टोकियो। उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउदाँ चार जना घाइते भएको जनाइएको छ। जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ।
हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। विभागले आगामी हप्तासम्म जापानी भूकम्प तीव्रता मापनको उच्च स्थरको भूकम्पका लागि जनतालाई सतर्क रहन आग्रह गरेको छ।
जापान चार टेक्टोनिक प्लेटहरूको छेउमा अवस्थित भएकाले तथा १०० वटा सक्रिय ज्वालामुखीहरूको उपस्थती रहेकाले यसलाई उच्च भूकम्पीय गतिविधिको जोखिममा रहेको राष्ट्रका रुपमा चिनिन्छ।
यस अघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीको कारण १५ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो।