बुटवल। बुटवलको एक सुनचाँदी पसलका सञ्चालकले ग्राहकले धितो राखेको सुन र बीमा रकमको लोभमा पसलमा चोरी भएको नाटक रचेको पाइएको छ।
जेठ १७ गते राती बुटवल अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलबाट १ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको उजुरी परेको थियो। चोरी भएको उजुरी दिने पसलका सञ्चालक दीपक सेन्चुरीले पसलमा कार्यरत कर्मचारीसँग मिलेर सुनचाँदी चोरी गरेको प्रहरीले बताएको छ।
एक हप्ताको अनुसन्धानबाट चोरीमा पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए।
जेठ १७ गते चोरी भएपछि सेन्चुरी र उनका आफन्तले प्रहरीमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा शुरुमै शंकास्पद घटनाहरु फेला पारेपछि प्रहरीले पसल सञ्चालक र कर्मचारीलाई केन्द्रमा राखेर अनुसन्धान थालेको थियो।
‘पसल चोरी भएको जानकारी दिने सञ्चालक दीपक पोखरामा थिए । हामीले दीपक र नविन दुवै जनालाई निगरानीमा राखेर थप अनुसन्धान सुरु गयौं,’ रुपन्देही प्रहरी प्रमुख शाहीले भने, ‘प्रमाण जुटेपछि मंगलबार मात्र उनीहरू दुवै जनालाई पक्राउ गरेर अदालत पेस गरेका छौं ।’
पसलको सटर, च्यानल गेट र अर्को सटरको अवस्था शंकास्पद देखिएको र सिसिटिभी चार महिनादेखि बन्द अवस्थामा रहेको पाइएपछि अनुसन्धानको कोण सञ्चालकतर्फ मोडिएको उनले बताए।
‘सटरहरु सामान्य अवस्थामा कुनै बल प्रयोग नगरी खोलिएको थियो, पसलभित्र छिर्ने च्यानल गेट र अर्को सटर दुवै तोडिएको थिएन । पसलको सीसीटीभी चार महिनादेखि बन्द अवस्थामा थियो । पसलभित्र २ दर्जन बढी चाँबी रहेको झुप्पा नै फेला परेको थियो । सुन राख्ने लकर खोल्न पनि चाँबी नै प्रयोग भएको थियो,-उनले भने।
सुनचाँदी पसलबाट चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलले संघीय प्रहरी कार्यालय भैरहवा, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयोजनमा अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धान गर्दै जाँदा पसल सञ्चालक ४१ वर्षीय दीपक विक र पसलमा काम गर्ने दीपककै भान्जा तिलोत्तमा नगरपालिका वडा नं. २ वन वाटिका बस्ने ४७ वर्षीय नवीन विकले पसलबाट सुनका गरगहना चोरी भएको झूटो नाटक गरेको प्रहरीले जनाएको छ।
चोरी भएको मध्ये ५ तोला सुन र २५ तोला चाँदी दीपकको घरबाट बरामद भएको शाहीले बताए। पसलका सञ्चालक सेन्चुरीले करिब ७० तोला बराबरको सुनका गहना र काचो सुन चोरी भएको प्रहरीलाई बताएका थिए। प्रहरीले दीपकको घरबाट साढे ५ तोला सुनका गरगहना र १४ किलो चाँदी बरामद गरेको छ।
दीपक र नवीनलाई पक्राउ गरी अपराधिक विश्वासघात मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए।
प्रहरीका अनुसार भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा रहेको पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए।
पसल सञ्चालक लामो समयदेखि घाटामा पसल सञ्चालन गर्दै आइरहेका थिए। पारिवारिक विवाद, बढ्दो आर्थिक संकट र धितोमा राखिएका सुनका गरगहनाधनीहरूले सुन फिर्ता माग्न थालेपछि दीपक तनाबमा थिए। उनले तनाबबाट उम्कनका लागि धितोमा राखेको सुन चोरी भएको नाटक गरी बीमाको रकम दाबी गर्ने योजनाका साथ आफ्नै पसल फोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
चोरी भएको भनिएको मध्ये प्रहरीले ५ तोला ४ दशमलव १ लाल सुन मात्र दीपकको घरबाट बरामद गरेको छ। सञ्चालक दीपकले भने सुरुमा ७० तोला सुन चोरी भएको दाबी गरेका थिए। तर, सुन धितो राख्नेहरूको दाबीअनुसार दीपकसँग ७० तोलाभन्दा बढी सुन देखिनुपर्ने प्रहरी अनुसन्धानमा देखिएको छ।
उनको पसलमा धितोमा राखिएको सुन करोडौं मूल्यको रहेको अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए।
घटना विवरणअनुसार दीपकले जेठ १६ गते राती ११ बजे पसलको चाँबी खोजेर भित्र पसेको र सटर तोडेर खोलेपछि पसलमा भएको लकरबाट सुन निकालेर जेठ १७ गते बिहान २ बजेको आसपासमा पसलबाट निस्केर हिँडेको पसलनजिकै रहेको सीसीटीभी फुटेजबाट देखिएको डीएसपी श्रीवास्तवले बताए।
पसलबाट सुन निकालेपछि दीपक राती नै झोलामा सुन बोकेर तिनाउ पुल तरेर पुरानो बटौलीको गणेश टोल हुँदै गोलपार्क पुगेर राती नै आफ्नो गाडी लिएर पोखरा पुगेको अनुसन्धानले देखाएको छ।
कति सुनचाँदी धितोमा थियो भन्ने विवरण नखुलेकाले म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको श्रीवास्तवले बताए। त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ स्थित देव सुनचाँदी पसलको ताला काट्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
जेठ १९ गते बिहान साढे २ बजेको समयमा पसलको ताला काट्दै गएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए। पक्राउ पर्नेमा सबै भारतीय रहेका छन्।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश सन्त कवितार जिल्ला वखिरा थाना बस्ने २६ वर्षीय आकाश वर्मा, २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अलि, २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय सहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा, २३ वर्षीय मोहम्मद पारिस रहेका छन्।
प्रहरीले उनीहरूलाई पनि चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
यसैगरी गत जेठ ४ गते बुटवल–८ सुख्खा नगरस्थित राजेश कुमार गुप्ताको घरबाट नगद र सुनचाँदीका गरगहना चोरी गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. २ बस्ने २७ वर्षीय शिव ओम थारू रहेका छन्।