काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

दृष्टिकोण

हामीलाई नीति चाहिएको हो, नियन्त्रण होइन। स्वेच्छिक अनुशासन चाहिएको हो, बलपूर्वक थोपरिएको शासन होइन। स्वतन्त्रता चाहिएको हो, निरंकुशता होइन।

१ श्रावण २०८३
अ+
अ-

बाँच्ने कसलाई रहर हुँदैन? पूर्ण आयु बाँचेर अन्तिम घडीमा पुगेको मान्छेलाई पनि थप एक सेकेन्ड भए पनि संसार हेरूँ भन्ने लाग्छ अरे। जीवन भएरै सुख, दु:ख, मोजमस्ती र आनन्दको अनुभूति सबै सम्भव हुने हो। जीवन नै नभए त के छ के छैन, कसलाई थाहा हुन्छ र! यस्तोमा जीवनका रङहरूसँग बल्ल घुलमिल हुँदै गरेको युवाले कसरी सामान्य भनाभनमै आफ्नो अमूल्य ज्यान फाल्न सक्छ? आफूले देखेको सपना र रोजेको जीवन बाँच्न पाइने हो भने एकबारको जीवन यत्तिकै बिसाएर को जान सक्छ? के क्षणिक आवेग र सनकमा कोही कसैले सबैभन्दा पीडादायी मृत्यु रोज्न सक्छ? आफ्नै शरीरमा आगो लगाएर भतभती पोल्ने असह्य पीडा खप्ने हिम्मत गर्न सक्छ?

२५ असारमा काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि २५ वर्षीय गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाए। करिब ५५ प्रतिशत शरीर जलनको प्रभावमा परेको उनको उपचारका क्रममै वीर अस्पतालमा निधन भयो। विकट हिमाली जिल्ला मुगुबाट काठमाडौँ आएर किस्ताबन्दीमा किनेको बाइकमा राइड सेयरिङ गरेर जीवन निर्वाह गर्दै आएका गणेशको यस हृदयविदारक मृत्युसँगै सिंगो देश नै पक्षविपक्ष तर्कमा विभाजित भयो।

विपक्षीहरूले गणेशको मृत्युमा राज्यलाई दोष दिए। सडक पूर्वाधारमा चुस्तता र पार्किङ व्यवस्थाभन्दा राजस्व संकलनमा केन्द्रित चर्को जरिवानाको सरकारी नीतिलाई जिम्मेवार बनाए। सरकारी पक्षले भने स्थानीय तहको नगर प्रहरीको कारबाहीबाट यस्तो घटना भएको भन्दै काठमाडौँ महानगरपालिकालाई दोष दिएर उम्किने प्रयास गर्‍यो। त्यस्तै, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदले पीडितको मानसिक अवस्थाबारे नै प्रश्न उठाए। यस दलका कार्यकर्ताहरू त झन् एक कदम अगाडि बढेर पीडितको मानमर्दन गर्दै सरकारको बचाउमा उत्रिएको अनौठो दृश्य पनि सामाजिक सञ्जालमा देखियो।

एक त गरिब, अर्को नेपालकै सबैभन्दा पिछडिएको क्षेत्र कर्णालीको दुर्गम ठाउँबाट अवसर खोज्दै काठमाडौँ आएको एउटा दलित युवाले आफ्नै शरीरमा आगो लगाउने क्षणसम्म के कति कष्टकर दिनहरू व्यतीत गर्‍यो होला, हामी सोच्न पनि सक्दैनौँ। हामीले उसको जीवन देखेकै त छैनौँ। समानुभूतिको भावना क्षीण हुँदै गएका हामीलाई उसले छिचोलेको यात्राको दूरी र थाप्लोमा बोकेको जिम्मेवारीको वजन थाहै छैन। हामी त सरकारलाई कसैले आलोचना गर्छ कि भनेर सतर्क छौँ। यसको मूल्यमा हामी आफ्नो मनबाट सहिष्णुता, दया, करुणा र दीनदु:खीको मर्का बुझ्ने हृदय नै मेटाउन तयार छौँ। हामी कसैले घुमाउरो तरिकाले उसलाई मनोरोगीको ट्याग भिरायौँ, कसैले सिधै कायर र हुतिहारा भन्यौँ। बाँच्ने संघर्षबाट पुच्छर लुकाएर भागेको भगौडा भन्यौँ।

यो हप्ता अर्को एक घटनाले पनि देश तरंगित बन्यो। सरकारले गत वैशाख दोस्रो साता काठमाडौँका नदी किनारमा रहेका अव्यवस्थित बस्ती हटाएर हजारौँ सुकुम्बासीलाई अस्थायी होल्डिङ सेन्टरमा सारेको थियो। ती होल्डिङ सेन्टरहरूमा सरकारले खानपिनको व्यवस्था बन्द गरेको समाचारहरू आउँदै थिए। उनीहरू होल्डिङ सेन्टर छोडेर लाखापाखा लागून् भनेर राज्यले यस्तो घृणित परिस्थिति निर्माण गरेको भन्ने खबरहरू आइरहेका थिए।

आजका प्रधानमन्त्रीले आफू मेयर हुँदा बनाएको महानगर प्रहरीको विद्यमान संरचनालाई अहिले आएर दोष दिँदा आफैँप्रति अन्याय हुँदैन?

एक्कासि एक रात कीर्तिपुरको होल्डिङ सेन्टरमा वर्षा यामको बाढी पसेर ती सुकुम्बासीको बिचल्ली गरायो। साना नानीहरू, वृद्धवृद्धा र अशक्तहरू आफ्ना झिटीगुन्टा बोकेर भिज्दै निस्किएका तस्बिरहरू अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालभरि देखिए। फेरि एकपटक देश दुई धारमा बाँडियो।

यसपटक पनि सत्ताले हचुवाका भरमा ‘हुकुम्बासी’ ठहर गरेकाहरूप्रति एउटा तप्काले सहानुभूति जनायो। नदी किनारका अव्यवस्थित बसोबासीलाई बाढीबाट जोगाउन हटाएको तर्कसहित सुकुम्बासी विस्थापनको नेतृत्व गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई उनीहरूले औँला उठाए। ‘तपाईंले सारेको ठाउँमा पनि त बाढी पस्यो, यस्तो गैरजिम्मेवारीपना किन?’ भन्ने प्रश्नहरू उनीतर्फ सोझियो। तर, आफ्ना प्रिय प्रधानमन्त्रीको प्रतिरक्षामा उनको प्रशंसक जमात जब्बर भएर उभियो। त्यसले भन्यो, ‘३५ वर्ष शासन गरेकाहरूले यसको जिम्मा लिनुपर्छ।’

पहिलेका सरकारहरूको गल्ती, कमजोरी, अकर्मण्यता र अदूरदर्शिताको सजाय उनीहरूले जनमतबाट अस्वीकृत भएर पाइसकेका छन्। केही नेताले त व्यक्तिगत सम्पत्तिमा आक्रमण र आगजनी एवम् सांघातिक आक्रमण र राजनीतिबाटै बहिर्गमनमार्फत पनि यसको परिणाम भोगिसकेका छन्, भलै यसको छिनोफानो इतिहासले गर्ने नै छ। तर, सत्तालाई प्रश्न गर्ने सचेत सर्वसाधारणलाई गणेश नेपालीप्रति करुणा जाग्नु भनेको सरकारको विरोध मात्र गर्नु हो भनेर बुझिनु हुँदैन। यो त लोकतान्त्रिक सरकार गरिबहरूको पक्षमा होस् भन्ने अपेक्षा मात्र हो। सुकुम्बासीको व्यवस्थापन मानवीय ढंगले हुनुपर्छ, विकल्पहरू दिएर मात्र उनीहरूलाई हटाउनुपर्छ भनेर भन्नु पनि सरकारको विरोध होइन। सरकारले देशकै सबैभन्दा पिँधमा रहेको वर्गलाई बलियो छहारी प्रदान गरोस् भन्ने कामना मात्र हो।

तर, बलियो जनमतसहित अरूभन्दा फरक गर्छौं भनेर आएको सरकारले सबै कुराको अपजस पुरानालाई दिएर उम्किनु भनेको जनता र मतदाताप्रति ठूलो अपमान हो। पुरानाले हालेको सकारात्मक कामको जगमा आफूले थपेको इँटाको जस चाहिँ लिने तर आफ्ना कमजोरी औँल्याउँदा विनम्र भएर सच्चिनुको साटो अरूलाई नै देखाएर पन्छिनु भनेको नसुहाउने कुरा हो। एउटा साधारण र्‍यापर देशको प्रधानमन्त्री बन्न सक्ने, पत्रकारिता गर्दै गरेका, समाजसेवा गर्दै गरेका वा समसामयिक मुद्दामा बहस पैरवी गर्दै गरेका सामान्य विद्यार्थीहरू नै सांसद, मन्त्री हुन सक्ने उदार व्यवस्थाको डिजाइन गरेकाहरूलाई सबै खराब कुराको भाग लगाइदिएर पन्छिनु भनेको आफैँसँग गरिएको धोका हो।

काठमाडौँभन्दा पर नदेखेको केटाकेटी सत्ताले पहिचान र अधिकारका लागि सीमान्तीकृतहरूले लडेर ल्याएको संघीयताको विपक्षमा बोलेको देख्दा अचम्म लाग्छ। त्यही भ्रमको सजिलोमा आफ्नो चेतनालाई उपयोग गर्न अल्छी मानेर पछि लागेको अहिलेको युवा पुस्तालाई देखेर झन् टीठ लाग्छ।

फुटपाथ अव्यवस्थित बनाएकामा पुरानालाई गाली गर्ने तर त्यही फुटपाथ बनाएको जस चाहिँ उसलाई नदिने? बिजुली उत्पादन गरेको, इन्टरनेट सुविधा दिएको, लोडसेडिङ हटाएको, बाटोघाटो, पुलपुलेसा बनाएको, अहिले आएर आफ्नै सत्तापलट गर्ने ल्याकत भएको मध्यम वर्ग तयार पारेको जस चाहिँ उसलाई नदिने? सामाजिक न्याय र राज्य पुन:संरचनाको लामो संघर्षबाट बनेका संरचनाहरूमा सुधार गरेर त्यसैलाई परिष्कृत बनाउनुको साटो राज्यका अवयव मानिने संस्था, संरचनाहरूलाई भत्काउन उद्यत हुनु आफ्नो कमजोर क्षमताको पुष्टि गर्नु मात्र हो। आजका प्रधानमन्त्रीले आफू मेयर हुँदा बनाएको महानगर प्रहरीको विद्यमान संरचनालाई अहिले आएर दोष दिँदा आफैँप्रति अन्याय हुँदैन?

एउटा सानो कचौरा जत्रो काठमाडौँ महानगरमा मात्र केन्द्रित राज्यले यो देशको भूगोल कहाँदेखि कहाँसम्म छ, ती भूगोलमा बसेका जनताको आकांक्षाको दायरा के कस्तो छ भनेर बुझेको छ त? काठमाडौँभन्दा पर नदेखेको केटाकेटी सत्ताले पहिचान र अधिकारका लागि सीमान्तीकृतहरूले लडेर ल्याएको संघीयताको विपक्षमा बोलेको देख्दा अचम्म लाग्छ। त्यही भ्रमको सजिलोमा आफ्नो चेतनालाई उपयोग गर्न अल्छी मानेर पछि लागेको अहिलेको युवा पुस्तालाई देखेर झन् टीठ लाग्छ।

आजको मान्छेमा आफ्नै वर्गप्रति किन असहिष्णुता जाग्दै छ? यो खोजीको विषय हो। मानौँ साँझमा कुनै चोकमा एक जना साग बेच्न बसेको छ। अघि भर्खर टिपेको ताजा सागको मुठालाई ५० रुपैयाँ पर्छ। बिहान टिपेको अलि ओइलाएको मुठालाई ४० रुपैयाँ पर्छ। एक मुठा साग किन्दा पनि अलि सस्तो चाहिँ उठाउने मान्छे पनि आज फेसबुकमा गरिबलाई धारेहात लगाउँदै छ। प्रधानमन्त्रीले चिजको विज्ञापन गरेकोमा ऊ दंग छ। तर, कालो चियामा दुनोट चोबेर खाजा खाने उसलाई अहिलेसम्म चिजको स्वाद नै थाहा छैन। तर, पनि ऊ अर्को गरिबको उठिबास लागेकामा खुसी छ। यो विरोधाभास कसरी हुर्किंदै छ?

एउटा मन्त्रीले नेपालीहरू छाडा भए, उनीहरूलाई दण्ड जरिवानाको ठूलो भारी बोकाउनुपर्छ भनेको सुन्दा ऊ सही हो भन्दै छ। त्यो जरिवानाको काल आफूतिर पनि पल्कियो भने के गरौँला भनेर उसले सोचेको छैन।

उन्नत लोकतन्त्रमा आफूले चुनेको सरकारभन्दा माथि बसेर सचेत जनताले उसलाई खबरदारी गर्छन्। उसको जुत्तामुनि बसेर बफादारी गर्दैनन्। तर, एउटा मन्त्रीले नेपालीहरू छाडा भए, उनीहरूलाई दण्ड जरिवानाको ठूलो भारी बोकाउनुपर्छ भनेको सुन्दा ऊ सही हो भन्दै छ। त्यो जरिवानाको काल आफूतिर पनि पल्कियो भने के गरौँला भनेर उसले सोचेको छैन।

समयमा काम नगर्ने ठेकेदारलाई बाँधेर कुट्नुपर्छ भन्दा ऊ सही हो भन्छ। तर, जनअपेक्षाअनुरूप काम नगर्ने मन्त्रीलाई बाँध्ने डोरी कस्तो हुन्छ उसलाई थाहा छैन। सडकछेउमा ठेला राख्नेले सजाय पाउँछ, सडकछेउमा किताब बेच्ने मन्त्रीले वाहवाही पाउँछ। सुकुम्बासीले आफ्ना सपना र भविष्य दुवैलाई ओत लगाएर बास बसेको टिनको मसिनो टहरो राज्यको सनकमा गुमाउँछ। तर, एउटा मन्त्रीले सरकारी कार्यालयभित्रै ओछ्यान लगाउन रहर गर्छ र उसले त्यो सुविधा हाँसीहाँसी पाउँछ। यो फरक मापदण्डबारे ऊ कसैलाई प्रश्न गर्दैन।

ऊ त दाह्री मसक्क सजाएका, कालो चस्मा लगाएर चिटिक्क परेका सुकिला मान्छेहरू सत्ताको कुर्सीमा बसेको देखेरै दंगदास छ। अस्तिसम्म समाजसेवाका नाममा युट्युबर पछि लगाएर हिँडेका, सामाजिक सञ्जालमा गालीको बर्सात गरिरहेकाहरू एक्कासि कसरी धनी भए, ऊ सोध्दैन। उनीहरूका सयौँ तोला सुन र किलोका किलो चाँदीको ऊ स्रोत खोज्दैन। करोडौँको सम्पत्तिलाई शंकाको आँखाले हेर्दैन।

आज सेयर बजार किन ओरालो लाग्दै छ? लगानीकर्तामा आत्मविश्वास किन जागेको छैन? कर्मचारीहरू किन त्राहिमाम् छन्, उसले बुझेको छैन। घृणाले टन्न भरिएको मगज बोकेर बसेको उसलाई सबैलाई थुनेर, तर्साएर, कुटेर, ठोकेर मात्र यो देश बन्छ भन्ने लाग्छ। तर, त्यसरी बन्ने देश उत्तर कोरिया मात्र हो, यो उसलाई थाहा छैन।

मलाई यो कुरा ठिक लागेन। यस कारण ठिक लागेन भनेर कसैले भन्न पाओस्, यही नै लोकतन्त्र हो। तर, हाम्रो दाइले ठिकै त भने होलान्, विरोध गर्ने तँ को होस् भनेर कसैको हुर्मत लिनेहरू छन् यहाँ।

आजको दिग्भ्रमित युवा सत्ता र सरकारमा सधैँ उही र उस्तै बूढो अनुहार देखेर वाक्क थियो। आज कलिला काँक्राका चिरा जस्ता कलकलाउँदा युवाहरूलाई सत्तामा विराजमान देखेर ऊ हर्षले मखलेल छ। पर्दामा सिनेमाले दिने रोमाञ्चकता उसले असल जिन्दगीमा भेटेको छ। राजनीति यति मनोरञ्जक हुन्छ, उसले भर्खर थाहा पाएको छ।

उसको मनमा अल्गोरिदमले पुराना सरकारहरूलाई रावण बनाएर राखिदिएको थियो। उसको रामले आज ती दशानन रावणको वध गरेको सम्झेरै ऊ तृप्त छ। उसको नजरमा विधि भिलेन हो, संविधान र कानुन खलपात्र हुन्। त्यसलाई तरबारले चट नपारी यो देश बन्दैन। तर, सभ्य समाज र उन्नत व्यवस्था भएको देश विधिले मात्र चल्छ भन्ने उसलाई थाहा छैन। लोकतन्त्र प्रश्नले मात्र जीवित हुन्छ भन्ने उसलाई थाहै छैन।

नियम, कानुन, विधि र प्रक्रियाले चल्ने समाज नै लोकतान्त्रिक हुन्छ। यो बाटो केही सुस्त हुन्छ। तर, यसले अन्यायको दायरा निकै कम गर्छ। अल्पमतको सुरक्षा गर्दै बहुमतले शासन सञ्चालन गर्ने यो व्यवस्थामा ‘एडरेलिन’ बढाउने कुनै ‘थ्रिल’ हुँदैन। ‘ट्विस्ट एन्ड टर्न’ को कुनै ‘सरप्राइज’ हुँदैन। रातारात कोही नेता यतिकै समातियोस्। गृहमन्त्रीले सामाजिक सञ्जालमा ‘गुड मर्निङ’ लेखेर कसैलाई घरबाट उठाएको समाचारले सञ्जाल तात्तियोस्, तब पो असली ‘एड्भेन्चर’ आउँछ!

संसद्‌मा विरक्तलाग्दा बहसहरू भएको कसलाई मन परोस्! मलाई यो कुरा ठिक लागेन। यस कारण ठिक लागेन भनेर कसैले भन्न पाओस्, यही नै लोकतन्त्र हो। तर, हाम्रो दाइले ठिकै त भने होलान्, विरोध गर्ने तँ को होस् भनेर कसैको हुर्मत लिनेहरू छन् यहाँ। उनीहरूलाई लाग्छ, हाम्रो देश पनि विदेश जस्तो सफा र चिटिक्क बनोस् जहाँ स्टाइलिस मान्छेहरू मात्र सडकछेउमा देखिऊन्। झुत्रेझाम्रे गरिबहरू ठेला कुदाउँदै मकै पोल्ने र बाटो बाटोमा अदुवा, बेसार र शिलाजित बेच्न बसेको देख्दा लाज हुन्न र?

उनीहरूलाई हिटलर चाहिएको छ। केही नभए जंगबहादुर राणा अथवा कम्तीमा राजा महेन्द्र भए पनि चाहिएको छ। तर, यी प्रतिनायकहरूले गर्दा नै संसार र नेपालले कति कष्टकर समय भोग्यो भन्ने उसले बुझेको छैन। जंगबहादुरले पनि अहिलेको एउटा तप्काले खोजेको भन्दा चर्को निरंकुशता लादेकै थिए। त्यसले त्यो कालखण्डका लागि एउटा अस्थायी प्रकृतिको स्थिर सत्ता त दिएको थियो। तर, १०३ वर्षको त्यो शासनमा देश स्वर्ग बन्यो त? त्यतिबेला पनि भव्य दरबारहरू बनेकै थिए। त्यो आम जनताका लागि थियो त? जबर्जस्ती लादिएको अनुशासन र डरको छायामा बनेको व्यवस्था कहिल्यै दिगो हुँदैन। त्यो जति लम्बिन्छ, देश त्यति नै पछाडि पर्छ।

ब्रेक नलाग्ने एक्सप्रेस गाडी फोर-लेन हाइवे बनाएपछि चलाऔँला, अहिलेलाई बर्खामा सधैँ बन्द हुने टु-लेन हाइवे सुधार गरेर सुरक्षित यात्रा गरौँ है।

चेतनाको एउटा क्रमिक गतिले मात्र मान्छेलाई सभ्य र अनुशासित बनाउँछ। लाखौँ वर्षको चेतनाको टुसा बिस्तारै झाँगिएर मात्र मान्छे आजको अवस्थामा आइपुगेको हो। मान्छेले लुगा लगाउन, हात धुन, पकाएर खान सिकेको पनि केही हजार वर्ष पहिले मात्र हो। हामीले अँगालेको व्यवस्था पनि केही दशकअघि मात्र आएको हो।

विधि, पद्धति, नैतिकता, विकास र बौद्धिकतामा केही सय वर्षअघि नै पारंगत भइसकेका मुलुक हाम्रा लागि बराबरका उदाहरण हुन सक्दैनन्। विदेशको जस्तै अग्ला भवनहरू बिस्तारै बन्दै जालान्, सुरुमा उनीहरूको जस्तो समानुभूति, समान अवसर र कमजोरलाई आधारभूत सुविधा दिने हाम्रो पहिलो काम हो। उनीहरूको जस्तो चिल्ला सडक पनि बन्दै जालान्, त्यहाँ हिँड्ने हाम्रा मानिसको पिडौँला दह्रो बनाउने हाम्रो प्रथम जिम्मेवारी हो।

कुनै पनि बाटो सुरुमा हिँड्ने मान्छेका पाइलाले बनाएको हुन्छ। त्यसपछि मात्र त्यहाँ सडक बन्छ र गाडी गुड्छन्। कुनै पनि सहर सुरुमा काम गर्ने श्रमजीवी मान्छेले आवाद गराएको हुन्छ। त्यसपछि मात्र त्यहाँ त्यही जगमा पुँजीवादीहरू जन्मिन्छन्। यसर्थ, जरालाई मारेर कुनै पनि वृक्ष हराभरा बन्न सक्दैन। जान्नेलाई छानिएको यसै होइन, विज्ञानको नियमसँगै अघि बढून् भनेर हो।

यत्ति बुझौँ, हामीलाई नीति चाहिएको हो, नियन्त्रण होइन। स्वेच्छिक अनुशासन चाहिएको हो, बलपूर्वक थोपरिएको शासन होइन। स्वतन्त्रता चाहिएको हो, निरंकुशता होइन। ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न, हाम्रै ट्राफिक प्रहरीको नारा हो। ब्रेक नलाग्ने एक्सप्रेस गाडी फोर-लेन हाइवे बनाएपछि चलाऔँला, अहिलेलाई बर्खामा सधैँ बन्द हुने टु-लेन हाइवे सुधार गरेर सुरक्षित यात्रा गरौँ है, बालेन! यो त देश हो नि, यो कसैलाई कुटेर पनि बन्दैन, हतारमा कुदेर पनि बन्दैन।