काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज बजेट प्रस्तुत गर्न लागेको छ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा बजेट पारित गर्ने र दिउँसो १ बजे बस्ने मधेस प्रदेश सभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो।

चालु आर्थिक वर्षमा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट रहेकोमा मधेस सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेटको आकार घटाएर प्रस्तुत गर्न लागेको हो।

सरकारले यस पटकको बजेटमा कुनैपनि खालको टुक्रे योजना नराख्ने यस अघि नै निर्णय गरिसकेको छ।

आर्थिक वर्ष २०७५/७६ मा २९ अर्ब १७ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको मधेस सरकारले आव २०७६/७७ मा रकम बढाएर ४४ अर्ब १४ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

आव २०७७/७८ मा भने बजेटको आकार घटेको थियो। उक्त आवमा ३४ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको बजेट आएको थियो। आव २०७८/७९ मा ३४ अर्ब ८८ करोड ७८ लाख रुपैयाँको बजेट आएको थियो।

आव २०७९/८० मा रकम बढाएर ४६ अर्ब ८८ करोड रुपैयाँको बजेट आएको थियो भने आव २०८०/८१ मा रकम घटाएर ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट आएको थियो।

यस्तै, आव २०८१/८२ मा ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत भएको थियो भने चालु आवका लागि ४६ अर्ब ९८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

बजेट ल्याउनुअघि आइतबार मधेस सरकारले आफ्नो आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गरेको थियो । यसैगरि १५ जेठमा आगामी आवका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो।