काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

असुरक्षित सडक

दुर्घटनामा पर्ने अधिकतर युवा, मुख्य कारण चालकको लापर्बाही

१४ असार २०८३
पथलैया सडक खण्ड। फाइल तस्बिर
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशमा पछिल्लो पाँच आर्थिक वर्षमा २९ हजार १८३ सडक दुर्घटना भएका छन्। यस अवधिमा ४१ हजार ६९७ सवारी साधन दुर्घटनामा परेका छन् भने दुई हजार ७४८ जनाले ज्यान गुमाएका छन्।

प्रहरी तथ्यांकअनुसार यस अवधिमा १० हजार ८६६ जना गम्भीर र ३६ हजार १४२ जना सामान्य घाइते भएका छन्। दुर्घटनाग्रस्त सवारीसाधनमध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढी छ। दुर्घटनामा परेका सवारीसाधनमध्ये मोटरसाइकल मात्रै २८ हजार २७ वटा छन्, जुन कुल दुर्घटनाग्रस्त सवारीसाधनको करिब ६७ प्रतिशत हो।

आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा सात हजार ४४३ सडक दुर्घटना भएका थिए। ती दुर्घटनामा १० हजार ६७९ सवारी साधन संलग्न भएका थिए भने ५६४ जनाको मृत्यु भएको थियो। सो वर्ष एक हजार ९७८ जना गम्भीर र १० हजार १४५ जना सामान्य घाइते भएका थिए।

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ५८ दुर्घटना हुँदा ५३० जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ९८८ दुर्घटनामा ५४६ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ७११ दुर्घटनामा ५८५ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९८३ दुर्घटनामा ५२३ जनाले ज्यान गुमाएका थिए।

युवा चालक बढी जोखिममा

मधेसमा सडक दुर्घटनाको ठूलो हिस्सा युवा चालकसँग जोडिएको देखिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न चालकमध्ये १६ देखि २५ वर्ष उमेर समूहका ३९, २५ देखि ४० वर्ष उमेर समूहका ४० र ४० वर्षमाथिका २१ प्रतिशत छन्।

विद्यार्थीलाई सडक सुरक्षाबारे सचेतना गराउँदै ट्राफिक प्रहरी। तस्बिर : वीरेन्द्र रमण

समाजशास्त्री डा. महारुद्र झा अभिभावकको निगरानी र सचेतनाको अभावले पनि युवामा जोखिमपूर्ण सवारी व्यवहार बढेको बताउँछन्। उनका अनुसार कतिपय अभिभावकले महँगा मोटरसाइकल वा गाडी किनिदिएपछि युवाहरू समूह बनाएर तीव्र गतिमा सवारी चलाउने र एकअर्कासँग प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको छ।

“तीव्र गतिमा सवारी चलाउनुलाई उपलब्धि ठान्ने सोच युवाहरूमा छ,” झा भन्छन्, “यसले दुर्घटनाको जोखिम बढाएको छ। अभिभावक, विद्यालय, समाज र ट्राफिक निकाय सबैले यसबारे गम्भीर भएर सचेतना फैलाउनुपर्छ।”

सवारी चापको चुनौती

सवारी साधनको चाप पनि मधेसमा सडक सुरक्षाको चुनौती बनेको छ। प्रदेशको अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या ५९ हजार ६९ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा कुल दर्ता घटे पनि मोटरसाइकल दर्ता भने बढेको छ। सर्वेक्षणअनुसार यस अवधिमा मोटरसाइकल दर्ता २६.८८ प्रतिशतले वृद्धि भई १६ हजार ७०६ पुगेको छ।

बढ्दो जनसंख्या र सवारी साधन तथा ठुलो सडक सञ्जाल भएकाले मधेसमा दुर्घटना रोक्नु चुनौतीपूर्ण बनिरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारी बताउँछन्। दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्रै पर्याप्त नभएको उनको भनाइ छ। “ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय आवश्यक छ,” अधिकारी भन्छन्, “सचेतनामूलक कार्यक्रम, नीति निर्माणमा ट्राफिक प्रहरीको सहभागिता र पर्याप्त बजेटबिना दुर्घटना न्यूनीकरण गर्न कठिन हुन्छ।”

‘लापर्बाही नै मूल कारण’

चालकको लापर्बाही, तीव्र गति र ट्राफिक अनुशासन पालना कमजोर हुँदा मधेसका सडक असुरक्षित बनेको ट्राफिक प्रहरीको निष्कर्ष छ। उनीहरूका अनुसार सडक अनुशासन, चालक प्रशिक्षण, नियमित जाँच, स्थानीय तहको समन्वय र सडक पूर्वाधार सुधार कमजोर हुँदा दुर्घटना नियन्त्रण कठिन भएको हो।

पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार मधेसमा हुने करिब ८५ प्रतिशत दुर्घटना चालककै लापर्बाहीका कारण हुने गरेका छन्। तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लाइसेन्सबिना सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण हुन्। अधिकतर दुर्घटना साँझ र रातिको समयमा हुने गरेका छन्। साँझ ६ बजेदेखि राति ११ बजेसम्म दुर्घटनाको जोखिम बढी देखिएको कार्यालयले जनाएको छ।

चालकलाई सडक सुरक्षाबारे बताउँदै ट्राफिक प्रहरी। तस्बिर : वीरेन्द्र रमण

मधेसका विभिन्न जिल्लामा दरबन्दीभन्दा बढी ट्राफिक प्रहरी परिचालित छन्। सप्तरीमा ३२ दरबन्दीमा ४९, सिरहामा ३० दरबन्दीमा ६२, धनुषामा ३७ दरबन्दीमा ९५, महोत्तरीमा ४० दरबन्दीमा ६०, सर्लाहीमा ३१ दरबन्दीमा ४५, रौतहटमा ३० दरबन्दीमा ५४, बारामा २७ दरबन्दीमा ६४ र पर्सामा २१ दरबन्दीमा ६१ जना ट्राफिक प्रहरी कार्यरत छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामा भने ५६ जनाको दरबन्दी रहेकामा ३५ जनामात्रै कार्यरत छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेत ट्राफिक परिचालनले मात्र दुर्घटना रोक्न नसकिने बताउँछन्। चालक जिम्मेवार नभएसम्म सडक सुरक्षा सुधार हुन नसक्ने उनको भनाइ छ।

“चालकले गम्भीर भएर नियम पालना गर्दै सवारी चलाए दुर्घटना कम गर्न सकिन्छ,” बस्नेत भन्छन्, “सडक सुरक्षा प्रहरीको मात्रै जिम्मेवारी होइन, चालक र नागरिक दुवैको जिम्मेवारी हो।”