चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ। आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजे प्रदर्शनी केन्द्रमा हुँदैछ।
बन्दसत्रको प्रारम्भ सभापति रवि लामिछानेले गर्नेछन् । बन्द सत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ।
बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै, रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ।
यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीको अगुवाइमा पार्टीको ‘विधान’ माथि छलफल तथा पास गर्ने कार्यतालिका छ । त्यसपछि पार्टी सभापति लामिछानेबाट राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
रास्वपाले बन्द सत्रसँगै निर्वाचन कार्यक्रम पनि सँगसँगै अघि बढाउने भएको छ। सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा छलफल र पारित भएपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ। जसको जिम्मेवारी निर्वाचन आयोगलाई दिइने छ।
त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन हुनेछ। नयाँ कार्यसमिति चयनसँगै मंगलबार महाधिवेशन सकिनेछ।
