जलेश्वर। महोत्तरीको बर्दिबास नगरपालिका १२‚ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका ११ का शत्रुघन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटना भएकै दिनदेखि फरार रहेका उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो। गोलेका अनुसार आरोपित नन्द र नन्दका पति अझै फरार रहेको तथा उनीहरूको खोजी जारी छ।
२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति ८ बजे आफ्नै दुईतले पक्की घरको आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्युपछि माइती पक्षले हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए।