीय विवशलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। उनको साथबाट विभिन्न किर्ते कागजातसमेत बरामद गरिएको पनि खड्काले जानकारी दिए।