काठमाडौं। नेकपा एमालेभित्र नीति, विचार र नेतृत्वमा आमूल परिवर्तनको माग गर्दै ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान-२०८२’ ले देशव्यापी रूपमा आफ्नो गतिविधि तीव्र पारेको छ।
चुनावी समीक्षा एवं पार्टी पुनर्गठन सुझावको अभियान चलिरहेको बेला नेता-कार्यकर्ता माझ ‘विशेष अनुरोध’ सहित अपिल पठाइएको छ। यस अपिलमा पार्टी पुनर्गठनको पक्षमा खुलिरहेका पदाधिकारीहरूको समेत साथ रहेको बताइन्छ।
अभियानद्वारा जारी अपिलमा पार्टीले आफ्नो ऐतिहासिक गौरव र जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको उल्लेख छ। पुष्पलालको सपना र मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को मर्म मर्न लागेको भन्दै अभियानले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।
एमालेमा आन्तरिक जनवाद खुम्चिँदै गएको, नेतृत्वमा अहंकार र घमण्ड बढेको तथा निर्वाचनमा व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी कसैले नलिएको उल्लेख छ। गत फागुनको निर्वाचनमा पार्टीको सङ्कुचित नतिजा र राजधानीका धेरैजसो क्षेत्रमा व्यहोर्नुपरेको हारलाई नेतृत्वको असफलता भनिएको छ।
‘पुरानो पुस्तामा निष्क्रियता बढ्नु र नयाँ पुस्ता वैदेशिक पलायन हुनुले पार्टीको वैचारिक र संगठनात्मक ऊर्जा कमजोर भएको छ,’ अपिलमा भनिएको छ।
पुनर्जागरण अभियानले पार्टीलाई पुनर्जीवित गर्न केही सुधारका योजना अघि सारेको छ:
१. नेतृत्व परिवर्तन: रूपान्तरणको पहिलो पाइलाका रूपमा नेतृत्व परिवर्तनलाई अनिवार्य सर्त मानिएको छ।
२. दुई कार्यकालको व्यवस्था: कुनै पनि व्यक्ति एउटै पद र जिम्मेवारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने कानुनी व्यवस्थाको माग गरिएको छ।
३. पुस्तान्तरण : समितिहरूमा ६० प्रतिशत पुराना र कम्तीमा ४० प्रतिशत नयाँ पुस्ता (युवा) सहभागी गराउनुपर्ने उल्लेख छ।
४. प्रत्यक्ष निर्वाचन: पार्टी नेतृत्व र निर्वाचनका उम्मेदवार चयनमा सबै तहका सदस्यहरूले प्रत्यक्ष मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गरिएको छ।
५. शैक्षिक योग्यता: नीति निर्माणको तहमा रहने नेतृत्वका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ।
६. पारदर्शी जीवनशैली: नेताहरूको जीवनशैली र व्यवहारमा पारदर्शिता नआएसम्म जनताले विश्वास नगर्ने उल्लेख गरिएको छ।
अभियानले वर्तमान नेतृत्वलाई संकेत गर्दै यो समय ‘इतिहासको निर्माता’ वा ‘आन्दोलनको मलामी’ मध्ये एउटा रोज्ने अन्तिम अवसर भएको चेतावनी दिएको छ। ‘तपाईंको आजको एउटा निर्णयले भविष्यमा नायक वा खलनायकका रूपमा चित्रण गर्नेछ,’ अपिलमा भनिएको छ।
पार्टीलाई पुनर्गठित गर्दै जनमुखी बनाउन सबै तहका कार्यकर्ताहरूलाई मुख खोल्न र रूपान्तरणको पक्षमा उभिन सहयोगका लागि अभियान थालिएको एक नेताले बताए।